१ तिमी हुँदा अँधेरीमा जून चाहिँदैन
सङ्गीतमा सातै सुरको धुन चाहिँदैन
तिमी नै हौ बहुमुल्य त्यस्तो आभूषण
तिमी भए हीरामोति सुन चाहिँदैन ।
२ दिन हिँडिरहेछ यसरी खुकुरीको धारमा टेकेर
हिँड्छ कैले जीतको खुसीमा कैले हारमा टेकेर
थिए कति अधुरा सपना पूरा गर्ने अठोटमा
यसरी आइदियो तक्दिर समयको मारमा टेकेर ।
३ हत्केलाले घाम छेक्न सकिन्न
त्यस्तै पानीमा नाम लेख्न सकिन्न
मस्त छ दुनिया आफ्नै लयमा
कसको मनमा के छ देख्न सकिन्न ।
४ जोगउँला संस्कृति र भाषा आफ्नैपनका
फुकाउँला पीर व्यथा गुम्सिएका मनका
चोरी खानु, ढाँटी खानु, छली खानुभन्दा
बरु खाउँला गीठा भ्याकुर कन्दमुल वनका ।
५ छिमेकीले साँध मिचे हेरिरह्यौ दाजै
लिपुलेक पर्खालबाहिर देख्नु पर्यो आजै
दुई मुटुको सम्बन्धलाई फराकिलो पार्न
अस्तित्वलाई दाउमा राखी माटो बेच्यौ राजै ।