आत्मपरक अनुभूति र त्यसको प्रस्तुतीकरण निबन्ध हो । कतिपय अनुभूति र त्यसको औचित्यले निबन्धकारीय दक्षतालाई प्रदर्शित गर्दछ । अधिसंख्यकको प्रिय पात्र भएर ठीक रुपमा लेख्ने सामथ्र्य धेरै स्रष्टामा हुँदैन । सातौं र आठौं दशक वरिपरिको परिवेशलाई गतिलो प्रभावान्विति तथा आलोक छर्न समर्थ आधुनिक नेपाली साहित्यका निबन्धकार बीच श्रीओम श्रेष्ठ एक हुन् । ‘भनौं कि नभनौं’ निबन्धकृतिका विविध रचनाले निबन्धचेत स्तरीय गुणवक्तालाई प्रस्तुत गरेको भेटिन्छ । याथार्थिक, व्यावहारिक र सामाजिक जीवनका विविधार्थी सामग्री बटुलेर उत्तम निबन्ध (एन एस्से) कसरी कोर्ने त्यस शिल्पमा यी सुचतुर छन् । साधारण मार्गको चक्रेटो, गोरेटो, घोडेटो हुँदै बटुवालाई पथ एवं लोकपथमा कसरी डोर्याउने त्यस कलामा यी प्रवीण लाग्छन् । यी कृतिकारितामा राष्ट्र, बहुराष्ट्र (मल्टिनेशन), स्थानिकता, वस्तुनिष्ठता, स्वच्छन्दता र मानवता पहिल्याउने निबन्धकार हुन् । विविध रचनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवन तथा मानवताचेत विविधांगी वस्तुतथ्यलाई जसरी निबन्धीकृत गरिएको छ त्यस प्रकारको वस्तुचेतना यिनी जस्ता थोरै भाष्यकारमा मात्र भेटिन्छ ।
हाम्रै वरिपरी छरिएका ज्ञात र अल्पज्ञात वस्तुतथ्यलाई आफ्नो निबन्धमा ओमले जसरी ठम्याएका छन् त्यस्ता प्रसंग निसन्देह अभिप्रेरक छन् । घटनाक्रम र तिनको दूरगामी प्रभावलाई समाकलन गर्ने शैलीले यिनको बिम्बीकरण, प्रतीकीकरण एवं सृजन चातुर्यलाई सूचित गर्दछ । निबन्धको केही ठाउँमा केही कुरा थपेको भए हुन्थ्यो जस्तो लाग्ने यिनको प्रसंगान्तर र चौतर्फी फड्को आकर्षक किसिमको हुने गर्दछ । भनौं कि नभनौं कृतिमा स्रष्टाले आफ्नो मनोवादी सन्दर्भले सामयिक बिस्तारोन्मुख समाज, राष्ट्र र विश्व परिस्थितिलाई ठीक किसिमले पहिल्याउन सकेको भेटिन्छ । प्रत्येक निबन्धको वस्तुतालाई परिदृश्यसापेक्ष, भावसापेक्ष र भविष्यसापेक्ष विशेषता बीच यिनले पस्केको पाइन्छ ।
साहित्यिक साधनाको गद्यविधामा यिनको नैबन्धिक कुशलता सराहनीय देखिन्छ । अन्य आख्यानसूचक गाद्यिक विधामा समेत यी सक्षम रहि आएका छन् । उदाहरणार्थ – प्रयोगचेत लघुकथा विधा । लोकतान्त्रिक गणतान्त्रिककालको आधुनिक नेपाली निबन्धका यिनी पुरस्सर हुन् त्यसमा निशंक बनौं । यथार्थत: आन्तरिक रुपमा मान्छे दु:खी, असन्तुष्ट र निरीह प्राणी हो । राजनैतिक प्रणालीको संपोषणले कतिपय मानवीय आवश्यकतालाई सन्तुलित राख्ने गर्दछ । कैयनपल्ट चिताएको सामान्य कुरा पनि पूरा नहुँदा वैयक्तिक रुपमा मान्छे भावविव्हल हुने गर्दछ । विविध मानवेच्छा पूरा गर्न संस्थापन (अथारिटी) को जागरुकता यिनी आवश्यक ठान्छन् ।
