सामान्यतया कुनै वस्तुलाई हेर्ने काम दर्शन हो । ‘दृश्’ धातुमा ‘अन’ प्रत्यय लागेर ‘दर्शन’ शब्द बन्दछ । कोशीय अर्थमा दर्शन भनेको प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, चेतना, बारेको विवेचन र विश्लेषण गरिने विद्या हो ।
दर्शन र साहित्य परस्परमा फरक भए पनि सम्बन्धित छन् । दर्शन ज्ञानसँग सम्बन्धित हुन्छ भने साहित्य हृदयसँग सम्बन्धित हुन्छ । विवेक दर्शनको क्रीडाभूमि हो भने आवेग साहित्यको क्रीडाभूमि मानिन्छ । दर्शनको काव्यात्मक, कलात्मक रूपान्तरण भएको साहित्य उत्कृष्ट हुन्छ ।
नेपाली साहित्यमा पनि विभिन्न विधामा दर्शनको कलात्मक रूपान्तरण भएको रचना पाउन सकिन्छ । पूर्वीय दर्शनको प्रभावले ओतप्रोत भएको नेपाली साहित्यलाई दार्शनिक कोणबाट व्याख्या विवेचना गर्ने कार्य जति हुनुपर्ने हो, त्यति भएको पाइँदैन । यस लेखमा केही प्रतिनिधिमूलक रचनाका अंशलाई सङ्क्षिप्त चर्चा गरिएको छ ।
पूर्वीय षड्दर्शनको बीज वैदिक साहित्यमा पाइन्छ । वैदिक साहित्य मन्त्र, ब्राह्मण ग्रन्थ र उपनिषदहरूमा विभाजित छ । वेदको कर्मवादी धारा ब्राह्मण गन्थ्रहरूको प्रतिपाद्य विषय हो भने ज्ञानवादी धारा उपनिषद्हरूको प्रतिपाद्य विषय मानिन्छ ।
नेपाली साहित्यमा प्राचीन कालदेखि नै पूर्वीय दर्शनको प्रभाव पाइन्छ । प्राथमिक कालीन नेपाली कविताहरूमा भक्तिधारा प्रमुख मानिन्छ । यी कविताहरूमा ईश्वरको भक्ति र गुणगान पाइन्छ । प्राथमिक कालका कविहरूले पुराण, धर्मशास्त्र र दर्शन शास्त्रलाई नै आफ्नो साहित्य सिर्जनाको विषयवस्तु बनाएको पाइन्छ । भानुभक्तको ‘रामायण’ महाकाव्य यस समयको महत्त्वपूर्ण कृति मानिन्छ । माध्यमिक कालमा शृङ्गारिक धाराको बाहुल्य भए तापनि भक्तिधारा र नैतिक औपदेशिक धाराका साहित्यिक कृतिहरूमा पूर्वीय दर्शनको प्रभाव देखिन्छ ।
यसबेलाका कविताहरूमा संसारलाई माया, तृष्णा र दु:खको मुहान मानिएको छ । लोभ, मोह, मद, विनाशका कारक हुन् । संसार मायाजाल भएकाले यसबाट मुक्त हुन परमार्थ तत्त्वको खोज गर्नु मानवीय कर्तव्य हो भन्ने भाव पाइन्छ । राम, कृष्ण साथै सगुण र निर्गुण ईश्वरको वा देवीदेवताको गुणगान गरी कविता रचना गरेको देखिन्छ । भागवत, देवीभागवत, कृष्ण चरित्रजस्ता अनुदित वृहत् काव्यहरू यसका उदाहरण हुन् ।
सुब्बा होमनाथ केदारनाथको ‘महाभारत विराट पर्व’, कृष्णप्रसाद रेग्मीको ‘देवीभागवत’, मोतीराम भट्टको ‘गजेन्द्रमोक्ष’ र ‘प्रह्लाद भक्ति कथा’ शम्भुप्रसाद ढुङ्गेलको ‘महाभारत केही पर्वको अनुवाद’, शिखरनाथको ‘वृहत् कृष्ण चरित्र’, चिरञ्जीवी पौडेलको ‘श्रीमद्भागवत अनुवाद’ कृष्णभक्ति धाराका उल्लेखनीय कृतिहरू हुन् । रमाकान्त वरालको ‘अनुदित रामायण’, भोजराज भट्टराईको ‘आनन्द रामायण’ हेम वल्लभको ‘आग्नेधुर रामायण’ होमनाथ, केदारनाथ र शिखरनाथको ‘रामाश्वमेध रामायण’ पनि राम भक्तिधाराका महत्त्वपूर्ण कृति मानिन्छन् । यस अवधिमा लेखिएका गजलहरू पनि पूर्वीय दर्शनका दृष्टिले निकै उत्कृष्ट ठहर्छन् ।
