हामी सबै एक होइन र ?
के शरीर भित्र धर्म अनुसार
फरक फरक रङ्गका रगत बग्छन् र ?
रगत हेरौँ
सबका रातै हुन्छ
धर्म …………
मान्ने सबका लागि
आस्था न हो
अनुशासन अनि बाँच्ने कला पनि हो
तर हामी
यति स्वार्थी भर्यौं कि
एक अर्काको आस्था माथि
धावा बोल्छौँ
घृणा गर्छौँ
तँ सानो, म ठुलोको
हुकार गर्छौँ ।
हिन्दु, बौद्ध, इस्लाम, किराँत, इसाई,बोन,जैन न त सिख धर्मले
मै ठुलो तिमी सानो भनेको सुन्दिन
हामीले नै बाँडी दियौँ
धर्ती, सूर्य, चन्द्र र प्रकृतिलाई
आ आफै नै नामहरू राखी दियौँ
आ आफ्ना परम्परा बसाल्यौँ
हुन त शिवको गङ्गा पनि पानी नै हो
आब–ए–जमजम पनि पानी नै हो
पृथ्वी एउटै, आकाश एकै
न सूर्य छन् दुई, न त चन्द्र नै
हे मानव
के तिमी धर्म अनुसार बेग्ला बेग्लै आकाश बनाउँछौ र ?
के धर्म जस्तै फरक फरक हावा चलाउँछौ र ?
विश्वास र आस्था नै जिउने मीठो आधार हो
तर अरू कसैको जिउने मीठो आधारलाई
तहसनहस गर भनेर
कहाँ कसले भने र ?
यहाँ धर्मको नाममा
खुकुरी देखाउँछ
बन्दुक पड्काउँछ
मान्छे रेटिन्छ
मान्छे काटिन्छ
यहाँ धर्मको नाममा
मन्दिर बनाइन्छ
मस्जिद बनाइन्छ
चर्च बनाइन्छ
गुम्बा बनाइन्छ
र
एक आपसमा निशेषाज्ञाको मनसाय हुर्काइन्छ ‘।
समसामयिक कविता