मेरा आँखालाई छल्नलाई होला, सेनाले सोफाबाट उठेर भित्तामा लहरै झुन्डिरहेका विभिन्न समयमा आयोजित विभिन्न अभिनन्दन समारोहहरुमा खिँचेका ग्रुपफोटो, इजरायलका प्रधानमन्त्री गोल्डामेयरसित बसेको मेरो फोटो, नेता गणेशमानसिंह र नेता मनमोहन अधिकारीसित बसेका अरु फोटाहरु, सर्वप्रथम सहिद भएका साहित्यकार श्री कृष्णलाल अधिकारी, विश्व महिला मजदुर नेता क्लारा जेट्किन, इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोका कलेक्सनका पाँच वटा फोटो, मेरो बाआमा र भाइहरुका फोटो आदि एक एक गरी हेर्दै गए उनले । तर प्रश्न भने मसित गरेनन् । २००७ साल मंसिर महिनाको गौचर काण्डको मेरो सानो उमेरको फोटो हेरेर उनले प्रश्न गरे– “कुन बेलाको जुलुसको फोटो हो यो ? यो पन्जावी सल्वार लगाएकी को हो नि ।”
“म हुँ । गौचर एयरपोर्टमा डेनिङ्ग–कमिसन आउँदा हामीले गरेको विरोध प्रदर्शनको फोटो हो यो, हिन्दुस्थान समाचार पत्रमा प्रकाशित ।”
“तपाईंले खूब कुटाइ खाएर जेल पर्नुभएको थियो रे हो ?”
“कुटाइ त खूब खाएकी थिएँ । मरिसकी भन्ने हल्ला पनि चलेको थियो तर जेल परेकी त होइन । राजा त्रिभुवनको स्वदेश फिर्ती–सवारी नभएसम्म म भूमिगत हुनुपरेको थियो ।”
“त्यही त तपार्ईंले त्यत्रो सङ्घर्ष गर्नुभयो यस देशको लागि । तपाईंजस्तो प्रबुद्ध महिलाले हामीलाई किन मद्दत गर्न चाहनुभएन । मलाई आश्चर्य लागेको छ ।”
सेना फेरि सोफामा बसे । म हैरान भएँ । मैले सोचेकी थिएँ, अब सेनाहरु फर्कन्छन् । अब हेर्नुपर्ने स्थान र सामान केही बाँकी थिएनन् । अशान्तिले म चुपचाप नै थिएँ । सेनाले फेरि मेरो डायरी लिई त्यसभित्रको मेरो नागरिकताको प्रमाणपत्र झिकेर अलग्ग राखेर मसित प्रश्न गरे –
“तपाईं कुनै महिला सङ्घ, सङ्गठनहरुमा हुनुहुन्छ ?”
“२००४ सालमा स्व. मङ्गलादेवी सिंहको अध्यक्षतामा स्थापित नेपाल महिला सङ्घको संस्थापक सदस्य थिएँ म ।”
“मङ्गलादेवी भन्ने को हुन् ?”
“नेपाली काङ्ग्रेसका नेता स्व. गणेशमान … ।”
“हामी चिन्दैनौं गणेशमान सनेशमान ।”
“ऊ त्यो फोटोको गणेशमानलाई तपाईंले चिन्नुभएको छैन ?”
“हामी चिन्दैनौं । यस्तो नचाहिने प्रश्न हामीसित नगर्नुस् हामीसित फाल्तु समय छैन । बुझ्नुभो ?”
मलाई आश्चर्य लाग्यो कि गणेशमानसिंहसित सेनाको त्यत्रो रिस किन ? उनले आफ्नो बोलीमा छिनछिनमा कडा, अव्यावहारिक, रुखोपन र आक्रोशसमेत प्रकट गर्ने गरेकाले मैले उनलाई बुझ्नै सकिनँ । त्यति लामो, शान्त सामीप्य र धैर्यले मसित कुरा गरेकाले मैले उनलाई राम्रो मानेकी थिएँ । पहिलोपल्ट भेटेर कुरा गरेको मानिस भए पनि मलाई कहिल्यै पहिलो भेट भएको जस्तो लाग्दैनथ्यो । जुगदेखि चिनेको जस्तो लाग्दथ्यो मलाई । त्यसैले पनि जोसित कुरा गरे पनि मेरो धक फुक्थ्यो । सेनासित कुरा गरिरहँदा पनि मलाई सेनाजस्तो लागेको थिएन । चिरपरिचित भाइसित कुरा गरिरहेको जस्तो लागेको थियो मलाई ।
“हेर्नुस् दिदी ! तपाईंले मनु हुमागाईंलाई तीन महिना बकाइदासाथ भाडा लिएर राख्नुभएकै हो ।”
“त तीन तीन महिनासम्म तपाईंहरुले के हेरी बस्नुभो त ? अहिले जस्तै किन छापा मारी पक्रन आउन सक्नुभएन त ? कसले रोकेको थियो तपाईंलाई ? के मैले रोकेकी थिएँ ? नचाहिने कुराले मेरो दिमाग चाट्नु भएको तपाईंले ?”