मूलत: नेपाली साहित्यको अध्ययन गर्दा लोक साहित्यलाई भुल्न सकिँदैन । लोक साहित्यका विविध विधामा पनि पूर्वीय दर्शनको प्रभाव स्पष्टै देखिन्छ । तलको गीति अंशलाई उदाहरण दिएर व्याख्या गर्न सकिन्छ :
“सानो सानो गाईको बाच्छो काली गङ्गा तर्यो
मै दु:खी त वारि तीरै पर्नु पीर पर्यो”
यहाँ काली गङ्गा तर्नु भनेको मोक्ष प्राप्त गर्यो वा मुक्ति पायो भन्ने बुझिन्छ । सूक्ष्म शरीर मोक्ष प्राप्त गर्नु र स्थूल शरीर वारि नै रहनु अर्थात् भस्म हुनु भन्ने दार्शनिक चिन्तन यस गीतमा रहेको छ । त्यस्तै पूर्वीय दर्शनअन्तर्गत कर्मवादी चिन्तन भएको गीति अंशलाई यसरी व्याख्या गर्न
सकिन्छ :
“जन्म दिने महतारी कर्म लेख्ने भावी
दोष कस्लाई दिनु मैले आफै नै अभागी”
यस गीतमा कर्मका आधारमा अर्को जन्म निर्धारण हुने भएकाले ऐहिक जीवनमा के गरियो त्यही फल प्राप्त हुने विचार प्रकट भएको छ । जीवन नै पूर्वजन्मको कमाइको फल भएकाले जस्तो कर्म गर्यो त्यस्तै फल प्राप्त हुने कर्मवादी पूर्वीय दार्शनिक दृष्टि यसमा आएको पाइन्छ ।
आधुनिक नेपाली उपन्यासको पहिलो कृति रूद्रराज पाण्डेको ‘रूपमती’ उपन्यासमा भाग्यवादी चिन्तन, ईश्वरीय लीला, पूर्वजन्मको फलजस्ता पूर्वीय दार्शनिक मान्यताहरू यसरी आएका छन् :
“वरपरका साथीभाइ इष्टमित्र सबै शर्माजीको भाग्यलाई देखेर रिस, डाहले भुतुक्क हुन्थे । यस्ती लक्ष्मी पाउनलाई पूर्वजन्मको तपस्या नभईकन केही गरे पनि हुन्न । राम्रा स्वास्नीमानिस पनि नहुने होइनन्, हुन्छन् । तर यसरी दुवै कुराको मिलान त कमै आइमाईमा देखिएला भनेर सह्रनी नगर्ने कोही होओइन । धन्य परमेश्वर त्यही घरमा दुवै गुणले सम्पन्न भएकी महिलारत्न पनि हुुनु दुवै गुणले शून्य भएकी अधम नारीले वास पाउनु– यो पनि हजुरकै लीला हो ।”
यस्तै प्रथम आधुनिक नेपाली कथाकार गुरूप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहका कथाहरूमा पनि पूर्वीय दर्शनको प्रशस्त प्रभाव पाइन्छ । उदाहरणका लागि “जस्तो कर्म उस्तै फल” भन्ने पूर्वीय दार्शनिक मान्यतासँग मेल खाने ‘पापको परिणाम’ शीर्षकको कथाको अंशलाई यसप्रकार प्रस्तुत गर्न सकिन्छ :
“मानिसहरूले भने – यो अर्थोक होइन, कान्तेलाई अनाथ घर्तीहरूको सराप लागेको हो । बिचरा गरिबहरूलाई जसरी रूवाएथ्यो उसै गरी आफूले पनि डाँको छोडेर रूनु पर्यो ।” कान्तेका जीवनको प्रगति एकदम बदलियो । उसको आत्मा सधैं एकान्त रोदन गरिरहन्थ्यो, पुत्रशोक भन्दा पनि अज्ञात वेदनाले हृदय व्यथित भइरहन्थ्यो । बहुधा एक्लै हिँड्थ्यो । त्यो तेजोमय अभिमानी मुख मण्डलमा गाढा चिन्ताले घर बनायो । त्यस्तो उन्नत मस्तक एकदम निहुर्यो । खेतबारी सारा बाँझै रहे । कहिले पकाएर खान्थ्यो । कहिले दुई तीन दिनसम्म भोकभोकै रल्लिएर हिँड्थ्यो । कान्तेको जीवन तीव्र वैराग्यले भरिएको कुनै त्यागी सन्यासीजस्तो भयो ।”
नेपाली साहित्यमा अतुलनीय योगदान दिएका निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका रचनाहरूमा पनि पूर्वीय दर्शनको प्रशस्त प्रभाव परेको पाइन्छ । देवकोटा मूलत: कवि र निबन्धकारका रूपमा बढी प्रसिद्ध छन् । उनले आफ्नो ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ का निबन्धहरूमा पूर्वीय दार्शनिक मान्यतालाई आत्मसात गरेका छन् । संसारको क्षणिकता, दृश्यमान जगत्को अनित्यता र त्यसमा भुल्ने मनुष्य जीवनको निकृष्टतालाई ‘वैराग्य’ निबन्धमा यसरी व्यक्त गरेका छन् :
“जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौँ या यताउति गरौंला र आफ्नो गौरव देखाउँला भन्ने भाव राख्तछौँ, त्यस बेलासम्म हामीलाई वैराग्य भन्ने चीज असम्भव छ । आसक्तिहरू जति बढ्दै गए उति हामीहरू संसारमा महमा टाँसिएका माखाहरू जस्ता बनेर तिनका स्वरूपतिर नजर लगाउन सक्तैनौँ । हामीहरू व्यर्थका पुजारी छौँ, मिथ्याका भक्त छौँ, बोक्राका अनुचर छौँ, अन्धा छौँ । हामीहरूलाई झिलिमिलीले अत्याचार गर्छन् र के के न पाउँला खाउँलामा हाम्रो अधिकांश जीवन आशाउपर आशा थप्दै चलिरहेको हुन्छ । क्षणिक विषयले हामीलाई त्यसै दौडाउँछ र अनन्तताले हामीलाई त्यसै तर्साउँछ । हामी जीवनलाई माटोमा मिलाउने काम गरिरहेछौँ ।”
पूर्वीय आस्तिक दर्शनहरू मूलत: साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनले ईश्वर, आत्मा, जगत्, मन, जीवन, इहलोक, परलोक, कर्म, सृष्टि, स्थिति, लयजस्ता अनेक विषयहरूमा सूक्ष्म चिन्तन गरेका छन् । यी दर्शनहरूले चिन्तन गरेका विषयलाई नेपाली साहित्यका प्राथमिक कालीन स्रष्टादेखि हालसम्मका धेरै सर्जकहरूले कुनै न कुनै रूपमा आफ्ना रचनामा समेटेको पाइन्छ ।
नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्धजस्ता सबैजसो विधामा पूर्वीय दर्शनको प्रभाव र छाप परेको देखिन्छ । आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि, लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत अनेक स्रष्टाका कृतिहरूमा पूर्वीय दार्शनिक चिन्तन पाइन्छ ।
नेपाली साहित्यमा सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले अध्यात्म साहित्यका फाँटमा विशिष्ट योगदान दिएका साधक शिवगोपाल रिसालका हालसम्म चौवन्न कृतिहरू प्रकाशित भइसकेका छन् । रिसालको ‘वेदान्त वाटिका’ महाकाव्यको प्रस्तुत पद्यमा प्रारब्ध, कर्म, ज्ञान र मुक्तिका बारेमा सँगै भनिएको छ :
“प्रारब्धले जीवन चल्छ चल्छ
सत्कर्मले सुन्दर फूल फुल्छ
ज्ञानी भए दीप धपक्क बल्छ
मुक्तात्म भन्ने पुरूषार्थ फुल्छ”
यसरी हेर्दा पूर्वीय आध्यात्मिक–दार्शनिक चिन्तनलाई नेपाली साहित्यमा विशिष्ट स्थान दिएको पाइन्छ । दर्शनविनाको जीवन कल्पना गर्न पनि सकिन्न । जीवनविनाको साहित्य तथा हुने कुरै छैन । तसर्थ नेपाली साहित्यमा पूर्वीय दर्शनको खोजी गर्नुपर्ने, यसमा व्यापक अध्ययन, अनुसन्धान गर्नुपर्ने र जीवनलाई समेत सार्थक तुल्याउनुपर्ने अहिलेको अवस्था रहेको छ ।
अन्य क्षेत्रबाट आएका वाद, प्रणाली र पद्धतिलाई अँगालो हाल्ने र आफ्नै वैदिक सनातन परम्पराबाट आएको पूर्वीय दार्शनिक चिन्तनबाट विमुख भएर नेपाली साहित्यको समालोचना गर्ने जुन परिपाटी देखिन्छ त्यसले दार्शनिक पाटोलाई न्याय गर्न सकेको देखिँदैन ।
(लेखक ज्ञवाली, त्रि.वि., पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्)