कृतिको भनौं कि नभनौं शीर्षकमा एक जना अभिन्न मित्रसितको अन्तरसम्बन्ध र असहज परिस्थितिलाई पस्किएको छ । स्रष्टा भन्छन् – ‘मान्छेलाई मान्छे जस्तो व्यवहार गर्न किन कंजुस्याई गरिरहेका छन् ? मैले बुझ्न नसकेको जटिलतम प्रश्न नै यही हो, पृ. १९ ।’ ‘जित्ने कृष्णचन्द्रसिंह प्रधान’ मा आधुनिक नेपाली निबन्धमा लक्ष्मी प्र. देवकोटा, शंकर लामिछाने, हृदयचन्द्र, कमल दीक्षित, मदनमणि दीक्षित, डा. मोदनाथ प्रश्रित, चुडामणि रेग्मी, श्यामप्रसाद, डा. दुर्गा भण्डारी, भैरव अर्याल, राजेन्द्र सुवेदी, किशोर नेपाल, माधव पोखरेल र तेजेश्वरबाबु ग्वंग, तारानाथ शर्मा प्रभृति झै महारथी रहेका अब्बल निबन्धवेत्ता बौद्धिक व्यक्तित्व कृष्णचन्द्र सम्बन्धी अनुभूत्यात्मक विविध पक्ष र पे्ररक बिम्ब छन् । ‘कहाँ देख्नु आफैलाई’ मा मान्छेको व्यक्तित्व परावलम्बी बन्दा बढ्ने अनैतिकताको उल्लेख पाइन्छ । ओमको अभिकथन छ – ‘मानिसको गणना बढ्दै गएर के गर्नु, पे्रमको आयु घट्दै गएपछि, पृ. ३३ ।’ यसबाट राष्ट्रिय जनगणना–२०७८ को हेक्का हुन जान्छ । ‘स्यावास भू–कम्प’ मा संवत् २०७२ को असीम नरसंहारकारी महाभूकम्पले के सानो, ठूलो, के पदविहीन के पदधारी, के विपन्न के सम्पन्न, के शासित र के शासक सबैलाई समतावादी धरातलमा ओरालेका परिदृश्य छन् । महान स्रष्टा बालकृष्ण समले संगेटेको समतावादको औचित्यको दर्शनलाई यस रचनामा अनुभूत गर्न सकिन्छ । निबन्धकारीय अनुभूति यस्तो छ – ‘यो विपतको पीडाले म र मेरो भावनालाई छोड्न सकौं, हामी हाम्रोलाई न छोड्न सकौं । ‘आँसुको अक्षरमा’ आधुनिक नेपाली निबन्धका सशक्त व्यक्तित्व, प्राध्यापक, प्रशासक एवं भद्रपुरुष जो स्रष्टाका गुरु पनि हुन् बारेका मार्मिक प्रसंग छन् । यसमा प्रशासकीय व्यक्तित्व नियाल्दा धेरथोर कठोर देखिने, तर यथार्थको धरातलमा नौनी जस्तो सहृदयी सर्जक राममणि रिसाल संबन्धी संबन्धनको चित्रण पाइन्छ । ‘भएको ठिकै हो त’ मा ग्रन्थ शिरोमणि गीताको सारको सिद्धान्तको आधारमा जीवनको अप्रत्याशित सन्दर्भ छामिएको छ । अनुभूतिसूचक वाक्य यी हुन् – ‘आँखा चिम्लेर पराया देशमा होमिन्छौं र सपना च्यातिएपछि मोहभंग भएर फर्किन्छौं, पृ.–५७ ।’ बन्दीगृहको बोनस’ मा विदेश (एब्रड) मा व्यतीत समयावधिलाई एक प्रकारको कारागार सम्झेर कथिएको निबन्ध हो यो । यसमा उक्त थलोको प्राप्ति र अप्राप्तिको ध्यान दिन योग्य विश्लेषण छ ।
