काठमाडौँको पुरानो बस्ती मध्येको एक हो पाटन । यहाँको महत्त्वपूर्ण पर्व ‘नेकु जात्रा मतया पर्व’ आज बिहान सुरु भएको छ । गाईजात्राको भोलिपल्ट मनाइने मतया: यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रही आएको छ ।
विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘गुँला’ (प्राय: श्रावण महिनाको दोस्रो हप्ताबाट सुरु हुने पर्व)को सुरुवातसँगै पाटनका मानिसहरू मतया: लाई स्वागत गर्न केही रात बाजागाजा सहित सहरको परिक्रमा गर्दछन् ।
यो दीपांकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ । यस पर्वमा मत्या परेड र नौ बाजा दुई प्रमुख मानिन्छ ! पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मत्या परेडमा हजारौँ भक्तजन सहभागी हुन्छन्! नौ बाजाले पाटनका विभिन्न इलाकाको परिक्रमा गर्छ । नेकु, धा बाजा र तीन द मोखीको साथमा आफ्नो चर्को सङ्गीतले सबैलाई जागृत गर्छ ।
नेकु जात्रा–मत्या नेवारी शब्द नेकु भन्नाले ‘भैँसीको सिङ’, जात्रा भनेको ‘चाड’, मत भनेको ‘बत्ती’ र ‘यात्रा’ भन्नाले पवित्र ‘यात्रा’ बुझिन्छ । नेकु जात्रालाई शृंगाभेरी जात्रा पनि भनिन्छ! यस चाडको सबैभन्दा महत्त्वपूर्ण विशेषता गल्ली, बहा (आँगन) र बाटोको हरेक कुनामा नेकु अर्थात् सिङ फुक्नु हो । नौ बाजाको साथ सिङ बजाइन्छ ।
नौ बाजाको प्रदर्शन पहिलो पटक जनपूर्णिमाको अघिल्लो रात कुम्भेश्वर (बगलामुखी) शिवको मन्दिरमा हुन्छ । मन्दिरको आँगनभित्र पोखरीको बिचमा उठेको भागमा महादेवको मूर्ति राखिन्छ । नौ बाजाको समूहले भगवान् शिवलाई अर्पण गर्दै भैँसीको सिङसहित भव्य प्रस्तुति दिन्छ । त्यसपछि पाटन दरबार स्क्वायरमा दोस्रो, बुङमती मन्दिरमा तेस्रो र स्वयम्भूनाथ मन्दिरमा चौथो प्रस्तुति हुनेछ । नौ बाजा समूहमा १६ वटा बाजाहरू हुन्छन् । के हुन्छ मतया: को दिन?
मतया यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नु पर्ने हुन्छ । यात्रा विहान सबेरै सुरु हुन्छ र विशेष पुजारीले यात्राको नेतृत्व गर्ने गर्दछन् ।
यात्राको क्रममा भक्तजनहरूले आफ्नो गच्छे अनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरू मध्ये कसैले परम्परागत बाजा बजाउँछन् भने कसैले मैन बत्ती समाएर हिँड्छन् । अरूहरू चाहिँ राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् ।
तस्बिरहरु : अजरमान जोशीको फेसबुक पेजवाट