१. यात्रा एउटा संयोग
चाहेर मात्र नहुँदो रहेछ । संयोग मिल्नु पर्दाेरहेछ । संयोग भनेकै शायद साइत हो क्यारे ! साइत नआइकन केही काम हुँदैन भन्थे मेरा पितापुर्खाले पनि । यसकै नवीकरण— संयोगको प्रभावसँग साक्षात्कार गर्दै छु म अहिले ।
चाहेर हुने भएको भए मेरा साथमा हुने थिए— मोदनाथ प्रश्रित, कृष्ण धरावासी, खगेन्द्र संग्रौला, भुवन ढुङ्गाना र शारदा शर्मा । चाहे अनुसार नभएकै कारण र चाह गरिएका व्यक्तिहरूको संयोग नजुटेकै कारण दृष्टिकोण फेरियो र जनजाति, क्षेत्र र विधाको प्रस्ताव आयो । त्यसमा योगदान र प्रतिष्ठा आर्जनको तत्व पनि गाँसियो ।
नेपाली राजदूतावास दिल्लीमा मेरै भतिज भएका कारण र भतिज त्यहाँको सांस्कृतिक सहचरी भएकै कारण उचित व्यक्तिको याचना भयो कृष्णप्रसाद पन्तबाट र याचिकको याचना पूरा गर्ने जिम्मा रह्यो मेरो काँधमा । मैले तराई पहाड र उच्च पहाडी क्षेत्रबाट व्यक्तिहरूको विविधता खोजेँ र प्राथमिकता तोकेँ । ती व्यक्तिहरूको नाम समर्थनका लागि राजदूत दीपकुमार उपाध्याय समक्ष पेश भयो र समर्थित भयौँ हामी चार जना — गोपाल अश्क, श्रीओम श्रेष्ठ ‘रोदन’, विप्लव ढकाल र म । सन्दर्भ थियो— राजस्थानको जयपुरमा हुने सार्क सुफी फेस्टिबलको र सो फेस्टिबलमा भाग लिनका लागि बिपी कोइराला नेपाल–भारत फाउन्डेशनका तर्फबाट काठमाडौँ–दिल्ली आतेजाते हवाई टिकटको व्यवस्था ।
चार दिशाका हामी चार प्राणी फोनबाट एक ठाउँमा आयौँ । राजदूताबासले मागेका कागजपत्र उपलब्ध गरायौँ र सम्मलेनमा सहभागिता जनाउनका लागि प्रारम्भिक तयारीमा जुट्यौँ ।
श्रीओम श्रेष्ठ ‘रोदन’ पारिवारिक यात्रामा भारततिरै जाने तयारीमा हुनुहुँदो रहेछ । उहाँ पर्सि भेट हुने गरी दुई दिन अगाडि स्थलमार्गबाट दिल्ली प्रस्थान गर्नुभयो । हामी तीन भाइको मिलन भयो— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा — २०७४ साल असोज महिनाको २० गते, बिहानको ८ः०० बजे । नेपाल एयरलाइन्सको विमानले जमिन छोड्ने समय थियो १०ः०० बजे ।
हामीले खुशी साटासाट ग¥यौँ— विमानस्थलको प्रवेशद्वारमा । समय र संयोग बलवान् हुँदो रहेछ भन्ने कुरामा सहमती दोहो¥यायौँ । हामीभित्र उल्लास थियो, उमङ्ग थियो र उत्कण्ठा पनि थियो । हामीले सम्मेलनबारे सुनेका मात्र थियौँ, सहभागी हुने अवसर पाएका थिएनौँ । म मनमनै कल्पना गर्दै थिएँ— समय जुट्नका लागि एउटै तत्वले मात्र काम गर्दाे रहेनछ । त्यसभित्र धेरै तत्वहरूले अप्रत्यक्ष रूपमा काम गर्दा रहेछन् । कार्य, कारण र कारक तत्वहरूको संयोजन भएपछि मात्र सार्थक परिणाम निस्कँदो रहेछ ।
यस यात्राका प्रमुख कारक थिए— कृष्णप्रसाद पन्त । पन्त राजदूताबासमा भएकै कारण रामप्रसाद पन्तको नाम जोडियो । उनी साहित्यिक क्षेत्रसँग असम्बद्ध भएकै कारण मेरो सहयोग आवश्यक ठानियो । अनि मात्र भयो— चतुर्ब्रह्माको उपस्थिति ।
ब्रह्मा किन भन्दै छु भने— स्रष्टा । चराचर जगत् सृजना गर्ने ब्रह्मा हो भने साहित्य सृजना गर्ने पनि त ब्रह्माकै अंश हो । हामी यसर्थमा पनि खुशी थियौँ, हामीहरूको सहयात्रा प्रथम थियो । आ–आफ्नो समूह बनाएर हामी अलग अलग समूहबाट यात्रा गरेका थियौँ होला ! तर हामी चारै जनाबीचको सहयात्रा कुनै दुई बीच पनि भएको रहेनछ ।
गोपाल अश्क— भोजपुरी भाषा–साहित्यका स्रष्टा र द्रष्टा । दिल्ली— भोजपुरी साहित्यको उर्वर भूमि । त्यहाँको भोजपुरी साहित्य समाजसँग पनि अश्कजीको सम्पर्क भइसकेको छ र समाजको तर्फबाट हामीहरूलाई सम्मान गर्ने तयारी पनि सुरु भइसकेको छ । यसर्थ पनि अश्कद्वारा लिखित भोजपुरी साहित्यका किताब त लैजानै प¥यो । तर ती किताबहरूको तौल बीस किलोमा सीमित हुने सम्भावना थिएन । त्यसैले पनि हाम्रो सहयोग आवश्यक थियो अश्कजीलाई । यसकारण पनि आवश्यक थियो गेटको भेट ।
गेटमा नै उभिएर आलाप संलाप गरिरहेकै बेला एउटा ट्याक्सीबाट ओर्लंदै गरेका देखिए— एलबी क्षेत्री र भीष्म उप्रेती । पछिपछि अर्काे ट्याक्सीबाट ओर्लेर हामी भएतिर आउँदै गरेका देखिए रजनी ढकालदम्पती । सोधपुछ गर्दा पो थाहा भयो उनीहरू पनि त्यसै महोत्सवमा सहभागी हुन जान लागेका रहेछन् । हामीलाई जति आश्चर्य लाग्यो, उनीहरूलाई पनि त्यस्तै लाग्यो । उनीहरूलाई हामी जाँदै छौँ भन्ने थाहा रहेनछ र हामीहरूलाई पनि उनीहरू जाने भन्ने थाहा भएन । हामीहरूलाई नेपाली राजदूताबास दिल्लीको निम्तो, उनीहरूलाई आयोजकबाट सिधै निम्तो । हाम्रा लागि काठमाडौँ–दिल्ली हवाइ टिकट राजदूतावासले उपलब्ध गराएको, उनीहरूले आफै भुक्तानी गरेका । यसै कारण पनि एक आपसमा संवार्ता हुन सकेन उनीहरू बीच । अनि त सात जनाको लाम लाग्यो गेटमा । जाँचकी प्रक्रिया पूरा गरेर यात्रु प्रतीक्षालयमा पुग्दा एक घण्टा बाँकी रह्यो । हामीभित्र शङ्का पनि थियो— नेपाल एयरलाइन्सको विमान समयमा उड्ने हो कि होइन ? तर मौसमको कारणले ढीला हुने अवस्था थिएन ।
पन्ध्र मिनेट अघि गेट खुल्यो ।
हामीले एकै लाइनका तीन सिट ग्रहण ग¥यौँ ।
तर दुई वर्षअघि संयोगले मिलेको उत्तरतर्फको सिट परेन ।
उत्तरी सिमानामा पर्खाल बनेर नेपालको रखवारी गरिरहेका हिमचुचुराहरूको दक्षिणी समरेखाबाट विमान बगिरहेको थियो । मैले ती हिमच्छादित चुचुराहरू र रजतमय पाखाहरूमा निर्निमेष दृष्टि अड्याएर आफैलाई बिर्सिएको थिएँ ।
यसबेलाको पालो— दक्षिणतर्फको हरित पहाड, नदीनाला र गाउँबेसी हेर्ने । हो, वास्तवमा एउटै दृश्यमाथि पुनर्दृष्टि पर्दा पहिले प्राप्त भएको अपूर्व आनन्द, पूर्व आनन्दमा सीमित हुन जान्छ । अहिले मलाई संयोगले जुन स्थान प्राप्त भएको छ, यसलाई पनि मैले भगवान्कै कृपा भन्ठानेको छु ।
हामी साँच्चै भाग्यमानी छौँ नेपाल आमाको काख पाएर । तर हामी माल पाएर चाल नपाएका प्राणी हौँ । बिनाको वासनामा दौडिरहेको मृगजस्तै भड्किरहेछौँ अनन्तकालदेखि । रत्न भण्डारमाथि बसेर सुनको थालमा भीख मागिरहेछौँ कालान्तरसम्म । बुद्धको भूमिमा उभिएर शान्ति खोजिरहेछौँ अनवरत । जनकको देशमा बसेर अज्ञानी बनिरहेछौँ निरन्तर । सगरमाथाको काखमा बसेर शिर झुकाउने काम गरिरहेछौँ बारम्बार । वीर पुर्खाका हामी सन्तति कायर बनेर विदेश पलायन भइरहेछौँ अहिले पनि ।
म साथीहरूका कुरा पनि सुन्दै थिएँ र झ्यालबाट धरातलीय दृश्यमाथि दृष्टिपात पनि गर्दै थिएँ । मेरो नजरमा पर्दै थिए— पहाडका चुचुरा, पखेराका जङ्गल, नदी र खोलाकिनारका फाँट, टारका बारी र ठाउँठाउँमा गुजमुज्ज परेका बस्ती ।
मलाई थाहा थियो— गाउँका पाखापखेराहरूमा पनि छरिएर रहेका बस्तीहरू छन् । तर मेरो दृष्टि ती बस्तीहरूमा पुग्न सकेको छैन । मैले कि त डाँडामा हटिया बनेर बसेका घरहरूको लस्कर देख्थेँ, कि त नदीकिनारका फाँटहरूमा गुजुप्प परेर बसेका बस्तीहरू देख्थेँ । तर कुनै बेला बादल आएर ढपक्कै ढाक्थ्यो र विमान बादलभित्र लुटपुटिन थाल्थ्यो । कुनै बेला तलतल गोलबद्ध भएका बादलका भुल्काहरूले जमिनको सम्पूर्ण दृश्य छोपिदिन्थे । तर बेलाबेलामा पल्लोतर्फको झ्यालबाट दृष्टि प्रक्षेपण गर्थेँ— उत्तरतर्फका हिमटाकुराहरू छर्लङ्ग देखिन्थे ।
सुन्दर र मनोरम लाग्दै थियो दृश्यपट । हो, वास्तवमा मलाई हिमाल प्यारो लाग्छ, पहाड प्यारो लाग्छ र तराई पनि प्यारो लाग्छ । त्यसै भएर त मलाई नेपाल प्यारो लाग्छ ।
म प्रतीक्षा गर्दै छु मधेशको । आउने छ एक छिनपछि मधेश पनि । मनिटर खुलेको छ । म हेरिरहेको छु मनिटरमा । गत वर्ष दिल्ली जाँदा विमानमा मनिटर थिएन । मैले अनुमान मात्र लगाएको थिएँ— म महाकालीमाथिको आकाशबाट भारत छिरेँ । तर अहिले स्पष्ट देखिरहेको छु — विमान महाकाली पारिको दोधारा चाँदनीको कोणबाट भारत छिरेको छ । एनाउन्स भएको छ — अब आधा घण्टामा हामी अवतरण गर्ने छौँ । यसको अर्थ हामीले पैँतालीस मिनेट नेपालमा उडान भरेछौँ, अबको आधा घण्टामा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने छौँ ।
देशमाथिको आकाशको पनि प्रयोगधर्मिता हुँदो रहेछ दुई देशबीचमा । अन्य देशको आकाश प्रयोग गर्दा चार्ज तिर्नुपर्दाे रहेछ अर्काे देशले । यस्तो अवस्थामा सकेसम्म आफ्नै आकाश प्रयोग गर्दा रहेछन् एयरलाइन्सहरूले । सिधै उडान गरेको भए दाङ वा नेपालगन्जबाट इण्डिया प्रवेश गर्नुपथ्र्याे विमानले तर उडिरह्यो नेपालको आकाशमाथिबाटै ।
३६ हजार फिटबाट होचिँदै गयो विमान र अलिकति बायाँ मोडियो विमान । मैले झ्यालबाट पछिल्तिर आँखा कर्काएर हेरेँ— दूर क्षितिजमा चाँदीको मुकुट पहिरेको लमतन्न पर्खाल पो देखेँ मैले । स्पष्ट देखिँदै गयो समतल बस्ती । ठूलो देशको ठूलै बस्ती । ठूलो देशको ठूलै फाँट । झन् पछि झन् स्पष्ट । विमानस्थलमा अवतरण हुन पाँच मिनेट जति बाँकी रहँदा एउटा विशाल खेल मैदान देखियो । त्यो कुन ठाउँको कुन खेल ग्राम होला ! मैले अनुमान लगाउन सकिनँ । साथीहरूले पनि किटानीसाथ भन्न सकेनन् ।
साँच्चिकै अचम्म लाग्दो थियो त्यो खेल ग्राम । हजारौँ एकड जमिन ओगटेर योजनाबद्ध रूपमा बनाइएका थरीथरी खेलका फरक फरक आकार प्रकारका स्टेडियमहरू र खेलाडीहरू बस्ने होटल तथा अन्य आवश्यक उपकरणहरू देखिन्थे आकाशैबाट स्पष्ट ।
खेल ग्रामको परिधि झट्ट हेर्दा लाग्थ्यो, मानौँ त्यो कुनै चित्रकारले चित्र कोरेको हो । लम्बाइ, चौडाइ र मोटाइलाई गणितीय रूपमा अङ्कन गरेर टेढोमेडो र कुरूप नदेखिने गरी निर्माण गरिएको एउटा कुशल पण्डितले मिलाएर रेखी हालेजस्तो साँच्चिकै कारिगरीले युक्त थियो त्यो खेल ग्राम ।
हामीले एउटा स्टेडियम बनाउका लागि कल्पना गर्छाैं । समयसीमा निर्धारण गर्छाैं र बजेट छुट्याउँछौँ तर त्यो निश्चित समयावधिमा पूरा हुँदैन । ठेकेदारले पैसा खान्छ, ठेकेदार फेरिन्छ । विभिन्न बाधा अड्चनहरू देखा पर्दै जान्छन् र अन्ततः बन्छ— तर बोल्ने ठाउँ बाँकी राखेर ।
विमानस्थल ओर्लन एक मिनेटजति बाँकी रहँदा शिवजीको एउटा मूर्ति देखियो — हाम्रै साँगाभञ्ज्याङमा उभिएका शिवजीको आकार प्रकार र स्वरूपसँग ठ्याक्कै मिल्ने ।
विमानले जमिन छोयो ठिक डेढघण्टामा, अर्थात् ९ः३० बजे । एनाउन्स भयो— सत्ताइस डिग्री तापक्रम । अचम्म लाग्यो चौबीस–पच्चीसबाट घट्न नसकेको काठमाडौँको तुलनामा दिल्लीको तापक्रम के तापक्रम ?
