बालपुस्तक सम्पादन
सबै पक्षमा सम्पादन राम्ररी गर्ने ब्यक्ति दुर्लभ छ । यसका लागि स्वयं बालसाहित्यको ज्ञाता, अनुसन्धाता, भाषा ज्ञाता, विषय ज्ञाता, शिक्षाविद् हुनु जरुरी छ । विषय भन्नाले कुनै एक क्षेत्र जस्तै स्वास्थ्य हुन सक्छ । विषयमा फेरि सम्बद्ध विविध आउन सक्छन् । अत: धेरै विषय जान्ने र अझ चित्र मूल्यांकनको क्षमता राख्ने चित्रकार, डिजाइनर आवरण श्रृंगारका अनुभवी जस्ता जति सक्यो धेरै पक्ष ज्ञान अनुभव भएका बिज्ञ व्यक्ति नै सम्पादनमा रहन लायक हुन्छ । नेपालमा सम्पादक भन्नाले शुद्धाशुद्धि हेर्ने प्रुफ रिडर मात्र सोच्ने गरिन्छ । सही सम्पादकले भाषाको मात्र हैन लेखनको संरचना, शब्द, वाक्य, पंक्ति हर तरहको दृष्टिले जाँचेर आवश्यक परिमार्जन र परिवर्तन गरी कथालाई जिउँदो स्वरुप प्रदान गर्दछ । सही सम्पादक नेपालमा हातको औंलामा गन्न पुग्ने पनि भेटिन्न । फरक फरक छन् तर ती सबैको सम्पादनलाई समष्टिगत हेर्ने जान्ने सम्पादक अभाव छ । यस अवस्थामा सामूहिक समीक्षा लिनु जाति हुन्छ । कथाको किताप निस्कनु अघि त्यसलाई विभिन्न समूहमा प्रयोग र सल्लाह र सुझाव लिनु जाती हुन्छ ।
सम्पादनमा भाषागत र सम्बद्ध विषयगत बिज्ञको मद्दतबाट लेखाइलाई पूर्णता दिनु राम्रो हुन्छ । पुस्तक सिर्जनाको मूलदेखि नै लेखकलाई तयार गराउन के विषयमा लेख्ने, त्यसका पात्र चरित्र र घटनाक्रम कस्तो हुने, कुन शैलीमा लेख्दा प्रभावपूर्ण हुन्छ, राम्रो कथाका गुणहरु के के हुन् ? कथा लेख्न त्यसको विचारणीय तत्वहरु के के छन् ? सबैमा प्रशिक्षण हुनुपर्छ र कार्यशालाबाट उत्पादनको सुनाइ, बुझाई र परिमार्जन एवं परिवर्तन गरेर पाण्डुलिपि तयार भएपछि सम्पादनबाट पूर्णता दिनुपर्छ । सम्पादनमा सहायता लिएका ब्यक्तित्वको नाम कृतज्ञतामा उल्लेख गर्ने । चित्रकारको हकमा लेखन र चित्र बराबर छ भने शब्द लेखक र चित्र चित्रकार भनेर नाम दिने । चित्र गाउँ छ भने कथाकार नै मूलमा राखेर अरु कृतज्ञतामा काम अनुसार समाबेश गर्न सकिन्छ ।
कथाका समूह
बालसाहित्यका कथाहरु विभिन्न समूहमा देखिन्छन् । त्यस अनुसार कुन समूह छान्ने र त्यसभित्र पनि कुन विषयबस्तुमा लेख्ने त्यो छनोटपछि मात्र कथा लेखनमा विषय चयन हुनसक्छ । जुन कथाका पक्षमा लेख्ने हो त्यसभित्रको कुनै हाँगा समाएर कथाको छनोट हुन्छ । विभिन्न पक्षमा आफ्नो छनोट अनुसार त्यसभित्र सम्बद्ध विषय चयन गरी कथा लेख्नु उचित हुनेछ ।
क) वैयक्तिक दुराचरण र अपराध (बानी ब्यहोरा) : रिस, राग, चोरी, छलकपट, अनुशासनहिनता, अमर्यादित, ढाँट्ने, झुठो बोल्ने, धम्काउने साँढाताल, फोहरी आदि । बाल दुराचरणमा रिसाहा प्रवृत्ति, झुठो बोल्ने, चोर्ने, ठग्ने, अनुशासनहीन, अटेरी आदि जस्ता नकारात्मक अवगुण लक्षित कथा ।
ख) सामूहिक मूल्यमान्यता (सद्भाव र सद्चरित्र) : सहयोग, मद्दत, मर्यादा, माया, प्रेम, परानुभूति, सम्मान, एकता आदि । मूल्य मान्यता मानवमा हुनुपर्ने गुणहरु, दया, माया, परानुभूति, करुणा, परोपकार, मर्यादा आदि सम्बद्ध कथा ।
