मौन भाषा आहा ! आँखाको आँखैले मिलाए जस्तो
भन्नु धेरै थियो तर लाग्छ ओठ सिलाए जस्तो ।
तिम्रो नजरको असरले म त यस्तो भइसकें
घामको एक चुम्बनमै शीतको थोपा विलाए जस्तो ।।
रामकाजी कोने आजभोलि कता छन्, के गर्छन्, के गर्दै छन् थाहा छैन ? तर उनको यो मुक्तक भेनिससँगको यात्रामा मेरो मनमा उर्लिरह्यो …. । धीमा गतिमा नै भए पनि भेनिसको ट्रामासँगै कुदिरह्यो …. दौडिरह्यो …. अनि मेरो मनमा जागै छ इटलीका छिटा बाछिटा र भेनिसका ती दिनहरू …. ।
त्यतिमात्र होइन – भेनिस शहरको सामुद्रिक जहाज चढेर जब समुदै्र–समुद्रको बीचमा रहेको सानो शहर बुरानो–१ मा पुगें तब मलाई अनुभूति भयो …. नारायण ज्ञवालीको कविताका यी पङ्क्तिहरू –
यो यौटा मन भोगको छ सपना संसार नै आँक्दछ
त्यो अर्को मन वानप्रस्थतिरको स्वच्छन्दता ताक्दछ
कल्पी हंश उतै पुगेछ सुखको ओडारमा तैपनि
भित्री सत्य कुरा भनूँ कि नभनूँ दोधारमा मै पनि ….।
मन दोधार छ । संसारको सपना जस्तो लाग्ने भेनिसमा रुमत्लिएको छु म पनि । भेनिसको सम्झना गर्दा इटालियन नागरिक क्लाउडी मेरा सम्झनामा आइदिन्छ । उनले पर्यटकलाई आफ्नै घरमा बसेको जस्तो, घरकै सिधो पीठो खाएर भेनिसलाई राम्ररी अवलोकन गर्नसम्म खालको वर–बगैंचासहितको एक परिवार एक तले घर पाहुना राख्ने सुन्दर व्यवस्था गरेका रहेछन् । हामी त्यसै घरमा बस्न पुग्यौं । क्लाउडीले रेलबाट उत्रनासाथ लिन आएर हामीलाई आफ्नो घरमा भित्र्याएर साँचोसमेत जिम्मा लगाए – सम्पूर्ण सुन्दर व्यवस्था । आफ्नो समान आफैले ल्यायो, पकायो खायो – कति मज्जा कति मज्जा छोड्नै मन नलाग्ने । तीन दिन तीन रात बिताएको स्थान जीवनभरि नै घच्घच्याइरहने बनेको छ । भेनिस मेरो मनमा जे छ त्यो अक्षरले कुद्नै नसक्ने गरी बसेको छ । शायद पानामा लिपिन्न क्यारे ! मनसँगै जाने पो हो कि ? निकै चिन्ता थपिएको छ । ठीकै छ – चित्त पनि बुझाएको छु – जति छ सबै किन छोड्नुपर्ला र ? केही त सँगै लानुपर्यो तर विदूर बन्दिपुरेले लेखेको भजनले मलाई सताउँछ – भेनिसको समुद्रमा घुम्दा पनि …. डुङ्गासँगै बग्दा पनि …. ।
आजभोलि भन्दाभन्दै आउँछ मर्ने दिन
भन्न थाल्छन् यमराजले बेला भयो हिंड
न छोराले साथ दिन्छ न छोरीको भर छ
यो संसारमा एक्लै आयो एक्लै जानुपर्छ
न त कुनै दु:ख्ने पोल्ने न त वित्ने काम
नाङ्गै आको कच्चा चोला नाङ्गै परमधाम
एकै मानु चामल रैछ साथ जाने साथी
