अनुवाद ः राममणि पोखरेल
(महादेवी बर्माको जन्म १९०७ मा भएको थियो । उनको मृत्यु १९८७ मा भयो । हिन्दी भाषाकी छायावादका वेदना र करुणाकी अमर गायिका मानिन्छ, उनलाई । उनका काव्यमा रहस्यात्मक अनुभूतिहरु पाइन्छ । कुनै अज्ञात प्रियतमका प्रति प्रेम तथा ऊसँग भेट्ने आकांक्षा र अलौकिकतातर्फ संकेत गरिएको देखिन्छ । उनका काव्यमा संगीत र चित्रकलाको समन्वय पाइन्छ ।
इन्दौर र प्रयागमा महादेवी बर्माले शिक्षा प्राप्त गरिन् । टैगोर, गान्धी आदिसँग परिचित तथा अनुग्रहित हुने सौभाग्य पाइन् । यो मौका उनलाई बचपनमा नै प्राप्त भयो । उनले प्रथम पुरस्कार गान्धीजीको हातबाट प्राप्त गरिन् । उनको विवाह सानै उमेरमा भएको थियो । तर सानै छँदा उनको दाम्पत्य जीवन विमुख हुन गयो । उनी आफ्नै माइत फर्किन बाध्य भइन् ।
बुद्ध धर्म र उपनिषदको प्रभाव महादेवी बर्मामा प¥यो । दया र करुणाका कार्यमा उनी तल्लिन रहिन् । उनका काव्यमा वेदना र दुखको चित्रण गरिएको छ । तर उनले दुख र वेदनालाई बोझको रुपमा नलिएर जीवनको सार्थकता या अमरत्व प्राप्त गर्ने उदात्त तत्वका रुपमा लिइन् ।
सेक्सरिया पुरस्कार, द्विबेदीपदक, मङगलाप्रसाद पुरस्कार, भारती पुरस्कार, पदम भुषण आदि सम्मान उनले पाएकी थिइन् ।आपतकालिन अवस्थामा जनमानसमा जुन चोट पुग्यो, त्यसप्रति उनले आक्रोश व्यक्त गरेकी थिइन् । निहार, रस्मी, निरजा, सन्ध्यागीत, दीपाशिखा आदि मुख्य काव्य कीर्ति उनका छन् । अतितका चलचित्र, मेरा परिवार क्षणदार पथका साथी, साहित्यका प्रतिको आस्था र अन्य निबन्ध आदि उनका प्रमुख साहित्यिक देन हुन् । दिपाशिखा जस्ता कीर्ति र उनका तमाम साहित्यिक देनलाई समेट्दै १९८२ सालको ज्ञानपीठ पुरस्कार उनलाई दिइयो ।
ज्ञान पीठ पुरस्कार पाएको केही समयपछि महादेवी बर्मासँग साहित्यकार पदम सिंह शर्मा (कमलेश) ले लिएको यो अन्तर्वार्ता आजका पाठका निम्ति पनि उपयोगी हुने सम्झेर नेपालीमा अनुवाद गरिएको हो ।)
‘कलाकारको हृदय विश्वव्यापी हुनुपर्दछ’
महादेवी बर्मासँग भेट हुने वित्तिकै उनले मेरो बसाईबारे सोधिन् । एकदिन पहिला नै मेरो पत्र उनका हात परेको थियो । मेरो बसाईबारे उनलाई चिन्ता लागेको रहेछ । उनको चिन्तालाई शान्त पार्न, मैले भनेँ –“म निरालाजीकोमा बसेको छु ।” मेरो भनाई सुनेपछि उनले खुशी प्रकट गर्दै भनिन् –“तब त तपाई आफ्नै घरमा बस्नुभएको रहेछ ।” यो उनको वाक्य सुनेपछि म केही बेर सोच्न बाध्य भए । उनले यस्तो बचन किन भनिन् । निरालाप्रति उनको हृदयमा यति सम्मान थियो । मलाई जानकारी थिएन । उनले गद्गद् हुँदै मधुर कण्ठले निरालाजीको प्रशंसा गर्दै भनिन् –“यस्तो प्रतिभा हिन्दीमा छैन । निरालाजीको रहनसहन, प्रतिष्ठाको स्तर भारतीय जनताको जस्तो छ । तर प्रतिभा छवि के भनौं ? उनले हिन्दीमा धेरै लेखे । तर हिन्दीमा उनको कदर हुन सकेको छैन । यसको कारण पनि स्पष्ट छ कि निरालाजी साधक हुन्, हिन्दीमा साधक हुनु, मानौ उपेक्षित हुनु हो ।