मनीषीतुल्य प्राचार्यद्वय नगेन्द्रराज शर्माको स्रष्टा साहचर्यवाद र रोचक घिमिरेको अभिपे्ररकवादले राष्ट्रिय जीवनमा प्रत्यक्षत: मैत्रीहीन कटुता न्यूनीकृत गर्न सहयोग पुर्याएको स्थिति छ । सजग सर्जक समानुरुप मान्छेको जीवनबाट कू्ररता र मैत्रीहीनतालाई निमिट्यान्न गर्नुपर्ने भावना पोख्न रुचाउँछन् । विधि र प्रविधिको असीम विकास भए पनि मान्छेको मान्छेत्व हराउँदै गएको स्थिति अप्रिय छ । स्रष्टा ठीक र सन्तुलित किसिमको मान्छे अरुबाट नियन्त्रित भएको यथार्थ बेठिक ठान्छन् तथा यसको निराकरण हुुनु पर्ने यिनको तर्क छ । फुर्सतमा कोही नहुने र जेमा पनि टाँसिएको टाँसियै हुने ‘पारिस्थितिकी’ प्रति यिनी गम्भीर छन् । एकथरिले पवित्र धार्मिक ग्रन्थहरु छोएर फट्याइ गरेको परिप्रेक्ष्यलाई यिनले अत्यधिक घातक मान्ने गरेका छन् । मनका कुरा मा मनोयथार्थको विविधांगी बिम्बको हृदयोत्तेजक चित्रण पाइन्छ । निबन्धकारको भनाइ छ – ‘थाहा छैन कस्ता हुन्छन् मनहरु ? कति प्रकारका हुन्छन् ? वैज्ञानिक चमत्कार गर्न सक्छन् तर मन प्रदर्शन गर्न सक्दैनन्, पृ.–६४ ।” प्रत्येक आकस्मिकता नियमितताभित्र हुने यिनको तार्किक विश्लेषण छ । ‘नर्थबिजका नौरंगी दिनहरु’ मा संयुक्त राज्य अमेरिकामा छँदा अनेक किसिमको परिस्थितिसित साक्षात्कार गरी यिनले जीवनको मूल मर्म धेरथोर बुझ्न सकेको परिस्थिति छ । नैवन्धिक कथन छ –‘प्रत्येक मिनेटको तलब दिनु पर्ने भएकोले चूप लागेर बसेको मन पराउँदैनन् साहुले । रे का कुरा रेमा नै सीमित भए, पृ. ७२ ।’ व्यतीत समयको विविध भुक्तमानलाई यस रचनामा बडो प्रेरक र मोहक किसिले प्रस्तुत गरिएको छ । पुरुषको तुलनामा विदेशमा महिला बढी स्वच्छन्द भएको स्थिति व्याख्येय छ । ‘बिउ रोप्ने डाक्टर’मा समाजसेवी, मानवतावादी र भद्र स्वभावका चिकित्सक बिहारीलाल श्रेष्ठप्रतिको लेखकीय भावना अध्ययन गर्न पाइन्छ । कर्मवीर स्वास्थ्यसेवीले विभिन्न उल्लेखनीय कार्य गरेको परिवृत्तान्त छ । विविध समाजोपयोगी क्रियाकलापले जीवनकालमा अरुका लागि उदाहरणीय व्यक्तित्व बनेका डा. बिहारीलाल श्रेष्ठको सुकीर्ति अभिप्रेरक रहेको चर्चा छ यस रचनामा । निबन्धकार भन्छन् – डाक्टर साहेब बिहारीलाल श्रेष्ठ डाक्टर मात्र हुनुहुन्न विचारका आन्दोलक हुनुहुन्थ्यो । शिक्षा, स्वास्थ्य चिकित्सा र समाजसेवाका अभियन्ता र उदाहरण हुनु हुन्थ्यो । व्यक्ति निर्माणका प्रणेता हुनु हुनथ्यो । जति ठूलो काम गर्ने हो भने पनि शुरु आपैmबाट गर्नुपर्छ भन्नु हुन्थ्यो । ‘न्याय पाउँछु कि ?’ मा याथार्थिक र काल्पनिक जलप लगाई पिताश्रीसित मुद्दा परेको वृत्तान्त चित्रित छ ओम संकेत गर्छन् – ‘एक पटक मान्छेहरु खान नपाएर भोकै छन् । त्यसैले मन्दिरबाट मूर्ति निकालेर गरीवहरुलाई राख्ने व्यवस्था होस् भनेर पनि निवेदन हाले, पृ ८९ ।’ ‘क्याम्ब्रिजका दिनहरु’मा सन् २००६ मा अमेरिकामा बितेका आफ्नो विगतको स्मरण गरिएको छ । यसमा उताको समृद्धि र नेपालको विकासपरक गतिविधिको तुलनात्मक मन्थन गरिएको छ । विदेशीभूमिको जाडोमा आपूmले भोगेको असहनीय कहरको उल्लेख पाइन्छ निबन्धमा । जन आन्दोलनताका ख्यातिप्राप्त आख्यानबेत्ता शशी भण्डारीको विचलन किताबको निबन्धपुरुष कृष्णचन्द्रसिंह प्रधानबाट सम्पन्न विमोचनको वस्तुतथ्य छ यसमा । साथै अमेरिकाको अत्यधिक चिसो जलवायु र पर्यावरणमा कतिपय काम कुरा भ्याएको दैनिकीको प्रस्तुतीकरण छ । आधुनिक नेपाली साहित्यमा ज्ञानेन्द्र विवशको आकृतिको आवाज (संवत २०६१), मोमिलाको ईश्वरको अदालतमा आउटसाइडरको बयान (संवत् २०६२), डा. अभिसुवेदीको निबन्धको उत्तरवर्ती कालखण्ड (संवत् २०६५), जय छाङछाको बिब्लेंटो आकाशको धरातलतिर (संवत, २०६४), युवराज नयाँघरेको एकहातको ताली (संवत २०६५), डा. तुलसी भट्टराईको फड्के तर्दातर्दै (संवत् २०६६), डा. विजय सुब्बाको महादेशदेखि महादेशसम्म (संवत २०६७) तथा शारदा शर्माको भूर्इंपूmलको देश (संवत २०६८), गंगा प्र. उप्रेतीको स्मृतिमा फुलेका बहुरंगी प्रतिभाहरु (संवत् २०६९), प्रा. सरला चापागाईको सिलोसाङ्लो (संवत् २०७०), माधव काफ्लेको लिगलिगकोट (संवत् २०७१), गायत्री कुमार चापागाईको मूलपानी (संवत २०७१), किशोर नेपालको राक्षसको गीत (संवत २०७३), पोष चापागाईको ओवाक कफी (संवत् २०७७) र विजय चालिसेको मरुभूमिको पूmल (संवत् २०७७) ‘प्रभृति निबन्धकृतिले आ–आफ्नै किसिमको प्रभाव प्रसारित गरेको पाइन्छ । त्यसैबीच भनौ कि नभनौंको मौलिक किसिमको टड्कारोपन रहेको देखिन्छ ।
‘क्याप्टेनको कलम’मा जङ्ग सन्तति रहेका कलमयोद्धा जनकबहादुर राणासितको वीरगञ्ज महानगर सम्बन्धी उठ्बस र घनिष्ठताको प्रस्तुतिकरण भेटिन्छ । यी सन् १९६५ मा भारत र सम्बद्ध राष्ट्रबीचको संग्राममा सहभागी व्यक्तित्व हुन् तथा युद्धले कसैको भलो हुँदैन भनिरहने शान्तिवीर हुन् । ओमले एकजना श्रद्धेय अग्रजका रुपमा राणासितको साहचर्यलाई प्रस्तुत गरेका छन् । सम्वत् २०६० को दिपावलीताका नश्वर जीवन परित्याग गर्ने वत्सगोत्री अब्बल संस्मरणकारको उल्लेख छ यसमा । निबन्धकारको सारांश छ – ‘थोरै समयमा धेरै गर्नु भो र धेरै पाउनु भो पनि । यो अमरत्वलाई श्रद्धाञ्जलि होइन सलाम छ मेरो आखिर तपाई बन्दुकको सिपाही भन्दा कलमकै सिपाही बन्नु भो क्यारे, पृष्ठ–१०७ ।’
