रामायण र महाभारत विश्वकै प्राचीनतम महाकाव्य हुन् । यी संस्कृत साहित्यका अतुलनीय गौरव हुन् । यीमाथि पूर्वी जगत् (आर्यावर्त) ठूलो गौरव गर्दछ यद्यपि यी कृतिको विस्तार भारतवर्षको भूगोलमा सीमित छैन, यिनको प्रभाव टाढाटाढाका देशहरुमा अर्थात् विश्वभरि पुगेको छ ।
प्रस्तुत अध्ययनमा म रामायणको प्रभावलाई यसको मूलभूमि भारतवर्षदेखि उता अनेक एसियाई देशमा पुगेको पदचिन्ह खोजेर देखाउन चाहन्छु । रचनाको अन्त्यतिर रामायणको विश्वसभ्यतासम्म बिस्तार र प्रभावको प्रसङ्ग उठाउने प्रयत्न गर्दछु ।
केही वर्ष पहिले सार्क सांस्कृतिक केन्द्र श्रीलंकाको अनुरोधमा मैले भानु भक्तीय रामायणलाई अंग्रेजी भाषामा अनुवाद गर्ने अवसर प्राप्त गरेको थिएँ । यतिखेर त्यसको सम्पादन हुँदैछ । सो कृति प्रकाशनमा आएछ भने म नेपाली रामायणलाई अंग्रेजीमा लाने पहिलो नेपाली अनुवादक हुनेछु भन्ने लाग्दछ ।
सो कृतिको भूमिका तयार गर्ने क्रममा एसियामा रामकथाको प्रभाव र विस्तार :एक संक्षिप्त प्रसङ्ग शीर्षकमा एउटा विस्तृत अनुसन्धान गरी रचना तयार गरेको थिएँ । प्रस्तुत रचनामा एसियाभन्दा बाहिर विश्वभरि नै रामायणको विस्तार र प्रभाव हेर्ने चेष्टा हुनेछ । यद्यपि यो प्रयत्न एक चञ्चु प्रवेश मात्र हो ।
रामायणको मात्रै चर्चा हुँदैन, महाभारत पनि आउँछ । सर्सर्ति हेर्दा पनि जगत्मा नाम चलेका रामायणको संख्या तीन हजार पुगेको बताउँछन् । महाभारत पनि त्यति नै होलान् । प्रत्येक रामायण एकअर्काे जस्तै भए पनि केही भिन्न छ । कुनै रामायण ता आदि ग्रन्थ भन्दा पूरै भिन्न पाठ लिएर पनि आउँछ । पढ्दा आश्चर्य लाग्छ । यो किन यस्तो भयो भन्दा एक लेखनका पुनर्लेखन हुँदै गए, पुनव्र्याख्या हुँदै गए र यस्तो भयो । बीसौँ शताब्दीपछि त्यो प्रक्रिया झन् बढेको छ । पुनर्लेखनको प्रक्रिया प्रष्ट गर्न यहाँ महाभारतको समेत अलिकति प्रसङ्ग प्रस्तुत गर्दछु ।
यसपालिको हिउँदमा लामो समय स्वास्थ्यलाभको क्रममा बिसाउने मौका मिल्यो । जसको तात्पर्य व्यग्रतापूर्वक चल्नुपर्ने ननस्टप दैनिकीबाट धेरै छुटकारा मिल्यो । साथीभाइ आएका बेला वार्ता गर्यो, उनीहरु गएपछि आफू एक्लै भएपछि पनि मनले तिनैलाई खोज्न थाल्दोरहेछ । त्यसैले मैले तीभन्दा भिन्न र मलाई कहिल्यै नछोड्ने मित्रहरु खोज्न थालेँ । ती पुराना मित्रहरु जोसित जति बसे पनि अघाइँदैन । म तिनै मित्रसित रमाउन लागँे । किनभने तिनीहरुलाई बोलाउनु पर्दैन, तिनीहरुको आगमनको प्रतीक्षा गर्नु पर्दैन । ती नित्य मेरो साथैमा वरिपरि नै हुन्छन् । तिनै पुराना मित्रलाई सम्बोधन गर्ने कवि रबर्ट सूदे (सन् १७७४–१८४३) लाई सम्झेँ :
मेरा दिनरात तिनै दिवंगतसित व्यतीत हुन्छन् १
आफ्ना वरिपरि हेर्दा यी आँखाहरु
जहाँ पुग्छन् त्यहीँ म देख्छु
तिनै अतीतका महान् मस्तिष्कहरु
मेरा सदा अमर मित्र तिनै हुन्
जोसित मेरो प्रत्येक दिन वार्ता हुन्छ ।
पीडामा उनीहरुबाट आनन्द लिन्छु
दु:खमा उनीहरुबाटै सहारा पाउँछु
यो बुझेर जब सम्झिन्छु
म तिनीहरुप्रति कति ऋणी हुन्छु
मेरा गाला सधैँ रसाएर ओछ्यान् भिजेका छन्