त्यही पनि जलाई दिन्छन् राखी छाती माथि ।
हाम्रो परिवारको यात्रा …. । यात्राको सम्पूर्ण व्यवस्था मिलाएका छन् …. छोरी ज्वाइँले …. । पापाममीले …. राम्रो देख्नुहोस् …. दु:ख कष्ट केही नपरोस्, अझ पापाको घुम्ने क्रमको शोखिन बानीलाई कतै–कुनै किसिमबाट कठोर र अप्ठ्यारोपन नआओस् – स्वतन्त्र र स्वच्छन्द रूपमा घुम्न डुल्न सक्नुहोस् भन्ने चिन्ता राखेर व्यवस्थापन मिलाउने छोरी कृपा र ज्वाइँ अनिशको उत्सुकता र चाहनालाई मैले राम्रै बुझेको छु । यात्राको सु:ख सागरमा प्रवेश गराउन उनीहरूले कुनै कसर बाँकी राखेनन् …. । त्यो अर्को उपलब्धि र आत्मीयता अथवा नजीकीकरणको विषयवस्तु बनेको थियो …. ।
हो, म यात्रामा शौखिन छु । नेपालका दृश्यहरू हेर्न लायक छन् – तर हिँड्न लायक छैनन् – किनकि सुविधा छैन । जब मान्छे हिँड्न थाल्छ …. भनेको ठाउँमा बास पाउँदैन …. खान पाउँदैन अनि ऊ हिमालको काखमा आए पनि आँखैमा आए पनि उसलाई छुँदैन किनकि उसको थकित अवस्था र मलिन अनुहार अनि भोको पेटले त्यो स्वर्णिमतालाई लिन सक्तैन, …. । त्यस्तै दौडधूपका यात्रा नहोस् – शान्त र शौखिन यात्रा बनोस् भन्ने मेरो चाहनालाई पूरा गरिदिएका थिए – छोरी ज्वाइँले …. ।
विहानभरी क्लाउडीको आवासमा बस्यो – दश बजे खाना खायो अनि …. हाम्रो यात्रा निस्कन्थ्यो – भेनिसको सामुद्रिक चहलपहल र सुन्दर संसारको अवलोकनको लागि …. । हाम्रो आवास नजिकै टक्क ट्राम आइपुग्यो रेलको जस्तै लिगमा चल्ने …. करिब चारवटा जति बस जोडेको यात्रुवाहक गाडी – सुन्दर सफा सहरको ट्रलिबसजस्तै भेनिसको ट्राम हाम्रो सामु आइपुग्थ्यो …. हामीले यसै ट्राममार्फत शहरलाई अवलोकन गर्दै प्रत्येक दिन नै अनि समुन्द्रमा फिजिन र फराकिन पुग्थ्यो ।
भेनिस समुद्र र समुद्रको बीचमा र समुद्रको किनारामा जताततै पानी अनि बाहिरी आवरण पुराना पाँच, सात, नौ तले घर आफ्नै पहिचान बोकेको कलाकृति सजिसजाउ घरहरू ती घरहरूभित्र झकिझकाउको शृङ्गारपटार रेष्टुरेन्ट र होटलहरू, सयौंका सङ्ख्यामा रात बिताउने पर्यटकहरूको आफ्नोपन देख्दा चित्रभित्रको विचित्र संसारको अनुभूति भयो मलाई भेनिसलाई अवलोकन गर्दा …. ।
