गाउँलाई नाप तौलको
परिभाषाको ज्ञान छैन
गाउँका साहुलाई
व्याजमाथि स्याज थप्ने
एकलौटी अधिकार छ ।
–मोदनाथ मरहट्टा, उज्यालो जन्मनुअघि(खण्डकाव्य)
२०५२ सालपछि कविका रुपमा मैले चिनेको मोदनाथ मरहट्टा । जनादेश साप्ताहिकमा कहिलेकाहीँ उदय गाउँलेको नाममा उनका कविताहरु पढिन्थ्यो । उनको यो गुप्त नामको भेद चाहिँ पछि उनीसँगको एउटा भेटमा खुलेको । मलाई उनका कविता मन पथ्र्यो ।
२०५३ सालको फागनु २४ गते काठमाण्डौबाट प्रकाशित हुँदै आइरहेको ‘कलम’ त्रैमासिक साहित्यिक पत्रिका र विराटनगरबाट प्रकाशित हुने ‘साथी’ साहित्यिक पत्रिकाको आयोजनामा मोरङको इटहरीमा विचारगोष्ठी सहितको कवितागोष्ठी कार्यक्रम थियो । पूर्वदेखि पश्चिमका सबै जिल्लाहरुका प्रतिनिधि कविहरुको बाक्लो उपस्थिति देखिन्थ्यो त्यस कार्यक्रममा । त्यतिखेर मध्यपश्चिमका पहाडी जिल्लाहरुमा जनयुद्धको शंखनाद उठ्दै थियो । २०५२ सालको फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले सुरु गरेको जनयुद्धले मुलुक तरङ्गित थियो । र, त्यसको प्रभाव र राप र तापले विस्तारै तराईका जिल्लाहरुलाई समेत छोइरहेको थियो । एकथरी मान्छेहरु आँखामा सुदूर सपनाहरु बोकेर देश बदल्न हिँडिरहेका थिए र उनीहरुका कलमहरु शासकका अन्यायका विरुद्ध युद्ध चेतनाले भरिएका समवेतका अक्षरहरु कोरिरहेका थिए । तिनै कलमजीवीहरुको स्वर इटहरीको त्यो कार्यक्रममा आफ्नो सपनाहरुप्रति प्रतिबद्ध भएर उठिरहेका थिए ।
‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दु:ख बिसाउँदा
मञ्चमा कलाकारहरुले यो गीत गाउन सुरु गर्दा पऽऽर्रर्रर्र एकबाजी जोडदार ताली बज्यो । गीत कतिखेर सकियो कुन्नि ! कलाकारहरुले गीत सकेर मञ्चबाट ओर्लिसकेपछि पनि धेरैबेरसम्म सबैका आँखा स्तब्ध थिए । र, मञ्चको शून्यतालाई नियालिरहेका थिए । सबैको अनुरोधमा कलाकारहरुले मञ्चमा उक्लेर फेरि दोस्रोचोटि यो गीत गाउनु पर्यो ।
कार्यक्रम थियो अब कविता वाचनको । उद्घोषकले एकपछि अर्का कविहरुको नाम सम्बोधन गर्दै कविता वाचनका निम्ति क्रमश: मञ्चमा निम्त्याउँदै थिए र कविहरु आ–आफ्ना कविताहरु लिएर मञ्चबाट कविता सुनाउँदै थिए ।
उद्घोषकले तनहँुका कवि भनेर मेरो नाम उद्घोष गरेपछि मञ्चमा उक्लिएँ र आफ्नो कविता ‘युद्धनगरामा उठिरहेका राता पहाडहरु’ सुनाएँ । मञ्चबाट ओर्लिएर अलि पर श्रोताहरुको भीडको एउटा कुनामा पुगेपछि एकजना मान्छे मेरोअघि मुस्कुराउँदै उभिन आइपुगे र मलाई झट्ट सोधे, ‘तपाईंको घर तनहुँ काँ ?’
उनको त्यो प्रश्नले एकैछिन म अलमलिएँ ।
म अलमलिएको देखेपछि मलाई त्यो अप्ठ्यारोबाट छुटाउन उनले भने, ‘म मोदनाथ मरहट्टा, घर गोरखा ।’ सायद ऊ मेरो नामसँग परिचित रहेको हुनुपर्छ । र, यत्ति भनेपछि हामी सहज संवाद गर्न सक्छौं भन्ने उसलाई लाग्यो । नत्र यति सजिलै किन ऊ खुलेर मलाई आफ्नो परिचय दिइरहन्थ्यो !