जब उनीहरुलाई सम्झेर कृतज्ञताका थोपा चुहिन्छन् ।
मेरो विचार तिनै दिवंगतसँगै हुन्छ
म अतीतका पुराना वर्षहरुमा पुग्छु
तिनीहरुका सद्गुणको प्रेम गर्दै दुर्गुणलाई पर सार्दै
उनीहरुका आशा र भयमा सहभागी हुँदै
उनीहरुका जीवनबाट ती पाठ खोज्छु
र विनम्र हृदयले केही ज्ञान वा शिक्षा पाउँछु ।
मेरा आशाहरु तत्कालै तिनै दिवंगतसित पुग्छन्
छिटै नै मेरो स्थान तिनीहरुसँगै हुनेछ
अनि म पनि तिनीहरुसँगै डुल्नेछु
सम्पूर्ण अनन्तकालभरि
यहाँ एउटा नाम छोडेर जानेछु
मलाई विश्वास छ त्यो कदापि, धुलोमा मिल्ने छैन ।
— रोवर्ट सूदे
यो उसबेलाको अंग्रेजी कविता । पचास वर्षपछि पनि आफूलाई कण्ठै रहेछ । अनि एक बेलुका अपरेशन थिएटरबाट निस्केपछि एकान्तिकतामा घोर निराशा ओढिरहेको बेला यस्तै मित्रहरुको खोजीमा लागेँ । अनि दुईवटा अविस्मरणीय मित्रहरु फेला पारँे — ती हुन् द्रौपदी र फरेष्ट अव् इन्च्यान्टमन्टस् (मायावी वन) । म नयाँदिल्लीको एक अस्पतालमै थिएँ ।
महाभारतको पुनर्लेखनको छोटो प्रसड्ड
मैले हातमा लिएको द्रौपदी मूल पुस्तक होइन, यो अनुवाद हो । यो भारतीय साहित्यमा सर्वोच्च(ज्ञानपीठ) पुरस्कार विजयी उडिया भाषाकी प्रसिद्ध आख्यानकार प्रतिभा रायद्वारा सिर्जित कृतिको नेपाली अनुवाद हो । भारतीय साहित्यमै एक अब्बल दर्जाको कृति याज्ञसेनीको हिन्दी अनुवादबाट दार्जीलिङकी विदुषी विन्द्या सुब्बाद्वारा अनूदित द्रौपदी नेपाली पाठकको निमित्त एक अपूर्व ग्रन्थ रहेछ । अनुवादककै हस्ताक्षरयुक्त सो उपहार दुई वर्ष अघि प्राप्त गरेको थिएँ, यसपालि सँगै दिल्ली पुगेको थियो ।
द्रौपदी पढेर दुई कुरा प्रष्ट भए — विन्द्या सुब्बाले नेपाली पाठकसमक्ष दुई कुरा चिनाउन खोजेकी छन् । ती हुन्, महान् भारतीय नारी स्रष्टा र तिनले रचेका महान् साहित्यिक योगदान । सर्वप्रथम उनले तिम्रा अक्षरहरुको आयाम शीर्षक कृतिमा भारतीय साहित्यकी महान्तम् स्रष्टा महादेवी बर्मा (१९०७–१९८७) को परिचय गराइन् । उनी ज्ञानपीठ एवम् पद्मजस्ता सर्वाेच्च अलङ्कारले विभूषित स्रष्टा हुन् । त्यसैगरी सोही कृतिमा विन्द्याले अर्की ज्ञानपीठ पुरस्कारले विभूषित असमीया भाषाकी महान् स्रष्टा इन्दिरा रयसम गोश्वामी (१९४२–२०११) ‘इन्दिरा गोश्वामी’ नामकी सुविख्यात स्रष्टालाई चिनाइन् । यी दुवै महान् नारी स्रष्टालाई उनले आफ्नो यस संस्मरणात्मक निबन्धसंग्रहमा चिनाएकी छन् ।
अर्का र अति महत्वपूर्ण उनको योगदान हो द्रौपदी । अघि भनेँ प्रतिभा रायकृत बहुचर्चित, बहुप्रशंसित, पुरस्कृत आख्यान याज्ञसेनीको नेपाली अनुवाद । उडिया साहित्यको माष्टरपीस, आजसम्ममा भाषामा अनूदित याज्ञसेनी नेपालीमा आउनु ठूलो कुरा हो । याज्ञसेनी ल्याएर उनले यसकी स्रष्टा प्रतिभा रायलाई चिनाइन् ।
विन्द्याले चिनाएकी महादेवी बर्मा हिन्दी साहित्यकी शिखर व्यक्तित्व, छायावादी साहित्य धाराकी एक अग्रणी हुन् भने इन्दिरा गोश्वामी र प्रतिभा राय दुवै विद्रोही, समाजसुधारक, तल्लो वर्गका उत्थापक अन्य नारीवर्गका उद्धारक, महान् स्रष्टाहरु । यी दुवै कर्मलाई उनले उद्देश्यपूर्ण ढंगले ल्याएकी छन् ।
