निर्बाध र निर्भय अभिव्यक्तिका निम्ति, परम्परा र व्यवस्थाविरोधी लेखनका निम्ति आफ्नो समुदायबाट बहिष्कृत हुने, देशनिकाला हुने, फाँसीको सजाय सुनाइने र समय–समयमा आश्रयहीन हुने बङ्गलादेशकी सर्वाधिक विवादास्पद महिलालेखक तसलिमा नसरिनलाई तर म दुनियाँकी सबभन्दा सौभाग्यवती र सफल लेखक मान्दछु । चट्टानजस्तो उनको आँट, लोहाको ढोका फोरेर निस्कने उनका लेख र कृतिहरू जुन तर मैले थोरै मात्र पढ्न पाएकी छु – निर्वाचित कलम, बिग्रेकी केटी, बिग्रेको गद्य, जीवन–परिक्रमा, लज्जा र अरू यस्तै फुटकर लेख र एकदुई कविताहरू । तर थोरैमा पनि जति पढेँ, जति पढ्दै जान्छु उत्साहले भरिन्छु म पनि, उनीप्रति मेरो प्रशंसा चुलिन्छ । बदनाम सही तर जतैबाट पनि मानवीय भावनाको हिमायती, मानवतावादी, वर्गभेद र लिङ्गभेद व्यवस्थाको विरोधी र धर्मनिरपेक्ष उनको चिन्तन र त्यसकै चाहनामा विस्फोटजस्ता उनका अभिव्यक्तिहरू । निर्वाचित कलमलाई मूल भाषा बाङ्गलामा नै कैयौं दिन परिश्रम गरेर पढेकी थिएँ मैले । नष्ट मेयर, नष्ट गद्य उनका ६१ वटा फुटकर लेखहरूको सङ्ग्रह पं. बाबुराम भट्टराईले नेपालीमा बिग्रेकी केटी भनेर अनुवाद गर्नुभएको छ जुन अनुवादकृतिमा तसलिमा आफैले दुई शब्दमा यस शीर्षकलाई यसरी विश्लेषण गरेकी छिन् ः
यस समाजमा म आफैँलाई बिग्रेकी भन्न मन पराउँछु किनभने यो साँचो हो कि यदि कुनै स्त्री आफ्ना दुःख, दैन्यता, दुर्दशाहरूलाई हटाउन चाहन्छे भने … समाज उसलाई बिग्रेकी केटी घोषणा गर्दछ । ठीकै पनि हो, स्त्रीले मुक्त हुने पहिलो सर्त नै हो – बिग्रनु । स्त्री जातिलाई बिग्रेकी भनिनुको कारणमा कति बलियो तर्क यो उनको ।
तसलिमाले आफ्नो रचनाधर्मिता, कलमको सिद्धान्त र लेखन–उद्देश्यका निम्ति आफूलाई ‘नष्ट’ भनिन स्वीकार गरिन् । लेखनकै निम्ति यति ठूलो त्याग ? के हामीलाई मन पर्छ यसरी बदनाम हुन ? हाम्रो त सधैं यही चेष्टा रहन्छ, प्रलोभन रहन्छ कि मलाई सबैले राम्रो भनून्, इज्जत गरून् र सबै स्थितिहरूसँग सम्झौता गर्दै शान्ति शृृङ्खला निर्वाह गरूँ घरभित्र र घरबाहिर पनि ।
तर तसलिमाले यस्ता प्रलोभनहरू त्यागेकी छन्, सम्मानित भइरहने आकाङ्क्षाहरू त्यागेकी छन् । उनी एउटी सरकारी जागिर खारेज गरिएकी डाक्टर । तर यस पेसामा दिनभरि ‘प्राक्टिस’ गरेर धेरै धन कमाउने स्वार्थ त्यागेकी छन् र नयाँ–नयाँ गहना र पहिरनहरूको माग गर्दै प्यारी भई लोग्नेको काखमा लुटुपुटु गर्ने आनन्दहरू त्यागेकी छन् । लेखनद्वारा मानवताविरोधी, स्त्रीजातिविरोधी परम्परा भत्काउनु र नयाँ केही परिवर्तन र निर्माणकै निम्ति यतिन्जेल जोखिम र विपदमा राखेकी छन् आफूलाई । यस्तो गरी विवादको घेरामा फसेकी छन् र यस्तो गरी लाञ्छित छिन् ।
कतिपय विरोधी बुद्धिजीवीहरू, उनको सम्प्रदायका कट्टरपन्थी समूहले तसलिमालाई सहन सक्दैनन् । उनको मृत्युको पुरस्कार राखिन्छ, फाँसीको माग गर्छन् र युरोपीय देशहरू पनि उनलाई स्थायी शरण दिन मान्दैनन् । कुनै विषालु जीवजस्तै उनलाई जता गयो त्यतैबाट लखेट्छन् । तर दृढ, स्थिर, प्रताडित उनी लेखिरहन्छिन् । आफ्नो उद्देश्यबाट हट्दिनन् । लेख्छिन् – लेख्नु यदि अन्याय हो भने मैले गरेको त्यही हो । आफूभित्रका अभिमानी, अन्तर्मुखी, बेसहारा, निःसङ्ग व्यक्तिको क्षोभका कुराहरू, कष्टका कुराहरू चुपचाप लेखेकी छु । के यसैकारण नै मेरो शत्रुपक्ष बढेको हो ? म किन लेख्छु ? किन मेरो औंलामा छ अबाध अस्थिर कलम ?