मैले आफ्नो आक्रोशलाई रोक्नै सकिनँ । मेरो स्वर एकदम ठूलो भएको थियो । झोक पनि चलेको थियो । जे पर्ला, पर्ला भनेर मैले सामना गर्ने निर्णय पनि गरिसकेकी थिएँ ।
“बुझ्नुभो तपाईंले ? हाम्रो अनुसन्धानले फेल खानै सक्दैन । तपाईंले नसकारी सुखै पाउन सक्नुहुन्न ।”
“अनि ? यही हो त तपाईंहरुको अनुसन्धान ? लाज मर्नु अनुचित कुरामा तपाईंले जिद्दी गर्ने ?”
“उचित, अनुचितको हामीलाई मतलब छैन । हामी त माथिबाट दिएको आदेशको पालना गर्ने कर्मचारी हौं ।”
“अनि ? तपाईंको मिसनले नै फेल खाइसकेपछि मसित के आधारमा बारम्बार एउटै प्रश्न गरी हैरान पार्ने म चोर हुँ ? भ्रष्टाचारी हुँ ? अपराधी हुँ ।”
मेरो मुख सुकेर तीतो भइसकेको थियो । बेपत्तासित मेरो सास फुलेको थियो । त्यसरी म रिसाएको देखेर सेनाहरु ट्वाल्ल परेका थिए । तिनीहरुका आकृतिमा असफल कार्यको असन्तोषको आभास पाएँ मैले । टोली प्रमुख सेना भने हारेर पनि हार देखाउन नचाहेको भावले फुँफुँ गरी यताउता हेरि नै रहेका थिए ।
“दिदी ! अब हाम्रो समय छैन । तपाईं हाम्रो साथमा जानुपर्यो । लौ, हिँड्नुस् । हिँड्नुस् ।”
म त सन्न भइहालेँ । एकाएक मभित्र अन्धकारको कोलाहल मच्चिहाल्यो । शरीर नै शून्य, खाली न खाली भएको आभासले मलाई रिङ्गाइहाल्यो । मैले विश्वको आकार नै मेटिएर सापट मैदानमा परिणत भई, शून्य महाशून्य बीच समय नै रोकेको पाएँ । के हुन लाग्यो ? मैले सोच्नै सकिनँ । अन्धकार महाअन्धकारले म शून्य भएँ । सेनाले समातेर लगी बेपत्ता पारेका असङ्ख्य तन्नेरीहरुका जुलुस मेरो अभ्यन्तरमा उठ्न थाल्यो । मुठभेडमा मारिएका हजारौं नेपाल आमाका निर्दोष सन्तानहरुका लासले मेरो आत्माभित्र पिलपिल बलिरहेको शक्तिको झिनो बत्तीलाई अचानक उकासी मसालमा परिणत गरिदियो । तैपनि हल्लिरहेका भित्री नसाहरुलाई शान्त पार्न, म ओछ्यानमा थचक्क बसेर मैले प्रश्न गरेँ –“किन ? म किन जाने तपाईंहरुको साथमा ? मैले के गरेकी छु ?”
“हेर्नुस् दिदी ! तपाईंले प्रश्न नगर्नुस् । हामीसित खुरुक्क हिँड्नुस् । तपाईंसित हाम्रो सोधपुछ गर्नुछ । तपाईं खुरुक्क आउनुभएन भने तपाईंलाई लाने तरिका छ हामीसित ।”
मानिसको हृदयमा मानवीय कमजोरीले कसरी समात्ने रहेछ ? मलाई मेरो ज्यानको माया त्यति साह्रै लागेको पनि त्यतिबेला नै थाहा पाएकी थिएँ । मैले नचाहेर पनि मेरो मुटुमा डरको ढ्याङ्ग्रो ठोकिएको थियो । फेरि म भय र त्रासले शून्य महाशून्य हुन थालेँ । प्रहरी शिविर र सेनाको ब्यारेकमा दिएका र दिने गरेका अमानवीय यातनाले अपाङ्ग अर्ध लासहरुको जीवन बाँचिरहेकाहरुको बीचमा मैले आफूलाई पाउन थालेँ । मेरो मुखमा थुक सुक्दै आयो । साहस र डरपोकको बीचमा द्वन्द्व चल्न थालेकाले मेरो अन्तस्करणमा एक प्रकारको भूकम्प गएको थियो । मैले निर्णयमा पुग्न नचाहेर नै अलि नम्र भई फेरि प्रश्न गरेँ –“जे सोध्नु छ यहीँ सोध्नुस् । बेकारमा मलाई किन लानुहुन्छ ? यदि लानु नै पर्ने भए मलाई डे लाइटमा लानुस् । यो मध्यरातमा किन लानुहुन्छ ?”
