साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’ र कवि सुरेन उप्रेती (क्यानडा)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ । श्रीओम रोदन, पद्मावती सिंह र पारसप्रकाश नेपाल सम्मिलित समितिले गरेको सिफारिसअनुसार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो ।
मणि कविता र कथा विधामा कलम चलाउँछन् । उनका आन्दोलनले छट्पटाएका कलमहरू, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै (संयुक्त) कविताकृति सहित असहमतिका पाइलाहरू, परास्त प्रेम, निर्वस्त्र मन कथाकृति प्रकाशित छन् ।
उप्रेतीको आजका स्वरहरू कविताकृति प्रकाशित छ भने अनन्त यात्रा (कथासंग्रह), अटवा, बधशालाको डिस्को धुन (निबन्धसंग्रह), डटर्स अफ एभरेष्ट (बालकथासंग्रह), प्रेयसी रोवर्ट (डायस्पोरिक कथासंग्रह), एकान्तवास (बालकथासंग्रह), देश हराएको मान्छे (बालकथासंग्रह) र नेपालको शान (जीवनी) प्रकाशित छन् ।
२०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई प्रदान गरिँदै आइएको छ ।त्यस्तै, ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवद्र्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत), शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाललाई प्रदान गरिसकिएको संघले जानकारी दिएको छ ।