उमेरको उकालो लागेर ८८ नाघिसक्नुभएका तेजेश्वरबाबु ग्वंगले अहिलेसम्म पनि जाँगर चलाउनुभई उहाँकहाँ आउनुहुने आगन्तुकहरूलाई स–सम्मान स्वागत गर्ने गर्नुहुन्छ । निकै जाँगरिला, फुर्तिला, मिलनसार व्यक्ति पनि उमेरको हदबन्दीमा पुगेपछि ऊर्जा स्खलन हुँदै जाँदो रहेछ । यस्तै देखियो तेजेश्वर ग्वंगः पनि । निकै फरासिला, ज्ञानगुनले सम्पन्न उहाँ सुस्त–सुस्त पो देखियो । यही २०८१ जेठ ४ गते राममणि ढुङ्गेल र जितेन्द्र रसिकसँग भएर जनमत मासिकको भक्तपुर अङ्कका लागि अन्तर्वार्ता लिने क्रममा तेजेश्वरदाईको ‘निष्ठा छैँ’ मा हामी पुग्दा उहाँको ऊर्जा स्खलन हुँदै गएको शारीरिक स्थिति मनमा राख्न बाध्य भएँ । हामी उहाँकहाँ कोठामा पुग्दा कोही थिएनन्, एक जना नातिको सहारामा हातमा लट्ठी बोकेर हामी बसेको कोठामा आई पुग्नुभयो । मलाई आत्मियढङ्गको माया पोखेर ‘के छ मोहनजी’ भनी प्रश्न तेर्स्याउनुभयो । बस्नै पाएको थिइनँ; स्याउ, बर्फी, दही ल्याई दिए घरका सहयोगीहरूले । जुजुधौसँग बर्फी र स्याउ मीठो मानेर हामीले खायौँ ।
लेखक तथा साहित्यकारहरू आफ्ना कृतिहरू अरूलाई बाँड्न, पु¥याउन पाउँदा गौरव गर्ने गर्छन् । तेजेश्वरदाईले पनि भर्खरै २०८० मा प्रकाशित आफ्नो नयाँ निबन्ध सङ्ग्रह ‘संस्कृतिका आयाम’ हातमा लिनुभयो र “मान्यवर मित्रवर भाजु मोहन दुवालज्यूप्रति सादर समर्पण” लेख्नुभई मलाई उपहार स्वरूप दिनुभयो । मैले पनि मेरा केही पुस्तकहरू र जनमत मासिकका केही अङ्कहरू उहाँलाई उपहार स्वरूप प्रदान गर्न पाएँ ।
भक्तपुरका एक जना विशिष्ट लेखक तेजेश्वरबाबु ग्वंगःसँग आज उहाँकै निवास घरमा पुगेर भेट गर्न पाउँदा ज्यादै खुसी लाग्यो । विक्रम संवत् १९९२ कात्तिक कृष्ण द्वादशी, खौमा, भक्तपुरमा जन्मिनुभएका तेजेश्वरबाबु ग्वंगः संस्कृति विज्ञ तथा विशिष्ट निबन्धकार लेखकका रूपमा विख्यात हुनुहुन्छ । उहाँका निबन्ध तथा लेख–रचनामा संस्कृति–चेतना मात्र लुकेको हुँदैन जीवनसँग गाँसिएका संस्कृतिका मर्महरू पनि लुकेको हुन्छ । संस्कृति–बोधले उहाँका निबन्धहरू ओतप्रोत भएका हुन्छन् । हाल उहाँ सूर्य विनायक नपा स्थित ‘निष्ठाछेँ’ मा बसोबास गर्नुहुन्छ । उहाँको निवास घरमा नेपालका धेरैजसो विशिष्ट लेखकहरू पुगि सकेका छन् । घरमा आउनु हुनेहरूलाई सत्कार गर्न पनि उहाँ निपुण हुनुहुन्छ । यसैले पनि उहाँ सबैका लागि प्रिय विशिष्ट स्रष्टाका रूपमा पूजनीय हुनुहुन्छ । धु्रवेश्वरी कायस्थकै साथ पाएर उहाँ आफ्नो यात्रामा ऊर्जाशील रहँदै आउनुभएको छ । थोरै मात्र पुस्तक प्रकाशित भएजस्तो देखिए तापनि उहाँका प्रकाशित पुस्तकहरूमा छापिएका लेख–रचनाहरूको आधारमा उहाँ स्थापित÷सम्मानित स्रष्टाका रूपमा चिरपरिचित हुनुहुन्छ । उहाँका प्रकाशित कृतिहरूमा (१) संस्कृतिका आयाम (निबन्ध–२०५२), (२) संस्कृति या पलं (नेपाल भाषा निबन्ध सङ्ग्रह–ने.सं. १११०), (३) अवकाशपछिको आकाश (निबन्ध–२०६७) ४) चराको गुँडझैँ जन्मस्थल मेरो भक्तपुर(कविता–२०७३), ५) औकातभरिको सौगात (२०७३), (६) रङ्ग अभियान (निबन्ध–२०७४), (७) संस्कृतिका आयाम (निबन्ध–२०८०) छन् ।