उनले रोजेका नारी स्रष्टा, तिनीहरुको विराटस्वरुप हेर्दा र तिनीहरुले अँगालेको लेखन दर्शन हेर्दा एउटा कुरा प्रष्ट हुन्छ – विन्द्या सुधारको पक्षमा छिन् । उनले रोजेका महादेवी बर्मा, इन्दिरा गोश्वामी अनि प्रतिभा राय ठूलो परिवर्तनको लागि कलाभित्र पसेर हुकार गर्दै उभिने महान् भारतीय नारी हुन् ।
उडिया भाषामा आख्यान सिर्जनामा सिद्धहस्त प्रतिभालाई भाषाले सीमित राखेन । उनका द्रौपदी लगायत अन्य कृति त्यतिकै नामी छन् । त्यसैले १५ भाषामध्ये एक नेपाली द्रौपदी हुन पुग्यो । उनको जीवनभरको एउटै लक्ष, एउटै चिन्तन छ — समानता, प्रेम, शान्ति तथा एकीकरणमा आधारित समाजको स्थापना । एक आदर्श ।
समाजमा विद्यमान जाति, वर्ग, लिङ्ग, धर्मले उत्पन्न गरेका विभेदले धेरै उत्पीडित छन्, असमानता भोगिरहेका छन् । उनले आफ्नो मास्टरपिस कृतिमा तिनै कुराको विरोध गरिन् । त्यसैले कतिले उनलाई कम्युनिष्ट भने, कतिले फेमिनिष्ट भने तर उनी भन्छिन् — म केही हुइनँ केवल एक ह्युम्यानिष्ट अर्थात् मानवतावादी हुँ ।
उनको मास्टरपीस कृति याज्ञसेनी पढ्दा थाहा हुन्छ — अबका सचेत नारी लेखक ग्रन्थादिमा जडित पात्र–पात्राको भूमिकालाई पनि सच्याउन चाहन्छन् । उल्ट्याउन चाहन्छन् । उनीहरु बारम्बार आफूमाथि आफ्नो जात, लिङ्ग वा वर्गमाथि भएको अन्यायलाई सच्याउन संशोधन गर्न त्यसको प्रतिरोध गर्न गराउन चाहन्छन् । यस्तो चेतनालाई विश्वसाहित्यले विनिर्माण (डिकन्स्ट्रशन) भन्दछ । यो एकप्रकारको पुनर्लेखन हो ।
हामीले महाभारतका कथा वर्तमान जीवनसँग सन्दर्भहीन हुन थाले भने, अप्रयोजनीय जस्ता भए भने तिनलाई मेट्ने होइन, सकेसम्म पुनर्लेखन गर्ने हो, रामायणका कथा मेट्ने होइन तर सकेसम्म पुनर्लेखन गर्ने हो । ती आद्यग्रन्थको निन्दा आलोचना गरेर पनि हामी सभ्य हुनेछैनौँ । इन्दिरा राइसम गोश्वामीले यस्तो आख्यान नीलकण्ठी ब्रजमा लेखिन जसले बञ्चितको कथा पाखा ल्याएर अबको हाम्रो बाटो के रहेछ भन्ने कुरा छर्लङ्ग पारिन् । अत्याचार गर्ने लाइसेन्स लिएका साधु, सन्यासी, पुलिस, पुरेत वकिल आदिका कसूरहरु पाखा ल्याएर अरुलाई सचेत गराएर बञ्चितलाई उठाउने कार्य गरिन् । यो वृन्दावनमा भोगिने अगणित वर्षदेखिको शोषणको कथा थियो । सबै कुरा शास्त्र, ग्रन्थमा लेखिएअनुसार त्यसको अनुशरण गर्दा गराउँदा मात्र अन्याय भएको छैन, अलिखित रुपमा रहेका संस्कृति र परम्पराको विना परिमार्जन पालना गर्दा पनि त्यस्तो भएको छ । जस्तै काशीको पण्डा अथवा इन्दिरा गोश्वामीले लेखेको वृन्दावनका पीडित विधवाका कथा नीलकण्ठी ब्रजमा देख्न पाइन्छ ।
मैले त्यो सन्धीकालमा थोरै समय लुकाएर द्रौपदी पठनलाई दिएँ । प्रत्येक खण्ड सिध्याउँदै विन्द्या बैनीको प्रशंसा गर्दै गरँे । यो उनको सिर्जनाको लागि त होइन तर यस्तो भारतवर्षमै चुनिएको बेजोड सिर्जनालाई, अर्थपूर्ण र सामयिक चिन्तनलाई नेपालीमा ल्याउने उनको निर्णय र आँटलाई मैले प्रशंसा गरेको थिएँ । द्रौपदी महाभारतकै कथा हो तर द्रौपदीको दृष्टिकोणबाट हेरिएको, बुझिएको, बताइएको र अथ्र्याइएको छ ।