‘म पनि कहिलेकाहीँ कविता लेख्छु ।’ उनले भन
‘म अनिल श्रेष्ठ, तनहुँ आँबुखैरेनी ।’ मैले पनि आफ्नो परिचय दिएँ
गोरखाका कवि भनेपछि एउटा सद्भावको सम्बन्ध गाँसियो । परिचयकै क्रममा त्यहाँ उनीसँगै रहेका अर्का कवि दाङका यज्ञ बहादुर डाँगी र उदयपुरका पुण्य कार्कीसँग चिनजान हुने अवसर जुर्योे । पत्रपत्रिकाहरुमा मैले बारम्बार पढ्दै आइरहेका कवि हुनुहुन्थ्यो उहाँहरु । त्यो भेट झनै आत्मीय र हार्दिकतापूर्ण बन्यो । हाम्रा कुराकानीहरु सहज बन्यो ।
‘लेखनका हिसाबले म तपाईंलाई राम्रोसँग चिन्छु । हाम्रो भेट मात्र हुन नसकेको हो ।’ मोदनाथ मरहट्टा मलाई भन्दै थिए । फरासिला देखिन्थे उनी ।
‘मैले त तपाईं निकै बुढा पो हुनुहुन्छ भन्ठानेको थिएँ ।’ मलाई हेर्दै कवि यज्ञ बहादुर डाँगीले भने । उनको त्यो रसिकपूर्ण भनाइले हामी सबैको अनुहारमा एउटा रमाइलो हाँसो खेल्यो ।
‘कति वर्ष हुनुभयो ?’ मोदनाथ मरहट्टाले सोधिहाले
‘पच्चीस ।’ भनें
‘कति सालको जन्म ?’ फेरि सोधे
‘अट्ठाइस ।’
‘तपाईंको लेखन र उमेर उस्तै लाग्दैन ।’ यज्ञ बहादुर डाँगी भन्दै हुनुहुन्थ्यो,
प्रतिक्रियामा म उहाँहरुलाई हेरेर मुस्कुराइरहें । उहाँहरु उमेरले मभन्दा निकै पाको हुनुहुन्थ्यो । त्यसैले पनि उहाँहरुका यी प्रतिक्रियाहरु मेरा लागि स्वाभाविक थिए ।
‘अनि तपाईं आँबुखैरेनी र म हर्मी । तपाईं पनि लेख्ने, म पनि लेख्ने । हाम्रो भेट चैं किन भएन ?’ मोदनाथ मरहट्टाको गुनासो थियो ।
यसरी त्यो छोटो भेटघाटले हाम्रो सम्बन्धलाई अन्तरङ्ग बनायो । युद्ध र आन्दोलनसँग जोडिएका धेरै कुराहरु भए । सांस्कृतिक सङ्गठन र जिम्मेवारीका कुराहरु भए । मञ्चबाट कवि मोदनाथ मरहट्टाको नाम उद्घोष भएपछि उनी आफ्नो हातको डायरी च्यापेर मञ्चतिर लागे । मञ्चतिर फर्किएर म उनको कविता सुन्न थालें । उद्घोषकले कार्यक्रम सकिएको घोषणा गर्दा लगभग साँझ परिसकेको थियो । नजिकैका सडकका रुखहरुका बासस्थानमा चराहरु फर्किसकेका थिए र होहल्ला गर्दै थिए ।
कार्यक्रम सकेर सडकतिर ओर्लिँदै गर्दा धेरैका ओंठहरुबाट अझै पनि सुनिन्थ्यो, ‘खोकु छिन्ताङ दुख्यो कि …. ।’
वसन्तका पालुवामा शहीदहरु फुल्छन्
सल्लेरीका सुसाइमा हावा भई डुल्छन्
धनकुटाले आफ्नो घाउ सम्झिरहनु पर्छ
नशाभित्र तातो रगत बहाइ रहनु पर्छ ।
०००
२०६३ सालपछि एकदिन एउटा अप्रत्यासित भेट भयो मोदनाथ मरहट्टासँग । इटहरीपछि उनीसँगको यो लामो अन्तरालको भेट थियो । अनिल श्रेष्ठलाई खोज्दै उनी आँबुखैरेनी आइपुगेका थिए ।
रमाइलो पनि कस्तो !