ग) सूचनामूलक तथ्यतथ्यांक (सामान्य ज्ञान): घरगृहस्थीका कुरा, सामाजिक, आर्थिक, भौगोलिक, ऐतिहासिक, देश र विश्वका जान्नैपर्ने कुरा आदि तथ्य तथ्यात्मक आधारभूत ज्ञान, विज्ञान, इतिहास, भूगोल, प्रविधि आदि ।
घ) कार्यकुशलता (सीप र व्यबहार दक्षता) : ठूला र साना सँगको व्यवहार कुशलता, बोलीचालीको सीप, अतिथि सम्मानको तरिका, सानातिना मर्मत सम्भारका कुरा, यान्त्रिकका कुरा, छलफल र प्रवचन संभाषणको सीप आदि । सीप सिकाउने जस्तै सामान्य व्यबहार, उपकरण सञ्चालन, मर्मत, दैनिक जीवनका लागि कार्यकुशलता, नक्सा लेखन र योजना आदि ।
ङ) मनोरञ्जनात्मक (शारीरिक र बौद्धिक खेल) : भेडी गाठो, गाउचाली, गाउँखाने खेल, कुइज, आइक्यु आदि । मनोरञ्जनका विषयहरु शारीरिक, मानसिक खेल, हबि र मन बहलाउने, रमिता र रमझमपूर्ण खेलहरु, मनाउने तरिकाहरु सम्बद्ध ।
बालकथाको थालनी, उत्थान र टुङ्याउनी (प्रारम्भ, मध्य र अन्त्य) योजनाबद्ध हुनुपर्छ । कथा प्रारम्भ गर्दा बलियो ढंगमा बालकलाई प्रभाव पार्ने सुरुवात हुनुपर्छ । थालनी अचम्मलाग्दो, उत्साह जगाउने, उत्सुकता जगाउने, प्रेरणा प्रदान गर्ने, रमाइलो र पढ्न सुरु गरे पछि छोड्न मन नलाग्ने किसिमले जानुपर्छ । सामान्य कुरालाई पनि अनौठो बनाउने बच्चाले देखेकै अवस्थामा लाने कल्पनाशील हुनुपर्छ । स्वैरकल्पना अर्थात ‘फ्यान्ट्यासी’ बालकलाई मनपर्छ । जस्तै कान टाउकाको दुबैतिर खुला नभई काखीमुनि भएको भए राम्रो कुरा सुन्दा हात उचाल्ने, मन नपर्ने कुरा सुन्न मन नलागे हात झार्ने र काखी छोप्ने भए क्या मज्जा हुन्थ्यो होला !
कथा लेखनमा सर्वप्रथम विषय, उद्देश्य र शैली कस्तो लिने विचारणीय पक्ष हुन् ।
विषयवस्तु मूलतत्व अर्थात केका बारे लेख्ने ? प्रेमका विषयमा, प्रकृतिका विषयमा, बानी र व्यवहार अथवा भूगोल र इतिहास, संस्कृति र समाज केमा लेख्ने ? यसका लागि ब्रेनस्टोर्मिङ गरेर छान्ने गर्न सकिन्छ ।
कथावस्तु वा विचार सोच्ने । विषयवस्तु वा कथा विचार के हो टिप्ने । मुख्य विषय क्षेत्र माया, मित्रता, सहयोग, प्रेरणादायी जीवनी के हो लेख्ने । विषय छान्ने र त्यसलाई बालकको सोचमा लाने । बालकको दुराचारको विषयहरु चोरी, झगडा, फट्याइ जस्ता संवेगबारे लेख्ने कि मूल्य मान्यता जस्तै एकता नै बल हो । परोपकार धर्म हो आदि । कुनै तथ्य तथ्यांक बा जानकारीमूलक लेख्ने सगरमाथा यात्रा, काठमाडौं, गोदावरी आदि आदि । कुनै सामाजिक कारणका व्यवहारजन्य सीप वा मनोरञ्जनका कुनै पनि कुरामा कथा लेख्न सकिन्छ ।
कथाको उद्देश्य के हो ? बालदुराचारको कुनै पक्षमा, बाल मूल्य मान्यताका बारेमा, तथ्य तथ्यांकको जानकारी दिने प्रकारमा, बाल सीप कृयाका खेल, मर्मत कार्य एवं बुद्धि बद्र्धनका बौद्धिक खेलमा, मनोरन्जन रमाइलोकाबारे लेख्न सकिन्छ ।
शैली एवं लेखन विधिमा भाषा, मनोविज्ञान आदिको सीप हुनुपर्छ । कथाको मध्यमा चरित्र र घटनाले उत्कर्ष लिन्छ । समस्या समाधान गर्दै टुङ्गोमा पुगिन्छ । केमा चरित्र छैन खोज्ने ।
