चौतारा कस्तो छ तिमीलाई ?
आराम, बेआराम ?
मैले भेट्ने अवस्थामा तिमी
छटपटाएकी थियौ
तिमी सुत्केरीको आलमा नभएपनि
सहस्र किटाणुहरुको
टोकाईमा तिमी
गलित र जलित थियौ
भोक, प्यास र दर्द
खप्न नसकेर
छटपटाईरहेकी थियौं
घ्वाङ… घ्वाङ गोलीका आवाज थिए
क्षण क्षण
तिमी निस्कन सकने त कुरै रहेन ।
तिम्रा लुगा भरी जुम्रा थिए
कुखुराका जमला झैं
तिम्रो ओछ्यान भरि सल्केका थिए
उडुस, उपियाहरु ।
चौतारा !
प्यारी चौतारा !!
तिमीसंगको आत्मियताले
तिम्रा रोदनहरु मेरा कविता बने
तिम्रा धड्कनहरु मेरा कथा बने
अब त घाम लाग्यो भन्छन्
त्यो घाम तिमीमा
आएको छ छैन
जुन पनि लाग्यो भन्छन्
त्यो जुन तिमीमा
छाएको छ छैन
चौतारा !
तिमीले ठूलो कष्ट
काटेकी छ्यौ
तिमीले ठूलो संकट झेलेकी छ्यौ ।
अब तिमी सुकिली भएको
हेर्ने चाहना छ
तिमी के कस्ती छ्यौ
एक पटक हेर्ने रहर छ
एक पटक भेट्ने रहर छ
म आउ नआउ चौतारा
तिमीले खबर गरे ।
धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङ
संस्थापक एवं अध्यक्ष