एकजना अचिनारु मेरो घरको आँगनमा आएर एक बिहान मलाई सोध्दै थिए, ‘यहाँ अनिल श्रेष्ठको घर कुन होला ?’
म आँगनमै थिएँ । भनें, ‘यही हो ।’
‘मलाई कवि अनिल श्रेष्ठसँग भेट गर्नु छ । कसरी भेट्न सकिन्छ होला ?’
पक्क परेर उनलाई हेरें । मलाई खोज्दै मेरै आँगनमा मेरो सामु उभिएर मलाई सोधिरहेका यी अचिनारुको अनुहारलाई अलिकति गढेर हेर्दै भनें, ‘अनिल त मै हुँ ।’
‘म मोदनाथ मरहट्टा ।’ उनले भने
र, विस्मित भावमा एकअर्कालाई हेरेर हात मिलाउँदै हामी दुवै मज्जाले हाँस्यौं । एउटा रोमाञ्चक क्षण बन्यो त्यो । यो दश वर्षको अन्तरालमा हामीले एकअर्काको अनुहारलाई लगभग बिर्सिसकेछौं । फेरि स्मरण भयो इटहरीको ।
त्यसपछि भने उनीसँग अनगिन्ति भेटहरु भइरहे । मेरो अन्तरङ्गी बनिरहे ।
०००
‘अनिल सर, यसपटक सुर्खेत जाने मानसिकता बनाउनु होला है । समयको पछि जानकारी गराउँला ।’ काठमाण्डौबाट इच्छुक सांस्कृतिक प्रतिष्ठानका महासचिव कवि मित्रलाल पंज्ञानीले एकदिन फोन गर्नुभयो ।
नभन्दै मिति तय भएर आयो २०७७ माघ ७, ८, ९ र १० गते । कार्यक्रम थियो ‘नेपाली लोकगीतमा प्रगतिशीलता’ एक अन्तरक्रियात्मक विचारगोष्ठी कार्यक्रम । र, आयोजक र सहआयोजक संस्था थिए इच्छुक सांस्कृतिक प्रतिष्ठान र हर्क बहादुुर शाही स्मृति फाउण्डेसन । प्रस्थान विन्दु थियो सुर्खेत विरेन्द्रनगर ।
कोविडको महामारीले थिल्थिलिएर राम्ररी तङ्ग्रिन नसकिरहेको समय, हामी एउटा उद्देश्यलाई निश्चित गरेर यात्रामा निस्किएका थियौं । काठमाण्डौबाट यात्रामा हुनुहुन्थ्यो प्राडा ताराकान्त पाण्डेय, प्राडा जगदीशचन्द्र भण्डारी, कवि मित्रलाल पंज्ञानी, शीला योगी, चक्रपाणी शर्मा ।
‘हामी काठमाण्डौबाट बिहानै हिँड्ने कार्यक्रम छ । तपाईं मुग्लीङमा आएर बस्नु होला । बाँकी फोन सम्पर्कमा रहँदै गरौला । चितवनमा मोदनाथ सरसँग पनि फोन सम्पर्क गर्दै गर्नु होला ।’ अघिल्लो दिन ६ गतेको साँझ मित्रलाल पंज्ञानीले मलाई भन्दै हुनुहुन्थ्यो । यथाअनुरुप ७ गते बिहान मुग्लीङबाट यात्रामा जोडिन पुगेको म ।
नारायणगढमा नारायणी पुल नजिकै पर्खिरहेका थिए मोदनाथ मरहट्टा । उनी गाडीमा चढेपछि पुल काटेर गाडी पश्चिमतिर हाँक्कियो । मसँगै एउटै सीटमा थिए उनी । झोलाबाट निकालेर मेरो हातमा फ्यात्त एउटा किताब थमायो र भन्यो, ‘ल यो किताब पढेर अनिललाई एउटा लेख लेख्ने जिम्मा दिएँ ।’
किताबलाई ओल्टाइ कोल्टाइ गरें । निकै आकर्षक आवरण कलामा सजिएको स्मार्ट आकारमा किताब चिटिक्कको थियो । लोभलाग्दो थियो ।
‘फोटोमा पनि मुसुक्क मुस्काइछौ त बूढा ?’
