मात्रै केही दिन हो
त्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई
जब अस्ताउने छ घाम
भुल्नेछन् सबैले अघिल्लो दिन
जसरी भुल्छन् यात्रीहरु
आफ्नो छाया र पैतालाको डोब,
पक्कै बिर्सने छन् सबैले मेरो उपस्थिति
जसरी बिर्सिन्छन् खहरेको भेल
र त्यसले भत्काएको पुरानो गोरेटो
जब बन्छ त्यहा नया बाटो,
लेउ लाग्दै गएको तुलसीको मठ
सुक्दै गएको आँगनको नीमको बोट
मेरै उमेर जस्तो मक्किँदै गएको अम्बाको रुखले पनि भुल्नेछ,
रातभर खोकिरहने दमको रोगीजस्तो
त्यो बुढो कुकुरले भुल्नेछ
भुल्नेछ मलाई त्यो मखमली फूलले पनि भुल्नेछ,
कब्जा खुस्केका ती पुराना झ्यालहरुले भुल्नेछन्
जहा बाट हेरेथें मैले पूर्वको क्षितिज र अस्ताउदो पहेंलो घाम
भुल्नेछ त्यो सिरसिरे बतासले
जो मलाई छोएर तिमी सम्म पुग्थ्यो हरदिन
भुल्नेछ त्यो सुक्दै गएको खोलाले
जो बगिरहन्छ दुई किनार छुदै बेढंगले
जंगलको कुकुर डाइनोको लहराले भुल्नेछ
बिना ओत म भिज्दै हिंडेको त्यो झरीले भुल्नेछ
र मलाई भतभत पोलेको त्यो धूपले पनि भुल्नेछ,
भुल्नेछ मलाई म हिंडेको बाटोले भुल्नेछ
स्कुलको भाँचिन लागेको बेन्ची र रंग खुइलिएको
मूलथामले भुल्नेछ
मास्टरजीको पावरदार चस्मा
र मेरो हत्केलामा सुम्ला पारेको त्यो ताप्रेको सिर्कनोले भुल्नेछ,
कतै कुनै मित्रको एलबममा रहेछ भने पुरानो तस्वीर
खुइलिंदै जानेछ त्यसको चमक
र एल्बमले भुल्नेछ
पक्कै भुल्नेछ
मात्रै केही दिन हो आखामा
सम्झनाको पछ्यौरी फरफराइरहने
मात्रै केही दिनहो मुटुमा
प्रेमको बतासले सुम्सुम्याए जस्तो गर्ने
यस्तो लाग्छ,
यता हिउमा पग्लिएर हराउने छ मेरो पैतालाको डोब
त्यही बेला ‘उता’ हराउनेछ
दोबाटोको दर्शन ढुंगामा बुढी औंला ठोकिएर लागेको मेरो रगतको दाग,
बस्,
त्यसपछि त तिमीले पनि भुल्नेछौ
भुल्नुको बहानामा स्वदेशमा बिताएका सबै पलहरूलाई सम्झिरहेका छन् कवि अनमोल मणिले आफ्नो कवितामा । मीठो छ कविता ।