यो कृतिको भाषा शैली उच्चकोटीको छ । एउटा साहित्यलाई उठाउनको लागि, त्यसको भाषिक स्तरीकरण नै मूल कुरा रहेछ । सामान्य कथ्य/बोलिचालीको भाषाको उद्देश्य अर्काे हुन्छ । गम्भीर साहित्य सिर्जनामा प्रयुक्त भाषाको उद्देश्य अर्कै । त्यहाँ त्यसको गम्भीरतालाई चिन्नुपर्दछ । त्यसको कलापक्ष हेर्नुपर्दछ । त्यसमा रहेको औपचारिक शब्द भण्डार (र त्यसको शक्ति) चिन्नु पर्दछ । अझ हामी नेपालीको मूल स्रोत संस्कृत भएकाले पठित वर्गले एकै अर्थमा बुझ्ने क्षेत्रीय भेद नझल्काउने तत्सम शब्द प्रयोग गर्ने आँट, उत्साह, अभ्यास र क्षमता आवश्यक पर्दछ । त्यस्तो स्रष्टाले मात्रै राम्रा विचार दिन्छ, कृतिलाई टल्काएर वाङ्मयलाई उचाल्छ । प्रतिभा रायले त्यही शक्ति र शिल्पको प्रयोगले नै याज्ञसेनीलाई त्यस्तो उचाइमा पुर्याइन् जसको निमित्त ज्ञानपीठ पुरस्कार प्रदान गरियो । त्यस्तो भाषालाई नेपालीमा ल्याउने विन्द्यालाई हामीले त्यसरी नै प्रशंसा गर्नु पर्दछ ।
तर त्यसो भए पनि कृतिको समुचित सम्पादन नभएकोले र कति प्रयुक्त शब्दको समुचित ज्ञान नभएकोले होला धेरै शब्दको प्रयोग त्रुटिपूर्ण छ । यो त्रुटि मूलमा थियो र हिन्दीमा सर्यो कि, हिन्दीमा थियो र नेपालीमा सर्यो कि प्रकाशककै असावधानीले भयो कि तर यथाशीघ्रै विन्द्या बहिनीले ती कुरा शुद्धयाउनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।
यस्तो कृति पढ्न पाएकोमा मेरो मन उज्यालो भयो । यस्तो प्रकारको पुनर्लेखन चेतनाले मूल परम्पराको निन्दा नगरी नयाँ चेतना घुसाउनु तिनमा परिमार्जन र परिवर्तनको लागि संकेत गर्नु साहित्य र समालोचना — दुवै विधाको विकासमा कत्रो कुरा हुँदो रहेछ ।
जब नव नारीचेतनाले महागाथामा आफ्नो स्थान खोज्छिन्
दिल्लीबाट एक महिनापश्चात सुकर्मटोल ओर्लिएँ । फेरि पनि समय आफ्नै हातमा रह्यो । यो शरीर धेरै कस्सिएर चल्न पनि सक्तैन तर भेटघाट वार्ताबाट उब्रिएको समयलाई चिया, फलफूल, घाम तपाईंबाट उब्रेको समय सुतेर कटाउन नसकिने भएपछि मैले एउटा मास्टरपीस पढेँ — त्यो थियो कुशनव चौधुरीको दि एपिक सिटी (कलकत्ता) । यस कृतिमा कलकत्ता शहरको इतिहासदेखि वर्तमानसम्मको सामाजिक यथार्थ छ र मैले पढेको तेस्रो मास्टरपीर द फरेष्ट अव् इन्च्यान्टमन्ट्स् — जादूको जंगल । यो चाहिँ चित्रलेखा व्यानर्जी दिवाकरुनी नामक लेखिकाको कृति हो । कुशनव चौधुरी भर्खर लेखनमा पसेका भारतीय–अमेरिकीको लेखनमा जादू भेटेर म लोभिँदै पढ्न बसेँ ।
अर्कातिर १९५६ मा जन्मेकी चित्रलेखा व्यानर्जी देवाकरुनीको एउटा कृति मेरो हात पर्यो । ब्यानर्जी पनि बंगाली मूलकै कलकत्ता निवासी रहिछन् । चौधुरी जस्तै अझ पहिलेदेखि अमेरिका पसेकी उनी अमेरिकी विश्वविद्यालयकी प्राध्यापक हुन् । दुवैजना दुवैतिरका गौरव अमेरिकन इण्डियन डायास्पोरिक नागरिक डा. व्यानर्जी उपन्यास, कविता, आख्यान अनेक विधामा ख्याति कमाइसकेकी अंग्रेजी प्रोफेसर ।
