गाथा गाऊँ भनी उठेँ म आज ती आदिकविको
साहित्य संसार उज्यालो पारी चम्कने रविको
दुई सय वर्ष अगिको कथा त्यो रम्घा गाउँको
पहाडी धर्ती बगेको खोला त्यो चुँदी नाउँको !
१
आकाश उही धरती उही जङ्गल उही छ
उस्तै म देख्छु गाउँले सारा मङ्गल उही छ
सालका पात टपरी दुना बोहता गाँसेर
बोल्दछन् नारी पाहुनासित दिनहुँ हाँसेर !
२
पाहुनालाई देवता मान्ने संस्कार बलियो
मङ्सिर पुस खेतका गरा धानको खलियो !
गाउँ र बेँसी जीवन जस्तै उकालो ओरालो
त्यो रातो माटो सिन्दुरकै साटो, धानको परालो !
३
साथी हो ! हामी जाऔँ न घुम्न तनहुँ जिल्लामा
साहित्य तीर्थ भरेर आऔँ आनन्द मिल्लामा
ती भानुभक्त सबैका गुरु नेपाली भाकाले
सौन्दर्य शिल्प झरेर हेरे उज्याला आँखाले !
४
सिर्जना भन्नु जीवन रै’छ
आनन्द सारा कलामा रै’छ
बुझेर कुरा उठेथे भानु
अरूले ठाने कुरो हो सानू
तर भो त्यही विशाल यहाँ
कविता जस्तो मन्त्र छ कहाँ
भानुले रचे कविता मिठा
भावमा पग्ले रसिला ठिटा
मुटुकै जस्तो ढुकढुकी बोल्यो
हृदय द्वार त्यसैले खोल्यो
नेपाली भाषा खुम्चेर बस्थ्यो गुफामा रोएर
भानुले सुने आमाको रुवाइ
कम्मर कसे उकास्न भाषा
मुसुक्क हाँसिन् ती आमा पनि
मनको दु:ख पोखियो सारा आँसुले धोएर !
५
ढिकी र जाँतो, ओखलसित गाँसिने जिन्दगी
पसिना काढी लेक र बेँसी गर्दैमा बन्छ कि ?
किसान रङ्ग बस्तीमा छायो पौरखी पाखुरा
मानिसलाई सचेत पारी बस्दछन् कुखुरा !
६
खेत र बारी श्रम र सिप दिन र रातको
सन्तुष्टि मिल्छ मिलेमा फल गोडा र हातको
नगरी कर्म को पुग्छ मान्छे चन्द्रमा नजिक
कमिला मौरी नमुना बन्छन् प्रेरणा सुुटुक्क !
७
असार मास हिलो र पानी बेँसीको खेतमा
चुँदीको गीत मधुर ध्वनि बैँसालु रीतमा
जोतेर हलो सम्याए खेत हँसिला खेताला
धानका बिउ रोपिए गीत घन्काई रसिला !
८
जीवन भन्नु माटो र पानी धानको बयेली
असारे गीत घन्केको पल छाप्रो भो हवेली !
पहाड पाखा हल्लिए सारा नाँचे झैँ तालमा
उमङ्ग छायो हरेक दिल बैँसको ख्यालमा !
९
जन्मिए भानु कर्मको गीत गाउने लयमा
हुर्किए भानु धर्मको रीत मिलाई लयमा
बालक भन्नु ईश्वरको रूप सुखको मोहनी
बाजेले काखी च्यापेर खोले ज्ञानको मुहुनी
१०
कोइली बोले हृदय खोले संस्कार सुनाई
चुँदीले भर्यो प्राकृत रङ्ग धुनमा सुसाई
माटोले दियो जीवन बुटी कवित्व प्रतिभा
वन र पाखा हौसिए पङ्ख हम्केर बटुवा !
११
घाँसीले भेट्यो रङ्गायो मन चेतना भरेर
चम्किन भन्यो धर्तीमा कीर्ति रङ्गीन छरेर
आफैँ थे भानु उषाका प्रेमी अरुण सन्ध्याका
सिन्दुरे रङ्ग प्रेमिल ढङ्ग स्वप्निल सुरका
१२
चराले गाए : उठ हे भानु हामी झैँ गाऊ रे
रुखले बोले : शीतल खान हामीमा आऊ रे
चुँदीले भन्यो : सुनेर स्वर सङ्गीत भर न
कवितासित मितेरी लाई सुयश छर न !
१३
रम्घाले भर्यो जीवन रङ्ग दिएर पोषण
गाउँले उठे जागृति पाई भानुको रोसन
सीता हुन् चेली उनैको गाथा गाएर हौसिए
सुकीर्ति छर्ने सुनौलो याम सोचेर रौसिए
१४
मितेरी लाई गाउँ र बस्ती आफन्त पारेका
दुर्भाव पोख्ने गणको शेखी शब्दले झारेका !