कुन उमेरका लागि हो कथा ? २ देखि ४ बर्ष, ५ देखि ७ बर्ष, ८ देखि १०, ११ देखि १२ र त्यसपछि टिन एजर्स किशोर कसका लागि लेख्ने ? त्यही अनुसार क) भाषा–शैली र लय सुर मिलाउनु पर्छ, ख) मनोबिज्ञान र क्षमता तथा रुची हेर्नुपर्छ । बालकको उमेर ३ सम्मको आफ्नै परिबेश, ४–११ सम्मको कल्पनाशीलता र लड्दैपड्दै सिक्ने, १२–१५ का सिर्जनशील र नायक प्रकारको, १६–२० को रोमान्टिक र स्वतन्त्र विचारका हुन्छन् ।
नेपालमा १६ वर्ष उमेर नपुगेकालाई बालक (बालबालिकाको हकहितको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०५० र संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि (सन १९८९) ले १८ वर्ष भन्दा कम् उमेरलाई बालक मानेको छ । नेपालको परम्परामा पाँच बर्षकालाई शिशुका रुपमा, दश वर्षदेखि १५ सम्मलाई बालक र १६ पुगेपछि किशोर (लालयत पञ्चबर्षाणि दशबर्षाणि ताडयेत प्राप्तेतु षोडशे बर्षेपुत्रमित्रमिवाचरेत) को पुरानो मान्यता छ । बालकको भौतिक अवस्था रजस्वलापछि बालिका किशोर हुने र मानसिक अझ अगाडि हुनुमा आधुनिक प्राविधिक प्रभाव एवं खानपानको प्रभाव देखिन्छ । शिशुकाल, बाल्यकाल, किशोरकाल, युवाकालको विकास भौतिक रुपमा र मानसिक विकासमा पनि भर पर्दछ । भौतिकमा खाद्यान्न भोजन, मानसिकमा संस्कार सभ्यताका पहिचान र वातावरणले धेरै प्रभाव पर्छ र परिवर्तन आउँछ ।
सानो उमेरका लागि भाषा सरल र वाक्य छोटो हुनुपर्छ । जति माथ्लो उमेर भो त्यति नै सरलदेखि जटिलमा जानुपर्छ । शैली पनि संवाद, यात्रा भ्रमण, जीवनी, पत्रलेखन, आत्मवृत्तान्त कस्तो ठीक हुन्छ ? विषय एवं भावको चुरोलाई बढी प्रभाव दिने छानेर लेखन गर्दा प्रभावकारी हुन्छ । विविधतालाई समेट्दा विचार गर्नु जाति हुन्छ ।
बालकथा राम्रो लेख्न उदाहरणीय प्रसिद्ध, सफल राम्रो बालकथा नमूनाहरु खोजेर पढ्नुपर्छ र त्यो किन त्यस्तो भो गहिरिएर सोच्नुपर्छ ।
कथाका तत्वहरू
कथा लेख्दा हचुवाको भरमा हैन, यसभित्र हुने विभिन्न तत्व ख्याल गर्नुपर्छ । ती तत्वकाबारे बुझेपछि कथा लेख्न सजिलो हुन्छ ।
कथाका ५ आधार : कथा लेखनमा मूलत: ५ पक्ष विचारणीय छ । यी ५ तत्वको आधारमा कथा सिर्जना गरिन्छ । १. विचार (थेम), २. चरित्र (क्यारेक्टर), ३. परिवेश (देशकाल परिस्थिति), ४. कथा वस्तु (प्लट) संवाद र कथोपकथन, ५. उद्देश्य (सार) ।
१. विचार : कथामा मुख्य विचार (थेम) रहन्छ । कथामा एक विषय मात्र हुन्छ भने उपन्यासमा धेरै । मूल विचार वा विषयमा नै कथाको चरित्र, कार्यकलाप अन्तरकृया, परिवेश र कथाको आकर्षण घुम्दछ । यो प्लट वा विषयवस्तु हैन कथामा हुने प्लटका घटना, चरित्र जुन सोचिन्छ ती सबैले कथाको मूल आत्मा बन्छ जसलाई थेमका रुपमा लिने गरिन्छ । सिक्ने कुरा पनि थेमसँग सम्बन्धित हुन्छ । चरित्र र घटनाले के देखाउन खोजेको हो ? त्यसको मूल भाव नै थेम हो । केबारे कथाले बोलेको छ ? त्यो नै थेम हो । अर्थात् कथाको मूल विचार नै थेम हो । मायाप्रीतिको थेम हो कि ? वा शान्तिको, चोर प्र्रवृत्तिको अथवा एक्लोपनको ? बुलिङको हो कि अनुशासन वा अंमलको ? ।