‘पर्यावरण अनुकूल जीवनको परिवेश बनाउने संस्कारको संरचनाका सचेतना’ का रूपमा साहित्यको परिभाषा लेख्न रुचाउनुहुने उहाँले ‘आस्था र विश्वाससाथ सकारात्मक गति’ भनेर जीवनप्रति दृष्टि लेख्नुभएको छ । (अक्षरभित्र: स्रष्टाहरू, पृष्ठ: १७४) ‘पठनपाठन र चिन्तन’ नै अम्मल सम्झिनुहुने तेजेश्वरबाबु ग्वंगःले सात दशकदेखि नै ‘अक्षर’ प्रति आफूलाई समर्पित तुल्याउनुभएको देखिन्छ । ३४ वर्षसम्म नै सरकारी सेवामा संलग्न रहनुभई राष्ट्रसेवकका रूपमा पनि आफूलाई समर्पित तुल्याइसक्नुभएका उहाँले ६८ जिल्लामा आफूलाई पुर्याइसक्नु भएको देखिन्छ । लेखन, चिन्तन र मनन नै जीवनको प्रमुख लय बनाउन सफल ग्वंगःले शिक्षण सेवाको क्रममा, जागिरे जीवनकै सन्दर्भमा, अमेरिका पढ्न जाँदा ताकाको अनुभवमा थुप्रै खालका ज्ञान हासिल गर्नुभई आफूलाई समर्थ वान् तुल्याउनुभएको देखिन्छ ।
नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा लेख्न र बोल्न सक्षम संस्कृतिविद्, निबन्धकार, कवि, साहित्यिक अभियन्ताका रूपमा प्रख्यात तुल्याइसक्नुभएका तेजेश्वरबाबु ग्वंगःज्यूले आफ्ना लेख–रचनाहरू मार्फत आफूलाई बिम्बात्मक ढङ्गमा सफल निबन्धकारका रूपमा आफ्नो बिम्ब देखाइसक्नुभएको छ । भक्तपुरका गौरवशाली लेखकका रूपमा चिरपरिचित ग्वंगज्यूले सांस्कृतिक लेख–रचनामा, इतिहासका पानाहरूमा र निबन्धका गर्त–गर्तमा प्रभावशाली ढङ्गले आफूलाई प्रस्तुत गर्नुभएको छ । ९० वर्ष पुग्न लागिसक्नुभयो उहाँ तर थाक्नुभएको छैन । भेट्न आउनुहुने, अन्तर्वार्ता लिन आउनुहुने, लेख–रचना माग्न आउनु हुनेहरूलाई त्यसै फर्काई दिएको देखिँदैन । आधा पृष्ठ भए पनि केही न केही लेखि रहनुहुन्छ । चेहरामा ‘तेज’ घटेको देखिँदैन । आफूले बुझेका र भन्नुपर्ने कुराहरूलाई सम्झी–सम्झी भन्नुहुन्छ । यस्तै चेतना र गौरवकै व्यक्तित्व रहिरहनु भएको छ, तेजेश्वरबाबु ग्वंगः ।
‘निष्ठाछेँ’का सर्जक । निष्ठा कायम गरेर बाँचिरहन जानुभएका अक्षरकर्मी तेजेश्वरबाबु ग्वंगः संस्कृतिविद् हरिराम जोशी पछिका संस्कृतिविद् हुनु भएर राष्ट्रमा प्रख्यात रहनु भएको छ । सिन्धुपाल्चोक ऐँसेलु खर्कमा प्रधानाध्यापक भई वि.सं. २०१३ सालमा नै सेवा भ सक्नु भएका उहाँले पछि भक्तपुरस्थित जेसिस विद्यालयका प्रधानाध्यापक सम्म भएर सेवा पुर्याउनु भएको देखिन्छ । पछि उहाँले सरकारका खरिदा रहँदै उपसचिव सम्म भई सेवा पुर्याउनु भएको देखिन्छ । करिब ६८ जिल्लामा पुग्नुभई प्रजिअ, जिल्ला प्रशासकहरूलाई विकेन्द्रीकरण सिद्धान्तका पाठहरू पढाउनुभयो । अमेरिकामा प्रशिक्षक भई सेवा पुर्याउनु भयो । केही समयसम्म अमेरिकामा रहनुभई शिक्षा पनि प्राप्त गर्नुभयो ।