सिपालु भानु प्रशंसा गीत गाउँदा व्यङ्ग्य छ
समाज थिति चलेको कस्तो शब्दमा छ्याङ्ग छ !
१५
सरल गति सरस भाव भावक लोभ्याई
भानुले गरे विशेष जादु कलम सोझ्याई
मोतीले अझ खातिरी गरी भानुलाई चम्काए
साहित्य यात्रा भानुका नाउँमा सर्वत्र लम्काए !
१६
नपाई मोती भानुको प्राप्ति कता हो कता थ्यो
पाएर मोती भानुको कान्ति शिखर चढिगो !
नेपाल चम्क्यो विश्वमा आज साहित्य कलाले
सभ्यता हाम्रो उज्यालो भर्यो सिर्जन पलाले !
१७
सङ्घर्ष झेले भानुले थुप्रै झ्यालखाना बसेर
उपियाँ, उडुस, लाम्खुट्टेसित सम्बन्ध गाँसेर !
देख्दामा राम्रो यो कान्तिपुर दु:खको घर हो
जसले ठान्यो आत्मीय जस्तो त्यो स्वयम् पर भो !
१८
बतास सुस्त कानमा आई भानुलाई उकास्यो
रामायण रच्ने कारामा बसी भनेर सुझायो
भानुको शैली भानुकै जस्तो सहज पग्लने
नदी झैँ बग्ने लयमा मिठो भावना अग्लने !
१९
बालाजु हेरी रमाए भानु बाइस धाराको
रङ्गीन रूप देखेर मस्के फुल र चराको
वर्णन गरे कान्तिको पनि गौरव साथमा
एकान्त चरी उडेर आयो सहरी काखमा !
२०
रातमा जुन दिनमा घाम दुवै छन् हँसिला
धर्तीको काख मायाको खानी अङ्ग छन् रसिला
नेपाली प्यास झस्केर उठ्यो सीताको कथाले
ती प्यारी चेली कसरी गइन् मुटुको व्यथाले !
२१
नेपाली सारा दिदी र बैनी सीताको कहानी
सुनेर कतै गर्वित बन्छन् कतै छन् रोदनी
गौरव गाथा गाउने सिप भानुमा देखियो
भानुकै बारे मस्केर आज कविता लेखियो !
२२
नपढी भानु को बन्न सक्छ नेपाली प्रतिभा
नबुझी भानु को चढ्न सक्छ हिमाली चुचुरा
नहेरी भानु को देख्न सक्छ पौरखी उदय
नभेटी भानु को खुल्न सक्छ साँघुरो हृदय ?
२३
साहित्य गाथा नेपाली शैली भाव छ चञ्चल
विशेष रङ्ग भरेर उठ्यो गण्डकी अञ्चल
भानुकै चेला चम्किए कति त्यै वन पाखामा
उराले स्वर नेपाली सामु मायालु भाकामा !
२४
सभ्यता उठ्यो संस्कृति हाँस्यो मधुर मुस्कान
भानुले छरे कविता रश्मि चम्कियो सिर्जन
कल्पना उठी भावमा हाँसी साधना बढेको
कविता राम्रो मुटुमा रङ्ग बैँसालु चढेको !
२५
भानुले बुझे नेपाली मर्म बजाए मुरली
नदी र नाला छहराछाँगा अनौठो सुर ली
ब्युँझिए सारा वन र पाखा मिठो भो गुञ्जन
पग्लिए मान्छे हृदयबाटै कविता कम्पन !
२६
मर्यादा बुझे त्यो वधु शिक्षा दिलले पढेर
आत्मालाई छामे त्यो भक्तमाला मन्त्रमा गडेर
संसार के हो त्यो रामगीता बोल्दछ दर्शन
त्यो रामकथा गराउँछ मिठो अतीत स्पर्शन !
२७
बुझ्नेका लागि श्रीखण्ड भानु नबुझ्ने जतिको
खुर्पाको बिँड बेकामे जस्तो लाहाको खती भो !
म भानुलाई जीवन्त देख्छु युगकै मोती हुन्
उज्यालो छर्ने नेपाली माझ बिहानी ज्योति हुन् !
२८
खुलेर आयो नेपाली आकाश भानुकै सिपले
चम्केर बढ्यो नेपाली धर्ती भानुकै दीपले
नेपाली माटो नेपाली पानी नेपाली हावामा
भानुको रङ्ग भानुकै ढङ्ग सधैँ छ धावामा !