२. पात्र चरित्र (क्यारेक्टर) : बालकथा मूलत: चरित्र प्रदान हुन्छ र त्यो चरित्रसँगै देवताको, मान्छेको, राक्षसको, पशुपन्क्षीको, बोटबिरुवा, माटो ढुङ्गा केको पात्र लिने त्यही अनुसार चरित्र चित्रण हुन्छ । जसलाई प्रस्तुत गर्ने हो त्यसको स्वभाव, विशेषता बुझ्नु जरुरी छ । बाँदर चकचके, स्याल चलाख भनेजस्तै अरुको पनि प्रकृति, प्रवृत्ति ज्ञान हुनुपर्छ । हात्ती मोटो, मुसो चन्चल पात्र चरित्र त्यसै अनुरुप मिलाउनु पर्छ । कथामा मुख्य पात्र हुन्छ । यसबाट कथावस्तु अघि बढ्छ । चरित्र चित्रणमा अभिनय स्वयम् आत्माभिब्यक्ति, विश्लेषण, वर्णन, परिचयात्मक, मनोवैज्ञानिक, संवादात्मक, प्रतिकात्मक आदि । पात्रको मुख्य भूमिका, सहायक भूमिका, महिला–पुरुष, राजनीतिक, ऐतिहासिक कस्तो हो ? तदनुरुप निर्माण गर्नुपर्छ । चरित्रले विषय सम्पन्न बनाउँछ । चरित्र भित्र र चरित्र चरित्र बीच द्वन्द सिर्जना गर्नुपर्दछ । जटिल द्वन्द समाधानतिर उन्मुख हुँदै कथा पराकाष्ठा चरम विन्दुमा क्लाइमाक्समा लगिन्छ । प्लटमा द्वन्द जरुरी मानिन्छ । दुई प्रकारको द्वन्द हुन्छ – बाह्य र आन्तरिक । चार प्रकारले अघि बढ्दछ – मान्छे मान्छेबीच, मान्छे र परिस्थितिबीच, मान्छे र समाज अनि मान्छे र अरुहरु बीच । समस्या समाधान साथ प्रस्ताव मान्यतामा जान्छ ।
३. परिवेश : देश, काल, परिस्थिति कथामा विचारणीय पक्ष हुन् । कस्तो वातावरण–पर्यावरणमा कथा अघि बढ्छ, भूगोलवोध हुनुपर्छ । ठाउँ, घटना, अवस्थिति, स्थानको उचित अवस्था देखिनुपर्छ । समयको चित्रण, हावापानी, मौसम, दिन रातकाबारे विचार पुर्याउनु पर्छ । काल भनेको समय, ऋतु, मौसम, दिन रात आदि । समय बिहान, दिउँसो र बेलुका कुन समय ? कति मिनेट–घण्टा ? दिन, हप्ता, महिना, मूड र वातावरण–मौसम–तापक्रम, वातावरण र परिवेश आदि दृश्य उत्रनु पर्छ । हावापानीमा भूगोलसँग जोडेर के कहाँ कुन ठाउँ हुरी बतास कस्तो भूगोलमा कस्तो मौसम र हावापानी विचारणीय पक्ष हुन् । स्थान र समय कहाँ कतिबेला ? ऐतिहासिक वातावरण, सांस्कृतिक, सामाजिक के हो ? गाउँ, शहर, धर्म संस्कार, भूगोल–जनसंख्या, घर–वन, भित्र बाहिर कहाँको परिवेश त्यसको विन्यास ख्याल गर्नुपर्छ । देशकाल परिस्थिति, अवस्थिति कहाँ ? गाउँ–शहर, घर–छिमेक, बन बगैचा, के कहाँको ? कुरा त्यो चित्रण बान्छित छ । मानव निर्मित भूगोलबाट जल, शहर घर, जनजीविका, संस्कृति, समाज, परिवार, मूल्य मान्यताको के कस्तो रुप त्यो उत्रनु पर्छ । जनसंख्यामा घना बस्ती, एकान्त, निर्जन, पूर्खाको प्रभाव, वार्ता, मूल्य, प्रवृत्ति, दृष्टिकोण देखिनु पर्छ ।
४. कथा वस्तु (प्लट) : आलेख विषय वुनोटमा घटना र कृया पात्रको कृयाकलापले बन्दछ । सुरु र मध्य तथा अन्त्यसम्ममा बयान र खुल्दुली पैदा गर्नुपर्छ । संवाद्, वर्णन, द्वन्द, संघर्षको उद्घाटन । विषय बुन्दा थालनी परिचय बढ्दो कृया उचाइमा लैजादै झर्ने कृया र अन्तरकृयामा घटनाक्रमका उपलब्धि ।