मेरो अन्दाजा थियो कि महादेवी वर्मा आफ्ना कविता जस्तै कोमल सुकुमार भावनासँग खेल्ने, विचरण गर्ने द्रव्यशिला देवी होलिन् जसको विगत संघर्ष र आन्दोलनमा थोरै मात्र चिन्ता होला । तर मैले कुराकानीकै सन्दर्भमा बुझेँ कि देशको राजनीति सामाजिक र आर्थिक साहित्यिक परिवर्तनमा उनी ज्यादै गम्भीर र सचेत चिन्तनका साथ विचार गर्दी रहिछन् । यसबारे मलाई त्यतिखेर मात्र ज्ञान भयो कि उनले रेडियोमा सम्पूर्ण हिन्दुस्तानीसँग गान्धीका यस कुराको तिखो आलोचना गरेकी थिइन् ।
“जुन व्यक्ति उर्दु भाषा जान्दैन त्यो व्यक्ति देशभक्त हुन सक्तैन ।”
उनले भनिन् –“गान्धीको यो भनाई गलत थियो । म गान्धीको व्यक्तित्वप्रति ज्यादै श्रद्धा गर्दछु । तर यदाकदा उनी यस्ता गलत कुरा गर्ने गर्दछन् । ती कुरा मलाई व्यर्थका लाग्दछ । हिन्दुस्तानप्रति उनको आग्रह पनि यस्तै देखियो । उनले हिन्दुस्तानको तालिमी संघमा, हिन्दी भाषाका कुनै त्यस्ता प्रभावशाली व्यक्तिलाई राखेनन् । त्यस्तो संघमा उल्टासिदा झुरझार व्यक्तिलाई सामेल गराए ।
भारतमा आएको हिन्दी भाषाको युगलाई उनले तथ्यगत रुपमा अनुभव गर्न सकेनन्, गरेनन् पनि । के भन्ने हामी सबै अन्धविश्वासी हौं । यसैकारण त पण्डा पुजारी, महन्तहरु जीवित छन् यस्तै भएको छ, गान्धीबारे । मलाई यस्तो महशुस भएको छ । यही कारण हिन्दुस्तानमा प्रचारित प्रसिद्ध बने । त्यसकारण हिन्दीका लेखकहरुले संघर्ष गर्नु परेको छ । कुनै पनि संघर्ष हाम्रो प्राण हो । हामीले गर्नै पर्दछ पछि पनि गर्नेछौ । जीवित रहनको लागि हाम्रो विद्रोही स्वभाव एक विशेषता नै हो । यस्तो विद्रोह गर्नुपर्छ भन्ने कुरा, मैले पढ्दा पढ्दै सिकेकी हुँ । म महिला विद्यापिठमा यही विद्रोहको क्रियात्मक रुप दिइरहेकी छु । यस क्रियाशील जीवनमा मलाई व्यस्त हुनु पर्दछ र म यस्तो व्यस्ततामा नै जीवनको आनन्द खोज्दछु ।
आराम गर्ने कोठामा केही सोफासेटहरु थिए । बीचमा एउटा अग्लो टेबल थियो । जसमा मूर्तिहरु थिए । कुनामा पनि केही मूर्तिहरु थिए । र केही शिल्पकलाका भनौं नमुनायुक्त सामग्री थिए । जसमा बुद्ध, कृष्णका साथ गान्धीलाई सजाइएको थियो । भित्तामा पनि बनाइएका थिए । जसमा बौद्धकालिन कला झल्किएको थियो । त्यस कोठामा कला, चित्रकला, शिल्पकला दुवैमा प्रतियोगिता भए झै लाग्दथियो ।
मैले उनलाई प्रथम प्रश्न सोधेको थिएँ –
“तपाई साहित्य सम्मेलनमा कहिल्यै सहभागी हुनु भएन, यसको मूल कारण के हुन सक्तछ ? तपाई जस्तो वर्तमान अवस्थामा हिन्दी भाषाको उन्नायक कविको अभावमा सम्मेलन विशेष गरेर कवि सम्मेलन फिका जस्तो हुँदैन र ?”