२९
बालक टिप्छन् भानुको बोली सुरिलो भाकामा
शिक्षाको द्वार खुल्दछ झट्ट चम्किलो आँखामा !
नेपाली श्रद्धा नेपाली आस्था नेपाली चिनारी
सजिनुपर्छ नेपाली जाति आफैँलाई सिँगारी !
३०
भानु नै हाम्रो अस्तित्व आज भानु नै सभ्यता
भानु नै सरल जीवन ढङ्ग भानु नै भव्यता
नेपाली प्राण भानुमा अड्छ भानुमै चम्कन्छ
नेपाली वाणी मधुर बन्छ भानु भै गम्कन्छ !
३१
सज्जन बुझ्छन् काव्यको मर्म सद्भाव सँगाली
दुर्जन गाउँछन् निन्दाका गीत दुर्भाव अँगाली !
नेपाली धर्ती उच्च छ सधैँ उर्वर, स्वस्थ छ
नेपाली बनी बाँच्नेले पाउँछ कवित्व कौशल !
३२
आमाको रूप आमाको बोली आमाको भावना
जसले बुझ्छ सुयोग्य सन्तान त्यही नै बन्दछ
आमाको मान राखेर उठे भानु ती चुलिए
बोलीमा बोल्यो कोइली चरी पाठक भुलिए !
३३
खेतका आली, चौतारा, बाटा, भन्ज्याङ, देउराली
गुन्जिए भानु रामायण बनी घाँस र सेउला ली !
नेपाली नारी सीता झैँ ठान्छन् स्वयम्को कहानी
ढिकी र जाँतो, चुलो र चौको,
दाउरा, घाँस, भकारो, खोले
मेला र पात, बिस्कुन, पर्म,
रछ्यान्, भान्सा, आँगन, पिँढी
हात छैन खाली, सुस्केरा हाली
सधैँ छ उस्तै वेदना व्यथा साँझ र बिहानी !
३४
गर्दछ मान्छे धर्तीलाई गाली
फलेन भनी चाहेको बाली
देख्दैन आफ्नो विशाल दोष
तिलको दाना उकासी खोट
चम्केर निकै बुझकी बनी अरूलाई लाउँछ
ती मतियार भेटेमा कतै स्याबासी पाउँछ ।
जे जस्तो देखे समाजी रङ्ग भानुले बताए
अबुझहरू उठेर फेरि उनैलाई सताए !
३५
काँडाकै माझ कविता फूल भानुले फुलाए
नेपाली मन अतीततर्फ सहजै डुलाए
नेपाली धर्ती स्वर्गीय रङ्ग लिएर हाँसेको
कवितासित भानुले गाढा सम्बन्ध गाँसेको ।
३६
लक्ष्मण राम नेपाली बने साहसी तन्नेरी
कैकेयी पनि मन्थरासित झुकेकी धत्तेरी !
हाम्रै हो कथा हाम्रै हो व्यथा राम र सीताको
जनकपुर अयोध्या घुम्ने इच्छाले जिताको !
३७
सिँगार्नुपर्छ सभ्यता आफ्नो मानव धर्म हो
सम्हाल्नुपर्छ संस्कृति आफ्नो जीवन्त कर्म हो
उकास्नुपर्छ प्रतिभा आफ्नो ज्ञान र ध्यानले
आत्माले पार्छ जीवन सार्थक पार्दैन ज्यानले !
३८
श्रीकृष्ण बाजे नातिमा पसे संस्कार सपारे
युगका निम्ति सन्देश मिठो बेलैमा प्रसारे !
नेपाली युग जागेर उठ्यो साहित्य संसार
मस्केर आज प्रेरणा भर्छ धर्तीमा अपार !
३९
पिता र माता सन्तुष्ट बने छोराको पौरख
देखेर हाँसे मनले बुझे जीवन सार्थक !
रवि र कवि दुवैको मर्म बुझेकी रेवती
भानुकै छाया बनेर बसिन् युगकी आरती !
४०
ती रमानाथ बाबुको योग्य सन्तान बनेर
रम्घाको बाटो डुल्दथे गौरव आत्माले सोचेर !
को छैन खुसी रम्घामा आज भानुको कीर्तिले ?
आत्मामा शक्ति सञ्चित गरी चल्दछन् फुर्तिले !
४१
ती धनञ्जय ती धर्मावती पिता र माताको
सफल बन्यो सन्तान प्राप्ति अमर गाथा भो
सन्तान बनून्् भानुकै जस्तो सिर्जना समेटी
कीर्तिको चुली उचाली अग्लो बनेको पौरखी !