‘ग्वंगः’ भाले कुखुरा । सुषुप्त समय स्थितिमा आवाज उराल्ने व्यक्ति हुन् – ग्वंगः । महाकवि लक्ष्मीप्रसाद देवकोटा कहाँ अङ्ग्रेजी ट्युसन पढेका । उहाँका समकालीन मित्रहरूमा मोहनविक्रम सिंह, मदन रेग्मी, लक्ष्मण राजवंशी, मोहन हिमांशु थापा, कृष्णभक्त श्रेष्ठहरू थिए । आ–आफ्नो क्षेत्रमा परिचय बनाउन सफल यी मित्रहरूको हूलबाट उहाँको प्रादुर्भाव भएको हो । नेपाली निबन्ध क्षेत्रमा अलग धारका निबन्धकारका रूपमा उहाँ परिचित हुनुहुन्छ । नेपाली भाषाका मात्र होइन नेपाल भाषामा पनि आफ्नै विशेषता पोख्न सिपालु उहाँ विशिष्ट निबन्धकारका रूपमा विख्यात रहेको देखिन्छ । साहित्यिक तथा सांस्कृतिक चिन्तनमा पनि आफ्नो विशेषता देखाउन सफल तेजेश्वरबाबुले निबन्ध र संस्कृतिमा छुट्टै पहिचान देखाउन सफल हुनुभएको छ ।
तेजेश्वरबाबु ग्वंगः भक्तपुरबाट फिँजिएका साँच्चीकैको चेतना र ज्ञानकै विशिष्ट राष्ट्रव्यापी ज्योतिका रूपमा प्रख्यात हुनुभएको छ । गाउँमा पुग्नुभएर, सहर बस्नुभएर, जिल्ला–जिल्ला धाउनुभएर र अमेरिकामा बस्नुभएर शिक्षण÷प्रशिक्षण दिनुहुने शिक्षक, प्रधानाध्यापक, प्रशिक्षकका रूपमा उहाँ विख्यात हुनुहुन्छ । कवितामा पनि आफूलाई सम्प्रेषण गर्न सफल उहाँ निबन्ध लेखनमा आफ्नो छुट्टै पहिचान देखाउन सक्षम निबन्धकार हुनुका साथै संस्कृतिका विभिन्न आयामहरू कोर्दै आउनुहुने संस्कृति विज्ञ तथा प्रख्यात लेखक समेत हुनुहुन्छ । आफ्नो मातृभाषा नेपाल भाषामा, राष्ट्रकै भाषा नेपालीमा र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा समेत दक्खल लेखकका रूपमा चर्चित तेजेश्वरबाबुले बाबुबाट सिकेर अतिथि सत्कार गर्न पनि आफूलाई निपुण बनाई राख्नुभएको छ । उहाँको बोली–व्यवहार लोभलाग्दो रहनुका साथै चिन्तन–दृष्टि पनि सुनिरहूँ जस्तो लाग्छ । उहाँ आफूलाई यसरी चिनाउनु हुन्छ – “उकालो उक्लेँ । ओरालो ओर्ले । नाग बाटो छेलिएँ । भासमा उफ्रेँ । चिराचिरामा धाँजामा तर्किएँ । गोरेटो जीवनयात्रा गाउँ नै गाउँको नेपाली यथार्थ ।” (युगको तेज, पृष्ठ: १३२) “अनेक अनुभूतिको थुँगो पार गर्दै हिंडेडुलेका अनुभूति आफ्नै यात्राका यात्री बनिरहेझैं लाग्नु आफूसित आफैँले सिक्ने मेसो बन्दो रहेछ । सिकी नै रहेछु लगातार । मानौँ, निरन्तर जीवनमूलक शिक्षा ९ऋयलतष्लगष्लन बलम ीषभ ीयलन भ्मगअबतष्यल० का शाश्वत बनिरहेछु अझैँ पनि ।” (ऐजन, पृष्ठ: १३३)
उमेरको उकालो चढ्दै गर्दा मान्छेले भोग्नुपर्ने व्यथा र मार्मिक कथा सोचेर उहाँले आफ्नो गन्तव्यबारे यसरी लेख्नुभएको छ – “अक्षरलाई राख्ने व्रत लिइरहूँ, रहूलाग्छ । उपासना मार्गमा पाइला चाल्दै यात्रा भरुँ भरुँ झैं पाइला चालि रहूँरहूँका उत्कुण्ठा जागिरहन्छ । किन्तु, यी अभौतिक तत्वमयी चिन्तन चेतमा बेलाबखत यिनै भौतिक देह आक्रान्त भइदिँदा मेरा चेत् अकर्मण्य स्थल बन्न सक्छ ।” (संस्कृतिका आयाम, पृष्ठ: २३३)
उहाँको लेखकीय चेतनालाई प्रणाम गर्दै मैले लेख्न रुचाएँ –
चेतनाका तेज
कस्तो हुँदो रहेछ
ग्वंगः को तीखो स्वर कस्तो खुल्दो रहेछ
एकान्त÷सुनसानमा सुनिरहेछु ।