ए पुरुष !
त्यही रगतको पोखरीमा
पौडी खेल्दा खेल्दै
बहिर निस्किएर
पहिलो पटक टेकेको थियौ माटो
पहिलो पटक
फेरेको थियौ एकसर्को स्वास
पहिलो पटक
हेरेका थियौ संसार
फर्केर हेर त
मेरो
महिनावारीको रगत बिना
तिम्रो जन्मोत्सव संभव थियो र ?
फेरि किन
हरेक महिना मलाई
सेल्फ आइसोलेसन र
क्वारेन्टाइनमा बन्द गराउँछाै ?
नुनभन्दा पनि पहिले
तिमी गर्भमा हुँदा
तिमीले खाएको हुनुपर्छ
पाठेघरको रगत
हैन भने
कसरी नुनिलो भयो
तिम्रो आँशुकाे स्वाद ?
तिमी पुरुष हौ
बिर्सिएको हुन सक्छौ
तिमीलाई बिर्सने अधिकार छ
म महिला हुँ
मलाई
सम्झिने मात्र अधिकार छ
र त
म छोरी हुँ सम्झिनु पर्छ
बुहारी हुँ सम्झिनु पर्छ
आमा भै सक्दा पनि
म आमा हुँ सम्झिरहनु पर्छ
दायरा र हद सम्झिनु पर्छ
माइती सम्झिनु पर्छ
प्रतिष्ठा सम्झिनु पर्छ
सम्झन केही बाँकी नरहे
आफ्नै दुखेसो अनि
घाउ सम्झिनु पर्छ
रगतको टाटो पछ्याएर
कुमारी भएदेखि
कुनै पुरुषको आँखामा
नाङ्गो आँखाले
हेर्नू हुँदैन भन्ने कुरा पनि
सम्झनु पर्छ
मुख्य कुरा
महिनै पिच्छे सम्झनु पर्छ
दिन, गते र बार
निथ्रुक्क भिजेर आफ्नै रगतले
अछुत भएको
सम्झिरहनु पर्छ
अँ साँच्चै
अझै जरुरी कुरा त
मैले
आफुलाई बिर्सिएरै भए पनि
आफ्नो
योनी सम्झिनु पर्छ
जहाँ
यो भाले समाजले
इज्जत र बेइज्जत
दुबै राखिदिएको छ ।