नेपाल र रुसको सम्बन्धबारे चर्चा गर्दा एउटै यूरेसिया महाद्वीपका हाम्रा दुई मुलुकलाई जोड्ने कैयौं अदृश्य सेतुहरुको निकायभित्र पनि चियाउनु आवश्यक ठान्दछु । वास्तवमा भन्ने हो भने हाम्रा दुई देशलाई पामिरदेखि म्यान्मासम्म पश्चिम–पूर्व तन्किएको सुप्रसिद्ध हिमश्रृङ्खलाले एक अर्थमा अलग्याएको छ भने अर्को अर्थमा जोडेको छ । अनादिकालदेखि नै उत्तरमा पर्ने साइबेरियाबाट उडेर आउने कर्याङकुरुङको पङ्क्ति जाडो छल्न हिमालय पर्वत पार गरेर शरद्तिर नेपाल आउँछन् भने वसन्ततिर नेपालको गर्मी छल्न फेरि उत्तरतिर लाग्दछन् । यसरी विश्वको सर्वोच्च हिमश्रृङ्खला प्राकृतिक सम्पर्कका लागि तगारो बनेको पाइँदैन । यो भौगोलिक स्थिति निसन्देह नै मानिसहरुको आपसी सम्पर्क स्थापनामा एकातिर सम्पर्क स्थापनामा वाधक वनेको छ (वर्तमान परिप्रेक्ष्यमा ‘थियो’ भन्नु उचित होला) भने अर्कोतिर यही हिमाच्छादित पर्वत परापूर्वकालदेखि नैे मानव आवागमनको सेतु बनेको छ । अहिले नेपाल जाति भनेर चिनिने हाम्रो रक्तमा ध्रुवप्रदेशमा प्रार्दुभाव भई एसिया र यूरोपसम्म पैmलिएका मानिने आर्य, ककेशियाबाट पूर्वतिर लागेका मानिने खश, उत्तरतिरबाट आएका मानिने हिमाली क्षेत्रका वासिन्दा र पूर्वतिरबाट आएका मानिने किरात जातिको सम्मिश्रण ठम्याउन सकिन्छ । नेपालको वर्तमान राजधानी जलमग्न हुँदा चोभारमा निकासको निर्माण गरी वाग्मतीलाई दक्षिणतिर झार्ने अभियन्ता मानिएका मञ्जुश्री महाचीनको पञ्चशीर्ष भन्ने ठाउँबाट आएका थिए भन्ने किम्बदन्तीमा उल्लिखित महाचीन भनेको चीनभन्दा पर रहेको विशाल देश रुस नै त होइन कतै भन्ने मलाई लाग्छ । हुन पनि पञ्चशीर्ष भन्ने स्थान वास्तवमै ककेशियामा रहेको प्यातिगोस्र्क नै पो हो कि ? रुसी भाषामा ‘प्यातिगोस्र्क’ को अर्थ ठ्याक्कै ‘पञ्चशीर्ष’ अर्थात् ‘पाँच चुचुरो’ हुन्छ । अन्यत्र पञ्चशीर्ष भन्ने स्थाननाम मैले अद्यापि भेटेको छैन ।
सातौं शताब्दीतिर नेपालकी राजकुमारी भृकुटीले तिब्बतमा दाइजोको रुपमा लिएर गएको बुद्धधर्मका साथै श्रीखण्डको पवित्र काठबाट निर्मित एउटा बुद्धमूर्ति पनि अन्नतोगत्वा रुसको पूर्वेली भागमा पर्ने बुर्यातियामा अद्यापि पूजिन्छ । नेपालमा जन्मेका गौतम बुद्धद्वारा २५०० वर्ष पहिले प्रतिपादित धर्मदेशना तिब्बत हुँदै रुसको पूर्वेली भेकसम्म प्रचार–प्रसार हुन पुगेको तथ्यबाट हाम्रा दुई देशबीच सांस्कृतिक सम्पर्कको इतिहास कैयौं शताब्दी पुरानो छ भन्ने पुष्टि हुन्छ । कुनै समयमा रुसको राजधानी रहेको र हाल देशको सांस्कृतिक राजधानी मानिने पेतेरबुर्ग (सेन्ट–पिटर्सबर्ग) मा उन्नाइसौ शताब्दीमा निर्मित बौद्धविहारमा समेत बौद्ध मन्त्रहरु काष्ठपटहरुमा नेपाललिपिमा कुँदेर भित्ता सिंगारिएको देख्दा गर्वको अनुभव हुन्छ । सोभियत सत्ताकालमा त्यहाँ हिनामिना हुन गएका केही काष्ठपटहरु पनि भविष्यमा नेपाली शिल्पीहरुबाट जीर्णोद्धार हुनेछ भन्ने आशा राखिन्छ । हाल मास्कोमा पनि बौद्धविहार र बौद्धस्तुप निर्माणको परियोजना छ । मास्कोको रेरिख म्युजियमको प्राङ्गणमा एउटा सानो चैत्य हालै बनेको छ भने कालुगा जिल्लामा निर्माणाधीन विश्वनृवंशग्राम अन्तर्गत ‘नेपालमण्डप’ (नेपाली घर) को प्राङ्गणमा पनि एउटा चैत्य रहने छ ।
यहाँ म खास गरी नेपाल–रुस साहित्यिक सम्बन्धको विषयमा संक्षेपमा चर्चा गर्न चाहन्छु । यस सम्बन्धको इतिहास पनि १३५ वर्ष लामो छ । रुसमा यसको शुभारम्भ नेपालको यात्रा गर्ने विश्वविख्यात रुसी प्राच्यविद् इभान मिनायेभबाट भएको थियो । उनैले सन् १८७५ मा नेपालयात्राबाट फर्केपछि आफ्ना देशवासीहरुलाई सर्वप्रथम नेपालको बारेमा बताएका थिए । संस्कृत र पाली, हिन्दुस्तानी र कुमाउनी आदि प्राच्य भाषाका ज्ञाता रुसी विद्वान्ले नेपालको बसाइको क्रममा नेवारी भाषा सिकेर ‘नेवारी शब्दकोष’ समेत तैयार पार्नुका साथै नेवारी बौद्ध साहित्य (अवदानहरु र अवलोकितेश्वरको स्तोत्र आदि) र लोकसाहित्य (फकीरको गीत, नेवारी लोकगीत आदि) को नमूना रुसी भाषामा प्रकाशित गराएका थिए ।
रुसप्रति सर्वप्रथम दृष्टि लगाउने नेपाली विद्वान्हरुमा नेपाली प्रबोधक तथा मानवतावादी साहित्यकार जयपृथ्वीबहादुर सिंहको नाम लिनुपर्ने हुन्छ । बीसौं शताब्दीको प्रथम दशकतिर उनले रुसमा पदार्पण गरेको हुन सक्ने अनुमान छ तर सन् १९२९ तिर उनले गरेको अथक प्रयासका बाबजूद पनि अक्टोबर समाजवादी क्रान्तिपछि यस देशको यात्रा गर्ने उनको इच्छा प्रवेशाज्ञा प्राप्त नहुँदा साकार हुन सकेन र उनले ‘रुसी जनताको नाममा सन्देश’ पठाएर चित्त बुझाउनुपर्यो ।
नेपालमा जहाँनियाँ राणातन्त्रको अस्तित्व रहुञ्जेल कुनै रुसीले नेपाल जाने अनुमति पाउन सकेन, यद्यपि विख्यात् चित्रकार तथा विचारक निकोलाइ रेरिख तथा चित्रकार भेरेश्यागिनले नेपाल पुग्ने चाहना राखेका थिए । हिमालयको आत्मालाई नै आफ्नो चित्रपटमा उतार्न सफल निकोलाई रेरिखले नेपालको वरिपरि (लद्दाख, तिब्बत, दार्जीलिङ आदि) परिक्रमा गरेर हिमालयको चित्रण गर्न विवश हुनुपरेको सम्झँदा हामी नेपालीहरुलाई नै ठूलो टुट्टा परेको अनुबोध हुन्छ । त्यतिखेरको स्थितिमा हिमालयको कुनाकाप्चासम्म नेपाली सीमान्तरक्षकहरुको चौकी नहुँदा पश्चिमी नेपालको व्यास क्षेत्रतिर कतै न कतै नेपाली हिमालमा उनको गोडा परेको हुनु सम्भव छ भन्ने विचारले मलाई किञ्चित सान्त्वना मिल्दछ ।