मनको शक्ति भए, सफलताको साहस राख्न सक्ने भए गर्न के सकिँदैन भन्ने कुरा सम्झना गराउँछ भेनिसले …. माउतेले हात्तीलाई घुमाएजस्तै …. सपेराले सर्र्प नचाएजस्तै …. संसारलाई नचाउन सक्ने मानिसहरू र सभ्यता संस्कृति निर्माण गर्ने शाह, बादशाहहरूको शौखिनपन पनि विचित्रै हुँदो रहेछ । समुद्रलाई जता लान मनलाग्यो पठाइ दिएका छन् । प्रत्येक कुनाकुनामा जताततै पानीकै बाटो छ – सबैका घरमा हैसियत अनुसारका पर्यटकको पैसा अनुसारको पानीमा कुद्ने डुङ्गा, गन्डोला जहाज पानी जहाज, सबै छन् तले दुईतले तीनतले …. एकपल्ट चौबिस घन्टाको लागि टिकट काटेपछि तिमी त्यो चाबिस घन्टा जति ठाउँमा जानु छ …. जे घुम्नु छ …. कम्पनीको जहाज, ट्याक्सी, ट्रामा गन्डोला जे चढ्नु छ, चढ्न सक्छौं – अर्को मूल्य छैन – सबै एकैचोटी बुझाइदियो – आफ्नो शौखिन यात्रा तय गर्यो, कति मजा कति रमाइलो – न किचकिच न कचकच …. । मैले कवि ठाकुर शर्मा भण्डारीको मुक्तक सम्झेँ –
जीन्दगी छ रमाइलो हेरूँ हेरूँ लाग्ने गर्छ
जिन्दगी छ घमाइलो तापूँ तापूँ लाग्ने गर्छ
यसैले ता जिन्दगीमा बाँच्ने गर्छन् मानिसहरू
आफन्त भैmँ झुमेका छन् झुमूँ झुमूँ लाग्ने गर्छ ।
हामीले तीन दिनको यात्रा तया गर्यौं …. १ दिनभरि भेनिसको समुन्द्रको भँगालोसँगैको दायाँ बायाँको बजार पसल रेष्टुरेन्ट, पर्यटक कला कृति आकृतिलाई किनारै किनार विस्तारै डुल्दै घुम्दै सूक्ष्मरूपमा अवलोकन गर्ने – अनि फोटो खिच्ने, सहीरूपमा भेनिसको परिचय लिने अवसर मिल्यो हामीलाई …. ।
दोस्रो दिन हामीले शहर बजारको साथै साँझको समयको झिलिमिल बत्ती, कुनै एक समुद्रले घेरेको शहरको अवलोकन गर्ने र अर्को तेस्रो दिन …. समुन्द्रको किनारमा गएर सामुद्रिक खाना खाँदै आफू पनि रम्ने रमाउने । यी तीन क्षणलाई आत्मसात गर्दै हामीले भेनिसलाई अवलोकन गर्ने निर्णय गर्यौं …. निर्णय अनुरूप नै हाम्रो भ्रमणले भेनिसलाई आत्मसात गर्यो …. । मलाई लाग्यो भेनिस संसारकै निम्ति दिव्य भण्डार रहेछ – लाखौं पर्यटकहरूलाई खिची रहेछ …. भेनिस छ र यो पर्यटक भन्ने भाव दिइरहेको छ । मलाई ती दृश्यहरूले मनभित्र पनि आकाश हुन्छ जस्तो लाग्यो सुन्दर दरबारको पटाङ्गिनीको चोकमा बसेर, सोच्दा–सोच्दै, हेर्दा–हेर्दै मलाई कुनै एक कविले भनेको कविता याद आयो ….
जूनले चियाएजस्तो पनि लाग्दै छ
ताराले गिज्याएजस्तो पनि लाग्दै छ
क्षितिजले छोएजस्तो पनि लाग्दै छ
बादलले ढाकेजस्तो पनि लाग्दै छ
सुहागरातकी लज्जावती बुहारी झैं
मन पग्ले पग्लेजस्तो हुँदै छ ।
मन सग्ले सग्लेजस्तो हुँदै छ ….