उनले सरल तरिकाले सहज उत्तर दिइन् । म त इन्दौर कवि सम्मेलनमा मात्र उपस्थित थिएँ । सेक्सरिया पुरस्कार प्राप्त गरेँ । त्यो कार्यक्रममा गान्धीजी सभापति थिए । त्यो कवि सम्मेलन सफल भयो । सहभागीहरु प्रशन्न थिए । दिल्लीको असफलता पछि यो सफल मानिएको थियो । त्यसपछिका १०÷११ बर्ष म कुनै कवि सम्मेलनमा गएकी छैन । प्रण गरेकी छु । जान्न पनि । वास्तविक कुरा यस्तो छ कि, सम्मेलनमा नैतिकताको अभाव छ । नयाँ पिंढीका व्यक्तिहरुलाई अपमान गरिन्छ । पुरानो परम्पराका पोषक तत्वहरु आफ्नो हृदय परिवर्तन गर्न चाहँदैनन् । ध्यानै दिदैन ।
महादेवी बर्माका तर्कसँग सहमत हुँदै, मैले उहाँलाई सोधेँ –“अहिले नयाँ संगठनहरु बनिंदैछन्, प्रगतिशीलको नाममा यसप्रति तपाईलाई कतिको विश्वास लाग्दछ ?”
उनले भनिन् –“यी प्रगतिवादीहरुले हाम्रो तीव्र विरोध गरेका छन्, उनीहरु संकीर्णतामा अल्झिएका छन् । मैले उनीहरुसँग भने पनि तर उनीहरुले मानेनन् । मलाई त विश्वास छ कि, उनीहरुले आफ्नो भूल स्वीकार गर्नेछन्, आज त्यस्तै हुँदैछ । हामीहरु अध्यात्मलाई लिएर अगाडि बढ्दैछौ, यो एक यथार्थ हो । हामीहरु र उनीहरुमा फरक यति नै हो, कि उनीहरु अध्यात्म कतै समावेश नहोस् भन्दछन् । फेरि पनि जो वेदान्तवादी छन् उनीहरुलाई भूमिबाट अलग गर्न कठिन छ । यसको साथै वास्तविक कलाकार लोक हृदयलाई चिन्ह पत्ता लगाउन सक्षम छन् । जो लोक हृदयलाई चिन्ह बुझ्न सक्छ, त्यही व्यक्ति अमर पनि हुन्छ । जनताले त्यस्ता व्यक्तिलाई जीवित राख्तछन् । अध्यात्मवादलाई एक विश्वव्यापि दर्शन मान्नेहरु पनि छन् उनीहरु त्यति नै सार्वभौमिक छन् त्यति नै यथार्थबादी र प्रगतिवादी छन् जुन तर्क अध्यात्यवादीहरु अघि सार्दछ, त्यस्तै तर्क प्रगतिवादीहरु पनि अघि सार्दछन् । तर तर्कले मात्र कोही पनि परिणाममा पुग्न सक्दैन । फेरि पनि साहित्य विविधापूर्ण हुनै पर्दछ । यदि कुनै किसानको खुर्पि (पसनी) को चित्र दर्शाउने एक हजार कविता लेखिए भने यो बुझ्न जरुरी छ कि, ती कविता एक पक्षीय हुन्छन्, साहित्यको विविधतासँग बञ्चित देखिन्छन् । म आफैले बङगालको अनिकालबारे धेरै चित्र बनाए, मौका पर्यो भने आज पनि बनाउन सक्तछु ।”
मैले उनलाई अर्काे प्रश्न सोधेँ –
“तपाईंको वचपन कस्तो परिस्थितिमा बित्यो र त्यो बचपनले कलाकार लेखक हुनमा कस्तो सहयोग पुर्यायो ?”