सात सालको जनक्रान्तिपश्चात् मात्र बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रभृति केही नेपाली लेखक–कविहरुले विभिन्न सन्दर्भमा रुस भूमिमा पदार्पण गर्ने सम्भावना पाएका थिए । सर्वप्रथम सन् १९५३ मा बालकृष्ण समलिखित ‘मेरो मन उड्छ बुखारेष्टतिर’ शीर्षकको कविता नै रुसी भाषामा प्रकाशित पहिलो नेपाली कृति हो । रुसमा नेपाली भाषा र साहित्यको गहन अध्ययनको थालनी त सन् १९५८ मा ताशकन्द (उज्बेकिस्तानको राजधानी) मा आयोजित अफ्रो–एसियाली लेखक सम्मेलनमा नेपालका मुर्धन्य कविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा माधवप्रसाद घिमिरेको सहभागिताबाट हुनु अकाट्य तथ्य हो । उक्त सम्मेलनमा महाकविद्वारा प्रस्तुत कार्यपत्रले नेपाली साहित्यप्रति रुसी विद्वान्हरुको ध्यान आकर्षित गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले सम्मेलनका लागि उपहारस्वरुप ल्याएको नेपाली र अंग्रेजीमा प्रकाशित काव्यप्रमुख इन्द्रेनी पत्रिकाको विशेषाङ्कको आधारमा सर्वप्रथम रुसी भाषामा नेपालका कविहरु (ई.सं. १९५८) शीर्षकको कवितासंग्रह प्रकाशमा ल्याइएको थियो । त्यसको ४ वर्षपछि अर्को कवितासंग्रह नेपाली कविका कविता (ई.सं. १९६२) निस्केको थियो । यसको ५ वर्षपछि आमाको ममता (ई.सं. १९६७) शीर्षकमा पहिलो कथासंग्रह प्रकाशित भएको थियो भने नेपालीहरुको प्रयासबाट महाकवि देवकोटाको ९०औं जन्मजयन्तीको अवसरमा संकलित रचनाहरु (ई.सं. १९९९) प्रकाशमा ल्याइएको थियो । पत्रपत्रिकाहरुमा फाटपूmट रुपमा नेपाली कथा र कविताहरु यदाकदा निस्कने गरे तापनि संग्रहको रुपमा पछिल्लो समयमा कुनै पुस्तक प्रकाशमा आउन सकेको छैन । रुसी नेपाली साहित्यको एक ग्रन्थावलीको प्रकाशन खटकिरहेको छ ।
यहाँनेर यसै पंक्तिकारको अनुवादमा सोभियत सत्ताकालमै प्रकाशित रमेश विकलको कथा पूmटपाथ मिनिस्टर्स (रुसी भाषामा ‘टुहुराहरुको राजा’, ई.सं. १९८६) र लैनसिंह बाङ्गदेलको लघुउपन्यास लङ्गडाको साथी (रुसी शीर्षक ‘एक मात्र साथी’, ई.सं. १९८६) का साथै यमलोकमा जिउँदो मान्छे (ई.सं. १९७१) तथा कल्चौडी चरीको ठुङ्ग र पञ्जा किन सुनौला हुन्छ ? (ई.सं. १९८९) शीर्षकमा दिवंगत रूसी विदुषी ल्युदमिला आगानिनासँगको सहअनुवादको रुपमा प्रकाशित नेपाली लोककथाका दुई संग्रहको नामोल्लेख गर्न चाहन्छु । पछिल्लो समयमा स्वस्थानी (ई.सं. १९९६) का साथै ज्ञानकाजी मानन्धरलिखित नेवारी नाटक कुमारी चण्डेश्वरी (ई.सं. २००५) पनि पुस्तकाकार रुपमा प्रकाशित भएका छन् । सन् १९६६ मा पुर्पक्ष गरिएको मेरो शोधप्रबन्धको आधारमा कतिपय नेवारी साहित्यकारहरुको नामले सोभियत विश्वकोषमा प्रविष्टि पाएको छ भने त्यसैको आधारमा हालै नेवारी साहित्य (ई.सं. १९९५) शीर्षकमा एउटा पुस्तक पनि प्रकाशित छ ।