उनी हाँसे । र, भने ‘खै प्रोल्लासले फोटोलाई के के गर्दिए ।
‘अनिलले इलाममा मलाई एक्लै छाडेर हिँडे भनेर गुनासो छ है मोदनाथ सरको ।’ माइक्रोमा हामीभन्दा अघिल्लो सीटमा बसिरहनु भएका ताराकान्त सर बोल्नुभयो ।
गाडीभित्र प्रसङ्ग बन्यो इलाममा भएको प्रगतिशील लेखक संघ, नेपालको दशौं केन्द्रीय समितिको राष्ट्रिय परिषदको बैठक । २०३७ साल चैत्र २७ गते इलामको इभाङमा पञ्चायती शासकहरुले क्रूरतापूर्वक हत्या गरेका शहीद रत्न वान्तवाको गाउँ चित्रभन्ज्याङ र उनको स्मृतिमा बनेको शालिक रहेको एउटा उद्यानमा हामी परिषदको बैठकमा उपस्थित भएका लेखकहरु थियौं । कार्यक्रम सकेर इलाम फर्कनु थियो । कार्यक्रम स्थलबाट माथि भञ्ज्याङसम्म उकालो हिँड्नु पथ्र्यो । सबै साथीहरुलाई अघि हिँडाइसकेपछि पछि हिँड्नेहरुमा कृष्णहरि भट्ट, म र अरु एकदुई साथीहरु थियौं । कोही साथी छुट्नु होला भनेर हामी पछि थियौं । एक्कासि दर्केर पानी पर्यो । छाता जोहो गरेर हिँड्ने साथीहरु छाता झिकेर ओढे । छाता हुनेहरु ढुक्क थिए । छाता नहुनेहरु आँखालाई ओतको खोजीमा दौडाउँदै पानीले चुटिएर उकालोमा पाइला लम्काउँदै थिए । हामी पछि हिँड्नेहरु रुझेरै पछाडि हिँडिरहेका थियौं । पानीले कोही पछाडि छुट्ला भनेर हाम्रा आँखाहरु घरीघरी पछाडि फर्किरहेका हुन्थे । माथि भञ्ज्याङमा आइपुगेर सबैजना बस चढिसक्दा मोदनाथ मरहट्टा र अरु एकदुई जना साथीहरु अलि पर कच्ची रोडको बाटो आइरहेका थिए ।
‘मलाई अनिलले छोड्यो ।’ नजिकै आइसकेपछि उनले मलाई भने । पछि कुरा बुझ्दा उहाँहरु छोटो उकालो बाटो छाडेर रोडैरोड लामो बाटो हिँड्नु भएछ ।
इलाम प्रसङ्ग गाडीभित्र रमाइलो गफको विषय बन्यो ।
‘बूढा, अनिलले इलाममा मलाई छोड्यो भन्दै हिँड्दा रै’छौ । धन्न किताबमा लेख्न भ्याएनछौ ।’ अघि उनले दिएको ‘लेख्ने विषयको खोजीमा’ निबन्धसङ्ग्रहमा सङ्गृहित रहेको ‘चित्रेको उकालो र बूढ्यौलीको मर्म’ निबन्ध पढिसकेपछि मैले उनलाई भनें ।
मेरो कुराले गलललल्ल गाडीभित्र सबैको हाँसो छुट्यो ।
०००
मोदनाथ मरहट्टा मूलत: कवि हुन् । र, यो ‘लेख्ने विषयको खोजीमा’(२०७७) निबन्धसङ्ग्रह उनको पछिल्लो कृतिका रुपमा भर्खरै बजारमा आएको हो । यसअघि उनका ‘पाइलाहरु शिखरतिर उकासिँदै गर्दा’ कवितासङ्ग्रह (२०५५) र ‘उज्यालो जन्मनुअघि’ लघुकाव्य(२०६२) प्रकाशित भइसकेका छन् । लामो समय शिक्षण सेवामा रहेर निवृत जीवन बिताइरहेका कवि मोदनाथ मरहट्टा (जन्म: २०१२ साउन २) गोरखा हर्मीको आफ्नो पूख्र्यौली थातथलोलाई छाडेर चितवन बसाइ सरेपछि चितवनलाई नै उनले आफ्नो कर्म क्षेत्र र सिर्जन थलो बनाएका छन् । झट्ट हेर्दा शरीरमा बुढ्यौलीका छायाँहरु देखिएपनि ६ दशक उमेर पार गरिसकेको उनको शरीरको दौडधुप र साहित्य कर्ममा देखिएको उनको अथक र निरन्तर क्रियाशीलताले