५. उद्देश्य : कथामा उद्देश्य हुनुपर्छ । मनोरञ्जनात्मक वा नैतिक, संवेदनात्मक वा संवेगात्मक आदि । मानव सिर्जना, स्वास्थ्य, आदर्श, समस्या, सुधार, राजनीति, यथार्थ, जीवन दर्शन, प्रभावपूर्ण, मनोवैज्ञानिक र प्रचारात्मक ।
कथामा हुने सहायक तत्वमा पनि ध्यान जानुपर्छ । द्वन्द्व, संवाद, विवरण प्राय कथामा हुन्छन् । त्यसैगरी भाषाशैली, उमेर, आवश्यकता, क्षमतामा ख्याल गर्नुपर्छ । छोटा हरफ, साना पंक्ति प्याराग्राफ उपयुक्त मानिन्छ । सम्प्रेषणमा कति कुरा भनेर कति वातावरण नै प्रतिविम्वित गरेर, लेखकले विवरण दिने ठाउँमा दिने जुन ठाउँमा स्थितिले आफै बोल्ने अवस्था आउँछ त्यस्तै रुपमा प्रस्तुति गर्नुपर्छ । ऊ रिसायो भन्नुभन्दा यो सुनेर उसको आँखा रातो रातो भयो, मुठी कस्यो, काँप्यो र जाइलाग्यो । यस प्रकार चित्रण विवरणको साटो आफै खुल्ने गर्नु प्रभावकारी हुन्छ । जसरी होस् जुन प्रकारले उपयुक्त हुन्छ र प्रभावकारी बन्छ त्यही शैलीमा प्रस्तुत गर्नुपर्छ ।
एक प्रकारले कथाको यात्रा हवाइजहाजको उडान जस्तै हुन्छ । पहिला स्टार्ट हुन्छ कुनै आकर्षक संवाद, घटना, विवरण आदिबाट र हवाइजहाज उडेर माथि उठ्दै जान्छ यो अवस्था द्वन्दका रुपमा बढ्दछ । माथि पुगेपछि त्यो उत्कर्ष र पराकाष्ठामा (क्लाइमाक्स) मा पुग्छ । अनि विस्तार ओर्लन थाल्छ । क्रमश समस्या समाधान गर्दै अन्तत समाधान हुन्छ । हवाइजहाज ल्याण्डिङ सफलतापूर्वक भएजस्तै निश्चित स्थानमा उतारिन्छ । बालकथाको लेखन यस प्रकार कुनै बम्पिङ विना ठीक ठाउँमा उतारे जस्तै लेखन ठीक ढङ्गमा टुङ्याउनु पर्छ ।
कथा पठनपाठनमा कथोपचार विधि
विद्यार्थीको आदत, आनिवानी, व्यवहार, कुलत र सोच नकारात्मक वा दुराचारपूर्ण देखिए विद्यार्थीलाई विशेष उपचारको आवश्यकता पर्दछ । अभिभावक, शिक्षक, समाज र सरकारकै पनि ध्यान जानु आवश्यक छ । विद्यार्थीको त्यस्तो नकारात्मक लक्षण देखिए पहिलेका मानिसहरुले ज्ञानगुण भनेर उपदेशात्मक नैतिक शिक्षा हुने प्रकारको कथाहरु भन्ने गर्दथे । पुराना कथाहरुको सहायता लिन्थे । आजको युगमा समस्याहरु पनि नयाँ नयाँ देखा परेका छन् र बालसाहित्यकारहरुले बालकका लागि धेरैथरि पुस्तकहरु लेखेर बजारमा आएका छन् । ती पुस्तक छनोट गरी चयन् भंन्दा पनि जे भेट्यो त्यही पढ्ने पढाउने गरिन्छ । त्यही कुराले आज पनि निरन्तरता पाइरहेकै छ । विद्यार्थीमा पनि नयाँ नयाँ समस्याहरु देखा पर्दै त्यसले उग्र रुप लिंदै गएको देखिन्छ । यस अवस्थामा लेखकहरुले पनि कुन कमी कमजोरीका लागि कस्तो किताब प्रभावकारी हुन्छ त्यसतर्फ ध्यान दिनुपर्ने भएको छ । व्यक्तिका कमी कमजोरीलाई प्रभावकारी ढङ्गले कथा लेखेर दिँदा त्यसबाट जीवन जिउने शिक्षा प्राप्त हुन्छ । दुराचारका कमजोरीलाई घटाऊन र हटाउन, राम्रा राम्रा मूल्य मान्यतालाई अपनाउन संवेग सम्बद्ध कथाहरु लेख्न सकिन्छ । साथै आजभोलिका विद्यार्थीलाई कतिपय जानकारी राख्नुपर्ने कुराहरु पाठ्यपुस्तकले समेट्न सकेको देखिन्न । साथै सामान्य दैनिक जीवनका सीप र मनोरञ्जन मनाउने विविध तरिका पनि त्यति जानेको देखिन्न ।