जाँचकीद्वारा जाँचिएर, अनावश्यक प्रश्नहरूको उत्तर दिएर व्यागेज लिने ठाउँमा पुग्नै समय लाग्यो हामीलाई । स्केलेटरमा रिँगिरहेका सामान हेर्दा आँखा टट्टाए । सामान आएन हामी आठै जनाको । टिकटमा लेखिएको नम्बरमा नआएपछि सामान पत्तो लगाउन साथीहरू कोही कुन नम्बरमा पुगे, कोही कुन नम्बरमा । आखिर थाहा लाग्यो— नेपाल एयरलाइन्सबाट आएका सामानहरू एक ठाउँमा थुप्य्राएर राखिएको रहेछ ।
कसरी थाहा पाउनु विना सूचना ?
विमानस्थल छिचोलेर बाहिर निस्कन दुई घण्टा लागेछ । सिरिफोर्ट, ग्रिनपार्क जानुपर्ने छ हामीहरूलाई । तर विमानस्थलबाट बाहिर निस्केपछि राजदूताबासलाई जानकारी गराउनुपर्ने कर्तव्य पनि छ हामीहरूमाथि । राजदूताबासले दिएको आश्वासन अनुरूप हुने हो भने ग्रिनपार्कसम्म जाने ट्याक्सीखर्च पनि बचत हुन्छ हाम्रो । तर फोन सम्पर्क हुँदैन दूताबाससँग ।
एलबी क्षेत्री समूहका पाँच जना साथीहरू प्रिपेड ट्याक्सी लिएर जाने सोचाइमा छन् र हामी तीन जनालाई पनि सँगै जान दबाब दिँदै छन् ।
सहमत हुन्छौँ हामी पनि ।
आठ जनाका लागि दुईवटा ट्याक्सी ।
प्रति ट्याक्सी तीन सय ।
विमानस्थलबाट शहर पस्दाको बाटो अनुपम सौन्दर्यपूर्ण छ । फराकिलो चिल्लो बाटो । बाटो छेउछाउ र डिभाइडर लाइनमा व्यवस्थापन गरिएको दुबे हरित भूमि । त्यस भूमिमा मौलाएका विविध प्रजातिका पोथ्रे सदाबहार वनस्पति र मनै लोभ्याउने गरी फुलेका रङ्गिविरङ्गी फूलहरू ।
युरोप र अमेरिका किन हेर्नुप¥यो इण्डिया हेरेपछि । विश्वमा नभएको कुन चीज छैन इण्डियामा ? तर हात्तीको जीउ छामेजसरी अङ्गअङ्ग छाम्न थालियो भने चिन्न सकिन्न इण्डियालाई । सुन्दरता र कुरूपता, धनी र गरीब, ज्ञानी र मूर्ख, दास र मालिक, साधु र शोषक, विकास र विनास, कृत्रिमता र यथार्थता, हत्यारा र प्राणदाता, दुर्गम र सुगम, हिमाल र पहाड, मैदान र समुद्र, स्वर्ग र नरक सबै छ इण्डियामा । त्यसै भएर त भनिन्छ ‘यन्न भारते तन्न भारत’ अर्थात् जुन चीज भारतमा छैन त्यो भारत नै होइन ।
ट्याक्सीवालाले टेप रेकर्डर खोलेको छ — झुम्का गिरा रे ……! गोपालजी भोजपुरी भाषा–संस्कृतिका उन्नायक । उहाँलाई इण्डियाबारे धेरै थाहा छ । बरेलीको झुम्का, जयपुरको चोली, हाजिपुरको केरा, पटनाको झुलिनी (बिन्दिया), बनारसको पेडा, दिल्लीको साडी यस्तै यस्तै …. ।
वाह्य सौन्दर्य हेरेर मेरा आँखाले तुष्टि लिन सकेका छैनन् । बजार प्रवेश गरेपछि लेखेको देखिन्छ— भूमिगत पैदल पार पथ, अर्थात् अण्डरग्राउण्ड फुटपाथ । हामीकहाँ भए अँग्रेजीकै धाक दिइन्थ्यो र त्यही लेखिन्थ्यो, त्यही बोलिन्थ्यो । तर खासगरी इण्डियाको उत्तराखण्डमा अधिकांश संस्कृत शब्द प्रयोग गरेको पाएँ मैले ।
हामी ग्रिनपार्क स्थित सिरिफोर्ट इन्स्टिच्युसनल एरियाको अकादमी अफ फाइन आर्टस् एण्ड लिट्रेचर जानुछ । त्यहीँ हाम्रो लागि खानपिनको व्यवस्था हुनेछ र दुई बजे त्यसै संस्थाको बसबाट जयपुर पुग्नुछ । ट्याक्सी ड्राइभरलाई त्यस एरियामा पु¥याउन गाह्रो परेन र हामीहरूलाई पनि त्यो अफिस पत्तो लगाउन कठिनाइ भएन ।
अकादमीकी चेयरमेन अजित कौर । उनैद्वारा समर्पित, संरक्षित र सञ्चालित संस्थाको भवन । त्याग भावनाले अनुप्राणित रहिछन् कौर । यसबोर उनीप्रति आलोचनात्मक टिप्पणी गर्ने ठाउँ थिएन । तर विगत तीस वर्षदेखि एकतन्त्रात्मक नेतृत्व दिँदै आउनुको पछाडि उनको अप्रजातान्त्रिक चरित्र छ भन्ने टिप्पणी गर्दा रहेछन् उनीद्वारा सञ्चालित गतिविधिका प्रत्यक्षदर्शीहरू ।
नारी दमन र पीडाका चित्रहरूले भरिएको थियो कोठा चोटा । तर ती कसका कला हुन् भन्ने कुरा खुल्दैनथ्यो । कैँचीहरू गाडिएका भेटिन्थे ठाउँठाउँमा । त्यसको प्रतीकात्मक अर्थ लाग्थ्यो —नारीप्रतिको कैँची कटाइ । समाजमा नारी पछाडि परेको सङ्केत । नारी अस्मितामाथि पुरुषको दमन र शोषण ।
एउटा किताबको कभर उतारेर राखिएको थियो— कसाइवाडा । त्यो अजित कौरकै किताब रहेछ । किताबको आवरण कला रहेछ । एउटा बोर्डमा थुप्रै तस्विरहरू टाँसिएका थिए । ती सबै अजित कौरले सार्क साहित्यमा पु¥याएको योगदानका पदचिह्नहरू थिए ।
देश विदेशबाट सार्क राष्ट्रका साहित्यकारहरूको आउने क्रम जारी थियो । यसै सन्दर्भमा नेपालबाट दिल्ली पुग्ने साहित्यकारहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै थियो— अनुपम रोशी, विराट अनुपम, अनुपम गौतम, केशव सिग्देल, मुकुन्द प्रयास र निमेष निखिलहरू । अनुपम र उपनामहरूको लर्काे लागेको थियो सार्क सुफी महोत्सवमा । कोही अनुपम र कोही उपनामधारीहरूको अगाडि विशुद्ध एउटा मात्र नाम भएका दुई तीन जनामात्र देख्दै थिएँ मैले ।
मेरै साथीहरुमा उपनामधारी विहीन ममात्र थिएँ — ओमप्रसाद श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’ भएका थिए । गोपालप्रसाद सर्राफ, गोपाल अश्क बनेका थिए । बाबुराम ढकाल, विप्लव ढकालमा परिणत भएका थिए ।
लामो प्रतीक्षापछि खाना तयार भयो र टेबुल टेबुलमा आयो । रोटी खानेका लागि रोटी र भात खानेका लागि भात । दहीवाडा त्यहाँको विशेष परिकार । चामलको रोटी त्यहाँको विशिष्ट खाना । बनेका चीज चाख्न पछि परेनौँ हामी ।
खाँदा खाँदै आइपुगिन् ८५ वर्षीया अजित कौर । जुठै हात लिएर ज¥याकजुरुक उठे धेरै सहभागीहरू । मानौँ कुनै सरकार प्रमुख वा राष्ट्रप्रमुख अप्रत्यासित रूपमा आएका होऊन् । तर मैले कौरको अपमान गरेको होइन, जुठो हात लिएर नउठेको । केही साथीहरूले साथ दिए मलाई ।
हामीले खाना खाइसक्यौँ र दुई बजे जयपुर प्रस्थानका लागि प्रतीक्षामा बस्यौँ ।
२. महिपालपुरदेखि जयपुरसम्म
समयको मामिलामा दक्षिण एसियाली देशहरु सबै उस्तै उस्तै ।
बस हिँड्ने समय २ः०० बजे भनिएको थियो । साढे दुई बजिसक्यो, हिँड्ने छाँटकाँट छैन ।
एउटा देशको हावा अर्काे छिमेकी देशमा लागिहाल्दो रहेछ ।
अर्काको नक्कल गरेर नराम्रो कुरा त्यागिदिए हुन्थ्यो तर मानवीय स्वभाव ठीक उल्टो छ । राम्रो कुरा ग्रहण गर्नेभन्दा नराम्रो कुरा टपक्क टिपिदिने प्रवृत्ति हुन्छ मानिसको । एउटा विकासशील देशले विकसित देशले गरेकोे प्रगति हेरे हुन्थ्यो र पाठ पढे हुन्थ्यो तर संवेदनाहीन मानिसले त्यसो गर्दैन, गर्छ भने फेशन नक्कल गर्छ, अनुहार सिँगार्ने नक्कल गर्छ, नयाँ स्वाद लिने नक्कल गर्छ । सुविधा लिने नक्कल गर्छ र अधिकार पाउने नक्कल गर्छ । उसले टाढा हेर्न सक्तैन, नजिकमात्र हेर्छ र नजिकको भागमात्र हसुर्छ ।
भारत दु्रतगतिमा छ विकासमा । तर उसले पनि सोचेको होला, कार्यक्रम सार्क राष्ट्रकै त हो । सार्क राष्ट्र भनेका भारतका छिमेकी मित्र त हुन् । सानो छिमेकीले ठूलो छिमेकीसँग निहुँ खोज्ने कुरा पनि त गर्दैन होला ! झन्डै झन्डै त्यही कदको प्रतिस्पर्धी मित्र पाकिस्तानले भाग नलिएपछि अरुसँग केको डर ?
