संस्कृतिको परिभाषा वा धारणाहरू जम्मा गर्ने हो भने झन्डै दुई सय पुग्ला । सबैको निचोडजस्तै गरी एक जना विद्वान्ले भनेका छन् – संस्कृति त्यो समग्र वस्तु हो जसमा अनुभव, विश्वास, कला, नैतिकता, कानुन, परम्परा र अरू कुनै पनि क्षमता र व्यवहार, जो मानवले समाजको एक सदस्यको हैसियतले प्राप्त गरेका छन्, सबै पर्दछन् । वातावरणसित जोडेर संस्कृतिको परिभाषा खोज्ने हो भने मनुष्यनिर्मित वातावरणको रूपमा लिनुपर्ने हुन्छ । संस्कृतिकै आधारमा मानवलाई सभ्य वा जङ्गली भनी छुट्याउने गरिन्छ । त्यसैले संस्कृति हाल मानव–सभ्यताको पर्याय बनेको छ । संस्कृति सार्वभौमिक, स्थायी, परिवर्तनशील र मानव–जीवन वा सभ्यताको पूर्णताको निर्धारणकर्ता पनि हो । त्यसैले संस्कृतिलाई सीमावद्ध गर्न सकिँदैन र यो सर्वव्यापी छ ।
१.२. संस्कृतिको उत्पत्ति र विकास
मानवको उत्पत्ति (आजभन्दा ४०–३० लाख वर्षअघि) देखि संस्कृतिको पनि उत्पत्ति भएको हो । यसअघि रामनरवानरको समय (१.४–०.८ करोड वर्षअघि) मा काठ र चट्टान–संस्कृति र दक्षिणी नरवानरको समय (८०–६० — ४०–३० लाख वर्षअघिसम्म) मा हाडेसंस्कृति र मानवको समयमा ढुङ्गेसंस्कृति रहेको प्रमाण पाइएको छ । मानवले आफ्नै हातले ढुङ्गाको हतियार उत्पादन गरेको समय २५–२६ लाख वर्षअघि हो र यसअघि नदीमा पाइने धारिला प्राकृतिक ढुङ्गालाई नै हतियारका रूपमा प्रयोग गरेका हुन् । सबैभन्दा पहिले १८७७ ई.मा अमेरिकी समाजशास्त्री ी।ज्। ःयचनबल ले मानव–सभ्यता र संस्कृतिलाई जङ्गली, अर्द्धजङ्गली र सभ्य भनी वर्गीकरण गरेका थिए । यसको आधारमा श्रम र सभ्यताको अध्ययन गरी भौतिकवादी चिन्तक मार्क्स र एङ्गेल्सले समाज विकासक्रमको ऐतिहासिक भौतिकवादी सिद्धान्त अघि सारेका हुन् । तर प्राग्ऐतिहासिक वेत्ताहरूले मानव–सभ्यतालाई प्राप्त हतियारको प्रकृति एवं भौगर्भिक विकासको समेत आधार लिई प्राचीन ढुङ्गेयुग (मानवको उत्पत्तिदेखि ५०–४० हजार वर्षअघि), मध्ययुग (५०–४० देखि १२ हजार वर्षअघिसम्म) र नयाँ ढुङ्गायुग त्यसपछि करिब ४ हजार वर्षअघिसम्म कायम रहेको मानिन्छ । त्यसपछि करिब ४ हजार वर्ष आदि–इतिहास वा पौराणिक संस्कृतिको युग रहेको छ ।
आजभन्दा ४ हजार वर्षअघिदेखि करिब ३ हजार वर्षसम्म दासव्यवस्था समाजकालीन संस्कृति र त्यसपछि १८–१९ शताब्दीसम्म सामन्ती संस्कृति र त्यसपछि हालसम्म आधुनिक पूँजीवादी संस्कृति कायम रहेको मानिन्छ । तर देश वा स्थानको आधारमा ऐतिहासिक समाज वा सांस्कृतिक विकासक्रमको समय केही तलमाथि वा कारक रहेको पनि पाइन्छ ।
१.३ प्रागैतिहासिक जनजीवन