किनकि त्यहाँका अभूतपूर्व कलाकृतिले सजिसजावट भएको दरबार सामुद्रिक किनारको व्यवस्थित घर, रेष्टुराँ र होटलहरूले । अनि गन्डोलाको चहलपहल र पर्यटकको घुइँचोले …. । अब के गर्न बाँकी छ र ? जस्तो अनुभूति भयो मलाई …. ।
याद आयो कक्षा ९ मा पढ्दा अङ्ग्रेजी शिक्षकले “रोम शहर एकै दिनमा बनेको हैन” भन्ने उक्तिको विश्लेषण गरेको अभिव्यक्ति ? धन्य छन् मेरा गुरु तिनले यो दरबार देखेर त्यो वर्णन गर्न पाएका भए कति गर्थे होलान् ? लेखेकै भरमा पढेर जे जति भन्नुभयो त्योभन्दा कमी त कहिँ कतै पनि देख्न परेन आज मैले …. । रोमको कलाकृतिको चकचकी, घर र पानीको एकाकार मिलन देख्दा मान्छेलाई पानीसँग कस्तो डर नलागेको होला – पानी मैत्री वातावरण कति राम्रो गरी फष्टाएको हो भन्ने अनुभूति गरे मैले …. ।
पहिलो दिन
कार्यक्रम र योजना अनुसार क्लाउडी निवासबाट ट्राम चढेर यात्रा समुद्रको खोजीमा हिंड्यो …. । ट्रामले हामीलाई पर्यटकको केन्द्र भेनिसको सामुन्द्रिक किनारमा लगेर छाडिदियो – टिकट लिएर पुल तरेपछि हामीले अब साना–साना ढुङ्गा बिच्छाएका भित्री गल्ली र पानीको नहर भित्र–भित्रैका भित्री बाटो र प्रत्येक ‘कलाकृत’ घरहरूका भित्री भागहरू जो बाहिरबाट देखिन्छन् तिनीहरूको अवलोकनमा नै दिन बितायौं । कुन सामानको कति मूल्य, भन्ने बुझ्ने पनि प्रयास गरियो । धेरैजसो समुद्रका वरिपरिका भित्रीभागहरूको अवलोकन नै पहिलो दिनको हाम्रो दिनचर्या रह्यो – भोग लाग्यो खाने, थकाइ लाग्यो रेष्टुरामा बस्ने अनि विदेशी पर्यटकहरूको चाल ढाल हेर्ने, चहलपहल हेर्ने – आहा ! ओहो ! क्या सुन्दर ! कति रमाइलो ! कति मज्जा ! भन्दै बोल्दै सकिएको थियो त्यो दिन – मुश्किलले तीन किलोमिटर घुमियो होला समुद्रको किनारै किनार फनफनी कति फोटो खिचिए होलान् ? हाम्रो लागि यहाँको हरपक्षले एक नयाँ जीवन सुरुवात हुन्छ । यो जीवनसँग भेट्नकोे लागि आउनुस् र खुशी खुशी अगाडि बढ्नु्स् भन्ने सन्देश दिइरहेको जस्तो लाग्दथ्यो ।
प्रसन्नताकै लागि आएजस्तो लाग्यो । निराशाको अन्त्य र तेजवान् सूर्यरूपी आशा कुदिरहे जस्तो लाग्यो हामीलाई …. यस क्षणले …. । हामीलाई प्रेरण दिइरहेको थियो – त्यस दिनले तपाईं स्वयं साहस हो, स्वयं तपाईं शक्ति पनि हो । अभाव र असफलता तपाईंले नजान्दा कमाएको दुर्गुण हो । तपाईको जीवन प्रसन्नता, शान्ति र उत्साहको लागि हो, दु:ख र निराशाको लागि होइन भन्ने सन्देश दिइरहेको थियो …. समुद्रको किनारको शहरले …. । भेनिसका बासिन्दाहरूले …. । तिमी छौ र पो हामी छौं भनेर सामान बेच्ने पसले, खाना पस्कने वेटर सबैले एकै भाका भाषामा भनिरहे जस्तो लाग्यो । जब म समुद्रतिर फर्कन्थँे – पानी घरको जगभरी बगिरहेका झन्डै–झन्डै पहिलो तलाको आधा भाग बाहिर पानी नै पानी छ तर भित्र भने मान्छेको त्यस्तो रजाइँ छ …. लाग्छ यहाँ केही छैन – एउटा निश्चल, निर्मल, सुन्दर सामग्रीले भरिएको राम्रा घर …. । विचित्र नै सही पहिचान …. । ढुङ्गा र पानीको कस्तो सम्बन्ध बुझ्नै गाह्रो ? ढुङ्गाले पानी रोकेको छ – पानीले ढुङ्गा बोकेको छ …. यस्तै–यस्तै ढुङ्गे कलाकृति–पानीको छाल गन्डालोको फूर्ति ओहो ! मेरो देशको नेवारी लोकगीतको सम्झना गरायो राजामति कुमति …. ।
दोस्रो दिन
पहिलो दिनको घुमाइले दोस्रो दिनको संघारमा नपुग्दै भारतीय कवि कृष्णमोहन झाले लेखेको कविताको एक टुक्राले सम्झना गरायो – यहाँको के लैजाऊ म भनेर घोत्लिन थालेँ । त्यो कवितासँगै समुद्रको डुङ्गामा चढेपछि …. नितान्त म एक्लै पनि त हैन …. ?