सुनिँदै छ, आउने क्रम जारी छ रे सहभागीहरुको !
भारतका अन्य राज्यहरुबाट सहभागी हुनेबाहेक सार्क राष्ट्रका सबै सहभागी जम्मा हुने ठाउँ दिल्लीको ग्रिनपार्कस्थित सिरिफोर्ट इन इस्टिच्युसनल एरियाको अकादमी अफ फाइन आर्टस् एन्ड लिट्रेचरको भवन । र, त्यहाँबाट बसयात्रा गरी पुग्ने ठाउँ जयपुर । त्यसै भएर पर्खनुपर्ने बाध्यता पनि छ आयोजकलाई ।
पछि पो थाहा भयो, बस त दुईवटा रहेछन् ! पहिलो बस भरिएपछि त हिँडिहाले भइगो नि ।
आउनेको समय अनिश्चित भएपछि आखिर त्यसो नगरी सुखै भएन ।
हामी प्रस्थान ग¥यौँ २ः५० बजे ।
कति किलोमिटर छ दिल्लीबाट जयपुर ?
मान्छेपिच्छेका उत्तर । सही उत्तर आउँदैन कसैबाट ।
मिड प्वाइन्ट कुन हो जयपुरको दूरी नाप्ने ? त्यसमै निर्भर हुँदो रहेछ जयपुरको दूरी ।
गाइड बुक पल्टाएर हेरेपछि थाहा भयो— २६२ किलोमिटर । यसको प्रारम्भ विन्दु रहेछ गुँडगाँव ।
गुँडगाँव त हामी पुगेकै छैनौँ । यसको अर्थ हामी त्योभन्दा बढी कुद्नुपर्ने छ । बस कछुवा गतिमा अगाडि बढिरहेको छ— लामलस्कर छ सवारी साधनको । त्यो पनि एउटा लेनमा हो र ? चार पाँचवटा लेनमा । विपरीत दिशाबाट आउने सवारीसाधनहरु पनि अर्कापट्टि त्यत्तिकै ताल परेर मन्द मन्द सर्किरहेका छन् ।
महिपालपुरको फराकिलो सडक । जम्माजम्मी आठ लेनको छ सडक । बीचमा आकासिँदै तन्किएको छ ओभरफ्लाई रोड । दायाँबायाँबाट होचिएर विभाजित भएका छन् क्रसिङ रोडहरु ।
बायाँतर्फ लाइनै उभिएका छन् होटलहरु । निम्नवर्गीयका लागि पहारगन्ज, उच्चमध्यम वर्गीयका लागि महिपालपुर । दायाँतर्फ अलि पर चुलिएका देखिँदै छन् अपार्टमेन्टहरु । त्यसकै पछाडिपट्टि पर्दाे रहेछ इन्दिरा गान्धी एयरपोर्ट । बाटोमा ठडिएका मार्गसूचक यन्त्रहरुले सङ्केत गर्दै छन् — टर्मिनल एक–दुई–तीन । विश्वकै दोस्रो ठूलो एयरपोर्ट रे ! हुने नै भए— तीनवटा टर्मिनलहरु ।
गाडीहरुको घनत्वमा मिसिएर बिस्तारै अघि बढ्दै छ बस । जति बाटो अगाडि बढ्दै छ, बाटोको साइज पनि घट्दै छ । गुडगाँव पुग्दासम्म बाटोको साइज घटेर पाँच लेनमा परिणत भएको छ ।
सुन्दै छु, पहिले गुटगाँव हरियाणामा थियो, अहिले दिल्ली शासित क्षेत्रभित्र परेको छ । दिल्लीलाई क्षेत्र कम भयो, बढाउँदै जाँदा गुडगाँव दिल्लीको सिमारेखाभित्र प¥यो, हरियाणा बाहिर ।
गुडगाँवको दृश्य देखेपछि एलवी क्षेत्रीले भन्नुभयो— ‘लौ हेर्नुस् नारायणघाट । नारायणघाट भन्दा के फरक छ गुडगाँव । टायर पसल, वर्कसप, बयलगाडा, रिक्सा, बाटो छेउमा उभिएका गाईबाच्छाहरु, ठेलामा फलफूल र तरकारी— के नारायणघाट होइन ? तर यति फोहोर त नारायणघाट छैन है !’
हामीलाई गाईड गर्ने कोही छैन । मेरो मन भन्दै छ— हामी हरियाणमा प्रवेश गरिसकेका छौँ । तर अचम्म के छ भने बोर्डहरुमा ‘हरियाणा’ शब्द भेटिँदैन । जमिन अग्लिँदै गएको छ । घरबस्ती शून्यतातिर उन्मुख हुँदै गएको छ । होचा होचा वृक्षवनस्पतिले जमिन ढाकिएको छ । रुखो छ जमिन— साँच्चिकै खाण्डवप्रस्थ । मेरो मन भन्दैछ— अब आउँदा यी रुखपातहरु मासिएर कङ्क्रिट वनमा परिणत हुनेछ ।
बाटो छेउको क्रङ्क्रिट स्तम्भले सङ्केत गर्दै छ — हामीले बत्तीस किलोमिटरको यात्रा पूरा गरेछौँ ।
बीस÷बाइस लेनमा बिस्तार भएको टोलगेट आइपुग्यो । मैले अनुमान लगाएँ— यो हरियाणा प्रवेश गरेको सङ्केत हो ।
अब भने बसले गति लिएको छ । हामी धेरै अघि बढिसकेका छौँ । चालीस किलोमिटरको यात्रा सकेर मानेसरमा गुड्दै छ बस । फराकिलो छ बस्ती । औद्योगिक क्षेत्रले ओगटेको भूमि असीमित छ । स्टारेक्स युनिभर्सिटी त्यहीँ छ । मानेसर उच्च महाविद्यालय त्यहीँ छ । मानेसर स्टेडियम त्यहीँ छ । मानेसर कृषि विज्ञान प्रतिष्ठान त्यहीँ छ । मानेसरको नामबाट मानेसरक्षेत्रको चौतर्फी विकास भएको महसुस गर्दै छु म ।
हरियाणाको परिचय नै हो कि क्या हो — ट्रकै ट्रकको लाइन देखिँदै छ अगाडि । ट्रकहरुलाई उछिनेर अगाडि बढ्न धौ धौ भएको छ हामी चढेको बसलाई । ट्रक पछाडि लेखिएको लाइन पढ्छु— ‘बेटी बचाओ, बेटी पढाओ ।’ शायद यो अहिले चलिरहेको भारतको मुख्य नारा नै हो क्यारे !
गङ्गोर रिसोर्टको प्राङ्गणमा पुगेर बस रोकिन्छ । समोसा र चियाको व्यवस्था भएको रहेछ आयोजकको तर्फबाट । समोसा कति खानुहुन्छ खानुस् तर चिया एक कप । को खान्छ होला समोसा दुईभन्दा बढी । कसैले अरु चीजमा मन डुलाउँछ भने भुक्तानी उसैको ।
म त्यहाँको गिफ्ट सपमा पनि छिरेँ । कलात्मक ढलोट गिलासको आधा दर्जन सेटमाथि मेरा आँखा अडिए । कति पर्छ होला ? उत्तर पाएँ— दुई हजार आठ सय । मलाई समुद्र पारबाट आएको धनाढ्य टुरिष्ट ठान्यो होला व्यापारीले र भाउ बतायो होला ! हुन पनि हाम्रो साथमा मभन्दा काला मानिस पनि थिए, मभन्दा गोरा पनि थिए— अफगानिस्तानदेखि मालदिभ्ससम्म ।
समोसा र चिया बनाउँदा र खाँदा अनि रिल नसिद्धिने मोबाइलबाट पार्कमा टाँसिएर फोटोहरु खिच्दा एक घण्टा बितेछ । त्यसपछि मात्र बसले आफ्ना पाङ्ग्रा खियाउने काम गरेको थियो । सुदूर पश्चिमको क्षितिजमा लालिमा छाएको थियो । सन्ध्याको आह्वान भइसकेको थियो धर्तीमा । यसपछिका दूरदृश्यहरु हेर्नबाट हाम्रा प्यासी नयन वञ्चित भएका थिए । तर बाटो छेउछाउमा भेटिएका बजार र बोर्डहरु हेर्न भने बाधा परेको थिएन ।
एक सय साठी किलोमिटर यात्रा गर्न त बाँकी नै छ । समय बिताउने स्रोत त खोज्नै प¥यो ।
आ–आफ्नो देशका, आ–आफ्ना समूहका सहभागीहरु आफ्नै धुनमा मस्त थिए । कसैका ठट्टा, कसैका गीत, कसैका कविता, कसैका चिन्तन र कसैका बहसहरु कानमा परिरहेका थिए । मसँगै बसेका अश्कजीले भोजपुरी र नेपाली भाषाका केही गीत र केही टुक्काहरु सुनाउनुभयो । मलाई सबै त सम्झना छैन, बिर्सन नसकेको एउटा टुक्रा थियो—
हार नै जित हो, जित नै हार हो
हार र जित नै जीवनको व्यापार हो ।
हो, वास्तवमा हार र जितमै जीवन चलेको छ । अरु त अरु, हामीले आफ्नै मनसँग पनि हार्ने र जित्ने गरिरहेका छौँ । त्यही मनले बिहान जित्छ, त्यही मनले बेलुका हार्छ । जीवनयात्रामा हामीले रोगसँग पनि हार जितको खेल खेल्छौँ । कहिले जित्छौँ, कहिले हार्छाैँ । अन्ततः हामीले हार्नै पर्छ । हारेको मान्छौँ तर सत्य के हो — हार नै हो कि जित हो ! त्यस गहिराइमा पुग्न सक्तैनौँ ।
हामी पछिको सिटमा भने ठूलै होहल्ला भइरहेको थियो कान थापेर सुन्दै थिएँ— एलवी क्षेत्रीले ईश्वर कँडेलमाथि प्यारको झटारो मार्दै रहेछन्— ‘चेलो भनेर माया गरेर मात्र के गर्ने ! तँ मेरो पिए बन्न पनि नसुहाउने भइस् ।’ अनि हाँसे बसै उचालिने गरी ।
मसहित धेरै सहयात्रीहरुको ध्यान खिचे एलवी क्षेत्रीले ।
प्राध्यापन पेशाबाट अवकास लिइसकेका क्षेत्रीले कवि गाउँको कुरा उठाए— ‘मेरो कविगाउँ (चितवन) मा मेरा अरु चेलाहरु पनि आउने गर्छन् तर सर्वप्रिय चेलो हो कँडेल । सहयोगी त छ तर कहिलेकाहीँ छेउ न पुच्छरको कुरा गर्छ । कविगाउँको सौन्दर्य भनेकै चेला र कविहरुको जमघट हो ।’
मलाई थाहा थिएन कविगाउँका बारेमा ।
उनले पुष्ट्याए— ‘मैले मेरै कम्पाउण्डमा कविगाउँको परिकल्पना गरेर महिना ÷ दुई महिनामा कविता वाचन गराउँदै आएको छु । कुनै बेला रातै पनि बिताइन्छ । मस्ती गरिन्छ । यो मेरो रुचि र सोख पनि हो । तपाईं पनि आउनुस् कविगाउँमा स्वागत छ ।’
ट्रकहरुको लाइनलाई छल्दै बसले गति लिइरहेको थियो । मसँगसँगै बसेका अश्कले एउटा ट्रक पछाडि लेखिएको अक्षर पढ्न लगाए—
चलो दिलदार चलो, भवसागर पार चलो ।
अर्काे र अझ अर्काे ट्रकको सन्देश बेग्लै थियो—
‘बुरी नजरवाले तेरा मुह काला ।’
‘कम पिले मेरी रानी, महँगी हे इराककी पानी ।’
निमराणा आएछ— एउटा बजार । बस्ती सानो भए पनि हिरोहोन्डाको कारखाना ठूलै रहेछ । त्यस्तै फराकिलो रहेछ टोलगेट । म अनुमान लगाउँदै थिएँ— शायद हामी अब राजस्थानमा प्रवेश गर्छाैँ होला !