“हेर्नुस् दिदी ! हामीले सेक्योरिटीको पनि ख्याल राख्नुपर्छ ।”
“त्यसो भए मलाई यो ठाउँमा यति बजे आऊ भन्नुस् म ठीक त्यही समयमा त्यही ठाउँमा आइपुग्नेछु । हेर्नुस् अहिले म सारै नै थाकेकी छु । म बिहान सात बजे निस्केकी थिएँ । रातको ९ बजे आइपुगेर काम्पोज खाएर सुतेकी मात्र थिएँ, तपाईंहरु आउनुभयो । हेर्नुस् म डेरामा बसेको मान्छे होइन । यो मेरो घर हो । जुनै बेलामा पनि तपाईंले मलाई भेट्टाउन सक्नुहुन्छ ।”
“तपाईंले फाल्तु कुरा नगर्नुस् । तपाईंले भनेको जस्तो गर्न मिल्दैन । टाइम छैन । लौ छिटो हिँड्नुस् ।”
“हेर्नोस् भाइ । यो घरमा म एक्लै छु । मैले ताल्चा मारेर नै जानुपर्छ अचानक म मध्यरातमा गायब हुँदा मेरो परिवारमा के हुनेछ ? तपाईंले अन्दाज गर्न सक्नुहुन्छ । सेनाको अधिकार हुँदैमा, तपाईंले यस्ता कार्य गर्नु ठीक छैन । तपाईंले अलि बिचार त गर्नुस् ।”
“तपाईंले लामो गनगन गर्दै नगर्नुस् । हाम्रो साथमा हिँडिहाल्नुस् । तपाईं डराउनु पर्दैन । हामी तपाईंलाई इज्जतसाथ लैजाँदैछौं । बरु, छिटो हिँड्नुस् । यदि तपाईं स्वेच्छाले जानुहुन्न भने, हामी आफ्नै तरिकाले लान्छौं ।”
बन्दुक सोझ्याएर सेना मेरो अगाडि उभिन आए । माओवादी र माओवादीको शङ्का मात्रले गरिने चरम सीमा नाघेको यातनाको अन्धकारले मलाई झ्वाम्म छोपिहाल्यो । सोचेँ यो मेरो जीवनको जिउँदो अन्तिम कालो यात्रा हो । कस्ता कस्ता होनहार तन्नेरीहरुलाई त मारिसके भने, मैले उमेर पुगिसकेको मेरो ज्यानको किन माया गर्ने ? मैले जानै पर्छ भनेर मैले जाने निर्णय गरेँ ।
“ठीक छ । म तपाईंहरुसित जान तयार छु । मलाई लुगा फेर्न दिनुस् ।”
मलाई लुगा फेर्न दिनसमेत सेनाले चाहेको थिएनन् । मलाई एकैछिन् घुरेर हेर्दै भने –“लुगा फेर्ने र ? पर्दैन । छिटो हिँड्नुस् हाम्रो समय छैन ।”
“पेटीकोटसम्म पनि मैले लगाएकी छैन । यो म्याक्सीमा म तपाईंको साथमा जाउँ ? म यसै जाने ?”
“लौ, ठीक छ । फेर्नुस् । लुगा । छिटो गर्नुस् । हामी ढोकाबाहिर बस्छौं ।”
मैले ढोका लगाउनै लागेकी थिएँ । सेना प्रमुखले कोठाभित्र आई भने –“पर्खनुस् दिदी । तपाईंको सबै सामान ठीक छ कि छैन हेर्नुस् है ? केही हराएको छ कि ? हामीले त केही लिएका छैनौं । तपाईंले आफ्नो सामान राम्रोसित हेरिहाल्नुस्, लौ छिटो हेरिहाल्नुस् ।”
सेना प्रमुख फेरि कोठाभित्र पसेर भने –“लौ, हेरिहाल्नुस् । छिटो हेरिहाल्नुस् ।”
म वाल्ल परेँ । सेनाले आफूमाथि किन विश्वास नगरेका होलान् ? मैले कसरी हेर्नु ? मेरा कोठाहरुमा सामान हराएको छ या छैन ? मैले कसरी पत्ता लगाउने ? मलाई अचम्म लाग्यो । किन बारम्बार भनेका होलान् – सामान सबै ठीक छन् कि छैन हेरिहाल । व्यङ्गले मुस्काउँदै भनेँ –“किन र भाइ ? तपाईं सेनाहरु त्यतिको अविश्वासी छन् र ? सामान चोर्न पनि सक्छन् ? मैले त पूर्ण विश्वास गरेकी छु – तपाईंहरुलाई । मजस्तो गरिबको घरमा तपाईंहरुले चोर्न लायकको सामान नै के छ र ? किताब, लेख, रचनाहरु बाहेक अरु के छ र ?”
“होइन होइन । तपाईंले हेरिहाल्नुस् । पछि सामान हरायो वा चोरियो भन्ने अवगाल हामीमाथि आइनलागोस् । लौ, गरिहाल्नुस् । हामीले त एउटा तपाईंको सम्मानपत्र, एउटा तपाईंको उपन्यास र नागरिकताको प्रमाणपत्र मात्र लिएका छौं है । ए ! सोफामाथिको सम्मान पत्र टिप त ।”
म झसङ्ग भएँ । ती मेरा सम्मानपत्रहरुमध्ये दुइवटाको पछाडि मैले माओवादीको बुलेटिन लुकाइराखेकी थिएँ । त्यसैमा त परेन ? अर्को समस्याले मलाई छोपिहाल्यो ।
“किन यो सम्मान पत्र लानुहुन्छ ? यसमा जे लेखेको छ, तपाईंले पढिहाल्नु भो ।”
“तपाईं चूप लाग्नुस् हाम्रो काममा दख्खल नदिनुस् ।”
सेनाप्रमुखले जुन सेनालाई अह्राएका थिए सम्मानपत्र उठाउन त्यो सेनाले सोफाबाट सम्मानपत्र लिई काखी च्यापेर ढोकाबाहिर गए । त्यो सम्मानपत्र ‘अखिल नेपाल महिला सङ्घ’ले मलाई गत २०५८ साल जेठ ७ गते दिएको थियो । जरुर पनि अखिल शब्दले आकर्षित पारेको हुनुपर्छ । किनभने क्रान्तिकारी महिला सङ्घमा पनि अगाडि अखिल नै उल्लिखित छ । त्यस्तै मेरो उपन्यासको शीर्षक सङ्घर्षभित्रका अनौठा पाइला भएकोले सङ्घर्ष शब्दले नै प्रभावित पारेको हुनुपर्छ । नत्र अरु मेरा प्रकाशित किताबहरुमा त्यही किताब मात्र किन छाने ? अनि अरु सम्मानपत्रहरुमा त्यही सम्मानपत्र मात्र किन छाने ?