उनलाई कहिल्यै बुढो हुन दिएन । त्यसैले पनि उनी सबैका प्रिय छन् र भरोसाका पात्र छन् । प्रगतिशील विचार, राजनीति र कम्युनिष्ट आन्दोलनबाट प्रभावित भई साँस्कृतिक रुपान्तरणको पक्षमा निरन्तर कलम चलाउँदै विभेदका विरुद्ध लडिरहेका कवि मोदनाथ मरहट्टा पटकपटक राज्ययन्त्रबाट प्रताडित पनि छन् । उनी शासकहरुको अन्यायपूर्ण शासन पद्धतिका विरुद्ध निरन्तर कलम उठाउँछन् र लेख्छन् । त्यसैले पनि शासकहरु उनका कलमसँग दुश्मनी साँध्छन् । उनी सत्ताको गुन गाउँदैनन् र सधैं सत्ताको कोपभाजनमा पर्छन् । त्यसैले पनि सत्ताले उनलाई सास्ती दिन छाड्दैनन् र उनी सत्ताको सास्तीसँग डराएर लेख्न छाड्दैनन् । र, सत्ताले दिएको सास्ती उठाइरहन्छन् । यही कवि मोदनाथ मरहट्टाको लेखनको पहिचान हो ।
‘लेख्ने विषयको खोजी’ उनका निबन्धहरुको सङ्ग्रहको रुपमा प्रकाशित तेस्रो कृति हो । यसलाई भिजन पब्लिकेसनले बजारमा ल्याएको छ । यस सङ्ग्रहमा उनका चौबिस ओटा निबन्धहरु सङ्गालिएका छन् । लेखकको लेखकीय नै एउटा सशक्त निबन्धजस्तो लाग्छ । ‘किताबमाथि शासन’ लेखकको आफ्नो लेखकीय आत्मस्वीकृति हो । लेखकको आत्मस्वीकृति छ– ‘मेरो अँध्यारो चेतनालाई उज्यालोमा ल्याउने यी किताबहरुलाई मैले कहिल्यै पनि उज्यालोमा राख्ने चेष्टा गरिनँ । किनकि, मैले माथि नै भनें– म शासक हुँ ।’
कवितामा अट्न नसकेका विचारका तरङ्गहरुलाई उनले यी निबन्धहरुमार्फत विस्तार गरेका छन् । आकारका हिसाबले तीन पेजका निकै छोटा निबन्धदेखि सात पेजसम्मका मझौला आकारका निबन्धहरुलाई उनले यस सङ्ग्रहमा समेटेका छन् । ‘दृश्य, अदृश्य–दाह्रे नङ्ग्रे’ सङ्ग्रहभित्र रहेको सबैभन्दा छोटो निबन्ध हो भने ‘बाको आँखामा आँसु’ र ‘चित्रेको उकालो’ लामा निबन्ध हुन् । सङ्ग्रहमा अधिकांश चार पेजमा समेटिएका निबन्धहरु छन् ।
सङ्ग्रहमा ‘अक्षरको आस्था’ पहिलो निबन्धको रुपमा रहेको छ । शाही सेनाको बन्दुकले देश बन्धक बनिरहेको निर्मम समयमा आस्थाको बन्दी बनेर गोरखाको जेलमा बन्दी बनाइएका लेखक मोदनाथ मरहट्टा जब रेडियोको कायाकैरन कार्यक्रमबाट कवि एवं पत्रकार कृष्ण सेन इच्छुक मारिएको खबर सुन्छन्, स्तब्ध बन्छन् । उनलाई कृष्ण सेन मारिएको त्यो खबर अप्रत्यासित र अपत्यारिलो बन्छ । उनको आँखामा कृष्ण सेनसँग उठबस गरेका सम्झनाहरु खेल्छन् र ती सम्झनाहरुले उनलाई अझै संवेदित बनाउँछ ।
राज्यसत्ता क्रूर कसाहीजस्तो बनेर निर्दोष नागरिकहरु मारिरहेको छ । हत्याका शृङ्खलाहरु रोकिँदैनन् । शासकहरु नागरिकको हत्या गरेर निर्लज्ज ढङ्गले नक्कली भिडन्तका मुचुल्काहरु उठाइरहेका छन् । नागरिकका आँगनहरु सुरक्षित छैनन् र जताततै सत्ताका बुटहरु निर्मम बनेर बज्रिरहेका छन् । कवि कृष्ण सेन इच्छुकको हत्यामा मर्माहत बन्न पुगेका लेखक मोदनाथ मरहट्टाको कलम आक्रोशपूर्वक पोखिन्छ, ‘अक्षरहरु अपराधी ठहरिएर फाँसीमा झुण्डिरहेको यथार्थ अथाह आगोका अक्षरहरु ओइरिऊन् । अक्षरवादीहरुले सेनप्रति पोखिने समवेदना तिनै हुनेछन् ।’