त्यहीँ देखियो— रेफलेस युनिभर्सिटीको बोर्ड र पर्खालले घेरिएको कम्पाउन्ड ।
जयपुर पुग्न ९० किलोमिटर बाँकी रहेको सङ्केत पाउँदै गर्दा आइपुगियो— पावटा । त्यो शहर निमराणा भन्दा अझ ठूलो रहेछ । बाटो छेउछाउका होर्डिङबोर्डहरुमा सन्देशमूलक सूचनाहरू पनि देखिन्थे बेलाबखत — ‘जल अभियान, जन अभियान’— मुख्यमन्त्री ।
मुख्यमन्त्रीको फोटोमात्र थियो, नाम थिएन । फोटो थियो महिलाको । पछि पो थाहा पाएँ— बसुन्धरा सिन्धिया । अर्थात् हाम्रै सदाबहार नेता पशुपतिसमशेर राणाकी साली ।
जयपुर पुग्न ४५ किलोमिटर बाँकी रहँदा अनौटा भन्ने ठाउँमा देखियो— अमिती युनिभर्सिटी । मैले एक जना मित्रका पुत्रलाई सम्झेँ— उनले यसै युनिभर्सिटीको नाम लिन्थे, जहाँबाट उनले उच्च शिक्षा अध्ययन पूरा गरेका थिए ।
बस वातानुकुलित थियो । झ्यालका ठूलाठूला सिसाहरु डमाडमी लगाइएका थिए । बिजुलीको उज्यालोमा पर परको भाग देख्न सकिन्थ्यो । चन्द्रमाको प्रकाशले पनि सहयोग गरेको थियो शायद ! नजिकको पहाड पनि देखिएको थियो अस्पष्ट, तर त्यो नाङ्गो लाग्थ्यो । बाटो छेउछाउका वृक्ष वनस्पतिहरु त छर्लङ्गै देखिन्थे । होचा आकारका ती वृक्षहरु पहिचान गर्न पनि मलाई कठिन भएको थिएन । अधिक वृक्षहरु देखिएका थिए निमका । हिरोहोन्डा कम्पनीको द्वार र अग्लो सिसमहल (अफिस) देखिएको थियो अलिकति भित्रपट्टि । निम्स युनिभर्सिटी, निम्स अस्पताल, निम्स मेडिकल कलेजका बोर्डहरु पनि देखिएका थिए पारदर्शी सिसाबाट ।
जयपुर पुग्नुअघि देखिएका बोर्डहरुले म अचम्मित भएको थिएँ — जयपुर त पुरैपुरको राजधानी पो रहेछ त ! बाटोमा देखिएका बोर्डहरुले मलाई आश्चर्य चकित पारेका थिए— शाहपुर, घाँसीपुर, प्रतापपुर, मनोहरपुर, नवलपुर, उदयपुरलाई मैले टक्लक्कै देखेँ । साथीहरु भन्दै थिए— यहाँ जोधपुर, भोजपुर, भद्रपुर लगायत धेरै पुरहरु छन् ।
जयपुर प्रवेश गरेको आभास भइरहेको थियो मलाई । घरहरुको घनत्व देखिँदै थियो दायाँबायाँ । बत्तीहरुको प्रकाश प्रज्ज्वलित बन्दै थियो । चोक र बजारको विस्तृति बाक्लिँदै थियो र गुलावी शहरको सुन्दरताले सान्निध्य प्राप्त गर्दै थियो । म रोमाञ्चित र प्रफुल्लित हुँदै थिएँ — बाटोका पर्खालहरु र घरका भित्ताहरु गुलावी देखेर ।
हामी पुग्नुपर्ने डिग्गी (म्ष्ननष्) प्यालेस ।
बस गुडिरहेको छ । मोड र चोक घुमिरहेको छ । तथापि पुगिँदैन डिग्गी प्यालेस । अघि क्रस गरेको चोक फेरि आएजस्तो लाग्दै छ, अघि देखिएको महल फेरि देखिएजस्तो लाग्दै छ । गुलावी पर्खालहरु त जहाँ पनि उस्तै उस्तै लाग्दै छन् ।
पछि पो थाहा भयो— चालक, सहचालक दुवैलाई थाहा रहेनछ डिग्गी प्यालेसको मानचित्र । दिल्लीस्थित संस्थाको कार्यालयले दिएको निर्देशनमा डिग्गी प्यालेस खोजी गर्दै घुमेको रहेछ बस ।
केही सीप नलागेपछि ड्राइभरले गाडी साइड लगायो र ओर्लेर स्थानीय मानिसहरुलाई सोध्न थाल्यो, पत्तो लागेन । आखिर सहभागीमध्येकी एउटी महिला मीरा देवान, जो यसअघिको सम्मेलनमा पनि पुगेकी रहिछन्, उनी बसबाट ओर्लिन् र टेम्पोड्राइभरसँग कुरा गरेर टेम्पोमै बसेर अघि अघि लागिन्— बस पछिपछि ।
बस मूल सडक छोडेर जहाँबाट भित्र छि¥यो, त्यो बाटो हुँदै बसले दुईपटक फन्को मारिसकेको थियो । कारण, डिग्गी प्यालेसको बोर्ड रहेनछ । एउटा पुरानो दरबार, अहिलेको होटल । राजस्तान सरकारको पर्यटन विभाग अन्तर्गत सञ्चालित तारे होटल । सम्पर्क सूत्रमा चल्नेको नाम किन लेखिरहनु प¥यो र ?
नौ बजे जयपुर बजार छिरेका हामीहरु दश बजेमात्र डिग्गी प्यालेस पुग्यौँ । खाने कुरा तताएर पुनः ताजा बनाइएको रहेछ । त्यस रात हामीले विशुद्ध सात्विक खाना खायौँ । परिकारमा विविधिकरण थियो । कोदो र मकैका रोटी अनि कुभिण्डो र लौकाका मिठाईं विशेष उल्लेख्य लागेका थिए मलाई । खानापश्चात् दुई दुई जनाको दरले व्यवस्था गरिएको कोठामा छि¥यौँ— एघार बजे ।
मेरा रुम पार्टनर थिए— श्रीओम श्रेष्ठ ‘रोदन’ ।
३. सार्क सुफी फेस्टिबलले पारेको प्रभाव
बिहानै ६ः०० बजे तबला बजेको आवाज कानमा प¥यो र मेरो निद्रा खुल्यो ।
म उठ्ने बित्तिकै रोदनजी पनि उठ्नुभयो । उहाँ उठ्नु र तबलाको आवाज बन्द हुनु एकैचोटी भयो ।
तपाईंले सुन्नुभयो तबलाको आवाज ? मैले भनेँ ।
सुनेँ, त्यो मेरो मोबाइलको आवाज थियो । सधैँ ६ः०० बजे उठ्नका लागि आलराम लगाउने गर्छु, त्यो आज बन्द गर्न भुलेँछु । निद्रामा डिस्टर्ब भयो कि ? रोदनजीले प्रतिपश्न गर्नुभयो ।
हामी दुवै हाँस्यौँ ।
‘बाथरुम पहिले तपाईं जाने कि म ?’— मैले मागेँ अनुमति ।
‘जानुस्,’ रोदनजीको सहमति ।
‘तर मलाई समय लाग्छ ।’
‘किन ?’