नेपाली भाषा र साहित्यको अध्ययन तथा प्रचार–प्रसारमा योगदान पुर्याउने रुसी विद्वान्हरु सबैको यस छोटो लेखमा चर्चा गर्नु सम्भव नभए पनि यस क्षेत्रमा ख्यातिप्राप्त दुईजना दिवंगत नेपालविद्हरुको यहाँ नामोल्लेख गर्नु आवश्यक ठान्दछु । नेपाली र नेवारी व्याकरण (ई.सं. १९६५ तथा १९८९) का लेखक भाषाविद् निकोलाई कोरोल्योभले नेपाली–रूसी शब्दकोष (सम्पादक आनन्दबहादुर थापा, ई.सं. १९६८) र रुसी–नेपली शब्दकोष (सम्पादक कृष्णप्रकाश श्रेष्ठ, ई.सं. १९७५) को तयारीमा पनि सक्रिय भाग लिएका थिए भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको दोभाषे भई काम गरेकी रुसी विदुषी ल्युदमिला आगानिनाले नेपाली साहित्यको अनुसन्धानमा संलग्न रही नेपाली साहित्य : संक्षिप्त विवेचना (ई.सं. १९६४) र आधुनिक नेपाली काव्यमा मानव, समाज, धर्म (ई. सं. १९८५) शीर्षकमा समालोचनात्मक ग्रन्थहरुका साथै देवकोटाको व्यक्तित्व र कृतित्वबारे यूरोपेली भाषामा सर्वप्रथम नेपाली महाकविको कथा (ई.सं. १९७०) प्रकाशमा ल्याएकी थिइन् । नेपाली समालोचनात्मक चिन्तन शीर्षकमा विद्यावारिधिका लागि मेरो शोधकार्यमा वैज्ञानिक निर्देशिका रहेकी रुसी विदुषीले नेपाली कविताहरुको अर्थ खुलाउने कार्यमा मेरो पनि केही श्रम परेको तर्पm इङ्गित गर्दै स्वहस्ताक्षरमा मेरा शिष्य तथा गुरुलाई भन्ने शब्दहरू लेखेर आफ्नो जुन कृति मलाई उपहार दिएकी थिइन् सो मेरो निजी पुस्तकालयमा सुरक्षित छ । प्रसंगवश भनिहालौं, अहिलेसम्म रुसमा प्रकाशित नेपाल विषयक सयभन्दा बढी पुस्तकहरुद्वारा मेरो दराज सुसज्जित छ ।
हाम्रा दुवै देशका साहित्यकारहरुले एकअर्काको देशको यात्राभ्रमणबाट साहित्यिक कृतिको सिर्जनामा समेत प्रेरणा पाउने तथ्य कसैबाट छिपेको छैन । नेपाली लेखक र कविहरुमध्ये बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, ईश्वर बराल, दौलतबिक्रम बिष्ट, टी.आर. विश्वकर्मा, कुमार ज्ञवाली, सूर्यबिक्रम ज्ञवाली, राजेश्वर देवकोटा, उत्तम कुँवर, यदुनाथ खनाल, वैकुण्ठप्रसाद लाकौल, भीमनीधि तिवारी, बालचन्द्र शर्मा, भिक्षु अमृतानन्द, म.बि.बि.शाह, भूपि शेरचन प्रभृतिले रुसको यात्रा गरेका थिए । हाम्रा महाकविले रुसको यात्राको क्रममा रचना गरेका कतिपय कविताहरु रूसी भाषामा प्रकाशित छन् । यसरी एक दोस्राको देशप्रति समर्पित गद्यकृति मात्र नभई काव्यकृतिहरुको समेत रचना भएको पाइन्छ । नेपाली लेखक–कविहरुको कलमबाट नेपाली भाषामा रुसविषयक कृतिहरु निसृत भएका छन् भने रुसी साहित्यकारहरुले पनि नेपालको विषयवस्तुमा कलम चलाएको पाइन्छ । यस परिप्रेक्ष्यमा मानवद्वारा सर्वप्रथम अन्तरिक्षमा गरिएको उडानको विषयवस्तुमा आनन्ददेव भट्टरचित विश्वका प्रथम अन्तरिक्षयात्रीप्रति समर्पित काव्य यूरी गागारिन (ई.सं. १९६२) विशेष उल्लेखनीय छ भने नेपालको यात्रा गर्ने रुसी लेखक सेर्गेइ बारुज्दिनको बालकथा च्याङ्ग्रा : ट्याफिक प्रहरी (वि.सं. २०६४) र दागेस्तानी कवि रासुल हाम्जातोभरचित काव्य जीवन चक्र तथा जीवित देवी (वि.