स्मार्ट आकारको एक सय अठ्ठाइस पेजमा समेटिएका यी निबन्धहरुले मोदनाथ मरहट्टाको निबन्धकारितालाई राम्रैसँग कसी लाएका छन् । कवितामा बिम्ब खेलाउन सिपालु मोदनाथ मरहट्टाका निबन्धहरु पनि कविताका बिम्बजस्तै बनेका छन् । छोटा निबन्धहरु एक बसाइमै पढी सिध्याउने खालका छन् । निबन्धहरु लयात्मक छन् । निबन्धमा विषयको विविधता पाइन्छ । जसका कारण निबन्धहरु एकरसताबाट मुक्त छन् । ‘माटोको माया,’ ‘नैनीतालमा नेपाली नाम्लो,’ ‘सीमाको घाउ,’ ‘हामीले स्वीकारेको दासता’ निबन्धमा निबन्धकारले राष्ट्रियताको संवेदनशीलतालाई जोडेर उठाइएका विषयहरु छन् ।
निबन्धकार मोदनाथ मरहट्टा समाजको अग्रगामी चेतनाको संवाहक बनेर हिँडिरहेका कलमजीवी हुन् । समाजमा सिर्जना भएका व्यथितिहरुले बिग्रदैं गइरहेको समाज, समाजमा श्रमचोरहरुको बिगबिगी, साइबर संस्कृतिले युवाहरुमा पारेको प्रभाव, विघटित बन्दै गएको राजनीति, वैदेशिक रोजगारको नाममा विदेशमा पलायन हुँदै गइरहेको श्रम, यी यावत दृश्यहरुले लेखकको सम्वेदनालाई नराम्ररी चिमोट्छ । जनजीवन र जनजीविकासँग जोडिएका यी विषयहरुलाई उनले ‘हात्ती चढ्ने धोको’ ‘बेनाम बस्तीमा धुलो बुङबुङ’ ‘शहर र फोहोर’ ‘भुङ्लीचोकको नियति’ ‘जोगी काठमाडौ र म’ ‘रैथाने र पाहुना’ ‘भोक र भुइँमान्छे’ र छिम्काको रङ’ निबन्धमा राम्ररी प्रस्तुत गरेका छन् ।
आफ्ना निजी र वैयक्तिक जीवन भोगाइ र अनुभूतिलाई उनले निबन्धमार्फत व्यक्त गरेर समाजमा अन्य मान्छेहरुले समेत भोगेका उस्तै समस्या र विसङ्गतिहरुलाई प्रस्तुत गरिदिएका छन् । ‘मुसाहरुको उपद्रो’ ‘बाको आँखामा आँसु’ ‘साँचिएको चित्र, भाँचिएको बिम्ब’ ‘नाम’ ‘मास्टरी जीवनको सम्झना’ ‘लेख्ने विषयको खोजी’ ‘जेठो हुनुको मर्यादा’ ‘चित्रेको उकालो र बुढ्यौलीको मर्म’ ‘छोरीलाई अन्माउँदा’ र ‘आमाहरुको जीवन खोतल्दा’ निबन्धहरुमा निबन्धकारले समाजमा बोध गरेका विसङ्गति र त्यसले उब्जाएका समस्याहरुको उजागर पाइन्छ । सामाजिक रुपमा देखा परेका यी समस्याहरुले स्वाभाविक रुपमा लेखकको मन छटपटिएको छ । तर शासकहरुको निर्लज्ज चरित्रले उदाङ्गो पारेको राजनीतिले कतै पनि जनताका जनजीविकालाई सम्बोधन नगरेपछि देशको एउटा नागरिक हुनुको आत्म स्वाभिमानको चोट खपेरै उनी लेख्न पुग्छन्, ‘म उनका मतदाताले उनीसित एक फाँक सातु मागेको देख्छु । एकधरो लाज छोप्न खोजेको देख्छु’ (साँचिएको चित्र, भाँचिएको बिम्ब, पृष्ठ ४८)
