यस वर्षको राष्ट्रिय कलाश्री सम्मान स्रष्टाहरूमा समर्पण गरिएको छ । यसअघि नै घोषणा भएअनुसार नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विविध ६ सम्मान तथा पुरस्कारहरू स्रष्टाहरू प्रदान गरेको हो ।
प्रदर्शनी मार्गस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा ‘राष्ट्रिय कलाश्री सम्मान’ २०८० ले विभुषित चलचित्र निर्देशक यादव खरेल अस्वस्थताका कारण अनुपस्थित रहेका थिए ।
वरिष्ठ कलासाधक किरण मानन्धर प्रमुख अतिथि रहेको कार्यक्रममा अन्य पुरस्कार तथा सम्मानहरु भने सम्बन्धित स्रष्टाप्रति समर्पण गरिएको छ । अन्य पुरस्कारहरूमा प्रतिष्ठानले रु. एक लाख राशिसहितको ‘राष्ट्रिय कलाश्री पुरस्कार’बाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठमा समर्पण गरिएकाे छ भने रु. ७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्रीमा समर्पण गरिएकाे छ ।
त्यसैगरी, ५० हजार रूपियाँ राशिसहितको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ साहित्यपोस्ट अनलाइनका प्रधानसम्पादक तथा लेखक अश्विनी कोइरालामा समर्पण गरिएकाे छ । त्यस्तै, रु. ६० हजार राशिको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारी तथा रु. ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठमा समर्पण गरिएकाे छ ।
कवि महेश क्षितिजले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले गरेकी थिइन् ।