“लौ हेर्नुस् है, अरु हामीले केही लगेका छैनौं । ल, ढोका थुनेर तपाईंले छिटो लुगा फेरि हाल्नुस् । सबै सामान ठीक छ, हैन ? ल म बाहिर बस्छु ।”
“सुन्नुस् भाइ, म एउटा फोन गर्न सक्छु ?”
“अहँ सक्नुहुन्न । तपाईंले फोन नगर्नुस् है । मैले जनाउ दिएको छु । तपाईंले फोन गर्न पाउनुहुन्न ।”
सेना मेरो कोठाबाट बाहिर जाने बित्तिकै मलाई फेरि शून्य, खाली र एक्लो अवस्थाले छोपिहाल्यो । सेनाले ढोका बाहिरबाट तानिदिए । मैले शून्य हात अघिसारी ढोकामा चुकुल हालेँ । कोठाको बत्ती निभाएँ । अन्धकारले मलाई छोपिहाल्यो म शून्य न शून्य भई सेलाएको पलङ्गमाथि बसेँ । जसलाई भए पनि मलाई सेनाले समातेर लगेको खबर गर्नुपर्ने आवश्यकताले म दु:खी भएँ । तर कसलाई खबर गर्ने ? रातको एक बजिसकेको थियो । ठूलो भाइलाई गरुँ भने ऊ अल्सरले पीडित, त्यसमाथि पास्नीको पार्टी कुन बेलामा सकियो ? कुन बेला सुत्यो ? थाहा भएन । उसलाई टेन्सन दिनु मलाई ठीक लागेन । कान्छी बुहारीलाई खबर गरुँ भने २० वर्षकी छोरी र उनी मात्रै छन् घरमा । १८ वर्षको छोरा के.यू. धुलिखेलमा पढ्न बसेका छन् । भाइ स्वर्गे भएको दुई वर्ष मात्र भयो । उनलाई किन दु:ख दिने ? साथी मकबुल शाहलाई खबर गरुँ भने हार्टको पेसेन्ट बाइपास सर्जरी गरेका । नारायणबाबु श्रेष्ठलाई भनूँ भने उनी पनि किड्नी नै फेरेका रोगी । मैले अनायासै मेरो नजिकका मानिसहरुलाई सररर सम्झेँ । खबर गर्नुपर्ने मान्छे भएर पनि खबर गर्न सक्ने आफन्त या साथी इष्टमित्र मैले पाइनँ । त्यतिबेला अविवाहित एक्लो जीवनको खालीपनको गहिराइभित्र म नराम्रोसित छट्पटिन पुगेँ । जीवनमा पहिलोपल्ट मलाई मेरो एक्लो जीवनले दुख्ने गरी प्रहार गरेको थियो । मेरो लास नै बेपत्ता पारेपछि कसैलाई थाहा नहुने अन्यौलले मलाई छोपिहालेको थियो ।
मैले टेलिफोन नगर्ने निर्णय गरेँ । यन्त्रमानवले जतिकै एकसुरले लुगा फेर्न पलङ्गबाट म उठेँ । मन र मस्तिष्कमा मुठभेटमा मारिएका र सेना–प्रहरी शिविरहरुमा यातनाले पीडित कृपासमेत नपाएका हजारौं शहिदहरुका लाखौं परिवारका विरह, व्यथा र पीडाको भयानक कालो बादल मेरो हृदय–आकाशमा मडारिन थाल्यो । लाखौं जनताले ओकलिरहेका कालो आगोका झिल्काहरु मेरा आँखामा बस्न आए । नाङ्गो जनदमन र घृणित जनहत्याको अन्धकारले मलाई उचालेको थियो । मैले पूर्व फर्केको झ्यालको पर्दा अलिकति हटाउने बित्तिकै सडकमा बलिरहेको रोगी बत्तीको मुट्ठीभर मधुरो प्रकाशले मेरो अन्धकार कोठाभित्र चियाइहाल्यो ।
साडीहरुको बीचबाट खैरोमा कालो बुट्टेसाडी झिकेँ, खैरो नै ‘स्लिभलेस’ ब्लाउज र खैरो नै पेटीकोट झिकेर मैले लगाएँ । अनि फेरि पलङ्गमा नै थचारिएँ ।
तुरुन्तै सेनासित अज्ञात स्थानमा जानुपर्ने यथार्थ अग्निवाणले मेरो मुटुमा प्रहार गर्न थाल्यो । पलङ्गबाट म खाली न खाली भई उठेँ । बत्ती बालेँ । झ्यालको पर्दा मिलाएँ । ब्यागमा काम्पोज (निद्रापर्ने औषधि) र एभिल (नचिलाउने औषधि) टुथ–ब्रस, काइँयो र रुमाल राखेँ । ढोका खोलेँ । चोटामा गन लिएको एउटा मात्र सेना थियो । फेरि कोठामा फर्किन नपाउने शून्य आँखाले कोठाको चारैतिर हेरेर बत्ती निभाई म कोठा बाहिर निस्कनै लाग्दा सेना प्रमुख सँगैको कोठाबाट आएको देखेँ ।
“लौ, हिँड्नुहोस् दिदी । यो कोठाको पनि बत्ती निभाउनुस् ।”