मैले उहाँलाई गणेशमानजीको कथा सुनाएँ, त्यसपछि आफ्नो ।
‘त्यसो भए म पसेर निस्किहाल्छु ।’— रोदनजी झटपट पस्नुभयो ।
यसरी प्रारम्भ भएथ्यो रोदनजी र मेरो बिहानी — ६ अक्टोबर २०१७ को दिन ।
सोचेको थिएँ, अतिथि जगाउने यस्तो नियमै रहेछ कि डिग्गी प्यालेसको ? तर रहस्य खुल्यो बेग्लै । निद्रा खुलाउने काम त गर्दा रहेछन्— चराचुरुङ्गीहरुले । चराहरुका विविध तानपुरा सुन्दै गर्दा मयुर आवाज पनि परेको थियो मेरो कानमा । पछि पार्कमा निस्किँदा पो चकित परेको थिएँ म— मयुरमयुरीहरु बगैंचामा निर्भय घुमेको÷हिँडेको देखेर । एउटा हो र ? दर्जनौँ । कस्तो निर्भय विचरण मयुरमयुरीको । उता रूखका टोड्कामा सुगाहरु फुरफुराइरहेको र चउर र रूखलाई खेलमैदान बनाएर लोखर्केहरु नृत्य अभिनय गरिरहेको देखेर म अझ रोमाञ्चित भएको थिएँ ।
मस्जिदबाट आइरहने कुरान पाठको तीखो आवाजले पनि निद्रा भङ्ग भएको थियो । किन यसरी माइक लगाएर प्रलाप छोड्छन् मुश्लिमहरु ? हामीले बोलेको सानो स्वर पनि भगवान्ले सुन्छन् भन्ने ज्ञान कुरानमा छ कि छैन ? ब्रह्ममुहूर्तमा पशुपतिमा रुद्राभिषेक हुँदा खोलिएको माइकले निदाउने मानवको मानवअधिकार खोसियो भनी उजुरी पर्दा माइक बन्द गरिएको घटना सम्झेँ मैले त्यसै बेला ।
मैले दृष्टि फिँजाउँदै थिएँ, डिग्गी नरेशद्वारा निर्मित डिग्गी प्यालेसले आफ्नो प्राचीन स्वरुप र परित प्रकृतिलाई बचाएको रहेछ । खुट्याउँदै थिएँ, डिग्गी प्यालेस प्राचीन स्वरुपमै सजिएको छ । ढोका, झ्याल, भित्री संरचना, बाह्य स्वरुप प्राचीन महलकै आडमा अडिएका छन् । खम्बाहरु मार्बल, कोठा–चोटा मार्बल, भान्सा–भोजनालय मार्बल, स्नानागार–शौचालय मार्बल, बरन्डा, बाटिका मार्बल । मार्बलै मार्बलको साम्राज्य । सुदूर कुनामा देखिने नाङ्गा पहाडहरु थाहा नहुनेका लागि पहाड, थाहा हुनेका लागि मार्बलको भण्डार । त्यसै भएर त हामीकहाँ पनि प्रसिद्ध छ— राजस्थानी मार्बल ।
पुरातात्विक महत्वका बस्तुहरुलाई जीवित राख्दै कोठाहरुमा लुगा झुन्ड्याउने दराज त राखिदिएको भए हुन्थ्यो नि ! झुन्ड्याउने किला वा दराज नभएर असरल्ल फिँजिएका थिए हाम्रा लुगा— टेबुल, कुर्सी र सुटकेशमाथि । चप्पल पनि राखिएको थिएन बाथरुमका लागि । तर टवेलहरु राखिएका थिए साइजसाइजका । साबुन र स्याम्पु, तातो र चिसो पानीको व्यवस्था, चिया–कफीसहित पकाउने भाँडाको व्यवस्था । कोठा सानो भए पनि सबै सुविधाहरु भोग्ने अवसर मिलेका थियो हामीलाई ।
अश्क र विप्लब प्रातः भ्रमण सकेर पसेका थिए हाम्रो कोठामा ।
‘अहिलेसम्म ओछ्यानमै ?’— अश्कजीको प्रश्न ।
‘हिजोको थकाइले गहिरो निद्रामा परियो । आचार्य रजनिसले भनेजस्तै— ‘हरेक रातको गहिरो निद्रा मृत्युको अभ्यास’ रहेछ । सुतेपछि एक्कासि निद्रा खुल्यो बिहानमात्र — रोदनजीको स्वीकारोक्ति ।
दश बजे सार्क राइटर्स एण्ड लिटे«चर फेस्टिबल अर्थात् दक्षिण एसियाली सुफी महोत्सव उद्घाटन गरिने कार्यक्रम रहेको थियो र सो उद्घाटन राजस्थानका कानुन तथा संस्कृति मन्त्री अरुण चतुर्वेदीले गर्ने भनिए पनि कारणवश मन्त्री नआउने निश्चित भएपछि महात्मा गान्धीकी नातिनी डा. तारा गान्धी भट्टाचार्यबाट हुने जानकारी प्राप्त भएको थियो ।
कार्यक्रममा पुग्नुअघि हामीले ब्रेकफास्ट खानु जरुरी थियो । त्यसै भएर हामी प्रातःक्रिया सम्पन्न गरी डाइनिङ हलमा पुग्यौँ । के खानुहुन्छ ? नास्ताका परिकारहरुको विविधता छ — दही–रोटी–तरकारी, दूध–कर्नफ्लस, अन्डा–ब्रेड, फ्राइराइस र फलफूलमा— केरा, मेवा, स्याउ, भुइँकटहर र खरबुजा–तरबुजाहरु ।
उद्घाटनको समय दश बजे भनिए पनि के हुन्थ्यो ठीक समयमा सुरुआत । डा. तारा गान्धी र जयपुरका मेयर अशोक लाहोटीले संयुक्त रुपमा उद्घाटन गरेका थिए— साढे दशबजे । विशिष्ट अतिथिमा डिग्गी प्यालेसका सिइओ ठाकर रामप्रताप सिंह, सार्क विभागका सेक्रेटरी प्रशान्त अग्रवाल, संस्कृति विभागका प्रमुख पि. अनुसा गोकुला फरनान्डो, साउथ एसियन सुफी फेस्टिबलका डाइरेक्टर प्रो. आनन्दकुमार ठाकुर र रामप्रताप सिंह लगायत विराजमान भएका थिए मञ्चमा र अध्यक्षता ग्रहण गरेकी थिइन्— पद्मश्री विभूषित अजित कौरले ।
मन्तव्य दिने अन्य अतिथिहरुमा विभिन्न देशबाट प्रतिनिधित्व गराइएको रहेछ— नेपालबाट प्रा. केशव सिग्देल, अफगानिस्तानबाट प्रा. अब्दुल गफ्फार, बंगलादेशबाट डा. सेलिना हुसेन, भुटानबाट रिन्जिन रिन्जिन, भारतबाट केकी धरुवाला, माल्दिभ्सबाट असराफ अली र श्रीलंकाबाट सामन्थ हेराभलाई । तर नेपाली राजदूत दीपकुमार उपाध्याय अप्रत्यासित नेपाल जानुपरेकोले उपस्थिति हुन सकेन ।
उद्घाटन सत्रको पहिलो चरणको कार्यक्रम समाप्त भएपछि हामीले खाना खाएका थियौँ र दोस्रो सत्रको कार्यक्रममा सामेल भएका थियौँ । यसैगरी अर्काे सत्रको बीचमा पनि चियापान भएको थियो । दिनको तीनवटा सत्र चलाउने प्रारुप तयार भए पनि पहिलो दिन दुईवटा सत्रमात्र राखिएको थियो । प्रत्येक सत्रमा एक जनाको लेक्चर र चार जनाको कविता पाठ राखिएको हुन्थ्यो । लेक्चरको समय दश मिनेट र कविता प्रस्तुतिको समय छ मिनेट छुट्याइएको थियो । लेक्चर अँग्रेजी वा हिन्दीमा, कविता मातृभाषा+अँग्रेजी वा हिन्दीमा । यस प्रकार बितेका थिए हाम्रा तीन दिन । तर अन्तिम दिनको पछिल्लो समयमा इच्छुक कविहरुका थप कविता वाचन पनि राखिएको थियो ।
उद्घाटन कार्यक्रममा ‘हम बदलेंगे तो इतिहास बदलेगा’ भन्ने आसयको मेयरको भाषण, ‘मुल्ला–पण्डित–पादरी जो कुछ रहे वह मानव रहे’ भन्ने आनन्द कुमारको भनाइ, ‘नवरस विना फ्लेवर फिलिङ टेष्ट केही पनि हुन सक्तैन’ भन्ने सोनाल सिंहको मन्तव्य, सुफीजमलाई नवरससँग तुलना गरिएको अनामिकाको प्रवचन र ‘फूल कहाँ खतम होती है, बिज कहाँ से शुरु होता है ? चाँदनी कहाँ खतम होती है, चाँद कहाँ से शुरु होता है ? मै कहाँ खतम होता हूँ, खुदा कहाँ से शुरु होता है ? आदि भावमा बगेको श्रीकान्त सक्सेनाको कविता विशेष चर्चाका विषय भएका थिए भने अजित कौरले सुफीजमलाई राधा र कृष्णको प्रेमसँग तुलना गरेको विषयले पनि उच्च प्रशंसा पाएको थियो । कौरले संस्थाले लिएको उद्देश्य, गरेका कार्य, गर्नुपर्ने कार्य र सुफी महोत्सवको महत्वबारे एउटा सम्भाषण नै प्रस्तुत गरेकी थिइन्—
‘१८औँ शताब्दीका चर्चित मुस्लिम सुफी सन्तले ‘राम र कृष्ण महात्मा हुन्’ भनी स्वीकार गरेको कुरालाई हामीले बिर्सनुहुन्न । हामीले गरेका बुद्धिजम र सुफीजम सम्बन्धी सम्मेलनहरु विश्व शान्तिको कामनाका लागि गरिएका सम्मेलनहरु हुन् । सुफीजमले यथार्थमा प्रेम र सद्भाव फैलाउँछ र आत्मीयता जगाउँछ । यसले हिन्दू, मुस्लिम, क्रिश्चियन, बौद्ध र सिख धर्मबीचमा वैमनश्यता होइन, मैत्रीभाव जगाउँछ । सुफीजम र श्रीमद्भागवत गीताले दिन खोजेको सन्देशमा समानता भएको र पतञ्जलि योगसूत्रसँग पनि सुफी मत मिलेको कुरा अल विरुनीले पनि उल्लेख गरेका छन् ।’
वास्तवमा मुस्लिमहरुको सदियौँदेखिको सन्त परम्परा हो— सुफिजम । निराकार (शून्य) तत्वलाई भगवान् स्वीकार्ने उनीहरुको धार्मिक परम्परा अद्यापि चलिरहेको छ । त्यो शून्य तत्व प्राप्त गर्नका लागि प्रेम मार्ग नै उत्तम मार्ग हो भन्ने उनीहरुको ठम्याइ छ । यस दर्शनलाई सनातनी, सिख, बौद्ध र इसाई धर्मावलम्बीले पनि नकार्न सक्तैनन् । प्रेमबाट ब्रह्मानन्दको प्राप्ति हुन्छ भन्ने पूर्वीय दर्शन नै सर्वाेत्कृष्ट दर्शन हो ।
कार्यक्रमका सहभागीहरुको विशेष दृष्टि महात्मा गान्धीकी नातिनी डा. तारा गान्धी भट्टाचार्य र सम्मेलनकी महानायिका अजित कौरमाथि परिरहेको थियो । ताराका साथमा फोटो खिच्नेहरु, अजित कौरलाई दक्षिण एसियाकै साहित्यिक आमाको उपमाले विभूषित गर्दै उनको अगाडि पछाडि लाग्नेहरु र संस्थाको उत्तराधिकार बागडोर सम्हाल्ने चर्चामा रहेकी अजितपुत्री अपर्ना कौरको चहलपहल देख्नलायक थियो ।
त्यहाँ प्रस्तुत भएका मन्तव्यहरुको प्रकृति देखेर मैले साथीहरुको सहयोग लिई तयारी मन्तव्य रद्द गरी ‘प्रकृति र प्रेममा आधारित सुफीजम र नेपाली काव्य परम्परामा सुफीजमको प्रभाव’ बारे रातारात कार्यपत्र लेखेर दोस्रो दिन प्रस्तुत गरेको थिएँ । नेपाली सहभागीहरुका तर्फबाट लेक्चर दिनेहरुमा म लगायत एलबी क्षेत्री र केशव सिग्देल थिए । बाँकी सबैले प्रायः मातृभाषासहित अँग्रेजीमा कविता सुनाएका थिए । तर नबुझे पनि प्रस्तुतिको आनन्द जुन मातृभाषाले दिन्थ्यो, अर्काे भाषाले दिँदैनथ्यो । यस्तै महसुस भएको थियो हामीलाई ।
एलवी क्षेत्रीले त एक दिनको एक सेसन अध्यक्षता गर्ने मौका पनि पाएका थिए । त्यस सम्बन्धी समाचार अर्काे दिनको ‘भास्कर’ पत्रिकामा निस्केपछि उनले केही थान पत्रिका किनेर प्रचारबाजी गरेका थिए र नेपाली पत्रपत्रिकामा समाचार पठाउन ईश्वर कँडेल, अनुपम गौतम र निमेष निखिलहरुलाई अह्राएका थिए । तर सहभागीहरु उनको उल्लासमा ऐक्यबद्ध हुन नसकेर हो कि किन हो ? बेलुकापख उनी बिरामी नै परेका थिए ।
कार्यक्रममा प्रस्तुत साहित्यका विविध आयामहरुले मेरो मनमस्तिष्क सघन रुपमा प्रभावित भएको थियो । मेरो अन्तर्हृदय बोल्दै थियो — साहित्य र कला यस्ता चीज रहेछन्, जसको सार बस्तु उसको प्रस्तुति र उसले देखाएको हाउभाव र आवेगले स्पष्ट पार्दाेरहेछ । जसरी चित्रकला, अभिनय र नाटकलाई सीमाले छेक्दैन, भाषाले रोक्दैन, आँखाले हेरेपछि त्यसले दिन खोजेको सन्देश स्पष्ट हुन्छ, त्यसैगरी साहित्यले दिन खोजेको सन्देश पनि उसको प्रस्तुतिले दिँदो रहेछ । मातृभाषाको मार्मिक प्रस्तुतिले सबैभन्दा बढी हृदय छोएको थियो— अफगानी कवयित्री जोराको कविता र भुटानी कवयित्री चादर वाङ्मोको कविताले । त्यसो त अश्क, विप्लव र भीष्मका मातृभाषा मिश्रित कविताहरुले पनि कम प्रभाव छाडेका थिएनन् ।
