भर्खर कामबाट थाकेर वासस्थान फर्किएकी थिइन् नीता । हातको व्यागलाई एकातिर राखिदिइन् । फ्रीजबाट पानीको बोतल निकालेर गिलासमा खन्याइन् र त्यो गिलास लिएर सोफामा बस्दै पिउन मात्र के लागेकी थिइन् मोबाइल बज्यो । आजभोलि यतिबेर कसैले मोबाइलमार्फत् सम्झिन छोडेको थियो । यतिबेरको फोन अमेरिकाबासीहरूकोे आउँदैन भन्ने उनलाई थाहा छ । ‘पक्कै पनि नेपालबाट आएको हो ।’ मनले साउती मार्यो । मोबाइल पकेटबाट निकालेर हेरिन् ।
“हलो !” मात्र के भनेकी थिइन् ।“नीता… मीनराज रहेन… त्यही खबर गरुँ भनेर कल गरेको ।” उताबाट जेठाजु मणिराजको भनाइ थियो ।
उनलाई आफ्नो हातखुट्टा गलेको भान भयो । त्यसो त भन्नेहरूले आफूलाई ‘स्ट्रङ्ग’ अथवा ‘आइरन लेडी’ भन्ने गरेको पनि नसम्झिएकी होइनन् ।
“कहिले ?” उनको प्रश्नको उत्तरमा मणिराजले भने–“राती सुतेकै ठाउँमा गएछ । विहान चिया पिउनेबेलासम्म पनि नआएपछि बोलाउन जाँदा थाहा भयो ।” उता रुवाबासी भइरहेको स्पष्ट सुनिरहेकी थिइन् । हिन्दू मान्यता अनुरुप मृत्यु संस्कार अवलम्बन गरिंदैछ भन्ने भान भइरहेको छ उनलाई । अब उनी यस संस्कार भन्दा अलग भइसकेको मान्छिन् आफूलाई ।
दशौं वर्ष भइसकेको थियो उनले नेपाल छाडेको । लोग्ने र घर परिवारका अन्य सदस्यहरूले रातदिन अपहेलना गरेपछि अमेरिकासम्म पुग्ने जोरजाम मिलाइदिने मणिराज नै थिए । बीसौं शताब्दीमा पनि आफूले खेप्नु परेको मानसिक र शारीरिक प्रताडना सम्झिइन् उनले । उनका आँखा रसाए । सम्झिइन् दश वर्ष अगाडिसम्म आफूले जीवनसाथी भनेर स्वीकार गरेको मान्छेलाई । आफूले एकतर्फी माया गरेको मान्छेलाई । जीवनका अनेक पलहरू सँगै बिताउन कल्पना गरेको मान्छेलाई ।
“म आउनुपर्छ ?” स्थीर स्वरमा उनले कर्तव्य निर्वाह गरेको ठानिन् ।
“के भन्छे ?” ससुराको बोली थियो ।
“पर्दैन… उतै बस । बेकारमा दु:ख बेहोर्न आउनुपर्दैन ।” मणिराजले यसो भनिदियो ।
“बोलाउनु पथ्र्यो … क्रियामा बस्नु पर्दैन ? सँगै नबसे पनि स्वास्नी त हो नि ? कि कसो गुरु ?”
“हो हो बोलाउनु … बरु काम सकेर फर्किदा भइहाल्छ नि !” पण्डितले भनेको सुनिन् उनले । त्यसभन्दा अगाडि सुन्न पाइनन् । मणिराजले फोन काटिसकेका थिए ।
मनमा द्विविधा छाल बन्दै गयो ‘बा जानुपर्ने हो कि ? नजाँदा के फरक पर्छ ? उसको र मेरो बीचमा सम्बन्ध के छ र जानु ? त्यहाँ आफ्नो को पो छ र ? अलिकति दाजुको रूपमा माया गर्ने भनेको मणिदाइ नै हुन् … । त्यै पनि….’ उनलाई आफू अमेरिकावासी भए पनि हिन्दू संस्कारबाट पूर्ण रुपमा अलग्गिन नसकेको अनुभूत हुँदै गएको छ । फेरि फोन सम्पर्क गर्न साहस जुटेन । गिलासको पानी एकैसासमा सिध्याइन् । त्यसपछि आफ्नो ओछ्यानमा आफूलाई हुत्याइन् । रात निकै गहिरिंदै छ । ‘अहिले उता मध्य दिन हुनुपर्छ ।’ मनले साउती गरेको छ । केहीबेर पछि मोबाइल पुन: बज्यो । डराउँदै हेरिन् । मणिराजकै फोन थियो । ‘अब के हुने हो ?’ तर्कना आकाशिन खोज्यो । यतिबेर उनलाई प्रज्ञा काकीको खुब याद आइरहेको छ । उनले भनेका एकएक शब्दहरूको सम्झना भइरहेको छ ।
‘हलो ।’ थर्थराएको हातले मोवाइल अन गर्नेबित्तिकै मणिराजदाइकी श्रीमती कल्पनाको बोली फुट्यो ।
“नीता समाचार त तिमीले सुनिहाल्यौ तर यहाँ आउने काम चैं नगर्नु है ।” उनले सतर्क गराइन् ।