“पर्खनुस् । एउटा सल लिनु पर्ला ।”
म फेरि कोठाभित्र पुगेँ । बत्ती बालेँ । ब्यागबाट साँचो झिकी ‘गोड्रेज’ को दराज खोलेँ । सेना प्रमुख हतारले कोठाभित्र पुगी, दराजभित्र हेर्न आए । मैले एउटा कश्मिरी ठूलो सल झिकेर दुबै खापा राम्ररी खोलेर देखाउँदै भने– “ल हेर्नुस् ।”
“ठीक छ । ठीक छ, बन्द गर्नुस् ।”
त्यसमा मैले साँचो लगाएँ । बत्ती निभाएँ । जुत्ता लगाएँ । ढोकामा ताल्चा लगाएँ । सेना–प्रमुख अघि लागे । मेरो पछि गन लिएको सेना थियो र म बीचमा बसी भर्याङ्ग ओर्ले । चोटाको ढोकामा ताल्चा लगाई अर्को भर्याङ ओर्ली मटानमा पुगेँ । अचानक कसैलाई खबर गर्नुपर्ने आवश्यकताले फेरि मलाई समाति हाल्यो । सेना प्रमुख चोकमा पुगिसकेका थिए । मैले अनायास नै मटानको कोठामा नै आवाज दिए । एकै छिनमा ढोका खोलेर आँखा मिच्दै ‘किन दिदी’ भनेर हरि के.सी. उभिन आए । कोठा अन्धकारमा नै डुबेको थियो । उनकी श्रीमती पनि उठिन् । तिनीहरु दुबै छक्क परे । मेरो पछाडि गन लिएको सेना देखी हाले ।
“भाइ ! अहिले मलाई सेनाले लैजाँदै छन् । कृपया तपाईंले भोलि बिहान ४४१४५२१ मा फोन गरी खबर गरिदिनुहोला । नम्बर याद होला ? ४४१४५२१ । हरि तीन छक परेर एक छिन त बोल्नै सकेनन् । उनको अनुहार कस्तो भयो । अँध्यारो भएकोले देख्न सकिनँ ।
“मलाई नम्बर याद भयो दिदी । तपाईंले घरको पीर गर्नु पर्दैन । हामी छौं । थुक सुकेको जस्तो बोली थियो उनको ।”
“म गएँ त राम्ररी बस्नुहोला । मेरो पीर लिनुपर्दैन भनिदिनु होला ।”
मस्त सुतिरहेका विचरा हरि र उनकी जहानलाई कस्तो लाग्यो होला ? मध्यरातमा मलाई सेनाले समातेर लगेको देखेर उनकी स्वास्नीले त केही बोल्नै सकिनन् । हरि मात्र मसँगै तल चोकमा आए । मेरो पछाडि गन सोझ्याई बसेका सेना सोझो नै पाएँ मैले । हरिलाई टेलिफोन नम्बर दिँदा पनि केही बोलेनन् । उनी लुरुक्क परेका थिए । सेनाले गरेका अनाधिकारको कार्य सेनालाई समेत पटक्कै मन नपरेको आभास दिएका थिए ।
टोली–प्रमुख सेना अरु सेनाहरुका साथमा हरिको भान्छामा सुतिरहेको रेस्टुराँमा काम गर्ने छ जना केटाहरुलाई उठाउँदै सोधपुछ गरिरहेका थिए । पावरफुल टर्च बाली तिनीहरु एक–एकको अनुहार हेरी, हैरान पारिरहेकाले चोक वरिपरिका घरका मान्छेहरु पनि उठेर झ्यालझ्यालबाट चियाएर हेरिरहेको मैले देखेँ । अनि म अलि यता मेरो चोकको पूर्वतिर सेडमा उभिन आएँ ।
मेरो कम्पाउण्डमा घरभरिको बत्ती निभाएकोले अँध्यारो त हुने भइहाल्यो । तर चोकमा भने मान्छे नदेखिने अन्धकार भने थिएन । टोली प्रमुख–सेनाले मलाई देखेर होला, हतार मान्दै, रेस्टुरेन्टका केटाहरुलाई हकार्दै मतिर लम्केर आए । मेरो घरको वरन्डामा सशङ्कित आँखाले हेरेर उनले भने –“को हुन् तिनी ? माथिका वरन्डामा ।”
अँध्यारो खनिएको वरन्डामा उभिरहेकी हरिकी श्रीमतीलाई हेर्दै मैले जवाफमा भनेँ –“हरि भाइकी श्रीमती । भाडामा बसेका ।”
लौ, ठीक छ हिँड्नुस् दिदी ।
हरिभाइ मेरो कम्पाउण्डको गेटसम्म आएकालाई सेना टोली प्रमुखले ठूलो स्वर पार्दै भने –“तपाईं किन नि ? जानुस् । ढोका लगाएर सुत्नुस् । गै हाल्नुस् । जानुस्, जानुस् ।”