महादेवी बर्मासँग बातचित गर्दा, यस्तो लाग्दछ कि उनी कुनै पनि विषयमा बोल्न सक्ने दक्ष बुद्धिजीवि हुन् । प्रत्येक विषयमा उनका भनाई धारावाहिक र तर्क सङ्गत लाग्दछन् । ज्ञानकी खानी हुन् की जस्तो आभाष हुन्छ । उनी भन्दछिन् – “मेरो बालापन राम्रो तरिकाले सहज रुपमा बित्यो । त्यसको मूलकारण के थियो भने, मेरो परिवारमा तीन पुस्तासम्म कोही छोरी जन्मेका थिएनन् । मेरा बाबाका कुनै बहिनी थिएनन् । मेरा पिताका छोरी थिएनन् । म आफ्ना बाबाको तपस्याको फल थिए । मेरा बाबा दुर्गाका उपासक थिए । म जन्मँदा उनी ज्यादै खुशी भएका थिए । कम से कम एउटी छोरी त परिवारमा जन्मिई भनेर । हाम्रो परिवार सम्पन्न मानिन्थ्यो । कुनै चिजको अभाव खटकंदैन थियो । सब प्रकारका सुविधा प्राप्त थिए । शिक्षाप्रतिको चाख मेरो परिवारको दोश्रो विशेषता थियो । मेरी आमा बज्र भाषाका पद्य कविता रचना गर्दथिइन् । ज्यादै धार्मिक कविता मानिन्थे ती मीराका कविता उनी गाउँने गर्दथिइन् । ज्यादै धार्मिक स्वभावकी थिइन् । पूजापाठ उनका प्राणसरह थिए, या मानिन्थे । मेरो संस्कार पनि त्यस्तै थियो । प्रारम्भमा मैले पनि कविता रचना गर्न थालेकी थिएँ । मलाई यस्ता कविता (पद) रचना गर्ने सवालमा सफलता प्राप्त भयो । मैले पनि बज्र भाषामै लेख्न प्रारम्भ गरेकी थिएँ । श्रीगणेश समस्या पूर्तिबाट नै भयो । त्यो पनि एक पण्डितजीको कृपाले पूरा भयो । उनी मलाई पढाउन आउँदथे । समस्या र पाठ दिएर जान्थे । भरदिन म समाधानमा लागि रहन्थे । त्यसपछि मैथिली शरणजीका केही रचना पढेँ, पत्ता लाग्यो कि म जुन भाषा बोल्दथे, त्यो भाषामा पनि कविता हुँदो रहेछ । यही सोचेर मैले कविता रचना प्रारम्भ गरे । गुरुजीलाई देखाएँ । उनले सल्लाह दिए यो पनि कविता हो त, कविता त बज्र भाषामा नै हुन सक्तछ । तर म लुकीछिपी यस्ता काम गर्दै रहेँ । पिगलशास्त्र पढेर हरिगितिका छन्द पत्ता लगाएँ, उसैका आधारमा लेखन शुरु गरेँ । एक काव्य पनि लेखेँ । जसको कथा अहिले याद छैन । कता राखियो, राखियो । छन्द हरिगिति हो, जस्ताको त्यस्तै गुप्तजीसँग मिल्दोजुल्दो थियो । ती रचना आंशिक रुपमा छापिन थालेका थिए । त्यसपछि साना साना गीत लेख्ने प्रेरणा मलाई स्वत भयो बुद्धको प्रभाव बनि कारण बन्यो । ती कवितामा करुणा बढी झल्कन्थियो ।
म सानामा भिक्षुणी हुने इच्छा राख्तथेँ । कता कता आज पनि त्यसको लालसा छैन । तर आफ्नो यस जीवनमा पनि मलाई सन्तोष छ ।
भिक्षुणी बनेर म पूर्ण स्वतन्त्र हुन चाहन्थेँ । तर आज पनि कम स्वतन्त्र छैन । म जे चाहन्छु । त्यही हुन्छ । मेरो जीवन यात्रा सुखद रहेको छ ।”