भाषा विनिमय गर्ने अर्काे सजिलो माध्यम के भएको थियो भने माल्दिभ्स र श्रीलंकका साथीहरुमा हिन्दी भाषा केही कठिनाइ देखिन्थ्यो, बाँकी सबै हिन्दी बोल्थे । भुटानीहरुले त नेपाली पनि बुझ्थे । यस कारण पनि उनीहरुले प्रस्तुत गरेका तर हामीले नबुझेका साहित्यिक भावनाहरु आदानप्रदान गर्ने माध्यम हिन्दी भाषा हुन्थ्यो । कविता खासगरी — प्रेम, प्रकृति, दर्शन, राष्ट्रियता, शान्ति र नारीमुक्तिसँग सम्बन्धित थिए ।
यसरी तीनदिने सम्मेलन उल्लासमय वातावरणमा सञ्चालन हुँदै थियो भने बेलुका पख सहभागीहरुलाई मनोरञ्जन दिने व्यवस्था पनि मिलाइएको थियो ।
सम्मेलनको पहिलो साँझ हामी बसबाट महाराजा अग्रसेन भवनमा गएका थियौँ । अग्रवाल शिक्षा समितिद्वारा टीका र फूलमालाले स्वागत गरिएका थियौँ र अग्रसेन अडिटोरियममा बसेर मञ्चको शोभा हेरिरहेका थियौँ । किस्तीभरी राखेर पानीका बोतल बाँड्दै आएकी थिइन् एउटी महिला । बोतलको आकार देखेर दङ्ग परेका थियौँ हामी । हामीले पिउने गरेको बोतलको चौथाइ आकारका
थिए ती बोतलहरु । एक जनाले पिएपछि अर्काेलाई दिनै नपर्ने — किङ फिसर पानी ।
कविरका भजनहरु सुन्ने जानकारी प्राप्त भएको थियो हामीलाई । कार्यक्रम सुरु हुनुअघि डा. तारा गान्धीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसपछि एनाउन्स भएको थियो । जस अनुसार दुई जना पुरुष र एउटी महिला पलेँटी कसेर बसेका थिए । बीचमा बसेकी गायिका शौभाग्यशालीले निर्गुण–सगुण गान गाएकी थिइन् । दुईतिर बस्ने पुरुषहरुले मजुरा बजाएर साथ दिएका थिए । एउटा हातले तानपुरा र अर्काे हातले झिम्टा बजाएर ‘जीते जी मरना चाहिए’ बोलको भजन गाउँदै मस्तसँग झुमेकी सौभाग्यशालीले दर्शकदीर्घालाई नै झुलाएकी थिइन् । केहीबेर बिपुल चौहानले पनि सौभाग्यशालीलाई पालो दिएका थिए ।
पानी बाँडेजसरी किस्तीमा कफी भरिएका गिलासहरु पनि आएका थिए — दर्शक दीर्घामा । तर ती गिलासहरु अगाडिको रो हुँदै कुनामा पुग्थे र त्यही छेउछाउ हुँदै प्रदक्षिणा गरेर रित्तिन्थे । हामी चार भाइ (अस्क, रोदन, विप्लब र म) अगाडिबाट चौथो लाइनमा थियौँ । तेस्रो लाइनमा बसेकाले हात लम्काएर भए पनि कफी हात लगाएका थिए तर हामीले अगाडिकाले खाएको कफीको वास्ना सँुघेर तृष्णालाई अझ तीव्र पारेका थियौँ । अर्थात् उडान भरेको वाफलाई घ्राणमा प्रवेश गर्दा तृष्णा अरु प्रबल भएको थियो । यसका भुक्तभोगी हामीमात्र थिएनौँ, हामीभन्दा पछिल्लो लाइनमा बस्नेहरु पनि थिए । भाग्यमानी ती थिए— जो अगाडि, पछाडि र छेउछाउमा बसेका थिए । सबैभन्दा भाग्यमानी ती थिए, जो कौर गान्धीको दायाँबायाँ बसेका थिए । कतिले त एक कप मात्र होइन, थपी थपी पनि खाएका थिए । कफी एक पटकमात्र होइन तीनचार पटक आयो र प्रदक्षिणा गरेरै गएको थियो । गल्ती, कफी बाँड्नेको होइन, व्यवस्थापनको थियो ।
यसैगरी दोस्रो सन्ध्याको आकर्षण मीराबाईमा आधृत एकाङ्की नाटक थियो— त्यसै हलमा । नाटिकाको नाम दिइएको थियो— प्रेम दिवानी । त्यसका निर्देशक थिए— खेहेन्त उर्जी र पात्र थिए तीन जना— राणा भोज (पति) मीरा बाई (पत्नी) र सूत्रधार ।
कार्यक्रम सुरु हुनुअघि पाँचवटा दीपशिखा शिरमा अड्याएर नाचेकी थिइन् एक नर्तकी । मीरा, कृष्णभक्तिमा पागल भएकी थिइन् तर पतिभक्ति पनि छाडेकी थिइनन् । पतिलाई भन्थिन्— ‘प्रेम गर, घृणा नगर । तिमीभित्र दुष्मन छ, त्यससँग युद्ध गर, बाहिरी शत्रुसँग होइन । मभित्र कृष्ण छन्, कृष्णभित्र म छु । श्रीकृष्णले शङ्ख बजाएर युद्ध जिते, तिमी पनि तिनैका अनुयायी बन ।’
तर राणाभोज मीराबाईको कृष्णप्रतिको एकोहोरो लगावले दिक्क थिए । भन्थे— मलाई यस्ता कुरामा नअल्झाऊ । मलाई प्रेम होइन, युद्ध गर्न देऊ । मैले राज्य बचाउनुछ र शत्रुको आक्रमणबाट जनतालाई जोगाउनुछ ।
राणा मीरामाथि आक्रोश व्यक्त गर्दै तरबार उध्याउँदै युद्ध मैदानमा निस्केका देखिन्छन् । उनी मारिएको खबर आउँछ । नाटिका सकिन्छ ।
हामीले मूल्याङ्कन गरेका थियौँ— मीराको अभिनयको अगाडि राणा फिक्का देखिएका थिए । यस नाटिकालाई अझ मनमुटु छुने खालको बनाउन सकिन्थ्यो ।
त्यसपछि पनि अर्काे लघु वृत्तचित्र ‘धुन से ध्यान’ पनि देखाइएको थियो । त्यो अजित कौरको जीवनी र पञ्चावी संस्कृतिमा आधारित थियो । तर त्यसले दर्शकमा खासै प्रभाव छाड्न सकेन र दिन खोजेको सन्देश पनि स्पष्ट थिएन ।
तेस्रो सन्ध्या सहभागीहरुका लागि स्वतन्त्र छाडिएको थियो भने चौथो पूरै दिन जयपुर भ्रमणमा बितेको थियो ।
सहभागी नेपाली साथीहरु पनि समूह समूहमा विभक्त थिए । हामी चार जना (अश्क, रोदन, विप्लब र राम) त एम्बेस्सीका मानिस भनेरै चिनिएका थियौँ । बाँकी एलबी क्षेत्री, भीष्म उप्रेती र ईश्वर कँडेल÷केशव सिग्देल, अनुपम रोशी र निमेश निखिल÷मुकुन्द प्रयास, विराट गौतम र रजनीदम्पती— यस्तै यस्तै थियो हाम्रो बसाइ, खवाइ, चलाइ र हिँडाइ ।
बेलुकापख प्राङ्गणको एउटा कुनामा मधुशाला सिँगार्ने काम गर्थे— सिग्देल, रोशी र निखिलहरुले । क्षणिक साथ दिनेहरुमा कँडेल र ढकालहरु पनि पर्थे । रोशीले कोशी बगाउँछिन् भन्ने त मैले कता कता सुनेकै हो, त्यहाँ चाहिँ साथीहरुको साथमा बसेर मधुशालाले दिने मस्तीमा मस्त भएको मैले प्रत्यक्ष देख्दै थिएँ अलि टाढैबाट ।
मैले अनुभव गरेका ढकाल घुमाउरो तरिकाले भित्रैसम्म मिठो दुखाई दुख्ने गरी हँसिलो पारामा झटारो मार्छन् । मधुशालाका लागि जिब्रोको स्वादले मात्र पुग्दैन रे ! आँखाले पनि स्वाद लिनुपर्छ र कानले पनि स्वाद लिनुपर्छ रे ! आँखाले स्वाद लिने रसिलो मञ्च त्यहाँ थिएन, थियो भने अलि पर टुरिष्टका लागि बनाइएको मञ्च थियो । त्यहाँ राजस्थानी नृत्यहरु भइरहेका थिए । तर हामी सहभागीहरुका लागि त्यो व्यवस्था थिएन । टुरिष्टको छेउछाउ उभिएर हेर्न चाहनेहरुका लागि प्रतिबन्ध पनि थिएन । हाम्रा कानलाई आस्वाद्य खुराक दिने काम गर्दै थिए ढकाल । भन्दै थिए— रोशी खोला सुन्दर पनि छ, खतरा पनि छ ।
सुनेर रोशी, गिलास छचल्काउँदै अट्टाहस हाँसेकी थिइन् साथमा अरु पनि । ढकाल हाँसोमै हावामहल निर्माण गर्दै थिए— ‘तपाईं नारीवादी लेखक, तपाईं जति राम्री हुनुहुन्छ, त्यस्तै लेख्नुहुन्छ । भगवान्ले पनि फुर्सद निकालेर बनाउनुपर्छ रे सुन्दर मानिसहरु । तपाईंलाई पनि फुर्सत निकालेरै बनाएको हुनुपर्छ ।’
त्यसपछिको हाँसोको उचाइ म के नाप्न सकुँला र ! हाँसो थामिएपछि रोशीवचन निस्कियो— म नारीवादी होइन नि ! म त मानवतावादी । मेरो आफ्नै प्रकारको नारीवाद छ ।
‘के होला त्यस्तो आफ्नै प्रकारको ?’
तर खुलेन रोशीप्रतिपादित नारीवादको रहस्य ।
हामी चार भाइ पनि मस्त नभएको होइन, भयौँ आफ्नै सयनकक्षमा । अश्कजीले छाडेको दुई वर्ष भयो रे रसपान ! हामी भन्दै थियौँ— छाडेको होइन, स्थगित गरेको । थालनी गर्नुस् । उहाँले साथीहरुको वचन खेर फाल्न दिनुभएन । चाख्नुभयो । तर उहाँको स्वास्थमाथि खेलवाड गर्ने पक्षमा हामी पनि थिएनौँ । त्यसैले जोड गरेनौँ ।
जोकको त भण्डारै रहेछ ढकालभित्र । मूक नारीको मौन चुनावी भाषण, नारी शब्दको सङ्क्षिप्त रुप र दाह्री पुराणको सविस्तार वाचनले कोठा अनुगुञ्जित भएको थियो । यतिमात्र होइन, चक्षुपान, ओष्ठपान, मनगमन र भूमिशयन जस्ता अनगन्ती शब्दहरु पढ्न शब्दकोष पल्टाउनै नपर्ने रहेछ ढकाललाई । जे मिलेन भने पनि ‘कथाले मागेन’ भनेर चित्त बुझाउने पद्धति पनि रोचक लाग्दै थियो मलाई । अर्काेतिर रोदनले राष्ट्रकविको मटन खाने कथा पढेर हँसाउँदै थिए भने मेरो वाथरुम कोठाभन्दा कसरी ठूलो भयो भन्ने अश्कको प्रश्नमाथि रजनीले दिएको उत्तर सुनाएर अश्कले हाँसोको उचाइ अरु थप्दै थिए ।
०००
महोत्सव सम्पन्न भइसकेपछिका सहभागिहरुका धारणा प्रायः एकै प्रकारका थिए— औपचारिक रुपमा महोत्सव आरम्भ भइसकेपछि समाप्ति पनि औपचारिक रुपमै सम्पन्न हुनुपथ्र्याे । पाकिस्तानलाई पनि सहभागी गराउने प्रयत्न गरिनुपथ्र्याे । सहभागीको सङ्ख्या पनि नियमन गरिनुपथ्र्याे । अर्थात् अफगानिस्तानबाट २६ र भुटानबाट भएको ४ जनाको सहभागीतालाई सन्तुलित भन्न मिल्दैनथ्यो । कार्यक्रम कस्तो लाग्यो ? अभिमत लिनुपथ्र्याे । एक ठाउँमा बसेर सामूहिक फोटो खिच्ने व्यवस्था हुनुपथ्र्याे । सम्भव भए सोभेनियर बुक बनाइनुपथ्र्याे र सहभागीलाई बाँडिनुपथ्र्याे, त्यति पनि नभए सहभागिताको प्रतीक चिह्न वा प्रमाणपत्र दिइनुपथ्र्याे । यी कुरा केही पनि भएनन् ।
अर्काेतिर अजित कौरको प्रशंसा गर्नेको पनि कमी थिएन र आलोचना गर्नेहरुको पनि कमी थिएन । कौरले जीवनको आठ दशक नाघ्दा पनि संस्था सम्हालेकी छन् । सस्था सञ्चालनका लागि भवन उपलब्ध गराएर त्यागको भावना प्रस्तुत गरेकी छन् र साहित्यिक रचनाहरुको क्रम जारी राखेर बुढ्यौलीको आभाष दिएकी छैनन् । जुन प्रशंसनीय कुरा हो ।
आलोचित पनि भएकी छन्— विगत तीस वर्षदेखि उनले सार्कको नाममा एकलौटी संस्था सञ्चालन गरिरहेकी छन् । राजनीतिक रुपमा पालैपालो सार्क सम्मेलन हुने गरेजस्तै जुन देशमा सम्मेलन भएको हो, त्यही देशको अध्यक्ष हुने परम्परा सार्क साहित्य सम्मेलनमा पनि हुनुपथ्र्याे तर त्यसो नगरेर उनले अरु देशका सार्क गतिविधिहरुलाई निस्कृय बनाएर वा भङ्ग गरेर एकलौटी सञ्चालन गर्नु र उत्तराधिकार पनि आफ्नै वंशमा पार्ने दुष्प्रयास गर्नु पक्कै पनि सर्वस्वीकार्य कुरा थिएन ।
नहुनुभन्दा भएकोमा राम्रो । तर त्यो प्रजातान्त्रिक पद्धतिमा चल्यो भने अझ शुभकर हुन सक्छ भन्ने टिप्पणीकर्ताको भनाइलाई पनि हामीले अस्वीकार गर्न सकेनौँ । सार्क सुफी महोत्सवका अधिकांश सहभागीहरुले अनौपचारिक रुपमा निकालेको अन्तिम निष्कर्ष यही थियो ।
४. पुरबइयाले दिएको मायाको पोको
पशुपतिको यात्रा सिद्राको व्यापार भनेको यस्तै हो क्यारे ! कुनै बेला सोच्छु, पशुपतिको यात्राभन्दा सिद्राको व्यापार अझ आकर्षक र अझ प्रभावकारी भयो भने त यस उखानले महत्व पाउँदैन होला !