४२
नेपाल सिङ्गो सम्झन्छ आज भानुको पौरख
कृतज्ञ बनी शब्दका माला उन्दछ गौरव
नेपाली जाति संसारभर छरिई बसेका
भानुकै कीर्ति गाएर बढ्छन् मार्गमा हमेसा
४३
गुराँस चाँप जयन्ती चुवा सयपत्री मखमली
त्यो करबिरे र बाह्रमासे गुलाब कमली
फुल्दै छन् सधैँ सम्झना दिई भानुको सुवास
हिँडेको बाटो चुमेको माटो धर्ती र आकाश !
४४
कोइली गाउँछन् मधुर गीत वासन्ती वनमा
खुल्दछन् मान्छे प्रकृतिबिच स्वच्छन्द मनमा
कता हो भानु धर्ती यो छोडी वियोगी बन्यौ कि ?
सोध्दै छन् चरा रुखमा बरा बसेर सुन्यौ कि ?
४५
सबैका प्यारा हे भानुभक्त ! सिर्जना फुटायौ
नेपालीलाई जीवन्त बुटी दिएर जुटायौ
धन्य छ तिम्रो साहस, त्याग पूज्य छ कवित्व
नेपाली जाति चम्किएसम्म तिम्रो छ अस्तित्व !
४६
विलीन हुन्न भानुको ज्योति सृष्टि झैँ अनन्त
प्रेमको दीप बालेर छर्छ सुकीर्ति अनन्त
नेपाल आमा हाँसेर हेर भानुको पौरख
नेपाली सारा सन्तान गर्छन् उनमा गौरव !
४७
प्राकृत वाणी नेपाली भाषा भावमा गुन्जायौ
कल्पना साथ प्रवाह भरी संस्कार उचाल्यौ
जय होस् भन्छु, प्रणाम गर्छु काव्यका गुरु हे
नेपाली धुन कविताभित्र भर्नमा सुरु हे !
४८
चेतना हाँस्यो पिरती भाकी कवितासितको
सरल दिल नेपाली भाका भरियो गीतको
उदाए भानु उज्यालो भयो नेपाली संसार
कोकिल कण्ठे मधुर वाणी काव्यमा प्रसार !
४९
सुसेली हाली वनचरी गाउँछे पिरती भाकामा
मोहनी खुल्छ गाउँबेँसी गर्दा गाजलु आँखामा
भानुले हिँडे पहाडी बाटो जङ्घार तरेर
मस्र्याङ्दी नदी त्रिशूली नदी दुवै पार गरेर !
५०
सङ्लो छ पानी पहाडी नदी गानामा खुल्दछन्
मनको तृप्ति भेटेका मान्छे गन्तव्य भुल्दछन् !
यात्रामा भानु निकै नै जुटे कान्तिपुर आएर
काशीमा पुगे विद्याका लागि निकै नै धाएर !
५१
जसरी हेर जहिले हेर भानु ती पूर्ण छन्
कविता, रश्मि छरेर उठे रसिला चन्द्र हुन् !
आदिकविको उपाधि पाए उपमा टन्न छन्
अद्भुत भानु, अचम्म भानु सुन्दर शान्त छन् !
५२
सिर्जना भेटे मानिस उठ्छ जुन र तारामा
मानिस बनी बाँच्नको धोको नेपाली पारामा
धुपी र सल्ला घारीमा जीवन पवित्र लाग्दछ
मानवी चोला सार्थक बन्ला प्रेरणा जाग्दछ !
५३
वाल्मीकि हाम्रा तुलसीदास होमर चसर
समान भानु चिनिए आज काव्यको असर
प्रश्न र उत्तर सरल शैली मिलाई रचेका
जीवन के हो रहस्य पत्ता लगाई उठेका !
५४
जय होस् हाम्रो नेपाली सारा चन्द्र झैँ चम्कियून्
वेगले सधैँ गन्तव्यतर्फ हावा झैँ लम्कियून्
हिमाली सन्तान हिउँ झैँ कञ्चन आँतको दरो भै
भानु झैँ बढे सम्भव सबै राष्ट्रको धुरो भै !
५५
हिमाली हावा शीतल दिँदै सर्वत्र फैलियोस्
नेपाली वाणी उत्साह दिँदै विश्वमा मौलियोस्
हनुमान् जस्तै प्रतिभा उडून् वेग ली धर्तीमा
सन्तान सारा सुयोग्य बनून् भानुको अर्तीमा !
५६
युगले कोल्टे फेरेको दिन भानुको सम्झना
मधुर बनी झुल्कन्छ, गर्छन् सबैले अर्चना
नेपाल भूमि नेपाली वाणी नेपाली संस्कार
भानुकै भाव भरेर उठ्छ नेपाली झङ्कार !