लग्ने हुँ म पनि आफूसँग
कलमको टुप्पो जति घाम
आँखामा अडिन सक्ने जति पानी
नङमा अटाउन सक्ने जति माटो र
हत्केलामा भरिन सक्ने जति आकाश
नत्र भने मसँग के नै बाँकी रहने छ र
जसको प्रमाणमा
अर्को संसारले मलाई सन्तति भनोस् ।
अनेक सम्झनामा सामुद्रिक जहाजमा शयर गर्दै छु – करिब दुई घण्टाको एकोहोरा यात्रामा, सफा पानी छचल्किरहेछ – आ–आफ्नै किसिमको प्राकृतिक दृश्यहरूलाई क्यामरामा कैद गर्दैछन् । अनि दूर दराजको सानो शहर जो रेष्टुराँ र पर्यटकीय सामानले भरिएका सफा हरिया पहेंला रङ्गहरूले भरिएका घर होटलहरू …. छन् टक्क अडियो …. हाम्रो जहाज हेरे यता पनि पानी उता पनि पानी बीचमा पनि …. । जब घरवरपरको बाटोमा घुम्छु । कतै पानी छ भन्ने आभाष पनि हुँदैन जब बाहिर निस्कन्छु – बीचमा पनि पानीकै नहर – कस्तो राम्रो …. शहर …. बुरानो नम्बर – १ …. ।
कुनै विकल्प देख्दिन बुरानोको यदि जहाज डुङ्गाहरू नआइदिने हो भने त्यसको भविष्य लगभग शून्य छ । सम्पत्ति, धन, शोख मोजमजा जे छ …. त्यही समुद्र पनि, अनि पानी बीचको सानो ब्यापार …. सफा बजार । दिने खाने मात्र पर्यटक र पर्यटन व्यवसायी …. । हामी साह्रै रमायौं …. । शान्त मन लिएर एकछिन घुम्यौं ? घुम्न त कति दूरी छ । पन्ध्र मिनेट हिंड्दा सबै घुमिन्छ …. । पैदल हिँडेर …. अनि दुई, चारवटा पसल छिर्यौं पर्यटकीय सामान हेर्न …. अनि तातो कफी खाएर बाक्लो पर्यटकहरूको आगमनलाई हेर्दै, बस्दै, तस्बीर खिच्दै, अलमलियौं केही क्षण हामी …. । मनले भो भनेको थिएन तर पनि समयले अब जा भनिसकेको थियो – फर्कने क्रम रह्यो चढ्यौं उही पानी जहाज …. । समुद्रै–समुद्र …. अलि–अलि …. पर समुद्र भित्र नै घरहरू देखिन्छन् । पानीभन्दा बाहिर मात्र १० इन्चदेखि २ फिट ३ फिट बढीमा ५ फिटसम्म अग्लो कुदेको ढुङ्गाको उचाइ दिएर बनाइएको छ । त्यही छन् चिटिक्क सुन्दर आकर्षक घर बजार । धन्य छ – बुरानो नं. १ दिएको त्यो शहरको नाम …. । धेरै सुनें कथा कयौं रातै बिताउँछन् पर्यटक हुने खाने – प्रेमी प्रमिकाले …. । यी सबै अवलोकन पछि रम्दै रमाउँदै साँझको झिलिमिली बत्तीको आकर्षण हेर्दै – ढुङ्गाको र पानीको साइनोलाई एकाकार गर्दै – फर्केको थियो दोस्रो दिनको हाम्रो यात्रा …. ।
तेस्रो दिन
