नेपाली सुगम सङ्गीतकी गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित खातीको मङ्गलबार राति भारतको सिलगढीमा निधन भएको हो ।
करिब डेढ सय बढी नेपाली गीत गाएकी दिलमायाको ८४ वर्षको उमेरमा निधन भएको हो । दिलमायालाई ‘मेलोडी मुन’ भनेर पनि चिनिन्छ ।
खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। उनका ‘बिछोडको पीड नसकी खप्न दसैँको बेलामा’, ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन’, ‘खोलाको दुई किनारा भयो तिम्रो र मेरो पिरती’ लगायत गीतहरू चर्चित छन्।
उनी देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल सङ्गीत पुरस्कारबाट सम्मानित भएकी थिइन् ।