ईश्वरको प्रार्थनामा बन्द राखिएका हातहरू,
जब खुला छोडिन्छन् अल्लाह(اللہ) को इबादत(عبادت)मा,
त्यही बेला प्रेम कैद हुँदोरहेछ।
स्वतन्त्र भनिने प्रेम फगत—
अक्षर र नामहरूमै कैद रहेछ !
जस्तो कि—
तिम्रो नाम सीता भइदिएको भए,
वा मेरो नाम रसूल,
हामी एकअर्काका हुन्थ्यौँ होला !
जस्तो कि—
मौलावीहरुको अल्लाहको नाम,
पण्डितहरुको लागि शङ्कर नभइदिएको भए पनि,
हामी एकअर्काका हुन्थ्यौँ होला ।
किन मैले नमाज़ (نماز) पढ्न पाउदिनँ?
किन तिमीले पूजा गर्न पाउदिनौ ?
किन मन्दिर र मस्जिदको बीचको दुरीमा,
लापता हुनुनैपर्छ “वसुधैव कुटुम्बकम्” ?
मज़हबको गुलामी तोड्ने—
प्रेमिल कर्कस आवाज हौँ हामी,
सिकाउनुछ— प्रेमको भक्तिभाव
चक्रव्यूहमा हामीलाई मास्न खोजीरहेका धर्मात्मालाई,
बसाल्नुछ— काफिरहरूबाटै एक सहर-
रूह खुदा, प्रेम इबादत भएको ।
रङ्गाउनुछ— मन्दिर/मस्जिदका भित्ताहरु,
क्रमश: हरियो/रातो रङ्ग।
लेखिदिनुछ; इतिहासका पानाहरुमा
नूरा कुनै साजिद, जुबेर वा मुहम्मदकी होइन,नितान्त रामकै हो,
अनि राम, उसकै नूराको ।
गुञ्जिरहनेछ; यो आवाज
सबै रामनूराहरूको सामुहिक विद्रोहको विगुल बनेर
र
घन्किरहनेछ मृत्यु पछिको एकोहोरो संखनाद जस्तै,
धार्मिक पिंजडाकाे मृत्युको उपमा बनेर ।
तिमी पवित्र हुन गएथ्यौ गंगास्नानमा,
म पनि त भोकै बसे थेँ रमजानमा ।
किन हामी मारिएनौँ;
कलिला पखेटा मात्रै काटिए—
न उड्नै दिइयो एकै आसमानामा,
न दफन नै भयौ एकै मसानमा ।
अरे! कुन आयात वा श्लोकमा लेखिएको छ—
“तिमी मेरो जोरु हुन पाउदिनौ; र म तिम्रो पति?”
हिन्दु-मुसलमान एक हुनु मन्जुर-ए-खूदा नै थिएन भने-
किन बच्छ ज्यान एकअर्काको रक्तदानमा?
कास! कास!! कास!!! चिच्याइदिन्थेँ यो कुरा
श्लोक र आयात गीता-कुरानका पानाबाट
बाहिर निस्केर,
मन्दिरको घन्टी र मस्जिदको अजानसंगै
पण्डित र मौलवीहरुका कानमा ।
नूरा,
हामी आफैले अब लड्नु नै छ प्रेमको यो धर्मयुद्ध ।
म पशुपति जानेछु
र/ फर्कनेछु महादेवलाई नमाज बुझाएर ।
तिमी जामे मस्जिदमा पढिदेऊन अल्लाहको लागि-
गीताको कुनै श्लोक।
ओढाइदिऊँ दर्गाहमा रातो सल
र
कृष्ण मुर्तिमा हरियो चद्दर,
थाल्नेछ भेटिन अल्लाहको पनि मुर्तिपत्थर,
हिन्दुहरू पुज्दै आफ्नो पुर्खाको खण्डहर,
मौलवी र पण्डितलाई हुनेछ एकअर्काको कदर,
बाढिनेछ मन्दिरमा तबर्रुक अनि मस्जिदमा प्रसाद !
भेटिनेछन् रामहरू
आफ्नो नूराको बुर्का भित्र माथामा कुमकुम भर्दै
चिच्याइरहेका—
“कूबुल हें- कूबुल हें- कूबुल हें!”
किन लड्नुपर्छ वेद र कुरान?
हामीले संगै पढेको वेद र कुरान
दुवैमा एउटै कुरो त छ,
“भगवान् सिर्फ एक हुन्।”
“एकमेवाक्षरम ब्रह्म,
ला इलाहा इल्लल्लाह मुहम्मादुर रसूलल्लाह”
नूरा,
मैले बुझेको एक खूदा
र
तिमीले बुझेको एक भगवान्
त्यो एउटै ऊर्जा त हो,
जो उत्पन्न हुन्छ,
हामी जस्तै एकअर्काको
तआ’क़ुब (تعاقب)मा रहेका रमनूराहरूको मिलनमा ।
आखिर मोहब्बतभन्दा ठूलो प्राथना नै के हुन्थ्यो र?
आखिर प्रेमभन्दा ठूलो इबादत अरु के नै हुन्थ्यो र ?
जौँ हिडन नूरा,
सात हजार समुद्र पारि,
जहाँ हिन्दु-मुसल्मान भन्ने छैन अरे,
छैन अरे मेनुकाले ईसालाई मन पराउन रोक ।
त्यहाँ सीता मोहम्मदकी हुन पाउछे,
घनश्यामहरु रदीफाका लागि दिल दिदैछन् ।
सुलेमान कृष्णको बासुरी बजाउदै छ,
जुन धुनमा मुग्ध छे हिजाब लगाएकी मीरा ।
त्यहाँ सङ्गै लेखौला अयोध्या र मक्काको बात
मन्दिरको आरती र मस्जिदको अजान एकै साथ
उर्दूमा गीता अनि संस्कृतमा कुरान अनुवाद !
नूरा तिमी रामकी हौ,
नूरा तिमी रामकी हौ,
नूरा तिमी रामकी हौ!