त्यसो त बंगालीको गौरवलाई रविन्द्रनाथ ठाकुरले स्थापित गरेका हुन् । आज आएर अमिताभ घोष, झुम्पा लाहिरी, चित्रलेखा व्यानर्जी जस्ता अनेकौं स्रष्टा तिनै पदचापमा चल्दैछन् ।
मैले चित्रालाई पढेको थिइन तर यसपालि ऋचा छोरीले ल्याएको रिभ्यूकपी अनधिकृत पाराले लुकाएँ र उनी जयपुर लिट्रेचर फेष्टिबलमा गएको बेला पढिसकेँ । ३५८ पृष्ठको यो कृति हार्पर कोलिन्स जस्तो नामी संस्थाबाट तुरुन्तै प्रकाशित भयो ।
अंग्रेजी भाषामा लिखित यो कृति अनुवाद नभएर मौलिक हो । तर यो मौलिक नभएर एक अनुकूलन जस्तो आंशिक रुपले पुनर्लिखित अनुवाद जस्तो हो । भारतवर्षमा हुर्केका स्रष्टाको चेतना यहाँको विशाल संस्कृतिले यहाँको महान् सभ्यताले छोएको रंगिएको हुन्छ । यहाँका रामायण, महाभारत, पुराण र उपनिषदको धेरथोर ज्ञान भएको स्रष्टाले जुनसुकै विश्वमा पुगेपनि यति आश्चर्यको अर्काे विश्व भेट्ने छैन । यही शक्तिले ऊ विश्वसामू भिन्न शक्तिले उभिन्छ । त्यसैले चित्रा व्यानर्जीले भारतवर्षकै प्राचीनतम गाथा (रामायण) पुनर्लेखन गरिन् । त्यही शक्तिले उता पनि ख्याति आर्जन गरेका छन् ?
रामायणको पुनर्लेखन : एक दृष्टान्त
नयाँ समयको अग्निमा खारेर निकाल्दा सोही वस्तु कसरी धपधप बल्दोरहेछ, खारिएको सुनजस्तो । पढौँपढौँ लाग्ने, झन् पढौँ लाग्ने । उनीभित्र हुर्केको भाषाको यो जादू कल्पनाको प्राचूर्य र ठाउँठाउँमा भेटिने विद्रोह अनि विनोदप्रियता देखेर म छक्क परेँ । यसरी पनि रामायण लेखिन सक्तोरहेछ नि !
त्यसो त यो रामायणकी सीताको कथा हो । वाल्मीकिको कलम होइन । शुरुमै एक ठाउँ र अन्त्यतिर पुगेर तीनचार ठाउँमा उनले ‘सीतायन’ शब्द प्रयोग गरेकी छन् । यता वाल्मीकि आश्रममा परित्यक्त जीवन व्यतीत गर्दा स्वयम् सीताले सीतायन लेखेकी अनि लव र कुशले यो राम्ररी गाउन सिकेको सन्दर्भ छ तर कृति शीर्षक त्यो छैन— इन्च्यान्टमण्ट अव फरेष्ट (मायावी वन) मात्रै ।
यो वन यथार्थ होइन, एक प्रतीकात्मक जंगल हो — मायाको, जीवनको, भ्रान्तिको बिम्वात्मक कुरो । यो मनको अन्धकारभित्र उम्रेको, जंगली पशुको अरण्य क्षेत्र हाम्रो मन जस्तो पनि हो जुन जता पनि लोभिएको छ, जसले कुनै कुराको अन्तिम टुङ्गो लाउन सक्तैन र नित्य रनभुल्लमा हुन्छ ।
जसरी प्रतिभा रायले एक विशेष उद्देश्य लिएर याज्ञसेनी लेखिन्, त्यसैगरी चित्रा व्यानर्जीले प्रस्तुत इन्च्यान्टमेन्ट (सम्मोहन) लेखेको कुरा प्रष्ट हुन्छ । अब हाम्रा आद्यग्रन्थको अनुवाद मात्र आउँदैन । लेखकको विशेष दृष्टिकोण मिसिएर र सामयिक परिवर्तन संकेत लिएर अनुवाद प्रस्तुत छ ।
यी दुवैलाई नयाँ चेतनाले लेखाएको छ । हाम्रा महाख्यानभित्र पसेर तिनको पुनव्र्याख्या गर्न अह्राएको छ । यो कथा यहाँनेरि यस्तो हुनसक्थ्यो, हुनुपर्नेथ्यो भन्न लगाएको छ । पुरुषद्वारा शासित सञ्चालित जगत्मा नारीको स्थान भिन्न, परोक्ष र सदा पुरुषरक्षित हुनेगथ्र्याे । नारीलाई पुरुषको हारमा राखिएन । साथै उनीहरुको सोचग्रन्थी भिन्न भयो — सौन्दर्यमा, रुपमा, यस्तै केकेमा लाग्नुपर्ने ठानियो । ती कुरा आज बदलिँदै छन् । नारीको अर्काे पाटो खुल्दैछ ।