तसलिमाले मान्छेको जीवनका विविध पक्षहरूमाथि गम्भीरतापूर्वक चिन्तन गरेकी छन् – धर्म, समाज, राजनीति र यसका व्यवस्था र प्रणालीहरू । नारीजीवनका प्रत्येक स्थिति, परम्परा, सामाजिक विशेषणहरू, प्रवृत्ति र दृष्टिकोणहरूप्रति आफ्नो तीव्र अनुभूति र प्रतिक्रियाहरू व्यक्त गरेकी छन्, सूक्ष्मरूपले विश्लेषण गरेकी छन् । कहीँ कतै अस्वीकार गर्ने ठाउँ रहँदैन, चाहे त्यो निर्वाचित कलमका लेख होस् या बिग्रेकी केटीभित्रको तर्कको होस् । तर सबै स्वीकार गर्दागर्दै पनि कैयौं ठाउँमा भने उनको असाध्य साहसी अभिव्यक्ति र उदाङ्गो चित्रणलाई आत्मसात गर्न सकिन्न । हाम्रो सधिएको मनले भन्छ – धेरै सीमाहीन भयो तसलिमा, कति त ज्यादै अतिरिक्त भयो । डर लाग्छ, सङ्कोच लाग्छ अलिक कम शब्दहरूमा, शिष्ट भाषामा अभिव्यक्त गर तिनीहरूलाई ।
आँधी र विस्फोटजस्तो लेख्ने अठ्तीस वर्षकी तसलिमा, आँटी, लडाकू र विवादग्रस्त तसलिमाभित्र तर असाध्य संवेदनशील, मायालु र कोमल स्वास्नीमान्छे पनि छे जो उनका कविताहरूमा महुसस गर्न सक्छौँ हामी । साह्रै सुन्दर छ भाषाशैली पनि । कसले भन्न सक्छ यति कलात्मक अभिव्यक्ति निरन्तर भोगिरहेकी, दुखिरहेकी, आगोमा बाँच्ने सङ्घर्षशील कथित बिग्रेकी र विकृत केटी तसलिमाले लेखेकीको हो भनेर ?
