आनन्ददेव भट्ट एकजना बौद्धिक व्यक्तित्व । एकजना साहित्यकार । एकजना वामपन्थी चिन्तक । राजनीतिज्ञ । धेरैथोकमा विभाजित एकजना कर्मशील मान्छे । नेपालको माटोमा कर्मशील यो मान्छेले नेपाली समाज, जनता र देशकै हितखातिर धेरै परिश्रम बगाइसकेका छन् । तर यिनले खर्चेको परिश्रमका अनगिन्ती बूँदहरुको मूल्याङ्कन र रेखाङ्कन भइरहेको छैन । प्रगतिशील साहित्यका व्याख्याता तथा निकै चर्चामा आइसकेका प्रगतिशील समालोचक आनन्ददेव भट्टले जीवनका युवावस्थादेखि आजपर्यन्तसम्म चिन्तन, मनन, अध्ययन गर्दै राजनीतिक र साहित्य विषयमा विश्लेषण गर्न र आफ्नो विचार राख्न पछि परेका छैनन् ।
प्राध्यापक छँदादेखि मार्क्सवाद–चेत्बाट प्रभावित यिनी चितवन, धरान जहाँ पुग्दा पनि आफ्नो पहिचान देखाउन कहिल्यै पछि सरेनन् । धेरै हण्डर खाए यिनले, धेरै ठक्कर ख्वाए यिनलाई तर पनि यिनी विचलित भएनन् आफ्नै यात्रामा बढिरहे । कम्युनिष्ट सिद्धान्त मन पराएर कम्युनिष्ट पार्टीमा लागे । तर आनन्ददेव भट्ट जस्तो विश्लेषक, बुद्धिजीवी कहिल्यै पार्टीको केन्द्रीय समितिमा रहेर राजनीति गर्न पाएनन् । बैतडीजस्तो ठाउँमा पुगी चुनावमा उठे, तर यिनी दुवैफल्ट हारे । यस्तै चक्र–चत्रमा विभाजित भई दिए यिनका जीवन–प्रसङ्गहरु । सधैं हस्याङफस्याङ, सधैं कुदाकुद, सधैंको अध्ययन मननकै स्वरुप हुन् – आनन्ददेव भट्ट ।
वि.सं. १९९३ असोज २५ गते जुम्लाको खलङ्गामा पिता जयदेव भट्ट र माता हीरादेवी भट्टका सुपुत्र भई आनन्ददेव भट्टको जन्म भएको हो । विद्वान पिताको रेखदेखमा हुर्कन पाएका यिनले पटना विश्वविद्यालयबाट एम.ए. र लण्डन विश्वविद्यालयबाट एम.एड. उत्तीर्ण गर्न पाएका हुन् । सुशीला खरेलको मायाप्रिती र संसर्गबाट निर्झर र सौरभका स्रोत हुन पाएका यिनका साहित्यिक प्रेरणा स्रोत हुन् पाल्पाका माधवप्रसाद देवकोटा । वि.सं. २०१५ सालमा सर्वप्रथम कविताको पुस्तक अब हिमाल बोल्छ प्रकाशन गराएर साहित्यिक क्षेत्रमा देखापरेका यिनी निबन्ध प्रबन्ध, समालोचना लगायत शिक्षा, पत्रकारितात्मक लेखनमा २००७ सालदेखि लागिपरेका एकजना चर्चित लेखक हुन् । नेपालका बौद्धिक व्यक्तित्व अर्थात् राजनीतिक चिन्तक हुन् – आनन्ददेव भट्ट । प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रही नेतृत्व प्रदान गरिसकेका यिनले प्रगतिशील साहित्यको इतिहासमा आफ्नो अलग्ग पहिचान बनाइसकेका छन् ।
वि.सं. २०१७ सालदेखि प्राध्यापन पेसामा संलग्न रहेका यिनी धनकुटा, धरान, चितवनका क्याम्पसहरुमा प्राध्यापन गर्दै त्रिविवि पाठ्यक्रम विकास केन्द्र र अंग्रेजी शिक्षण विभाग कीर्तिपुरमा कार्य गरिसकेका छन् । २०५० मा मात्र यिनी स्वेच्छिक अवकास प्राप्त गरी साहित्य र राजनीति सेवामा तल्लीन रहे । २०१० सालमा नै राजनीति गरेवापत पक्राउमा परेका यिनी २०६२ सालसम्म पटक पटक गरी दुई वर्षभन्दा बढी जेलजीवन व्यतित गरे । स्पष्ट वक्ताका