लघुकथाका दस वटा कृति एकैसाथ सार्वजनिक भएको छ । लघुकथा समाजद्वारा आयोजित कार्यक्रममा अशेष मल्ल, निनू चापागाईं लगायतका स्रष्टाहरूले उक्त कृतिहरूको सामूहिक रूपमा विमोचन गरे ।
कार्यक्रममा विश्वराज अधिकारीको ‘पिरको आवाज’, रञ्जुश्री पराजुलीको ‘जिउँदो सतीप्रथा’, खेमराज पोखरेलको ‘श्रीवल्ली’, कुमुदप्रसाद शर्मा प्याकुरेलको ‘छप्पन भोग’, ललिता दोषीको ‘महान् कविज्यू’, किशन पौडेलको ‘खुशी’, मनीषकुमार शर्मा ‘समित’को हराएको सहर’, म्यामराज राईको ‘हाम्रो बाटो’, गायत्रीकुमार चापागाईँको ‘गाईजात्रा’र खेमराज पोखरेलको सम्पादनमा प्रकाशित संयुक्त लघुकथा संग्रह ‘संयोग’ एकसाथ सार्वजनिक भएको हो ।
विमोचन कार्यक्रममा साहित्यकार अशेष मल्लले लघुकथा संक्षेपमा सम्पूर्ण हुने भएकोले लघुकथा लेखन आफैमा गहन कार्य भएको बताए ।
साहित्यकार निनू चापागाईले लघुकथा लेखनमा गति आएकोमा खुसी व्यक्त गर्दै आलेखमा गुणात्मकतालाई पनि ध्यान दिन लघुकथा सर्जकहरूसँग आग्रह गरे । कार्यक्रममा प्रकाशित कृतिहरूमाथि प्रा.डा. कुमार कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, गोपाल अश्क तथा डा. पुष्करराज भट्टले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा श्री ओम श्रेष्ठ रोदन, खेमराज पोखरेल र तुलसीहरि कोइरालाले समेत बोलेका थिए ।