तसलिमालाई तर औधी माया गर्ने, आँखामा राख्ने र उनलाई प्रशंसाहरूले छोपिदिनेहरूको पनि कमी छैन । बङ्गलादेश, भारत र स्वीडिस पेन समूहबाट तथा अरू पनि विभिन्न सङ्घसंस्थाहरूबाट उनले पाएका सम्मानपूर्ण र उत्कृष्ट पुरस्कारहरूबाट यो थाहा लाग्छ । उनका कृतिहरूको प्रकाशन, यसका संस्करणहरू तथा विभिन्न भाषामा भएका अनुवाद र बिक्रीहरूबाट थाहा लाग्छ तथा उनका पाठकहरूको अपार सङ्ख्याबाट थाहा लाग्छ । त्यसैले पनि होला लेखेकी छन् –
यति सारा दुर्गुणले भरिएकी छु म । धर्मविमुख स्त्री हुँ, पर्दाबाहिर निस्कन्छु …. स्त्रीहरूका लागि आवश्यकभन्दा बढी पक्ष लिएकीले तर्कवादीहरू पनि आफ्नो दाँत र नङले लुछ्न चाहन्छन् । तथापि म खडा छु …. कसैले मलाई निल्न चाहन्छ भने कसैले संरक्षण पनि दिन्छ । तैपनि म जान्दिनँ यो संरक्षण कहिलेसम्म हो ? आँखा बन्द गर्नासाथ लाग्दछ सयौं गोहीहरू मलाई निल्न मुख बाएर दगुर्दै आउँदैछन् । सारा निषेधलाई एक्लै रोकिरहेकी छु र ज्यूँदै छु । …. म बीचमा उभिइरहेकी छु, तथापि एकातिर असहिष्णु समुद्र छ भने अर्कोतिर उदार आकाश पनि छ ।
आरोहण प्रवेशाङ्कको यस उदार स्तम्भकोे स्थानलाई ध्यानमा राखेर म आज यति नै लेख्छु । त्यसो त तसलिमाका निम्ति एउटा बृहताकारको पुस्तक लेख्दा पनि सानो हुन्छ । धेरै कविताहरू पनि पढ्ने इच्छा छ उनको । यस्तै स्तम्भमा नै कुनै एक दिन श्रद्धेय पाठकगण, तसलिमाका कविताहरू लिएर चर्चा गरूँला । थाहा छैन किन यति उकुसमुकुस ममा यति वितर्कित यी लेखिकालाई लिएर ? मेरा यी एकान्त अनुभूतिहरू बाँड्न चाहन्छु म तपाईंहरूसँग पनि ।
जस्तै भए पनि मानवतावादी, धर्मनिरपेक्ष र लिङ्गभेदको पक्षपातहीन समाजको चाहना छ तसलिमामा । यहीँनेर असन्तोष उनमा, त्यसैका निम्ति यतिविघ्न क्षोभ र विस्फोट उनको लेखनमा । लेखेकी छन् ः
हामीहरू केवल चुपचाप खडा रहन्छौं र खडा नै अरूको सर्वनाश भएको हेर्दछौं … अब यो सोच्नु पनि असम्भव भइसक्यो कि कोही भोको हुँदा पनि हामी खान दिऊँ, कसैले बास नपाउँदा आश्रय दिऊँ … तर यदि कसैले कसैलाई सहयोग गर्छ भने केवल आफ्नो स्वार्थका कारणले । … जो अत्याचारका विरुद्ध खडा हुन्छ त्यस व्यक्तिलाई म अभिनन्दन गर्छु, उसलाई म सारा माया अर्पित गर्छु ।
तसलिमा ! तिमीलाई पनि म मेरा सारा माया र प्रशंसा अर्पित गर्दछु । लेखनका निम्ति तिम्रो जस्तो साहस, त्याग र उद्देश्यका निम्ति म कमसेकम मैले अरू एकदुई जुनी पर्खनुपर्छ, तर कलम समाएकी छु मैले पनि । आज मान्छेको जीवन र बचाइ फराकिलो तर असाध्य जटिल पनि बन्दै गएको छ । दृष्टिकोण, रुचि र चाहनाहरूमा धेरै फरक आएको छ । नितान्त वैयक्तिक अनुभूति र अभिव्यक्तिहरू, घरगृहस्थी र जीवनका मसिना स्वाभाविक स्थिति र घटनाहरू मात्र लेखेर म अरू कति अल्मलाइरहूँ पाठकहरूलाई ? धेरै आशा हुन्छ कलम समाएकाहरूमाथि समाजको, परिवर्तन चाहनेहरूको । जान्दछु कलममा ठूलो ताकत हुन्छ । तर यो पनि जान्दछु तथा हावा उल्टा बगेको देख्दादेख्दै सुल्टो फर्काउन पनि सक्दिनँ म । त्यो साहस जन्मले दिएन मलाई, घरबाहिर कतैको पनि वातावरण र संस्कारले दिएन । कलम समाएकी हुनाले तथापि ममाथि कैयौं अपेक्षित दायित्वहरूको बोझ छ, असहनीय अनुभूतिहरू पनि छन् कतिपय निरन्तर बाहिर आउन खोजिरहने ।
त्यसैले तसलिमा, कमसेकम यही जुनीमा लाग्छ तिम्रो कलमको शक्ति अलिकति मेरो कलममा पाए हुने । तिम्रो साहस अलिकति छातीमा चोर्न पाए हुने !!