बिचरा हरि लुरुक्क परी फर्के । उनलाई केही भन्ने इच्छा थियो क्यारे । तर भन्न सकेनन् । अगाडि र पछाडि गन सोझ्याएका सेनाहरुका बीचमा मलाई हिँडाएर लगे । पुरानो बानेश्वर चोक एकदमै सुनसान थियो । आकाशको आँसुले पखालेको पिच, कालो सर्प झैं टलक्क टल्केको थियो । पेटीमा लहरै उभ्भिरहेका ४/५ वटा अजङ्गका ठूला मसलाको रुखका पातहरु भने नि:शब्द बिस्तारै हल्लिरहेका थिए । जाडो महिनाको रातमा जस्तो मन्दमन्द चिसो हावा बगिरहेकाले वातावरण ओसिलो थियो । मेरो घरबाट ५० मिटर जति परका तिनै रुखहरुमुनि हेर्दा जिपजस्तो लाग्ने मोटर थियो । जिपजस्तो अग्लो थिएन । अलि होचो पछाडिबाट चढ्नुपर्ने थियो । त्यसमा ड्राइभरसमेत तीन जना गन लिएका सेना देखेँ मैले । सडकमा ‘लाइम्प–पोस्ट’ ले फालिरहेका रोगी प्रकाशले पनि मान्छे चिन्न सक्ने उज्यालो भने दिन सकेको थिएन तर मेरो कम्पाउण्डको अँध्यारोभन्दा बाटाको अँध्यारो अलि बढी उज्यालै थियो । म मोटरको नजिक पुग्ने बित्तिकै दुई जना सेनाले मोटरको सानो ढोका खोलिदिए ।
“दिदी ! बिस्तारै चढ्नुस् । तपाईं लड्नुहोला ।” सेनाले भने ।
“दिदीको हात समातेर मोटरमा चढाऊ न । उहाँ लड्नुहोला । बिस्तारै चढाऊ । हात समातेर चढाऊ न ।”
टोली प्रमुखको अर्डर मानी एउटा सैनिकले मेरो हात माग्दै भने –“दिदी ! तपाईंको हात दिनुस् त ।”
“पर्दैन भाइ । यति त म चढ्न सकिहाल्छु नि । मलाई त्यस्तो कमजोर नठान्नु भए हुन्छ ।”
मध्यरातमा अचानक सशस्त्र सेनाले समातेर ल्याएकाले डराएर म भाउन्न हुँला भन्ने शंका गरेका थियो क्यारे सेनाले । मलाई भने केही जस्तो पनि लागेको थिएन । मेरो मन र मस्तिष्कको डर, त्रास, मानवीय कमजोरी आदि मेरो कम्पाउण्डभित्र नै छाडेर आए जत्तिकै म एकदम हलुका फूलका थुङ्गा जत्तिकै भइसकेकी थिएँ । त्यहीँबाट मेरो अनिश्चित अन्धकार र अनकन्टार यात्रा शुरु भएको थियो । मेरो जिन्दगीको एक खण्ड काटेर लैजाँदै थियो ।
मैले मोटर चढेर ड्राइभरको सिटको ठीक पछाडिको सिटमा बसेँ । अगाडिको सिटमा ड्राइभर समेत तीन जनामा टोली प्रमुख सेना पनि थिए । पछाडिका सिटहरुमा म समेत आठजना थियौं । मोटर अगाडि बढ्दै गयो ।
“शान्ता दिदी । तपाईंलाई ठीक छ ? केही अप्ठ्यारो भए भन्नुस् है । तपाईंले सङ्कोच नमान्नुहोला ।”
“मैले सङ्कोच मान्नु या मलाई अप्ठ्यारो हुने त प्रश्नै उठ्दैन । कारण मेरो रखवाला तपाईं सेना भाइहरु यहाँ, यो मोटरमा मात्र १० जना हुनुहुन्छ । त्यसमाथि एउटी बहिनी पनि त हुनुहुन्छ ।”
“बहिनी ? खोइ ? कहाँ छिन् बहिनी । तपाईंले अचम्मको कुरा गर्नुभयो ।”
“बहिनी ? खोइ ? कहाँ छिन् बहिनी । तपाईंले अचम्मको कुरा गर्नुभयो ।”
“किन र भाइ ! भाइ र बहिनी पनि छुट्याउन नसक्ने बूढी भएँ र म ? तपाईं र ड्राइभरको बीचमा बस्नुभएकी बहिनी होइन र ?”
“ए यो ? यो त भाइ नै हो । यसको कद यस्तै होचो ?”
सेना प्रमुख र अन्य अरु सेनाहरु मजाले हाँसे । तर न ती बहिनी हाँसिन् न म नै । उनले ज्याकेटमा जोडिएको टोपीले अलि अनुहार छोपिने गरी अगाडि तानिन् । उनका जकेट र पाइन्ट पनि खाकी रङ्गका नै थिए । फेरि टोली प्रमुख सेनाले भने –
“दिदी ! तपाईंलाई ठीक छैन ? असजिलो भए भन्नुस् है ।”
“भाइ । म त्यति कमजोर छैन, जति तपाईंले सम्झनुभएको छ ।”
“हामीलाई थाहा छ, तपाईं कमजोर हुनुहुन्न । ए गाडीको स्पिड कम गर त ।”
“दिदी । तपाईंले माइन्ड नगर्नुस् । हाम्रो नियमानुसार तपाईंको आँखामा कालोपट्टिले बाँध्नुपर्छ । ए नकाब ल्याएको छ ?”
