के तिमी महसुस गर्न सक्छौ ?
यी रातहरूको सन्नटाबीच पनि म त्यसै त्यसै मुस्कुराई रहेकी छु
खई किन र के का लागि
केही मादकता ?
तिम्रो यादले रङ्गिएको यो एक्लोपन ?
यी आँखाहरूमा तिम्रो झल्को ?
तर-
यो मुस्कानको साक्षी बस्न तिमी छैनौं
सन्नाटा छाएको यो एकान्त मधुर र सिर सिर बतास चलिरहेको रातमा
सम्झनाले छटपटिएको मेरो ढुकढुकी
मैले मात्रै महसुस गरिरहेछु र जीवनभर गरिरहने छु ।
तर एउटा कुरा भनौँ है
निकै तातो मादकताको साथ
म यस बखत चियर्स गरिरहेछु आफ्नै आवेगहरूसँग
यस्तो पनि हुन्छ र –
कसैलाई थाहै नपाई मन पराउनुमा ??
त्यो दिन –
तिम्रै नजर छलेर मैले तिमीलाई हेरेको थिए शिरदेखि पाउसम्म
र
लजाएकी थिए आफैसँग ।
सुन,
तिमीलाई मन पराउनुको दुःखबाट आजित भैसकेको छु
म –
मेरो संवेदनालाई मार्न चाहन्छु किचिमिची बनाएर
यो रातको सन्नाटासँगै
तिम्रो मधुर आवाजलाई सम्झिएर मैले चियर्स गरिदिए
केही मेरा एक्लोपन
यो खाली भैसकेको हुईस्कीको बोतल र मेरा आवेगहरू
के यो एक एक अमर प्रेमको महसुस हो ?