यिनै कमी कमजोरी र बालकलाई सद्चरित्र, दक्षता र जानकारी हुने कुराहरु सम्बद्ध कथाहरु जस्तै पञ्चतन्त्र, इसपनीतिका कथाहरुप्रति आकर्षण गर्नु वाञ्छनीय भएको छ । यसका लागि लेखकहरुले नयाँ धारमा अभिप्रायगत कथाहरु लेख्ने, शिक्षक र अभिभावकहरुले बालकको आवश्यकता अनुसार योगमा लगाउने कथोपचार विधि प्रभावकारी हुनसक्दछ । ताकि विद्यार्थीहरुले ठाडो नैतिक शिक्षाका रुपमा हैन मनोवैज्ञानिक रुपमा अभिप्रायगत कथा पढेर आफ्नो कमी कमजोरी हटाउँदै चरित्र सुधार गर्ने जस्ता व्यक्तित्व बनाउने जीवनोपयोगी शिक्षा अप्रत्यक्ष लिन सकून । जसरी डाक्टरले बिरामीको रोग जाँचेर कस्तो उपचार गर्नुपर्छ पत्ता लगाएर औषधिको सिफारिश गर्दछन् त्यस्तै जिम्मेवार निकायले विद्यार्थीको कमी कमजोरी पत्ता लगाएर उपयुक्त कथा सम्प्रेषण गर्नु स्वस्थ र स्वच्छ चरित्रको निर्माणमा सहायक सिद्ध हुन सक्दछ । चोरीको बानी भए ऐना चोर, दुव्र्यसनी भए अपहेलना, घमण्डी भए दैत्यको दम्भ, हावापानी परिवर्तनमा चराहरुको हावापानी सम्मेलन, मद्दतको महत्वमा मद्दतको मजा आदि कथोपचार हुने विचार प्रधान कथाहरुको प्रयोग हुने कथोपचार विधिबाट विद्यार्थीको व्यक्तित्व विकासमा सहायता पुग्न सक्दछ ।
बाल व्यक्तित्व विकासमा प्रायोजित बालसाहित्य सिर्जना : कथोपचार विधिको प्रायोजन र प्रयोग व्यक्तिको सर्वाङ्गीण विकासका लागि औपचारिक शिक्षाको निर्धारित पाठ्यपुस्तकले मात्र वान्छनीय चरित्र निर्माण हुन सम्भव छैन । व्यक्तित्व निर्माणमा सानैदेखि बालबालिकाको चरित्र निर्माण हुनु आवश्यक छ । बालबालिकालाई अत्यधिक नियन्त्रण, कठोर अनुशासनले हानी नै गर्छ । ठाडो नीति कथाको घोकाइले र दण्ड र पुरस्कारको नीति जस्तो दमनले बालबालिकालाई सही रुपमा मार्ग दर्शन हुन सक्तैन । चरित्र भनेको कुनै साँचोमा ढालेजस्तो हैन । चरित्र निर्माण भनेको व्यक्तिमा स्थाई भावको गुण, प्रेम, वात्सल्य, मैत्रीबाट प्रबद्र्धन हुन्छ । गीताका गहिरा ज्ञान, पुराण कथाका आदर्श सोचका कथाहरु, बुद्धले पनि अष्टमार्गले जुन सफल जीवन दर्शन दिए त्यस सम्बद्ध अनेकौ कथादेखि राजाका मूर्ख पुत्रहरुलाई थोरै समयमा सर्वशास्त्र पारङ्गत गराउने कविताको शूत्रबद्ध पञ्चतन्त्रका कथाहरुदेखि अकबर वीरबलका चलाखीपूर्ण कथाहरुले हाम्रो संस्कृतिमा उच्च संस्कार बसाएको हो । आजको आवश्यकतामा त्यसबाट अझ अघि बढनुपर्ने देखिएको छ ।
बालबालिकाको मानसिक दोष जस्तै चोरी गर्ने, झुठो बोल्ने, रिस उठाउने, दु:ख दिने आदि धेरै हुन्छन् जुन व्यक्ति पिच्छे फरक हुन सक्छन् । झगडालु वा सहनशील ? क्रोधी बा विनयशील ? वीर वा कायर ? यस्ता अनेकौ संवेगात्मक कुरामा बाञ्छनीय संवेग उत्पन्न गर्न र अवाञ्छनीय संवेग हटाउन पहल गर्नु जरुरी छ ।
संवेगात्मक विकासमा घर परिवार, साथीभाइ, छरछिमेक आदिको ठूलो प्रभाव रहन्छ ।
आपसमा घृणा, इष्र्या, द्वेष यस्तैबाट जन्मन्छ । व्यवहार परिवर्तनमा जोर जबरजस्ती गर्नु त्यसको नकारात्मक प्रभाव पर्न सक्छ । विद्यालयहरुमा कोमल व्यवहारकै दृष्टिले शिक्षिका चयन मूलत: बाल शिक्षामा विश्वभरि नै रहेको पाइन्छ ।