सङ्ग्रहभित्र रहेका सबै निबन्धहरु सामान्य पाठकहरुका लागि पनि उत्तिकै रुचिकर लाग्न सक्छ । निबन्ध पढ्दै जाँदा पाठकको मनमा उत्सुकता पैदा गर्न लेखक सफल छन् । त्यही उत्सुकताले पाठकले एक बसाइमा निबन्धहरु पढी सक्छन् । यसलाई लेखकको सवलता मान्न सकिन्छ । तर कुनै कुनै निबन्धमा लेखकले हतारिएर वा बहकिएरै निबन्धको सत्वलाई बिर्सिदिएका छन् । त्यसैले निबन्ध निबन्ध जस्तो बन्न सकेको देखिँदैन । केही निबन्धहरु केबल लेखकका सर्सर्ती टिपिएका फुट्स नोटजस्ता लाग्छन् । यसले निबन्धको निबन्धकारितालाई मारिदिन्छ । यसमा लेखक सचेत हुनु जरुरी छ । यस निबन्धसङ्ग्रहले कवितामा मात्र नभई निबन्धमा पनि मोदनाथ मरहट्टालाई सफल निबन्धकारको रुपमा पाठकहरु माझ चिनारी थपिदिएको छ । निबन्धसङ्ग्रह पठनीय र सङ्ग्रहणीय बनेको छ । यस सुन्दर कृतिका लागि कवि एवं निबन्धकार मोदनाथ मरहट्टालाई हार्दिक बधाई दिन चाहन्छु ।
मोदनाथ मरहट्टा आफ्नो वर्गप्रति स्पष्ट छन् । र, इमान्दार छन् । उनलाई थाहा छ उनका सिर्जनाहरु यो देशका ती भुइँमान्छेहरुका पक्षमा छन् जो हजारौं वर्षदेखि शासित छन्, उत्पीडनमा छन् । र, जो सधैं सत्ताका ठालुहरुबाट लुटिदै आइरहेका छन् । त्यसैले उनी भुइँमान्छेका लेखक हुन् । उनका सिर्जनाहरु उत्पीडनका विरुद्ध उठेका स्वरहरु हुन् ।
‘यो समाजको भुइँतह युगौंदेखि चेपिएको छ । यसरी चेपिनु विभेद हुनु हो र यस्तो विभेद वर्गीय विभेद हो । ठूलाहरुबाट चुसिने, थिचिने पनि यो वर्गमा झरे र भुइँतहका बन्न पुगे । अहिले यो भुइँतहको सबैभन्दा महत्वपूर्ण समस्या भनेको यो वर्गलाई भोकको समस्या हो । ………
पुस्तौंदेखि थिचिँदै, किचिँदै आएको यो वर्ग मुलुकमा आएको कुनै पनि परिवर्तनले फेरिन सकेन । हरेक आन्दोलनमा यो वर्ग औजारमात्र भइरह्यो । अमूकअमूक राजनीतिक सङ्गठनहरुले यो औजार उज्याए, अर्जापे र धारिलो बनाए तर आफ्नो मनोकाङ्क्षा पूर्ण भएपछि माथि उक्लिए र यही वर्गमाथि शासनको डण्डा चलाए । कोही आवधिक भए, कोही सदावहार भए ।’ आजको राजनीतिको वास्तविकतालाई उनले यसरी ‘भोक र भुइँमान्छे’ निबन्धमा स्पष्टसँग लेखिदिए ।
०००
मोदनाथ मरहट्टा कहिलेकाहीँ कार्यक्रमको एउटा फेहरिस्त बोकेर आँउछन् र मलाई बेस्मारी हुटहुटी लाउँछन् । बहर दाउनु हल मिलाउन आइपुगेका बूढा गोरुजस्ता छन् उनी मेरा लागि । कार्यक्रम तय गर्यो र तयारीमा जुट्यो । मिलिक्क देखिएर हराइदिन्छन् । अनि सधैं कार्यक्रम निब्ट्याउने हतारो चैं मलाई । यही निब्ट्यारोमा म धेरैचोटि परेको छु चाहे त्यो मनकामनाको साहित्यिक सद्भाव कार्यक्रम होस् कि बन्दिपुरको गणतान्त्रिक कविता महोत्सव होस् या छिम्केश्वरीको साहित्य यात्रा । फेरि पनि मोफसलको साहित्यमा हाम्रो यात्राको सहकार्य नारिएरै हिँडिरहेका हलगोरुझै छ ।