“तिमीलाई कसैले कर गर्लान् तर वास्ता नगर्नु …. भन्ने आशय हो दिदीको ।” मणिराजले भने ।
उनी मौन थिइन् । सुनिरहिन् मात्र । उनलाई थाहा छ सम्बन्ध विच्छेद नहुञ्जेलसम्म अंश दावी गर्न पाउने कुरा । तर लोभ नै उनलाई कहिले लागेको थियो र ? बा अंश बाँड्नु पर्ला कि भन्ने डरले पो यसो भनेका हुन् कि ? पापी मनले सोचिहाल्यो । भए पनि के र ? पहिले पनि छोडेकै हो अहिले पनि आश छैन । यदि आश भएको भए त्यहीं कुँजिएर बस्ने थिएँ । यहाँ भविष्य निर्माणका लागि सङ्घर्ष गर्ने थिइन् । अन्तर्आत्माले आश्वस्त पार्न खोज्यो । आज निन्द्रा पराइ बनेको छ ।
धेरैबेर कल्पिएपछि म जान्न भन्ने निर्णय गरिन् । प्यारो थियो त्यो देश जहाँ मलाई जन्म दिने बाउआमा थिए जो अब छैनन्, आफन्त जो कहिले आफ्ना थिएनन् । फेरि पनि उनलाई प्रज्ञा काकीलाई सम्झिन् । वेदना खेपिरहेका ती दिनहरूमा अमेरिकाबाट स्वदेश फिरेका काकाकाकीसँग भेट भएको थियो । सधैंका लागि आएका भन्थे उनीहरू ।
“अमेरिका राम्रो छैन काकी ?” मायालु स्वभावकी काकी उनलाई झनै माया गर्थिन् । धक फुकेको हुनाले सोधिन् –“यताको भन्दा कता हो कता राम्रो छ नि … धुलो धुवाँ कतै देखिंदैन … सबै गरिखाने मात्र छन् … ठूलो र सानो काम भन्ने पनि छैन ।”
“त्यसो भए किन फर्किनु भएको त तपाईंहरू ?”
“मलार्ई त फर्किनै मन थिएन तर काकालाई मन न लागेपछि फर्किनैै पर्यो ।”
“हो यिनलाई त उतै रमाइलो थियो । म पो टिक्न सकिनँ ।” काका समर्थन गर्दै कोठाबाट बाहिरिए ।
“बुढालाई होमसिक्नेस होला भन्ने पीरले फर्किएँ । कति राम्रो काम पाएकी थिएँ । छोड्नु पर्यो । हाम्रो त संस्कारै नराम्रो । आइमाइमान्छेको इच्छाको कुनै कदर नहुने । उता त सवै बराबर । लोग्नेमान्छे र आइमाइमान्छेमा कुनै भेद्भाव छैन ।”
“अनि विदेशी भनेर कत्तिको हेप्छन् काकी ?” उनको जिज्ञाशा व्यक्त भयो ।
“के को हेप्नु ? कामको मूल्य हुन्छ । त्यत्ति हो । सबैभन्दा राम्रो कुरा भनेकै यहाँको जस्तो महिलाले कुनै पनि सामाजिक अन्याय सहनु पर्दैन । न परम्परा न संस्कार केही पनि । त्यही चैं मलाई राम्रो लाग्यो । स्वर्ग भनेको कहाँ छ ? कस्तो होला ? छ वा छैन भनेर कल्पिरहन्थें । त्यहाँ पो रैछ नीतु । अझ हाम्रो उमेरकाले भन्दा पनि भरखरकाले त यहाँ नबस्नु….।” ‘काकी आइमाइमान्छे भएकै कारणले स्वतन्त्रता खोज्नुभएको रहेछ ।’ भन्ने लाग्यो उनलाई ।
रातभरी यस्ता अनेक सन्दर्भहरूबाट विथोलिइरहीन् नीता । मनमा सञ्चो छैन । साग र सिस्नु खाएको बेश आनन्दी मनले मुनामार्फत् महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको हिजोसम्म ठीक लाग्थ्यो उनलाई तर अहिले भने उनको मनले आइमाई मान्छेको देश कहाँ छ ? ऊ त निमित्त नायिका मात्र हो हलपल पलपल भन्ने लाग्न थालेको छ । “मैले छोडेको देश मैले हिजोसम्म तिमी मेरो हौ भन्ने ठानेको थिएँ तर आज आइमाईको देश भनेको जहाँ खुशी छ जहाँ स्वतन्त्रता छ र जहाँ स्वाभिमानको वर्चस्व हुनसक्छ त्यही मेरो देश हो भन्ने कुरामा निश्चित भएको छु । तिमीले आफ्नो ऊर्जा सम्हाल्न सकेनौ । सकिरहेको छैनौं । तिमी त पुरुषको मात्र देश रहेछौ ।” भनेर छाडेको देशलाई अलबिदा भनिन् । मनमा शान्ति छाएको छ ।