विद्यालयको शिक्षामा प्राय जग बसाल्ने दृष्टिले शिक्षण सिकाइ गरिन्छ । तर जगपछिको वैज्ञानिक वास्तु विधानमा र सौन्दर्यकरणमा ध्यान नदिँदा अनेकौ समस्या र दु:ख कष्ट सिर्जना भएजस्तै बालबालिकाको चरित्रलाई सुन्दर बनाएर सुयोग्य, सक्षम र सफल नागरिक निर्माणमा थप ध्यान जानुपर्छ । यसका लागि बालबालिकालाई मनोरञ्जन एवम् शैक्षिक दृष्टिले जीवन शिक्षा हुने प्रकारले पाठ्य सामग्रीको प्रयोग हुनुपर्छ ।
यसकै उद्देश्यले बालसाहित्य रचना हुन्छ र बालबालिका बालसाहित्यकै कथाहरु सुन्न मन पराउँछन् । उनीहरुको रुची, स्वभाव र बानी व्यवहारलाई विचारगरी बालसाहित्यको ग्रन्थ प्रयोगबाट चरित्र सुधार एवम् निर्माण गर्न ग्रन्थोपचार प्रयुक्त हुन्छ । तर बालबालिकालाई कस्तो बालपुस्तक दिने ? कति पढाउने ? किन पढाउने ? कसको किताप उपयुक्त छ ? कुन कुन किताप कसरी छान्ने र बालबालिकालाई त्यसतिर पठन बानी बढाउने ? आदि अनेकौ प्रश्न समाधानका लागि केही विधि सोचनीय देखिन्छ :
१ बालबालिकाको प्रकृति, बानी व्यवहार, स्वभाब र त्यसलाई बान्छनीय ढंगमा सुधार गर्न सर्वप्रथम बालकको कमी कमजोरी, दुराचार आदि जान्नु वा जानकारी हुनु जरुरी छ ।
२ बाल दुराचार र कमी कमजोरी निराकरणका लागि क) विद्यमान साक्षरता र औपचारिक शिक्षाका पाठ्यक्रमलाई समालोचनीय शिक्षण तथा सहायक साहित्य सामग्री प्रयोग गर्न सकिन्छ ।
तर यसले पनि निर्धारित पाठ्यसामग्री भित्रै सीमित हुने र बालकको आवश्यकता अनुकूल उपलब्धि हासिल नहुने हुँदा दोस्रो तरिकाबाट मद्दत पुर्याउन सकिन्छ ।
ख) बालसाहित्यका पुस्तकहरु पठन पाठनको ग्रन्थोपचार बिधि अर्थात पुस्तकहरु अध्ययन गराएर पनि समस्यालाई घटाऊन सहायता पुग्न सक्छ ।
ग) बालकको आवश्यकता, रुची अनुसार पठन पाठन उद्देश्यपूर्ण पार्नका लागि अभिप्रायगत लेखन प्रकाशन बढी उपयुक्त र उपयोगी विधि कथोपचार बिधि हो ।
अभिप्रायगत लेखनका लागि बालकको आवश्यकतालाई निम्नानुसार समूहिकरण गरिन्छ : शिक्षाशास्त्रमा शैक्षणिक उद्देश्यलाई तीन विभाजन ज्ञान पक्ष, भाव पक्ष र सीप पक्षका रुपमा संज्ञान, प्रवृत्ति र गतिका रुपमा र यीभित्र पनि तह विभाजन गरेर विभिन्न आवश्यक पक्ष समेटेर शिक्षा पाठको व्यवहारिक उद्देश्य निर्धारण गरिन्छ । यसलाई समेत आधार मानी विद्यार्थीको आवश्यकतालाई विभिन्न पक्षमा समेटिएको छ :
१ वैयक्तिक दुराचरण (जस्तै रिसाउने, झुठो बोल्ने, धम्की दिने, दवाव दिने, विद्युतीय सामग्रीमा मात्र लागिरहने कुलत, चोरी गर्ने, ठगी गर्ने आदि)
२ सामूहिक मूल्य मान्यता (जस्तै पर संवेदनशीलता, सहयोगको भावना, विश्व समझदारी आदि)
३ सामान्य ज्ञान (जस्तै किशोरवयमा शारीरिक परिवर्तनको ज्ञान, सरसफाइको ज्ञान, संवेगात्मक विकास, नागरिक चेतना आदि)
४ सामान्य सीप (जस्तै बोल्ने सीप, मर्मत गर्ने सीप खेती किसानीको सीप, गृह विज्ञानको सीप आदि)
५ मनोरञ्जनात्मक प्रयोग (जस्तै खेलहरु, बुद्धिको खेल आदि)