महादेवी बर्मा चुपचाप हुनुहुन्थ्यो कि त्यहीबेला उहाँको घरमा पालेको पाल्तु बिरालो आएर मेरो शालमा चुपचाप घुस्रियो, कुनै डर त्रास नमानीकन ।
म चकित भए अत्तालिए पनि केही भन्न खोज्दै थिएँ, यो दृश्य देखेर उनले आफै भनिन् –“हेर्नाेस यस घरमा बिराला, कुकुर, हरिण सबै प्रकारका जनावर पालेका छन्, बस्तै छन् । यी आपसमा मिलेर झगडा नगरी बस्ने बानी परेका छन् । मेरा बिरालो पनि निशंकोच तपाई नजिक आएर बस्यो ।”
मेरो दोश्रो प्रश्न थियो –
“यी देशी या विदेशी लेखकहरुमा तपाई कसलाई बढी मन पराउनु हुन्छ र कोबाट बढी प्रभावित पनि हुनुहुन्छ ?”
“ती विदेशी लेखकहरु कोही पनि मलाई मन पर्दैन । शेली र वायरन यदाकदा नजर आउँदछन् । तर खास प्रभाव परे जस्तो लाग्दैन । मेरो प्रिय ग्रन्थ “ऋग्वेद” हो । त्यहाँ लिपिबद्ध गरिएका प्रार्थना श्लोक मन पर्दछ । प्रिय लाग्दछ । प्रणय गीत अत्यन्त सुन्दर लाग्दछ । फेरि पनि उसका गीत अति राम्रा छन् । मैले ती गीतहरु केही अनुवाद गरेकी छु । त्यसपछि मलाई उपनिषद प्रिय लाग्दछ । गीता मलाई त्यति मन पर्दैन । कारण कृष्ण जुन क्रान्तिका सूत्रधार थिए । त्यसमा स्वायत्तता त्यो क्रान्ति बिलायो र उनले अर्जुनलाई हिंसाको आदेश दिए । मेरो लागि त बुद्धको अहिंसा प्रिय लाग्यो । संस्कृतका कविहरु कालिदासको रघुवंश मलाई प्रिय लाग्दछ । त्यस ग्रन्थको पनि केही भाग मैले अनुवाद गरेकी छु । तर अपेक्षाकृत अनुभूतिको रामचरित्र बढी प्रिय छ ।
हिन्दीमा तुलसीदासको रामायण त बालापनमा नै पटक पटक पढेकी थिएँ । पढ्न मात्र के रातमा पढेर आफ्ना बाउलाई सुनाउँदथे । जबसम्म बाउलाई निद्रा लाग्दैन थियो । त्यस्तो क्रम धेरै वर्ष चल्यो । ठूलो भएपछि लाजको कारण त्यो काम छोडेँ । फेरि पनि वर्ण व्यवस्था चालचलन व्यक्ति विशेषप्रति मलाई घृणा छ । गोस्वामीजीको “पुजीय विप्र. साल गुन हिना” सीलगुण हित भए पनि ब्राह्मण पुुजिनु पर्दछ भन्ने भनाईप्रति म सन्तुष्ट छैन । मैले बुझ्नै सकिनँ, चाहिनँ पनि । म जन्मदै ब्राह्मणको कल्पना गर्दिन, ब्राह्मणको जो शास्त्रीय अर्थ छ, त्यस दृष्टिले संसारमा सर्वत्र ब्राह्मण पाउन सकिन्छ । म तुलसीदासको अपेक्षा कविरलाई मन पराउँदछु । यस प्रकार विदेशी प्रभाव मलाई पटक्कै मन परेन । पर्न सक्ने सम्भावना पनि थिएन । म बालककालदेखि नै संस्कृत अध्ययनमा लागेँ । अंग्रेजी कविता कम पढेँ । अंग्रेजी कविता पढ्नभन्दा पहिला मैले निहार लेखिसकेकी थिएँ । त्यो मेरो (८ र ९) कक्षामा पढ्दाको रचना थियो ।
“छायावाद र रहस्यवादबारे केही जान्न पाउँ न ?”