हाम्रो यात्रामा भएको हो यस्तै ।
पशुपतिको यात्रा गरियो, सकियो । यात्रा गरेको निशानी केही पनि बाँकी रहेन । तर सिध्राको व्यापारले यस्तो छाप छाड्यो, जुन मेट्नै नसकिने गरी बज्र लेप भएर रह्यो ।
जयपुर यात्रा तय हुनेबित्तिकै एउटा कार्यक्रम बनेको थियो दिल्लीको । गोपाल अश्क भोजपुरी भाषा–साहित्यका विशिष्ट अध्येता । उहाँको ख्यातिले दिल्ली छोएको छ । अश्कजी जयपुर जाने खबर पुग्यो दिल्लीमा । विगत दर्श वर्षअघि स्थापना भएर भोजपुरी भाषा–साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्दै आएको दिल्लीस्थित भोजपुरी साहित्य समाजले यस मौकालाई सदुपयोग गर्ने सोचाइ अगाडि सा¥यो । सन्तोष पटेल संस्थाका हर्ताकर्ता । उनले कार्यक्रम बनाइहाले— ‘एक साम ः भारत–नेपाल के साहित्यकारों का नाम ।’ कार्यक्रम हुने भयो— १०–१०–२०१७को दिन । समय बेलुका ४ः०० बजे ।
त्यसै भएर हामी अक्टोबर १० का दिन जयपुुरबाट दिल्ली फर्कन हतारिएका थियौँ । यदि जयपुरबाट दिल्ली फर्कने सार्क सुफी महोत्सवको बस ढिलो गरी प्रस्थान गर्ने हो भने बरु हामी निजी खर्चमा बिहानै फर्किने सोच बनाएका थियौँ ।
हामी भन्नाले चार भाइकै कुरा छ यहाँ पनि — अश्क, रोदन, विप्लब र म ।
तर संस्थाको बस ८ः०० बजे हिँड्ने भनेपछि सजिलो भयो हामीहरुलाई पनि ।
आधा घण्टा कुराए— चार जना अफागनीले ।
सबै भन्दा अनुशासनहीन देखिएका थिए उनीहरु, सहभागिताको क्रममा पनि । अहिले पनि त्यही चरित्र देखाए, ढिलो गरेर ।
आफ्नो देशमा खान नपाउने रक्सीप्रेमीहरुले हिजो राति बेस्सरी धोकेछन् र मस्तसँग सुतेछन् । अनि त बिहान निद्रा खुल्थ्यो कसरी ? ब्रेकफास्ट पनि नखाएर सुतेछन् बिहानैभरी । अरु अफगानीहरुले पनि सतर्क बनाउनुपथ्र्याे ! एक अर्कामा सौहाद्र्र व्यवहार गर्ने प्रवृत्ति रहेनछ उनीहरुको । संवेदनहीन, क्रुर मानसिकता बोकेका मानिसहरुको चरित्र उनीहरुमा विद्यमान थियो शायद ! त्यसै भएर त पड्किन्छन् आत्मघाती बम दिनदिनै र मर्छन् निरपराधहरु ।
म जानकारी पाउँदै थिएँ— सम्पन्न परिवारका कुलीन र शिक्षित अफगानीहरुको बासै रहेछ दिल्लीमा । दिल्लीमै बसेर अध्ययन अध्यापन गर्ने र जागिर खाने अफगानीहरु आधाजसो थिए सार्क सुफी महोत्सवमा ।
साढे नौमा छाड्यौँ हामीले डिग्गी प्यालेस ।
शहरको बाटोमा बस गुड्दै गर्दा मेरो मन तरङ्गित भयो । कुन्नि म कहाँ हराएँ — पर्खी बसे, फेरि भेट्न आउँला है गुलावी, गुलावी तिमीले असाध्यै मोहनी लगायौ । फेरि आउँदा पनि तिमीले मायाको यो प्रगाढतालाई तरल नबनाउनू है ! तिमीलाई मैले अझ चिन्नुछ । तिमीलाई मैले अझ बुझ्नुछ । तिमीलाई मैले भित्रैदेखि गहिरो माया प्रीति लगाउनुछ । तिमी नलजाउनु, तिम्रा धेरै अङ्गहरु मैले स्पर्श गर्न बाँकी नै छ । मेरो गमन हुन पाएको छैन, तिम्रा अङ्गअङ्गहरुमा मैले बुझेको छु— धेरै ऐतिहासिक, दर्शनीय, स्पर्शनीय, सुकोमल र आकर्षक छन् तिम्रा अङ्गप्रत्यङ्गहरु । मैले सुनेको छु तिम्रो बयान— सिल्भरका लागि प्रसिद्ध चमेली बजार मैले देख्न पाएकै छैन । छोटी चौपर गएर बजारै ढाकिने गरी फैलिएका पुष्पहरु चुम्बन गर्न पाएकै छैन । घी वालोनका रास्ता गएर मिठाइ, निम्की र पनि खान पाएको छैन । हल्दियोन का रास्ताको ज्वेलरी, हावा महल छेउको प्रसिद्ध राजस्थानी जुत्ता बजार, जोहोरी बजारका हीरा, मोती, सुन, चाँदी पनि देख्न पाएको छैन । गोपालजीका रास्ताको स्टोन, कल्याणजीका रास्ताको मार्बल बजार र कोलीबस्तीको कार्पेट बजार हेर्ने चाहना पनि मेरो अधुरै छ । यसै गरी नाहरगढ रोडका बाद्ययन्त्रहरु, पुरानी बस्तीका काठका सामानहरु पनि मलाई हेर्ने इच्छा छ । जयपुर प्याकेजको सेवा उपयोग गरेर मैले दिनभरको यात्रा, आधा दिनको यात्रा वा रात्रीकालीन यात्रा गरी महाराजा सवाई माधोसिंह द्वितीयद्वारा सन् १९०० मा निर्मित मुबारक महल, जयसिंह द्वितीयद्वारा निर्मित चन्द्रमहल र रामसिंह द्वितीयले सम्मानित विदेशी अतिथिहरुका लागि बनाएको अति सुविधासम्पन्न रामवाग प्यालेस (हाल होटल) पनि अवलोकन गर्न बाँकी नै छ ।
मनको बेग के थामिसक्न हुन्छ र ? बस ब्रह्मपुरीबाट अमेर मार्गलाई छाडेर दिल्ली सोझिँदै रहेछ, मलाई थाहा भएन । शहरी क्षेत्र सकिएर नजिकै नाङ्गा पहाडहरु देखिन थालेछन्, मलाई पत्तै भएन । हामीलाई थाहा भइसकेको थियो — ती पहाड बाहिर नाङ्गा देखिन्थे तर भित्र रत्न भरिएका थिए । ती पहाड थिएनन् मार्बलका थुप्रा थिए । बाटोको छेउछाउ भने होचाहोचा वृक्ष वनस्पतिहरुले राजमार्गलाई शोभा दिइरहेका थिए । जसमध्ये अधिक निमका वृक्षहरु थिए । घना जङ्गल कतै देखिएको थिएन र खोलानालाहरुको त नामनिशानै भेटिएको थिएन । दिल्लीदेखि जयपुुरसम्म एउटा नदी नदेखिनुले मभित्र प्रश्न जन्माएको थियो— पानी खाने स्रोत के हो जनताको ? थाहा पाएको थिएँ— भूमिगत पानी ।
हामीले खाली पेट भरेका थियौँ — दिल्ली–जयपुर मार्गको मध्यक्षेत्रमा । तर एकातिर खाएर सक्दा पनि अर्काेतिर खाना आउन सकेको थिएन । हामीले पूरै डेढघण्टा खर्चनुपरेको थियो त्यस रेष्टुराँमा । अश्कजीकै अनुरोधमा दिल्लीमा चार बजेको कार्यक्रम राखिएको हुँदा अश्कजीको छटपटी वेगवान् हुनु अस्वाभाविक थिएन । समय घर्किँदै गएपछि त उहाँ बोल्न पनि छाड्नुभएको थियो र घडी हेर्न पनि बन्द गर्नुभएको थियो । आखिर उहाँले फोन नगरी सुखै भएन — ‘पटेल भाइ ! हामी ढिलो हुँदै छौँ । कार्यक्रम एक घण्टा पछि सार्नुप¥यो ।’
हामी हरियाणाको भूमिमा गुड्दै थियौँ क्यारे ! किनभने ‘पुर’ले चिनिने ठाउँ हाम्रो आँखामा पर्न छाडेका थिए । दिल्लीका लागि एक सय किलोमिटर बाँकी रहेको सूचना दिँदै थियो बाटोमाथि तेर्सिएको बोर्डले तर ‘हरियाणा’ भन्ने अक्षर मैले कहीँ पनि देख्न पाएको थिइनँ । म अघिपछि बस्ने साथीहरुलाई पनि यही प्रश्न गर्दै थिएँ — के तपाईंहरुले यी चार अक्षर पढ्ने मौका पाउनुभयो ? अँहँ देखेँ भन्ने कोही पनि भेटिनँ ।
गुडगाँवलाई पछाडि पारेपछि गाडीहरुको घनत्वसँगसँगै जाम पनि शुरु भयो । चार बजेसम्म दिल्ली पुग्ने आशा राखेका हामीहरुको पेट पोल्न थाल्यो । किन हो कुन्नि, श्रीओमजीमा रोदन त्यत्ति थिएन, अश्कजीको आँखाबाट अश्क (आँशु) निस्केला जस्तो देखिँदै थियो । विप्लवजीले यस बेला विप्लव मच्चाएर हुनेवाला केही थिएन र मभित्र चाहिँ अरण्य क्रन्दन गर्ने बाहेक अरु उपाय थिएन । पीर त त्यहाँ प¥यो, जब हामी महिलापालपुर पुग्यौँ । त्यहाँको जामबाट अगाडिको बस फुत्त निस्किहाल्यो । हामी चढेको बस रोकियो— एकछिन होइन, पन्ध्र मिनेट ।
जयपुरको सार्क सुफी फेस्टिबलमा सहभागी हुने करिब १४० जनामध्ये दिल्लीबाट दुईवटा बसमा जाँदा करिब ८०को हाराहारीमा थियौँ तर फर्कँदा ५६ जनामात्र भएका रहेछौँ । कारण, कतिपय सहभागीहरु हिजै हिँडिसकेका थिए । दुईवटा बसमा बाँडिएर बसेका मध्ये पनि एउटा बसमा ५० जना र अर्को बसमा ६ जनामात्र । ६ जना बसेको त्यही बस जामबाट निस्केपछि हामीलाई पछुतो भएको थियो— त्यो खुल्लमखुल्ला बसमा बसेको भए कम से कम पन्ध्र मिनेट त अगाडि पुगिन्थ्यो ।