सं. २०५२) नेपालीमा पनि प्रकाशित भएका छन् । रुसी भाषाबाट सोभैm नेपाली भाषामा रुसी साहित्यका कृतिहरुको अनुवादको थालनी यसै पंक्तिकार (अलेक्सन्द्र पुश्किनको काव्य ‘जिप्सी’, ई.सं. १९६८) साथै नीलाम्बर आचार्य (माक्सिम गोर्कीको ‘बाज’, ई.सं. १९६८) बाट भएको हो र डा. जङ्गब चौहान प्रभृतिले यस परम्परालाई अगाडि बढाइरहेका छन् । यसरी अहिलेसम्म अलेक्सान्द्र पुश्किन, अलेक्सान्द्र ग्रीन, मिखाइल लेर्मोन्तोभ, इभान तुर्गेनेभ, आन्तोन चेखोभ, म्याक्सिम गोर्की, भ्लादिमिर मायाकोभ्स्की, निकोलाइ अस्त्रोभ्स्की, मिखाइल शोलोखोभ, रासुल हाम्जातोभ आदि विश्वप्रसिद्ध रुसी लेखक–कविहरुका दशौं अनुपम कृतिहरुका साथै रूसी लोककथा लगायत बालसाहित्यका पुस्तकहरुको नेपाली अनुवाद प्रकाशमा आइसकेका छन् ।
नेपाल र रुसका कतिपय साहित्यकारहरुले पारस्परिक आवत–जावतको क्रम जारी नै राखेको भए तापनि यस्तो प्रत्यक्ष आदान–प्रदानको स्तर वाञ्छित रुपमा बढेको पाइँदैन । रूसको यात्रा गर्ने नेपाली लेखक कविहरु मध्ये मदनमणि दीक्षित, लक्ष्मण लोहनी, गणेश रसिक, दिनेश अधिकारी, वानिरा गिरी, भीम उदास, ध्रुवचन्द्र गौतम, गोविन्दराज भट्टराई प्रभृतिको नामोल्लेख गर्न सकिन्छ । रुसबाट उच्चशिक्षा हासिल गरी नेपालमा साहित्य सिर्जना र अनुवादको क्षेत्रमा कार्यरत नेपालीहरु मध्ये विष्णुबहादुर सिंह, जङ्गब चौहान, चन्द्रकान्त आचार्य, कन्हैया नासनानी, जुगल भुर्तेल, भरत शाक्य प्रभृत्तिको विशेष योगदान रहेको छ । नेपाल र रुसको सांस्कृतिक एवं साहित्यिक सम्बन्धको विकासमा सरकारी स्तरबाटै पहल गरिनुका साथै नेपालमा कार्यरत नेपाल–रुस मैत्री संघ, नेपाल–रुस सांस्कृतिक संघ, मित्रकुञ्ज, नेपाल–रुस साहित्य समाज आदिका साथै रुसमा कार्यरत रुस–नेपाल मैत्री एवं सहयोग समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुस शाखा, गैरआवासीय नेपाली संघ रुस, नेपाली नारी निकुञ्ज, रुस सीआईएस नेपाल उद्योग वाणिज्य संघ, नेपाली खेलकूद तथा संस्कृति समाज, रुस नेपालविद्या केन्द्र आदि सामाजिक संस्थाहरुको पनि गहकिलो योगदान हुन सक्तछ । जे भए तापनि हाम्रा दुवै देशको विषयमा कृतिहरुको प्रकाशनका साथै नेपाली र रुसी साहित्यको पारस्परिक अनुवादको परम्पराले आवश्यक रुपमा फस्टाउने मौका पाएको छैन । केही अनुवादहरु त्यसै थन्किरहेका छन् भने प्रकाशनका लागि तैयार भइसकेको रुसी–नेपाली शब्दकोषको द्वितीय संस्करणको गर्भ बीचैमा तुहिएको छ । हाम्रा दुई देशका जनताहरुलाई भावनात्मक रुपमा नै निकट तुल्याउने सांस्कृतिक तथा साहित्यिक सम्बन्धको भावी विकासमा उभयपक्ष्यको ध्यान जानु नितान्त आवश्यक छ ।
(रुसमा बसेर नेपाली भाषा र साहित्यमा टेवा पुर्याउँदै मूलत: रुसी-नेपाली भाषामा अनुवाद आदानप्रदानमा काम गर्दै आएका कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा १६ चैतमा निधन भएको छ।