सरकारले कोविडको दोस्रो लहरको लकडाउनको तयारी गरिरहेको बेला हामी साहित्यकारहरुको एउटा टोली बारपाकको साहित्यिक पर्यटकीय अवलोकन भ्रमणमा थियौं । अघिल्लो दिन अर्थात २०७७ चैत्र १४ गते आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको स्रष्टा सम्मान र पुरस्कारको कार्यक्रमलाई सकेर १५ गते बिहानै हामी आँबुखैरेनीबाट बारपाकको पर्यटकीय यात्रामा हिँडेका थियौं । २०७२ सालको बैसाखको महाभुकम्पले केन्द्रबिन्दु बनाएर ठूलो क्षति भोगिरहेको र चर्चाको केन्द्र बनिरहेको बारपाक–लाप्राकको भूगोल र गाउँहरु हेर्नका लागि यात्रावधिभरि पनि साहित्यकारहरु उत्सुक देखिन्थे । यात्राको दोस्रो दिन ताकुकोट हुँदै शहीद दिल बहादुर रम्तेलको स्मृति स्थल हेरेर आँबुखैरेनी फर्कने कार्यक्रम रहेको थियो । यात्रामा हुनुहुन्थ्यो प्राडा ताराकान्त पाण्डेय, प्राडा जगदीचन्द्र भण्डारी, गौरी दाहाल, मित्रलाल पंज्ञानी, शीला योगी, डा. कृष्णराज अधिकारी, भीम रानाभाट, नारायण मरासिनी, परशुराम कोइराला, तेजविलास अधिकारी, सिर्जन अविरल, अम्बिका मुडवरी, आकाश अधिकारी, कृष्णप्रसाद पोखरेल, केशव बस्नेत, गोपाल मरहट्टा लगायतका झण्डै दुई दर्जन कवि, लेखकहरु । साहित्यकारहरुको यो पर्यटकीय यात्रालाई बिहानैदेखि सँगै रहेर साथ दिइरहनु भएको थियो बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले । उहाँ शहीद कमला भट्टका भाइ हुनुहुँदो रहेछ । बारपाकमा साहित्यकारहरुको बस्ने खाने व्यवस्था उहाँले नै मिलाइदिनु भयो । उहाँ आफै पनि साहित्यको अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो । त्यसैले पनि उहाँको त्यो हार्दिकतापूर्ण व्यवहारलाई सबैले महसुस गरिरहेका थिए । सुर्खेतको कार्यक्रमबाट फर्किसकेपछि विष्णु भट्टसँग सल्लाह गरेर हामीले यो पर्यटकीय यात्राको कार्यक्रमलाई संयोजन गरेका थियौं ।
साँझ एउटा स्थानीय होम स्टेमा खाना खाइसकेर सबैजना होटलको आँगनमा आ–आफ्नो झुण्ड बनाएर गफिइरहेका थिए । चिसो बढ्दै गएपछि गफिएकाहरु आ–आफ्ना ओछ्यान खोज्दै हिँड्न थाले । सँगै थियौं हामी तीनजना मोदनाथ मरहट्टा, मित्रलाल पंज्ञानी र म । केहीबेरअघिसम्म साथीहरुलाई सुत्ने ठाउँको बन्दोबस्त मिलाउन हिँडेको दौडधुप सकेर म उहाँहरुको गफमा सामेल हुन पुगेकोे थिएँ ।
‘के छ सबै साथीहरुलाई सुत्ने व्यवस्था मिल्यो नि ?’ मेरो उपस्थिति थपिएपछि मित्रलाल सरले सोध्नु भयो । बूढा मस्तसँग गफिइरहेका थिए ।
‘यी बूढाले सधैं मैलाई दु:ख दिने हो । याँ आउँदा पनि मै दौडिरहनु पर्ने ।’ मैले भनें
हाँसे मित्रलाल सर ।
‘के गर्ने त क्या । अँध्यारोमा मेरो यो दुखेको घँुडोले भर दिँदैन । अनिलको दु:ख बुझ्या छु नि मैले !’ उनले भने
‘म छु र त दु:ख दिन्छौ । बुढा म मरेपछि के अर्छौ ?’
‘तिमीभन्दा पहिला म मर्छु ।’
अनि उनी मज्जाले हाँसे । यो अन्तरङ्ग संवादले दलिनको बत्तीको धमिलो उज्यालोमा मित्रलाल पंज्ञानी पनि मुस्कुराइरहेका देखिन्थे ।
०००