त्यहाँबाट मुक्त भएको बस जब अगाडि बढ्यो र हामी बस्ने होटल अगाडि पुग्यो, तब हाम्रो ओठमा मुस्कान आयो । तर विडम्बना ! हाम्रो ओठको मुस्कान राम्रोसँग फक्रिन नपाउँदै बस अरु अगाडि बढ्यो र कता पस्यो कता ! पछि पो थाहा भयो, बाटो एकतर्फी रहेछ । एकछिन हो र ! एक फन्को लगाएर बस होटल रामहन अगाडि आउन अर्काे पन्ध्र मिनेट लाग्यो । हामीले मिनेटमा कोठाको साँचो लियौँ, मिनेटमा सामान थन्क्यायौँ र टेम्पु लिएर कुद्यौँ— डावरी पालम रोडतिर । हामीले ठाउँको सङ्केत पाएका थियौँ— विजय एण्ड कलेससँगै ।
दिल्ली कहाँ सानो छ र ! तीव्रगतिमा टेम्पो कुदाउँदा पनि झन्डै आधा घण्टा लाग्यो । तथापि खुसी लाग्यो भने हामी पाँच बजेअगाडि नै पुगेछौँ ।
सन्तोष पटेल बाटैमा भेटिए ।
कार्यक्रमस्थल अलिकति भित्र रहेछ । अरु पन्ध्र मिनेट ढिलो गरेर भोजपुर (पुरबइया) साहित्य मञ्चका अध्यक्ष शिवजी सिंह (शिवु)को सभापतित्वमा सन्तोष पटेलले उद्घोषण सुरु गरे । मञ्चमा — अश्क, रोदन, विप्लव र रामलाई आसीन गराइएपछि मुरलीधर यादव, पवन वंशल, अब्दुल हमिद, अक्तरखान साहेब र तेजप्रतापहरु पनि आसीन भए । पुष्पगुच्छा, माला र ताम्रपत्रले सम्मानित भयौँ हामी चार भाइ । कविता वाचन भए— वृजभूषणसिंह, रजमा, धनञ्जय, कल्पना, दीपक, सञ्जय, प्रिया, मुरद, अनुज, मिथिला, ममता, पिपी, कुन्दनसिंह, अभिषेक र राजनारायण सिंहहरुबाट । हामीहरुको प्रतिनिधित्व गर्दै अश्कले बोल्नुभयो । त्यसपछि समापन ।
व्यक्तिव्यक्तिसँग फोटो खिच्ने काम भयो क्रमैले । मेरो पेट पोलिरह्यो— बाह्रखम्बा रोड नेपाली राजदूताबासबाट फोन आएको आयै छ— कन्सुलर कृष्णप्रसाद पन्तको । प्रश्न दोहोरिएको छ— कुन बेला आउनुहुन्छ ? कहाँ हुनुहुन्छ ? यहाँ डिनरका लागि अरु तयारी भइसक्यो, भात बसाल्न बाँकी छ ।
हाम्रो भने फोटो खिचेर सकिएन ।
मायाको अपमान गर्न सकिएन ।
हार्दिकतामाथि कठोर बन्न सकिएन ।
अप्ठ्यारो फुकाउने बाटो नै देखिए ।
अनि मैले अप्रिय वचन बोल्नुप¥यो भतिज कृष्णसँग— ‘क्षमा गर, हामी आउन नसक्ने भयौँ । होटलमा हामीलाई आयोजक संस्था सार्क सुफी महोत्सवकै तर्फबाट बस्नेखाने राम्रो व्यवस्था छ । हामीलाई असुविधा हुने छैन ।’
कार्यक्रममा सम्मानित हामी सबैले आ–आफ्नो तर्फबाट उनीहरुले दिएको सम्मानप्रति आभार प्रकट गर्नुपर्ने थियो, त्यो समय पनि भएन । म सम्झँदै थिएँ— दुई वर्षअघि दिल्लीस्थित नेपाली राजदूताबासमा भएको दुई देशीय साहित्य सङ्गोष्ठी । त्यस बेला मेरै जोडबलमा नेपाल–भारतका साहित्यकारहरुबीच साहित्यिक विमर्श भएको थियो । तर समारोहलाई निष्कर्षमा पु¥याउन सहयोग गर्ने राजदूत दीपकुमार उपाध्याय, प्रथम सचिव कृष्णप्रसाद ढकाल र कन्सुलर कृष्णप्रसाद पन्तलाई धन्यवाद दिन पाएको थिइनँ र अहिले पनि समयले साथ दिएन । उता तिनै भतिज कृष्णप्रसाद पन्तको डिनर र रात्रीविश्रामको आतिथ्य पनि स्वीकार्न सकिएन ।
कार्यक्रमस्थलबाट बाहिर निस्कँदै गर्दा भित्तेघडीले घण्टाको सुईलाई आठबाट उकालो लगाइसकेको थियो । त्यसै बेला विप्लव ढकालले भनेका शब्दहरुमा मैले पनि सहीछाप लगाउँदै थिएँ— ‘जयपुरको कार्यक्रम अभिनय थियो, यहाँको कार्यक्रम हार्दिकता र आत्मीयताले ओतप्रोत ।’
बाहिर टेक्सी तयार थियो हामीलाई बोक्न । हामीले बोक्नै नसकिने सम्मानको भारी बोकेर संस्थाका अधिकारीहरुबाट बिदा भयौँ । महिपालपुर पुग्दा थाहा भयो— हामी ठगिएका रहेछौँ ।
कसबाट ठगियौँ, किन ठगियौँ ?
दिल्लीमा नठगिए कहाँ ठगिन्छौँ त हामी !
ठगिएका छौँ त दिल्लीबाट हामी सधैँभरी ।
तर भाषा–साहित्य र संस्कृतिमा त ठगिएका छैनौँ नि ।
व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीमा ठगिएका छौँ । दिने नाममा उल्टै लिएर ठगिएका छौँ । यो राजनीतिक तिगडम हिजो थियो, आज छ र भोलि पनि रहने पक्का छ । अहिले भने हामी राजनीतिक प्रभावमा परेका थिएनौँ । व्यक्तिगत स्वार्थको शिकार भएका थियौँ । कारण थियो— जाँदा हामी अत्यन्त हतारमा थियौँ र अगाडि जे भेटियो, त्यसैको आश्रय लिन बाध्य भएका थियौँ । टेम्पुचालक भन्दै थियो— ‘बहुत मिलाकर बोल रहा हुँ ।’ उसले मिलाएर लिएको थियो— तीन सय रुपैयाँ र फर्कंदा टेक्सीले नमिलाइकन मिटरमा उठेको पैसा लियो दुई सय रुपैयाँ ।
हामी दौडादौडमा थकित भएका थियौँ । थकान मेटाउने औषधी होटलमा थिएन । होटलवाला भन्दै थियो— ‘यस सेरोफेरोमा भेटिने सम्भावना पनि छैन ।’ तथापि साथीहरुले हिम्मत छोडेनन् । शतप्रशित अल्कोहलको झोल नमिले पनि कम प्रतिशतको झोल त पाइएला नि ! यसका लागि आजका हकदार रोदन र विप्लब मात्र । उनीहरुलाई साथ दिन अश्क र म पनि पछि लाग्यौँ ।
झन्डै एक किलोमिटर परसम्म पुग्दा पनि चाहना पूरा नभएपछि साथीहरुले व्यापारीहरुलाई सोधे । कति टाढा पुग्नुपर्ला तलतल मेट्का लागि ? उत्तर मिल्यो— चार÷पाँच किलोमिटर ।
ए बाबा ! नेपालमा अनाज पसल र तरकारी पसलहरुमा समेत पाउने चीज पाउनका लागि दिल्लीजस्तो विशाल शहरमा किन चार÷पाँच किलोमिटर धाउनुपर्ने ? निराश भएर फर्कनु बाहेक अरु उपाय थिएन हामीहरुलाई । फर्कंदै थियौँ, एउटा पसलको माथिल्लो ¥याकमा लस्करै देखिए— बियरका बोतलजस्ता लाग्ने बोतलहरु ।
सोधे साथीहरुले — ‘बियर होइन ?’
‘हो, तर लोकल’— जवाफ मिल्यो पसलेबाट ।
लोकल होस् कि स्पेशल ! स्वदेशी होस् कि विदेशी ! केही नपाएको अवस्थामा जे मिल्यो, त्यही ठीक । दुई जना साथीहरुले एक÷एक बोतल उठाएर हिँडे ।
होटलमा आएर स्न्याक्स फिँजाएर बोतल खोले । गन्ध निको लागेन । गिलासमा हालेर घुट्क्याए । केही स्वाद छैन । विप्लवले झोलको गन्ध पहिल्याए— उडुस मारेपछि फैलिएको गन्धजस्तो । दुई बोतलमध्ये एउटा बोतलको आधा पनि खपत भएन ।
शङ्का उपशङ्काको घेरामा बोतल बाहिर लेखिएको अक्षर पढियो — नन अल्कोहल । कुन्नि के के मिसाएर बनाएको स्थानीय जुस पो रहेछ । रद्दीको टोकरीमा फ्याँकियो जुस अर्थात् २४०÷– रुपैयाँ । तर हामीले नोक्सानी भएको ठानेनौँ, अनुभव आर्जन गरेकोमा खुसी नै मान्यौँ ।
कोठा थियो खुल्लमखुल्ला र खाट थिए फराकिला । जयपुरको सुताइभन्दा सान्दार थियो दिल्लीको सुताइ । दुईवटा खाटमा ढल्केर निदाउनुअघि श्रीओमजी र मैले एकछिनअघि डाइनिङरुममा देखेको दृश्यचित्र उतार्न थाल्यौँ — अफगानीले खाएजस्तो गिलासका गिलास आइसक्रिम खाइदिने हो भने त होटलवालालाई फाइदा होइन, उल्टै घाटा पर्छ ! कति लोभी र खन्चुवा ती अफगानी ! खानै नपाएजस्ता । खाना खाएपछि पनि डाइनिङ रुम छाडेका होइनन् र घेरा हाली बसेर पानी खाएजस्तै आइसक्रिम खाएर कुर्सी छाडेका होइनन् । आखिर होटलवालाले आइसक्रिमको भाँडै लुकाउनुपर्ने अवस्था आयो ।
अर्काे दिन बिहान १०ः४० मा उड्नुपथ्र्याे हामी काठमाडौँका लागि । त्यसका लागि ८ः०० बजे त होटल छाड्नुप¥यो नि ! त्यसै भएर हामीले त्यसअघि नै ब्रेकफास्ट खाइसक्यौँ । होटलवालाको अर्डरमा टेक्सी आइपुग्यो होटलै अगाडि ।
हाम्रो फ्लाइटमा आउने हामी चार जना नेपाली सहभागी बाहेक पाँचौँ थिए— चितवनका ईश्वर कँडेल । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सिग्नल नपाएर काठमाडौँको आकाशमा घुमिरहँदा धेरैलाई त दिक्क पनि लाग्यो, डर पनि लाग्यो क्यारे ! मलाई भने आनन्दै लाग्यो !