उपर्युक्त विषय क्षेत्रलाई समेटेर कथा रचना प्रक्षेपणबाट बालकको चौतर्फी विकासमा बल पुग्दछ । कथाबाट गुणग्रहण गर्ने ठीक/बेठीक छुट्याउने र निर्णय क्षमता बढ्ने हुन्छ ।
यस्ता अभिप्रायगत उद्देश्यमूलक बालपुस्तकको सिर्जनाले पुस्तकमा आकर्षण बढ्ने र विषयगत पुस्तक अध्ययनबाट बालकले चरित्र निर्माण साथ जीवन शिक्षा प्राप्त गर्न सघाउ हुन्छ र संस्कार बस्दछ । सक्षम र समृद्ध ब्यक्तित्व विकासबाट हुने असल नागरिक निर्माणबाट घर, समाज, देश र विश्वलाई नै यसले उज्यालो सभ्यताको बिकास गर्न सघाउ पुग्न सक्दछ ।
कथाको प्रयोग प्राचीनदेखि नै मौखिक कथा वाचन धार्मिक प्रवचन र संस्कृतिका पिभिन्न पक्षमा प्रयोग हुँदै आएका हुन् । आफ्नो आवश्यकता अनुसार विद्यमान कथा छानेर समूहीकरण गर्ने र अभावका क्षेत्रमा अभिप्रायगत सिर्जना गरी त्यसको सही प्रयोगले बालकको चरित्र निर्माणबाट व्यक्तित्व विकासमा सघाउ पुग्दछ ।
अपरिहार्यता
समाज आधुनिकिकरणको रुपान्तरणको प्रकृयामा छ । शिक्षित अग्रणी र सचेत ब्यक्तित्वहरुले आफ्नो देशको परिस्थिति, विश्व परिस्थिति र मानवीय संवेदनाका उच्च गुणहरु, सभ्यताका बिशिष्ट उपलब्धिहरु र सर्वकल्याणकारी भावनाको, व्यवहारको विकास गर्नुमा योगदान गर्नु सर्वथा पुनित कार्य हो । देशको नागरिक सुशिक्षित पार्नु, सुसभ्य हुनु, सबल र सक्षम हुनु सबैका लागि हितकर छ र आजको विश्विकरणका सन्दर्भमा देशको पहिचान जोगाउन त्यसको विविध पहलुकाबारे जानकारी राख्ने र त्यसमा सचेत हुने तथा स्वाभिमान र स्वतन्त्रताको जगेर्नाका लागि पनि साहित्य सिर्जना, पठन पाठन र प्रबद्र्दन हुनु आजको आवश्यकता हो । हाम्रा भोलिका तारा भनेकै आजका बालबालिका हुन् र आजका बालबालिका असल चरित्रवान नभए समाज विश्रृङ्खलित हुन्छ र हाम्रो संस्कृति, सभ्यता, स्वतन्त्रता र गौरवशाली पूर्खाको उपलब्धि निरर्थक हुन्छन् । अत: विद्यालयमा यी सबै कुरालाई ध्यान पुर्याउनु आवश्यक छ । यी सबै दृष्टिले विद्यालयमा बालसाहित्यको अपरिहार्यता देखिन्छ ।
बालसाहित्य कसरी प्रवद्र्धन गर्ने ?
नेपालमा बालसाहित्य प्रवद्र्धनका लागि खास र ठोस कामहरु भएका छैनन् । प्रत्येक लेखकले बालकका लागि बालसाहित्यको कम्तीमा एउटा पुस्तक प्रकाशित गरेर; प्रत्येक वडामा बाल पुस्तकालय स्थापना गरेर; बालपुस्तक पढ्नका लागि आकर्षण गरेर; अभिभावकले किनेर; उपहार दिएर र बालकलाई राम्रा राम्रा कथाका किताबबाट कथा भनेर; प्रत्येक विद्यालयमा पुस्तकालय खोलेर अगाडि बढ्न सकिन्छ । विद्यालयमा पुस्तकालय बिकासमा प्रत्येक अभिभावकबाट प्रत्येक अभिभावक दिवसमा कम्तीमा एउटा बालपुस्तक दानका लागि अनुरोध गरेर; अभिप्रायगत बालकथाहरुको विषयगत लेखन, संकलन गरी पुस्तक प्रकाशन गरेर नेपालमा बालसाहित्य ब्यापक पार्दै चरित्रमा सुधार गरी असल र सबल नागरिक बनाउन सकिन्छ । यसको लागि राजनीतिको निकृष्ट सोच नछिरेको बाल प्रज्ञा प्रतिष्ठानदेखि बालसाहित्य प्रवद्र्धनमा अध्ययन र अनुसन्धानका संस्थाहरुको स्थापना, विकास र बिस्तारको आवश्यकता देखिन्छ ।
(हास्यव्यङ्ग्यका विशिष्ट लेखक)