यसैगरी ‘आफ्नो भनेको आफ्नै’ निबन्धमा अमेरिकाबारेको विभिन्न परिघटनाक्रमको चर्चा पाइन्छ । चालिस वर्ष पूर्वको बलात्कारको आरोपमा अभियुक्त रहेका पादरीको यसमा चारित्रिक बिम्ब भेटिन्छ । आफू फुर्सतले नबस्ने र केही न केही गरीरहने बेफुर्सती व्यक्ति रहेको सन्दर्भको यसमा चिनारी छ । उक्त देशमा पाकशास्त्री बनेर आफुले राइस कुकरमा भोजन तयार गर्दाको वस्तुबोधको विवरण छ यसमा । फुर्सती उपनाम राखे पनि यथार्थत: अरुद्वारा सदैव बेफुर्सती ठानिएका वागमती प्रदेशको हेटौंडा उपमहानगरका चर्चित भाषासेवी रामचन्द्र आचार्य फुर्सतीको कतिपयलाई यस प्रसङ्गमा हेक्का हुन् सक्दछ ।
मनोवैज्ञानिक यथार्थले समकालीन मान्छेको ब्यावहारिक जीवनमा ठूलो प्रभाव पारेको परिदृश्य विद्यमान छ । मान्छेको मनको शत प्रतिशत कुरा कसैले थाहा पाउन नसक्ने स्थिति छ । तसर्थ मनोतात्विक यथार्थको आधारमा विविधार्थी मानवीय सहसम्बन्ध विकसित रहेको कुरा निबन्धकार व्यक्त गर्छन् । विश्वको समृद्ध र शक्तिशाली राष्ट्रमा पुगेका नेपाली युवाको दिनचर्यालाई कतिपय यथार्थ र खासियतसहित ओमले स्पर्श गरेका छन् तथा गौतमबस्ती र पशुपतिभूमि आपूmलाई अरु थलो भन्दा सर्वाधिक प्यारो रहेको तथ्य प्रकट गरेका छन् । परिचित कुनै व्यक्तित्व लेखक, चिकित्सक, सैनिक र प्रशासक किन नहोस् प्रत्येकसितको भिन्नाभिन्नै संबन्ध एवं सम्पर्क हुने कुरा निबन्धकारले कुशलतापूर्वक रचनामा उतारेका छन् । मनोदैहिक रुपमा मान्छेका कतिपय क्रियाकलाप भए पनि अतियथार्थवादी स्वप्न विचरणको त्यतिकै महत्व हुने कुरालाई तार्किक रुपमा स्रष्टाले उठान गरेका छन् ।
यसैगरी ‘मान्छे महोत्सव’ मा नकारात्मक किसिमले जीवन जिउने कतिपय फटाहाको प्रस्तुतीकरण छ । अपराधी सम्मानित हुनु नहुने यिनको अभिमत छ । यिनी संकेत गर्छन् – ‘अपराध गर्ने कुनै होस् तिनको नाउ श्याम र सुन्दर दुवै हुनु हुँदैन ।’ मान्छे महोत्सवको आयोजना गरेर खराव र राम्रोलाई छुट्याउनु पर्ने यिनको विश्लेषणीय तर्क छ । ‘सेन्ट जो का डेविट’मा सन् २००९ को अमेरिका बसाइको बेलाको साक्षात्कृत अनुभूति छन् । यसमा दुइवटा अपार्टमेन्टमा बसोबास गर्ने परिवारको सजीव अनुभूति छन् । डेविट, उसकी जीवनसंगिनी टिफ्नी, उनीहरुका सन्तति इटर, दानेल र काखे बालक सुपुत्रको चित्रण छ यसमा । पिता माइकेलले डेबिट आठवर्ष जेलमा बसेर आएको व्यक्ति हो भनेपछि निबन्धकार ऊसित सतर्क रहने गरेका छन् । प्रत्येक परिचित पात्र र पात्रविधानको