रुपमा सबैले चिनेका भट्ट नेकपा (एमाले)सँग सम्बन्धित कम्युनिष्ट पनि हुन् । २००८ सालदेखि नै कम्युनिष्ट पार्टीमा संलग्न रही कार्यदक्षता देखाइसकेका यिनले २००९ सालमा नेकपाको पूर्ण सदस्यता लिएका हुन् । चन्द्रधर उप्रेती, गोविन्दप्रसाद लोहनी, अरविन्द रिमालहरुकै प्रभावमा परेर राजनीति गरेका यिनले राजनीतिका साथै साहित्य सिर्जना र अध्ययनमा पनि त्यसैताकादेखि आफूलाई समर्पित तुल्याएका हुन् ।
साहित्यलाई प्रगतिमुखी जीवनको कलात्मक अभिव्यक्ति भन्न रुचाउने यिनी कर्तव्यशील सेवा नै साँचो र सुन्दर जीवन हो भन्छन् । आफ्नो अन्तिम दिनसम्म राष्ट्र र जनताको पक्षमा दृढता र ध्यानपूर्वक उभिन सकूँ भन्ने दृष्टिकोण बोकेर राष्ट्र र समाजमा देखा पर्दै आएका यिनलाई स्वदेशी साहित्यकारहरुमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, भूपि शेरचन, गोविन्द भट्ट मन परेको उल्लेख गरेका छन् । विदेशी साहित्यकारहरुमा शेली, इब्सेन, चेखोब, गोर्कीलाई यिनी मन पराउने गर्छन् । कवितामा त्यति चर्चामा नआएतापनि आनन्ददेव भट्टका ९ वटा काव्य कृतिहरु प्रकाशित छन् । प्रकाशित कृतिहरुमा अब हिमाल बोल्छ (२०१५), गुराँस (२०१५), आमा बोलाउँछिन् (२०१७), १७ साल (खण्डकाव्य, २०१५), ओमरखैयालाई जवाफ(२०१६), जीवनकै थुम्कोबाट (२०१६), तिमीलाई देख्दा (२०१७), साहिँलीमैया(खण्डकाव्य, २०१८), युरी एलेक्सबीच गागरिन (२०१९) छन् । थुप्रै कविताका समीक्षा समेत लेखेर थुप्रै कविताहरु लेखिसकेका भट्टलाई कविका रुपमा भन्दा समालोचकका रुपमा सबैले स्वीकार्ने गर्छन् । प्रगतिशील समालोचकका रुपमा आफ्नो पहिचान बनाइसकेका समालोचक आनन्ददेव भट्टका प्रकाशित समीक्षा तथा समालोचना सङ्ग्रहहरुमा समालोचनाका बाटोतिर (२०१९), हाम्रा प्रतिभाहरु (२०१९), प्रतिभा पहिचान (२०४७), जनताको साहित्य (२०४८), व्यावहारिक समालोचना (२०४९) आदि छन् । जगत्को सृष्टिदेखि सबै विषयमा सूक्ष्म दृष्टि र चिन्तन राख्दै आफ्नो अनुभूति पोखिरहन रुचाउने यिनले अन्य विविध विषयमा पनि आफ्नो विचार कृतिका रुपमा प्रकाशित छन् । यिनका यस खालका थुप्रै पुस्तक पुस्तिकाहरुमध्ये पुस्तकाकारमा प्रकाशित अन्य पुस्तकहरुमा जगत्को सृष्टि र सञ्चालन प्रक्रिया (२०४६), स्वतन्त्रता र कम्युनिष्टहरु (२०४८), दृष्टिविन्दु (२०४८), केही आत्मपरक निबन्धहरु (२०४९) छन् । यिनी २०२० सालमा हेनरिक इब्सेनको नाटक जनताको शत्रु अनुवाद प्रकाशित गराएर निकै चर्चामा आएका हुन् ।