“छ सर ।” मसँगै बस्ने सेनाले जवाफ दिए ।
“छ भने दिदीको आँखामा बाँधी दे । छिटो गर् ।”
ती सेनाले पाकेटबाट कालो नकाब झिक्ने बित्तिकै ठ्वास्स गनाइहाल्यो । “अहो ! कसरी लगाउन सक्छु ? मजस्तो सयौं निर्दोषका सास यसैमा छ । नि:श्वास र उच्छवास पनि यसैमा छ । जिन्दगीको कालो समयको रक्तिम पसिना पनि यसैमा छ । त्यति मात्र होइन, तिनीहरुका छट्पटी आक्रोश र मौन चीत्कार पनि यसैमा टाँसिएको छ । मेरो आँखा नै छोप्ने होइन ? पर्खनुस् । मसित ठूलो पाकेट रुमाल छ । त्यसैले आँखामा बाँध्नुस् ।”
“तपाईं साहित्यकार ! यहाँ साहित्य नछाँट्नुस् । तपाईंले नकाब लागाउनै पर्छ ।”
मैले सेना प्रमुखको अर्डर उल्लङ्घन गरेर ब्यागबाट सेतो रुमाल झिकी हतारले आँखामा बाँधी हालेँ । मोटरको स्पिड अलि बढेको थियो । म सानो छँदा मच्छिन्द्रबहालमा यसरी नै आँखामा रुमाल या सानो पातलो खास्टोले बाँधेर ‘कानकान पिच्चा’ खेल खेल्ने गरेको सम्झेकी मात्र थिएँ – सेना प्रमुखको कडा स्वरले हकारेको सुनेँ मैले ।
“ए लगाई दे न नकाब । के हेरिरहेको हँ ?” “दिदी ! तपाईंले जिद्दी नगर्नुस् है । यहाँ तपाईंको जिद्दी चल्दैन । हाम्रो नियममा हामी अडिग छौं । तपाईंजस्ताले हाम्रो बाध्यता पनि त बुझिदिनुपर्यो ।”
तकियाको खोलजस्तो कतै पनि प्वाल नभएको, एकातिर मात्र ह्वाङ्ग परेको, छेउको बिटमारी इजारघरजस्तो सिएकोमा धागोको डोराको इजार घुसाइराखेको कालो नकाब, मैले लगाउन नै परेकोले रुमाल फुकालेर ब्यागभित्र राखेँ । मैले मसँगै बसेका सेनाले मेरो टाउकोदेखि गर्दनसम्म घम्लङ्ग छोपी गर्दनतिर इजार कसी हाल्यो । म एकैपल्ट निस्सासी हालेँ । दुर्गन्ध सहन नसकी उल्टी हुने जस्तो वाक्क आइहाल्यो ।
“दिदी ! के भो तपाईंलाई ? ए मोटरको स्पिड कम गर त । के भो तपाईंलाई ?”
“म निस्सासिएँ । मैले गन्ध सहन सकिनँ ।”
“ए दिदीको नाक र मुख बाहिर पारी सास फेर्न सजिलो पारी दे त ।”
सँगै बसेको सेनाले नकाबमाथि सारेर नाकको प्वाल र खाने मुख बाहिर पारिदिएपछि बल्ल मलाई अलिकति सजिलो भयो ।
“अब ठीक भयो दिदी ?”
“ठीकै छ ।”
मोटरले आफ्नो गति लिँदै गयो । नकाब एकसरो अलि चिप्लो पोलिस्टर कालो कपडाको थियो । त्यसबाट धमिलो बाहिरको दृश्य देखिन्थ्यो । कहाँ लैजान लागेको हो मलाई ? ठम्याउनतिर लागेकी थिएँ म । चाबहिल पुगेको जस्तो लागेको थियो मलाई ।
“अब मलाई छाउन्नी–ब्यारेकमा लाँदै हुनुहुन्छ होइन भाइ ?”
“हो । तपाईंले कसरी थाहा पाउनुभयो ?”
“त्यति त गेस गर्न सक्छु म ।”
“शान्ता दिदी ! तपाईंले नकाबबाट सबै देखिरहनुभएको छ । ए दिदीको नकाब हेर त राम्ररी मिला ।”
“नकाब राम्रो मिलेको छ सर ।”
म मूर्दा जत्तिकै मौन भएँ । उनीसित (टोलीप्रमुख) वादविवाद या प्रतिवाद गर्नु नै बेकार थियो । कालो नकाबमा टाँसिएको रगतको पसिना, अन्यौल आत्माको चित्कार, निरासको उच्छवास, अनि कालो समयको धारले छ्याकछ्याक पारेको शरीरबाट निस्केको मुट्ठीभर साससित आत्मसात् गर्नुबाहेक अर्को विकल्प त्यतिबेला मैले देखिनँ । मैले लगाइराखेको नकाबभित्र परिसकेका तन्नेरीहरुका एकाएक अनुहार, मेरो अनुहारमा टाँसिन आएको मैले अन्धकारभित्र देख्न थालेकी थिएँ । मेरो भूत, भविष्य र वर्तमान तीनै काल भिजेर मेरो अगाडि उभिन आएको पनि मैले देख्न थालेँ ।
अचानक सेना प्रमुखले मेरो कल्पना खलबलाएर भने–“शान्ता दिदी ! तपाईं बडो मजाको मान्छे हुनुहुँदो रहेछ ।”
“तपाईंले मेरो सङ्गतै कहाँ गर्नुभएको छ र ?”