गत्यात्मक छवि विश्लेषण गरिएको यो एउटा विशिष्ट रचना हो । पटक पटक जेल यात्रा गर्ने कुख्यात र झगडिया पात्रप्रति लेखकीय सतर्कता एवं अनुस्मरण छ यसमा । ‘बौद्धिक शहरका माग्ने’मा अमेरिकाको आकर्षणमा विकासोन्मुख मुलुकका नागरिक किन परेका छन् त्यसको वस्तुगत विश्लेषण पाइन्छ । अमेरिकामा प्रत्येक काम वापत थुप्रै पैसा प्राप्त हुने गरेकोले अल्पविकसित र विकासोन्मुख राष्ट्रका युवा जमात यता आकर्षित हुने स्थिति छ । यसमा क्याम्ब्रिजको न्युटाउन कोर्टको वर्णन पाइन्छ । मित्र हरि, विष्णु र मधुकरजीसितका रोचक वार्ताहरु छन् । विश्व प्रसिद्ध शैक्षिक केन्द्र हावर्ड विश्वविद्यालय भएको ठाउँको प्रस्तुतीकरण छ यसमा । अमेरिकाको बौद्धिक शहरको अनेकार्थी परिदृश्यको प्रस्तुति छ यसमा । विभिन्न किसिमको माग्ने शैली अपनाएका यहाँका याचक जमातको यसमा वर्णन छ । ‘मेजर कि माइनर’मा सामाजिक शिष्टाचार र धेरथोर असभ्यताप्रति ग्रुप आक्रोशको प्रकटीकरण छ । मुटु सम्बन्धी कुनै पनि शल्यक्रिया प्राय: गरी जटिल प्रक्रिया हो । वस्तुत: परिचित र साथीभाइले रुग्ण व्यक्तिलाई कुन किसिमको अपरेशन हो भनि भेटैपिच्छे सोध्दा अनायास स्रष्टाको मानसिक अशान्ति र उदिग्नता बढेको स्थिति छ । अमानवीय र अव्यावहारिक सोच भएकाप्रति ओमले यहाँ परोक्षत: र प्रत्यक्षत: व्यङ्ग्य एवं कटाक्ष प्रकट गरेको देखिन्छ । ‘प्रेम प्रदर्शनमा कीर्तिमान’मा प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ (एभरीथिङ इज फेयर इन लव एण्ड वार) भन्ने संकथन संगेट्दै निबन्धकार विचारगंगामाहेलिएका छन् । आफ्नो स्वदेश नेपालको लिच्छवि, मल्ल, शाह र राणाकालको प्रेम प्रसंगदेखि लोकतान्त्रिक गणतन्त्रकालीन प्रणयशास्त्रसम्बन्धी उन्मादको यसमा विवरण छ । विश्वभरिका प्रेमी र प्रेयसी कसरी प्रेमसूत्रले गाँसिएका छन् । त्यसको जीवन्त प्रस्तुतिकरण छ निबन्धमा । पाल्पाको रानीमहलदेखि काठमाडौं उपत्यकाको रानीसरोवर सम्मको आफ्नै विशेषता छ प्रेमशास्त्रीय प्रसंगमा । यस रचनामा आफ्नो समयमा भारत गणतन्त्रको ताजमहल निर्माण गर्दा नागरिकहरुले बाध्यात्मक किसिमले गर्नुपरेको करकापपूर्ण श्रमको विश्लेषण पाइन्छ । निबन्धकारको विचारमा ताजमहल प्रेममहल मात्र होइन, बरु श्रमसंस्कृतिका दृष्टिले त्रास र अन्यायको परिचायक एवं प्रतीक मान्न सकिने अवस्थिति छ । ‘आग्लो नलगाउँदा’मा सत्यको पक्षधरलाई अनायास दृष्टिगत पीडाका बहुअर्थी बिम्ब छन् । वर्तमान र भविष्यमाथि अन्याय हुन नदिन आँखा र मनमा गजवार लगाइ दिनुपर्छ भन्ने यिनको चिन्तन भेटिन्छ । निबन्धकारको कथन छ – समाधानका गोरेटासम्म नभएको समस्याको ठाउँमा आजसम्म कोही पुग्न नसकेको कहाँ होला ? यिनी सम्भावनाको समापनपछि जति मच्चिए पनि त्यसको कुनै अर्थ र मूल्य नहुने ठान्छन् । ‘उठाएँ फेरि हात’मा यात्राको गन्तव्य र सम्बन्धप्रतिका उत्साह एवं चासो छन् । स्रष्टाले सहज भन्दा असहज यात्रालाई उपलब्धिमूलक हुने मानेका छन् । थुप्रै पुस्तक पढ्नु भन्दा योटै यात्रा ज्ञानबद्र्धक हुने यिनको अनुभव छ । मान्छेभित्रै समानान्तर रुपमा देवकोटा र दानव तथा गान्धी एवं गोड्से दुबै रहने गुढ अर्थवेत्ता बुझेका लेखक उक्लिएँ भन्दा ओर्लिनु परेको क्षणलाई सदैव प्राय: गरी बिर्सिदैनन् । मान्छेले मान्छेलाई कुन चरमविन्दुमा चिन्ने जस्ता चुनौतीलाई ओमले ठम्याएका छन् । यसर्थ यी सज्जन स्वभावका एकदुई जना साथीभाइलाई जीवनको पूँजी र उपलब्धि मान्ने गर्छन् । एल.बि. सरले चितवनको कैलाश नगरको कवि डाँडामा स्थापित पुरस्कार र चरैवेती साहित्यिक पत्रिकाको कार्यलाई यिनले फरक किसिमले प्रस्तुत गरेका छन् । यिनी बन्दुक नहुनेहरुका लागि जीवन एउटा युद्ध रहेको मान्दै कर्मवीर बन्न सम्बद्धलाई उत्प्रेरित गर्छन् ।
निबन्धकारले निबन्धधर्मितामा नेपालको प्रकृति, समाज र संस्कृतिसित औपचारिक र अनौपचारिक किसिमले खिचेका मनोभाव अनुभूत्यात्मक छन् । युरोपेली मुलुक र संयुक्त राज्य अमेरिकाको विभिन्न थलोमा समाजार्थिक प्रगति हुने ठानी विकासोन्मुख राष्ट्रका युवा प्रतिभा विदेशिने परिपाटी रहे पनि केहीको बाहेक थुप्रैको व्यावहारिक जीवन गतिलो नरहेको लेखकीय अवधारणा छ । जीवनलाई सरल र स्वाभाविक रुपमा स्वदेशमा व्यतीत गर्दा इच्छित सन्तुष्टि भेटिने यिनको निष्कर्ष छ । संस्मरण, नियात्रा, साक्षात्कार जीवनको दैनिकीमा स्रष्टाले मानवीय जीवनको गतिलो वास्तविकता ठम्याएको देखिन्छ । भौतिक संस्कृतिको विकृतिबाट सबैजना जोगिनु पर्ने यिनको परामर्श पाइन्छ । विशिष्ट प्रतिनिध्यात्मक रचनाले श्रीओम श्रेष्ठ (संवत २०१९ कात्तिक) आधुनिक नेपाली साहित्यका सचेत, दरिला, विशिष्ट र प्रतिनिधि निबन्धवेत्ता बनिसकेको भेटिन्छ । यिनको संवेदनाका स्वरहरु (संवत २०५४), अर्थहीन अर्थहरु (सं. २०५५), समयका संभावनाहरु (सं. २०५९), समुद्रवारि समुद्रपारि (सं. २०६०), नबिर्सिने दिनहरु (सं. २०६२) र एक्लो परिचय (सं. २०६९) ले निबन्धात्मक गुणवत्ता प्रदर्शित गरिसकेको विगत छ । भनौ कि नभनौं (संवत २०७३) मा अन्तरबाह्य जीवन र वैयक्तिक अनुभूतिको आत्मदर्शन इमान्दार ढङ्गले प्रस्तुत हुनु विचारोत्तेजक छ । अस्तु ।