यो एक आधुनिक रामायण हो । सबै रामायणको कथा तर कति ठाउँमा काटिएको छ, हामीले पढेको रामायणमा कति कुरा थपिएको छ । त्यसो त लेखकले बताएकी छन् — यस ग्रन्थको तयारीमा सातवर्षको निरन्तर तपस्या छ । मैले संस्कृतमा रचित अध्यात्म रामायण र वाल्मीकि रामायण, तामिलमा रचित कम्ब रामायण र बंगाली कृतबासीरामायण अध्ययन गरेर यो कथा बनाएकी छु । हेरौँ, मूल जस्तो फेरि भिन्न पनि ।
नेपाली भानुभक्तीय रामायण पढेका भरमा यसलाई बुझ्न सकिन्न । यसको लागि १०–२० क्लासिक रामायण गाथा र अन्य भाषाका विशिष्ट मानिएका रामायण परम्परा सुने पढेको हुनु जरुरी छ ।
यो सीतायन ग्रन्थमै कति ठाउँका कथासार भिन्न छन् । पढ्दै जाँदा म छक्क पर्दै गएँ । त्यसमाथि एक उत्तरआधुनिक कालकी श्रेष्ठ लेखिका, समकालीन पाश्चात्य सिद्धान्तहरु कण्ठ पारेकी नारीले ठाउँठाउँमा यस्तो हुनुपर्ने किन यस्तो भनी नारी दृष्टिकोणले कथा बुनेकी छन् । तर सबै कथा सीताकै दृष्टिकोणले सीताकै मुखबाट भनाइएको छ । जस्तै शुरुमै सीतायन लेख्नुपर्ने समय आएकोमा सीता बोल्छिन् : हाम्रो पनि कथा लेख । हामीलाई सधैं कुनामा ठेल्यौ, तुच्छ देखायौ, गलत बुझ्यौ, दोष देखायौ, भूल्यौ — अथवा अनिष्टकर कर्म गर्यौ र कसरी हाम्रो कथा बुझ्यौ ?
यो सम्पूर्ण गाथामा सीता मूलपात्र छिन् । सीता आफै वक्ता, प्रस्तोता अनि जसरी प्रतिभा रायको याज्ञसेनीमा द्रौपदी आफैँ मूलपात्र र प्रवक्ता छिन् त्यसैगरी यहाँ सीता छिन् । यसैगरी वाल्मीकिले पनि लेख्ने मौका पाउँदा उनले पुरुष ग्रन्थी लेखेर नारीलाई छोपेका थिए । अब नारी मनोग्रन्थी देखिने पालो आएको छ; नारीबाट नारी–पुरुष लेखिने पालो आएको छ ।
शुरुमै एउटा व्यङ्ग्य छ — यो मिथिला राज्यलाई पुरुषले मात्र शासन गर्न सक्छन् ।
“म पनि तपाईंसितै वन जान्छु” सीताका यी बात सुनेर रामका आँखी भौँ खुम्चिए ।
“कस्तो मूर्खता ? तिमी मसँगै आउन सक्तिनौ । कति खतरा छ । म अनुमति दिन्न । तिमी त एक नारी न हौ ।”
रामका यस्ता वाणी सुनेर सीताले भन्न चाहिनन् “सबै महिला तपाईंले सोचेजस्ता कमजोर औ असहाय हुँदैनन् । म गएँभने तपाईंलाई पनि सहायता गर्न सक्छु ।” त्यसैले उनले आफ्नी आमा (विमाता सुनयना) को उपदेश सम्झिइन् र एकएक शब्द तौलेर बोलिन् ।
रामले एक्लै वन जान्छु भन्दैछन्, सीतालाई तिमी नजाऊ भन्दैछन् । राम बारम्बार ‘कर्तव्य’ भन्दछन् ‘औचित्य’को कुरा गर्दछन् । “यी यस्ता शब्द हुन् जसलाई रामले राम्ररी बुझेका छन् । अनि मैले पनि प्रयोग गरेकी हुँ । तर ती शब्द पछिल्तिर ‘म तिमीलाई प्रेम गर्छु; म तिमीलाई चाहन्छु, मलाई एक्लै नछोड’ पुकार्दै छु” सीता बोलिन् ।
हेर्नोस् पुरुषले स्वनिर्णय गर्छ नारीले त्यही गर्न कत्रो पुकारा गर्नुपर्छ ।
कौशल्या माता (सासू) समक्ष पनि अनुनय–विनय गरेपछि उनले यस्तो अनुमति दिइन्, “हे सीते, वनमा गएर पनि तिमी रामलाई खुशी राख्न सक्छ्यौ भने जाऊ । मेरो चिन्ता नगर, म आफैँ बस्न सक्छु ।”
एक युवतीबाट परिवारले कस्तो अपेक्षा गर्दाेरहेछ, उनी स्वतन्त्र हुन नपाउने ?