हामीले समुद्र भन्दा करिब दश किलोमिटर टाढाको शहर बजार जो हामी बसेको थियौं हो त्यही शहरको बीच भाग – अनि सपिङ सेन्टर र वरिपरिका बजार चोकहरू अवलोकन गर्यांै करिब ३ घण्टापछि फेरि किन मान्थ्यो र मन, बजार घुम्न । त्यस्तो बजार त जताततै युरोपतिर भेटिन्छ देखिन्छ नै …. ? अनि हामी गन्तव्य उही मनपरेको ठाउँ भेनिसको केन्द्र मान्छेको मन र मुटु साट्न सफल सामुद्रिक किनारामा पुग्यो …. चढ्यौं जहाज र अनि जहाँ समुन्द छ त्यहीँ गएर समुन्द्रको किनारामा सामुद्रिक बालुवासँगै लडीबढी गर्ने पौडी, खेल्ने समुद्रको पानीमा डुब्ने र समुन्द्रकै किनारामा बाँकी त्यस दिनको समयलाई सक्ने निर्णय गर्यौं – नभन्दै रोमाञ्चक वातावरणमा अन्य पर्यटक झैं हामी पनि तन्ना ओछ्याएरै भए पनि समुद्रको किनार बस्यौं उफ््रयौं, नाच्यौं र समुद्रलाई साक्षी राखेर नारियल पानी पनि खायौं, बेलुकाको खाजा नास्ता पनि खायौं – मन तृप्त भयो समुन्द्रबाट चिसो हावाको सिरौटो चल्न थालेपछि हामी फर्कियौं उही जहाजतिर …. जहाज त चढियो …. कता लग्यो कता …. यति टाढा लग्यो …. दुई घण्टा भइसक्यो हामीले हामी आएको गन्तव्य पहिचान गर्न सकेनौं ? भाषा पनि बुझेनौं, हामीसँग गाइड पनि छैन – क्या मजा …. घुम्न आएकै हो जता लगे पनि के फरक पर्छ र ? रमाइलो भएकै छ त पापा किन डर …. हामी त यसै हराएका छौं नि ? हामी बसेको पनि हाम्रो घर होइन ।
त्यो पनि क्लाउडीको घर हो ! यो जहाज पनि कसैको होला ? हामी कहीँ छौं भने इटलीको भेनिसमै छौं ? हराए पनि मजा नै हुन्छ भनेर छोरी कृपाले कुनै टेन्सन नलिई फटाफट भन्दै गई – वास्तवमा जहाज नै हराए जस्तो …. उसले आफ्नो बाटो बिर्से जस्तो लाग्यो । यात्रुहरूको मन एक तमाशको भएको मैले अनुभूति गरें तर घण्टौं लगाएर घुम्दै–घुम्दै बल्ल–बल्ल जहाजलाई आफ्नो ठाउँमा ल्याए जस्तो लाग्यो – आफूलाई पनि कता अघि गएको बाटो चिने जस्तो अनुभूति लाग्यो । यही – हेराइमा मैले भेनिसको यात्राको तेस्रो दिन बिताएको थिएँ – क्लाउडीले आफ्नो कारबाटै हामीले भोलिपल्ट बिहान मिलान जाने दुईतले बसमा राखिदिए – यात्राले हाम्रो गति लियो – साँचो अर्थमा भन्दा मलाई क्लाउडीप्रति, उनको व्यवहारप्रति, अपरिचितलाई पनि परिचित जत्तिकै गर्ने छोटो समयमा धेरै घूलमिल गर्ने इटालिएन नागरिक रहेछन् – उनलाई हेर्दा मलाई लाग्यो – कुनै व्यक्तिको जीवनको गुणस्तर उत्कृष्टताप्रति उसको निष्ठाको सोझो अनुपातमा हुँदो रहेछ – उसले जुनसुकै काम पनि किन नरोजेको होस् । काम ठूलो सानो हुँदैन भन्ने कुरा क्लाउडीबाट अनुभूति गरेँ …. र मेरो यात्रा अघि बढ्यो …. बाइबाइ भेनिस भन्दै सन्ध्या पहाडीका यी पङ्क्तिलाई समर्पण गर्न मन लाग्यो ….
किन तिम्रो सम्झनाले आगो जस्तै पोल्छ मलाई
बाँचे पनि वर्तमानमा अतीतमै घोल्छ मलाई
उधारकी हुँ मैले नै हाम्रो सम्बन्धको धागोलाई
तर किन नशाजस्तै सधैं लाग्छ छोड्छ मलाई ।।