छायावाद र रहस्यवादका सम्बन्धमा उनले भनिन् –“यसबारे यति छोटो समयमा केही भन्न सकिंदैन । यो त विशेष विवेचनाको विषय हो । फेरि पनि विवेचनात्मक गद्यमा यसको विवेचना गरेकी छु । थोरै यहाँ बताउँ – छायावादलाई रहस्यवादको प्रथम पाइला मान्दछ यो स्वच्छन्दतावाद भन्दा अलग छ । किनकी स्वच्छन्दतावादको परिणति अन्त कतै भएको छैन । तर छायावादको परिणति रहस्यवादमा भएको छ । स्वच्छन्दतावादी कविहरुमा, एक्लै कवि वर्डसवर्थमा तपाई केही सौन्दर्य अवश्य पाउनु हुनेछ, बाँकी कविहरुमा मैले ज्यादै कम पाएकी छु ।
मैले उनलाई फेरि सोधेँ –
“तपाईलाई कुन रचना लेखेपछि सर्वाधिक सन्तोष प्राप्त भयो ?”
निकै समय गम खाएर घोरिएर उनले भनिन् –“मलाई कुनै रचना लेखेर पनि सन्तोष भएको छैन । सन्तोष मान्नु असम्भव कुरा हो । यदि कुनै रचनाबाट सन्तोष हुने हो भने त लेखकले पुनः कुनै रचना लेख्नै सक्तैन, चाहँदैन पनि । म गुनगुनाई रहन्छु, खास गरेर नयाँ गीतको ध्वनी निकालेर, गुन गुनाउँदछु । यसकारण म यही मान्दछु कि म कुनै रचनाबाट पनि सन्तोष छैन ।
“तपाईलाई चित्रकला या काब्यकला, केमा बढी आकर्षण छ त ?”
“मेरो सर्वाधिक प्रिय विषय हो चित्रकला । यसको पनि कारण छ । शब्द जस्तो अभिव्यक्तिको दोश्रो कुनै साधन नै छैन । चित्रकलामा रङ्ग कुची र क्यानभास आदिमा कति बन्धन हुन्छ र त्यस्तो बन्धन उचित हुँदैन, फेरि पनि एक चित्रमा एउटै भाव व्यक्त गर्न सकिन्छ । मेरो दिपाशिखालाई नै बुझौं । त्यस चित्रले पूरा गीत नै व्यक्त गर्दछन् । मैले उपयुक्त शब्द चित्रबाट चित्र निकालेर राखेकी छु । रह्यो गद्यको कुरा त्यो त मेरो पहिलादेखि नै राम्रो रहँदै आएको छ । हिन्दी भाषामा मलाई सानै कक्षादेखि राम्रो अङ्क प्राप्त हुन्थ्यो । तिनै पुराना कुराको सम्झना राख्न पनि मैले लेख्न थालेकी हुँ । अतीतका चलचित्र शान्तिप्रिय द्विवेदीले कमला पत्रिकामा छाप्न शुरु गरेकी थिइन् । फेरि बाध्य भएर लेख्न थालिन् । म (बुकसेलर) पुस्तक पसले र प्रकाशकलाई हैरान पार्न पनि लेख्न थालेकी हुँ । अहिले पनि मसँग ४०–५० लेख छापिन बाँकी छन् ।