तर नारी जहिले पनि द्वन्द्वमा छन् — सासू–ससुरा अनि घरप्रतिको धर्म र पतिप्रतिको कर्तव्य । यता छुटेकी उर्मिला, विरामी सुमित्रा उता राम । “एउटा नारीको लेखान्त नै यही हो, सधैँभरि परस्पर विरोधी प्रेमहरुले तानिएर बीचमा पर्नुपर्ने हो ?” सीताले सोधिन् ।
“दिदी तपाईंसितै वन जानुहुन्छ, म किन जान नपाउने ?” उर्मिलाले प्रश्न गरिन् तर उनी पनि आफ्नोबारेमा निर्णय गर्न असमर्थ थिइन् ।
प्रत्येक पृष्ठमा दमित नारीका वञ्चना प्रस्तुत छन् । हामी (पुरुष) यी पक्षमा अनभिज्ञ थियौँ तर नयाँ दृष्टिले देखाउने लेखक जन्मेपछि ती उपाय र त्रुटिहरु छर्लङ्ग हुँदै आउने रहेछन् । यसरी महाख्यानको पुनव्र्याख्या गरेर अरु लघुआख्यान तयार गर्ने समय आएको छ, वर्तमान विश्वसमालोचनाले त्यही भन्छ । आदर्शीकरणले मात्र हँुँदैन, देवत्वको स्थानले मात्र हुँदैन; सबै कुरा मानवको भूमिकामा छन् भने सम्वेदनामा पनि मानवोचित दृष्टिकोण नै चाहिन्छ भन्ने आवाज उठेका छन् ।
उर्मिला भन्छिन् “सीता दिदी, तपाईं यस कथाकी नचिनिएकी वीराङ्गना हुनुहुन्छ; जसको भूमिका झन् कठोर हुँदैछ । त्यो हो प्रतीक्षा गर्नु र चिन्तित रहनु ।”
एकैछिन राम लक्ष्मणले छोड्दा नै सीता हराइन् — के नारीहरु सधैँ अरक्षिता छन् ? पुरुषहरु सधैँ दुष्ट, वासनाको प्यासले बहुलाएका र नारीहरु रुप मात्रै खोजी हिँड्ने जाति हुन् ? इन्द्रले त्यसो गरी गौतमीमाथि छल गरे, रावणले सीतामाथि झैँ एकै छिनमा । आत्मविश्वास नभएर छलिएका हुन् कि ! जगत्मा दुष्टहरु पनि छन् भन्ने थाहा नपाएर लुटिएका हुन् कि ?
अन्त्यतिर राज्याभिषेक हुने बेलामा जब रामले सीतालाई नस्वीकारी फेरि पनि अग्नि परीक्षामा पठाउने अडान लिए तब सीता भन्छिन्, “मेरो सम्पूर्ण शरीर नजलुन्जेल मभित्र क्रोध उम्लिरहनेछ । कति खालका जलन छन् जसको निम्ति अग्नि चाहिन्न । प्रेमले एक शब्द बोल्नु छैन, उल्टै यत्रो दु:ख खन्याए ममाथि; एक शब्द क्षमा याचना छैन; न उनले मलाई दरबारबाट वाल्मीकि आश्रम पठाउँदाको अन्याय र क्रूर पाराबारे केही भने, यहाँसम्म कि मेरो नामसम्म उच्चारण गरेनन् ।”
वाल्मीकि आश्रममा परित्यक्ता सीताले कसरी त्यतिका वर्ष गुजारिन् होला । त्यहीँ बसेर उनले यो सीतायन लेखेकी थिइन्, आफ्ना छोरा लव–कुशलाई त्यो गाउन सिकाएकी थिइन् । पछि अयोध्याको दरबारमा ती छोराले गाएको सुनेर रामका आँखामा आँसु भरिएका थिए ।
वाल्मीकि आश्रममै छोराहरुले सीतायन गाएको सुनेर सीता भन्छिन् “म पनि सुन्ने गर्छु; म सम्पूर्ण हृदय लगाएर सुन्छु किनभने आफ्ना छोराहरुलाई सुन्ने यो अन्तिम पल्ट हुनसक्छ । उनीहरुको सुन्दर स्वरले मेरो सम्पूर्ण अस्तित्व हल्लाउँछ । ती स्वरलाई यी कानले उघाएर राखिरहने प्रयत्न गर्छु — मेरो गौरव, मेरो आनन्द । अहा ! प्रेम भनेको सर्वाधिक तिखो र अति मिठो हतियार रहेछ ।
त्यसपछि मात्रै लव कुशले के गाउँदै छन् भनेर राम्ररी खुट्याएँ । यो त वाल्मीकिको महाकाव्य (रामायण) होइन रहेछ ! उनीहरु त मैले एकान्तिक अन्धकारमा लेखेका पृष्ठहरु गाउँदै रहेछन् । हामी सम्पूर्ण किनारामा पारिएकाहरुको क्रोधलाई आवाज दिन लेखिएकोे कुरा । हामी अन्यायमा पारिएका छौँ, गलत बुझिएका छौँ । मेरो सत्य र मेरो जीवनलाई छुने ती नारीले (सीताले) भोगेको सत्य यसमा छ । ती नारीको आँसु र हाँसो, तिनीहरुको विजय र पीडा, तिनीहरुका अभिशाप र बरदान ।
लव र कुशले गोप्य सल्लाह गरेर म कतै बाहिरतिर गएको बेला हाम्रो कुटीबाटै त्यो पाण्डुलिपि घोकेका होलान् । उनीहरुले गोप्यरुपले यी श्लोकहरु गाउने अभ्यास गरे होलान् । उनीहरुले मेरो सम्झनामा यो गायनमा प्रस्तुत गर्ने निश्चय गरेका होलान् — सीताको गाथा किन दुनियाँलाई सुनायौ भनेर उनीहरुका गुरुसित वाल्मीकि पनि रिसाउने हुन् कि ?
यो सीतायन गाएको सुन्दैछु, म सँगसँगै रुँदैछु । उनीहरुकासँग मेरा आँखा जुध्छन्, ती पनि रोइरहेका छन् ।” सीतायन यस्तो छ । यो आजका अधिकार सम्पन्न नारीले हेर्ने दृष्टिकोण र बोल्ने कुराले पुननिर्मित छ । एउटा आद्यकथा वाल्मीकिका कति अन्य संस्करण हुँदा रहेछन् । एउटा महाख्यानमा कसैको विश्वास छैन । अनेक लघु आख्यान आउँछन् र सत्यलाई अनेक दृष्टिकोणबाट प्रस्तुत गरिन्छ विश्लेषण गरिन्छ । यो पुनर्लेखनको युग रहेछ ।
विश्वसाहित्यमै बहुल सत्यपट्टि कुरा ढल्किएका छन् । द्रष्टाहरु एक सत्यका अनेक रुप खोलेर हेर्न लागे । एक महाभारतका अनेक भर्सन (पाठान्तर, रुपान्तर) र अनेक दृष्टिकोण देख्ता हामी छक्क पर्छा । त्यसो त साहित्य अकादमी नयाँ दिल्लीले विश्वभरका रामायण अध्ययनका १३ भोल्यूम प्रकाशित गरेको छ तर अझै नयाँ आइरहेछन् — प्रत्येक दृष्टिकोण नयाँ छन् । अहिले मात्र होइन अघि पनि नयाँ थिए । वेदव्यासले लेखे एउटा दृष्टिकोणले, वाल्मीकिले अर्कै दृष्टिकोणले, विशिष्ट ऋषिले अर्कै दृष्टिले । त्यसो भए पनि अघिका पाठान्तरमा रामायणका मूल मर्मसित कोही पनि प्रश्न गर्दैनथ्यो आज जस्तो । आज प्रत्येकले प्रश्न गर्ने भएको छ ।
अघि रामलक्ष्मण दशरथका दृष्टिले सत्य खोज्नेहरु थिए । एक आदर्श थियो । आज सीता कैकेयी, रावण, मारिचदेखि अरु यस्ता छन् — शूर्पणखा, सबरी, रावण, इन्द्रजीत, बालि, सुग्रीव, तारा, गौतमी, अरु–अरु सूर–असूर, राक्षस, वानर सबै छेलिएका प्रत्येक मार्जिनल अनि पर्यावरणीय प्रणाली, जलवायू, प्रकाश, तेज, आकाश — एक ब्रह्मास्त्रले, पाशुपताश्त्रले भष्म पार्दा कति क्षति भयो — ती सारा कुरा र दृष्टिकोण उठ्तै छन् । रामायणहरु अरु अरु अनेक पाठभेद निस्केता पनि तिनले नपुगेर अरु दृष्टिकोण आउँछन् । निस्किरहनेछन् । हाम्रा गोविन्दराज विनोदीले कैकेयी शीर्षक काव्य लेखे, सुर्पणखा शीर्षक खण्डकाव्य लेखे । चितवनका कवि राजकृष्ण कँडेलले द्रौपदीको पश्चात्ताप लेखे; यता घनश्याम कँडेलले धृतराष्ट्र (काव्य २०७४) मा मदन पुरस्कार प्राप्त गरे । उनका अरु त्यस्तै पुनर्लेखन काव्य छन् देवयानी, विश्वामित्र र मेनका ।