यिनले निकै गरे, निकै लेखे, निकै बोले तर थोरै चर्चा पाए । पाँच दशकभन्दा अगाडिदेखि नै निरन्तर लेखिरहन सक्नु, छपाइरहन सक्नु, एकै ढङ्गले विचार सम्प्रेषण गरिरहन सक्नु भट्टका निजी विशेषताहरु हुन् । इनिगिनेका थोरै व्यक्तिहरु मात्र यस खालका गुणले सम्पन्न भएका देखिन्छन् । तर आनन्ददेव भट्टको जे जति मूल्याङ्कन र कदर हुनुपर्ने हो सोको मूल्याङ्कन यस समाजले गरेको देखिँदैन । आफू सङ्लग्न पार्टी, आफू क्रियाशील रहेको समाज, आफ्नो दृष्टि–बिम्ब व्याप्त रहेको र सधैं देखिरहने देश र जनताले पनि भट्टको उचित मूल्याङ्कन भए गरेको देखिँदैन । पद्मकन्या माध्यमिक विद्यालय, नेपाल प्रगतिशील प्राध्यापक संघ, नेपाल प्रगतिशील लेखक संघ, जनमत प्रकाशन जस्ता केही क्षेत्रले सामान्य ढङ्गको सम्मान गर्नुबाहेक आनन्ददेव भट्टलाई कसैले सम्मान गरेको देखिँदैन ।
प्रगतिशील दर्शनप्रति प्रतिबद्धता राख्दै जीवनका उकाली–ओरालीहरु पार गर्दै आएका यिनले प्रगतिशील साहित्य लेखन तथा प्रकाशन गर्नुका साथै प्राध्यापन, राजनीतिक तथा सामाजिक क्रियाशीलतामा पनि आफ्नो अडान र दृढता प्रकट गर्दै आएकै हुन् । जीवनको बृद्धावस्थामा पनि आनन्ददेव भट्ट मार्क्सवादको वीजारोपण गर्न, प्रगतिशील साहित्यको व्याख्या र परिचय दिन, चेतनामूलक विचार सम्प्रेषण गर्न लागिरहेका छन् । यस अर्थमा यिनी अथक यात्री हुन् – आफ्नो दृढ निश्चयी यात्राका लागि । यस अर्थमा उनी जनता र देशको रक्षार्थ विचार सम्प्रेषण गरिरहेका एकजना चेतनशील जनता र देश पक्षधर लेखक तथा प्रेरणास्रोत हुन् ।
३३ वर्षसम्म यिनले शिक्षण क्षेत्रमा कार्य गरे । प्राध्यापक, उपनिर्देशक, प्रशासक समेत भई त्रिविवि सेवा गरिसकेका यिनले सुरुचिपूर्ण ढङ्गले आफ्नो कार्यकाल शिक्षाक्षेत्रमा बिताएको देखिन्छ । यस क्षेत्रमा कार्य गर्दा पनि यिनले आफ्नो व्यक्तित्वलाई उदाहरणीय बनाउन सफल रहे । कवि, निबन्धकार, व्याख्याताका रुपमा पनि परिचय दिनसकिने व्यक्तित्व आनन्ददेव भट्टलाई विशेषतया समालोचक भनेर विशेषण दिँदा सबैले चिन्दा रहेछन् । स्फष्टवक्ता तथा बहुआयायिक व्यत्तित्वका रुपमा परिचय दिन सुहाउने यिनी राजनीतिमा सक्रिय रहँदारहँदै पनि राजनीतिमा जम्न सकेनन् । देशकै लागि एउटा नाम बनिसकेका आनन्ददेव भट्ट ८० वर्षको उमेरमा पनि राजनीति, सामाजिक, शैक्षिक, साहित्य, संस्कृति विषयमा आफ्नो दृष्टिकोण विचार राख्न जाँगर चलाइरहेका छन् । यही गति नै आनन्ददेव भट्टको सुन्दरता र सौम्यता पनि हो । भर्खरैमात्र यही असोज १९ गते द्वादशीका दिन भक्तपुरमा भएको ‘तमुंज्या’को कार्यक्रममा आनन्ददेव भट्टसँगै मञ्चमा अतिथिका रुपमा बस्न पाएँ र भट्टसरको आनन्ददायक मुहार हेरेर भलाकुसारी गर्न पाएँ । भन्न मन गरेँ –‘भट्ट सरको दीर्घायु होस् ।’
मूर्खहरुले हैकम चलाउन सक्ने ठाउँमा सज्जनको दुर्गति हुँदा विस्मात नगरे हुन्छ । नकचरोहरुले नियम कानुन लेख्ने भएपछि इज्जत र मर्यादाको कुरो गर्नु भूल हुन्छ । षड्यन्त्रकारीहरुले कार्य थाल्ने ठाउँमा यो त्यो भनेर गुण र अवगुण नछुट्याए हुन्छ । आनन्ददेव भट्ट पनि यस्तै सोच्दा हुन् कि के सोच्दा हुन् ? म त आनन्ददेव भट्टका सबै कार्य, सिर्जना नियालेर आनन्ददेव भट्ट कतै नअटाएको सन्दर्भ हेरिरहेछु ।
जनमत प्रकाशनवाट २०७४ सालमा प्रकाशित मोहन दुवालको अक्षर विम्ब कृतिवाट