मेरो मन रचनात्मक काममा बढी रमाउँदछ । साहित्य सिर्जनाभन्दा बढी म अन्य रचनात्मक जनउपयोगी काममा रमाउँदछु । म दोश्रो, तेश्रो काममा नलागी रहन सक्तिनँ । त्यस्तो काम मेरो प्रथम प्राथमिकता हो भने साहित्य चाहिँ मेरो आरामको समयमा लेखिने विषय हो । जब म अन्य कामको बोझले थकित भएर विश्राम गर्दछु, त्यै समय म साहित्य लेख्दछु । लेखनमा म पहिलादेखि नै योजना बनाएर लागेकी हुन्न । लेख्ने समय म राम्रो कागज पनि खोज्दिन । रद्दी, सद्दी कागज भेटे भने पनि लेख्दछु । यदाकदा त मिल्किएका थोत्रा मेरा कागजमा पनि लेख्दछु । कागजको पन्ना कहीँ खाली छ त्यही । गीतमा एकै क्षणको लेखाई हुन्छ । यसकारण गीत एकचोटि नै लेखिन्छ । यदि कुनै कारणवस लेख्ता लेख्तै बीचमा छोड्यो भने त्यो गीत पूरा हुँदैन, रद्दीको टोकरीमा फाली दिए हुन्छ । दोहो¥याएर पूरा गर्दा त्यो आनन्ददायक हुँदैन । प्रबन्ध काव्यमा त यस्तो हुन सक्छ, तर गीतमा हुँदैन । सिर्जना मेरो उद्देश्य होइन, म मेरो नाम अमर रहोस् भन्ने चाहना राख्तिनँ ।
यदि गर्मी समयमा पहाड चढ्नु पर्यो भने पनि सेवा भावनामा कमी हुन दिन्न । काममा लाग्दछु । त्यहाँ पनि दवाई गर्न इच्छुक हुन्छ । त्यहाँ कसरी मानिस बसेका छन् भन्ने ध्यान दिन्छु ।”
मैले उहाँलाई अर्काे प्रश्न सोधेँ –“तर तपाईका सिर्जनाले त यस्तो जानकारी दिन्छन् कि तपाईको आन्तरिक अभाव र संघर्षलाई नै शान्त पार्न या थुमथुम्याउने उद्देश्यले नै ती सिर्जना गरिएका छन् ।”
मेरा तर्कलाई अस्वीकार गर्दै उनले भनिन् –“होइन । छायावादी कविहरुमा कसैले पनि संघर्ष गर्नु परेन । के निराला, के पन्त, के महादेवी । सबै सम्पन्न थिए । निरालाजीले १८ वर्षको उमेरमा जुहीकी कली लेखेका थिए । त्यतिखेर उनलाई कुनै अभाव थिएन । पन्तको समस्या पनि यही हो । सामाजिक संघर्ष पनि त्यसबेला भन्दा अहिले केही बढी देखिन्छ ।”
अन्त्यमा मैले उनलाई सोधेँ –“मानिसहरु तपाईलाई आधुनिक समयकी मीरा भन्छन् । यसमा तपाईको प्रतिक्रिया के छ त ?”
यो प्रश्नको उत्तर उनले निकै संकोचले दिइन् –“मान्छेहरु मीरासँग मेरो तुलना गर्दछन् । म यस विषयमा के भनौँ ? ती महिला महान् थिइन् । उनले जीवनमा धेरै संघर्ष पनि गर्नुप¥यो ।
उनलाई यस्तो पनि सजाय भयो कि उनको मृत्यु कहाँ भयो, कसैले पत्तै पाएन । मलाई र अन्य कुनै महिलालाई यस्तो सजाय भोग्नु परेन । उनका सामु हाम्रो संघर्ष सामान्य मानिन्छ । उनी राजस्थानमा पुजिनु पर्दथियो, तर उनलाई कठोर दण्ड दिइयो । यो अत्यन्त दुःख लाग्ने विषय हो ।” यति भन्दाभन्दै उनी मौन भइन् । मैले पनि प्रश्न सोध्न छाडेँ ।