“हामी मान्छे चिन्दैनौं र ?”
“खोइ ? चिन्नुभएको भए मलाई यसरी तपाईंले ल्याउनु हुने नै थिएन ।”
अचानक मोटर एक चक्कर घुमेपछि रोकियो । अजङ्गको कुकुर भुकेको आवाज आयो । चार–जना सेना मोटरबाट ओर्लेर आफ्नो शरीरको पोशाक तानतुन गरी मिलाए । अनि गन समातेर मलाई भने – “दिदी ! एकैछिन यहाँ रोक्नु पर्यो । तपाईं आरामले बस्नुस् । तपाईंको साथमा यी भाइहरु बस्छन् । ए दिदीको रखवारी गर्नु ।”
त्यहाँको वातावरण नै खल्बल्याई भुकिरहेका आवाज सुन्दा त कुकुर ज्यादै ठूलो हुनुपर्ने अनुमानले मेरो ध्यान तानेको थियो । कुकुर त त्यस्तो अजङ्गको थियो भने मालिक कस्तो होला ? यो कुन ठाउँ हो ? किन यहाँ रोकियो ? कोसित भेट्न गएका होलान् सेनाहरुले ? जतिजति तिनीहरु अगाडि बढ्दै गए, त्यति–त्यति कुकुरको भुकाइ भयानक हुँदै आएकोले सेनाहरु पनि अगाडि बढ्न हिच्किचाएको स्वर सुनेँ मैले ।
“कस्तो भयानक कुकुर ? कसरी भित्र जाने ? टोक्यो भने के गर्ने सर ?”
“बाँधेको होला । डराउन पर्दैन हिँड् हिँड् ।”
त्यसरी झम्टनै लागेको आक्रमक कुकुरलाई रोक्ने या सम्झाउने या अलि साम्य पार्ने मान्छेको स्वर पनि सुनिएन । भवन नै खाली मान्छे नबसेको भूत बङ्गलाजस्तो लागेको थियो मलाई । कम से कम नोकर–चाकर त हुनुपर्ने थियो । मध्य रातमा, दिनभरिको थकाइले मस्त सुतिरहेका होलान् भन्ने विचार गरेँ मैले ।
सायद साइड–गेट कसैले खोल्यो होला, कुकुरको आक्रामक भुकाइ पार गरी भित्र पसेको जस्तो लाग्यो मलाई ।
“कस्तो भयानक कुकुर यार ? सरको त सातो गयो होला ।”
मोटरभित्र बसिरहेका सेनाहरु आपसमा कुरा गर्दै हाँस्न थाले । म भने त्यो ठाउँ ठम्याउने प्रयत्नमा थिएँ । तिनीहरुसित सोध्न मन लागेको थियो । तर आफ्नो कमजोरी र उत्सुकता देखाउन मैले चाहिनँ । नकाबभित्रका आँखालाई यताउता घुमाएँ । मैले दिशा नै राम्रोसित छुट्याउन सकिनँ । मोटर कतातिर कुन दिशातिर फर्केको थियो ? त्यो पनि ठम्याउन गाह्रो भयो मलाई । मोटरमा म समेत सात जना थियौं । मैले खूब गौर गरेर हेरेँ । मोटर उत्तर फर्केको जस्तो लाग्यो । त्यो स्थान ठूलो चौर थियो होला पहिले । पछि मिचमाच गरी पेलेर बनाएका घरहरु र दक्षिण फर्केका एउटा घरमा सटर पाँचवटाजस्तो लाग्यो चन्द्राकारको अलि गोल परेको थियो । ती सटरहरुसँग पुरानो भइसकेको पिच कालोपत्रे बाटो चन्द्राकारले नै घुमेर पश्चिमतिर फर्केजस्तो लाग्यो । त्यस बाटोको दक्षिणपट्टिको पेटीमा लहरै उभिइरहेका तीनवटा मोटो पाइपको लट्ठामा बलिरहेको बिजुली बत्तीले पनि उत्तर फर्केको बाटोलाई नै मधुरो प्रकाश छरिरहेको थियो । त्यही बाटामा दक्षिणतिर ठूलै चौरजस्तो पुरानो इँटाका टुक्राहरु र सुकेका घाँस ओछिएका थिए । त्यही चौरको पूर्व फर्केको सी या डी क्लासको राणाको दरबारजस्तो देखिएको घरमा नै सेनाहरु गइराखेका थिए । कुकुर पनि त्यही घरको कम्पाउण्डभित्र भुकिरहेको थियो । मोटरको अगाडिको ऐनाले पछाडिबाट मात्र हेर्न सकिन्थ्यो । त्यही घरको पूर्वतिर एउटा सानो रुख(ठिक्कको) फेदैमा सानो चौतारा बनाई, त्यसमा ढुङ्गाको देउता पनि स्थापना गरिराखेको मैले देखेँ । कुन देउता हो ? मैले छुट्याउन सकिनँ । त्यहाँ २५/३० वटा मोटर राख्न पुग्ने ठाउँ थियो । तर पुरानो इँटाका टुक्राहरु र सुकेका घाँस हेर्दा, त्यो ठाउँ बेचल्तीको जस्तो लाग्यो मलाई ।