तत्कालीन मानवको जनसङ्ख्या, आवास, प्राकृतिक स्रोत, प्रविधि, स्रोतको उपयोग, आहार, हतियार, शिक्षा, स्वास्थ्य, समुदाय वा समाज तत्कालीन वातावरणअनुसार रहेको थियो । पृथ्वीमा पूर्वहिमयुग, हिमयुग (१० लाख वर्षअघिदेखि यता), हिमात्युत्तरयुग (१२ हजार वर्षअघिदेखि यता) अनुसार प्राकृतिक वातावरण थियो । परिवर्तित वातावरणमा अभ्यस्त हुन मानवले सङ्घर्ष गर्दै सम्पूर्ण संस्कृतिलाई पनि विकसित पार्दै आएका छन् । जो परिवर्तनसित अभ्यस्त हुन सके, ती निरन्तर कायम रहे र जसले सकेनन् ती विलीन भएर गए । भूगर्भविद् र प्रागैतिहासिक विद्हरूद्वारा गरिएका अध्ययन र अनुसन्धानबाट नै मानव–सभ्यता र संस्कृति एवं वातावरणीय विकासक्रमबारे थाहा पाउन सकिएको हो ।
१.४ प्रागैतिहासिक नेपाली संस्कृति
हालसम्मको अध्ययनमा नेपालको प्रथम संस्कृति कम्तीमा ५ लाख वर्षअघिको पश्चिम बर्दियाको मानव–संस्कृति हो । त्यसपछि करिब २ लाख वर्षअघिको नवलपरासी, कास्की, दाङ–देउखुरी र सुर्खेतको प्राचीन ढुङ्गेयुगको संस्कृति हो । त्यसपछि मध्यढुङ्गेयुगको संस्कृति काठमाडौंको बूढानीलकण्ठको ३२ हजार वर्षअघिको संस्कृति हो । यस्तो संस्कृति दाङ–देउखुरी र सुर्खेतमा पाइएको छ । यही कालमा काठमाडौंमा युरोपेली र मङ्गोल संस्कृतिको अवशेष पाइएको छ । नयाँ ढुङ्गेयुगको संस्कृतिका अवशेष पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दाङसम्ममा, उत्तरमा दोलखा–मुस्ताङदेखि लुम्बिनी र झापासम्म पाइएको छ । पशुपालन, कृषि जस्ता नयाँ व्यवसायको युग उपत्यका भेगमा पाइएको छ र धातुको संस्कृति उत्तरी पहाड र उपत्यकामा पाइएको छ ।
भौगर्भिक विकासक्रमको आधारमा यहाँ पाइने परिवर्तित वातावरणअनुसार नै सभ्यता र संस्कृति पनि परिवर्तन भएको देखिन्छ । नेपाल अवस्थित रहेको स्थानको निर्माण आजभन्दा ५७ करोड वर्षभन्दा अघिदेखि भएको हो । हालको भूभाग यहाँ तात्कालिक समयमा रहेको टेथिस (प्राचीन भूमध्यसागर) सागरको सतहमाथि आजभन्दा ६.५ करोड वर्षअघि हिमालय, ३.५ करोड वर्षअघि महाभारत तथा मध्यपहाड र २ करोड वर्षअघिदेखि तराई एवं चुरे मैदान देखिन थालेको हो । यो भूभागको निर्माण फ्रक्रिया वा चुलिने त्रम अझै जारी रहेको छ । १.२ करोड वर्षअघि सगरमाथाको उचाइ करिब १ हजार मिटर मात्र अग्लो थियो र हिमालयको तापक्रम १० डिग्री सेल्सियस थियो । करिब १० लाख वर्षअघिदेखि हिमालय एवं अन्य पहाडको चुलिने क्रम अत्यन्त तीव्र रूपमा बढेको मानिन्छ । परिवर्तित भौगोलिक वातावरणले त्यहाँ रहेका मानव एवं पशुको आकृति, आहार, स्वास्थ्य, श्रम, उत्पादन, शिक्षा, नियम सबैमा परिवर्तन हुँदै गरेको पाइएको छ । हालको शारीरिक, आर्थिक, प्राविधिक, श्रम–उत्पादन र आचार–व्यवहार जो भिन्न जनजातिमा भिन्न अवस्थामा पाइएको छ, बाट परिवर्तित वातावरणको प्रभाव देखिएको छ । यसबाट मानव–सभ्यता र संस्कृति वातावरणद्वारा सार्वभौमिक रूपले प्रभावित रहेको देखिन्छ ।
२.० नेपाली जनजाति र संस्कृतिका पृष्ठभूमि
२.१. नेपालमा मानव–उद्भवको सम्भावना
वानर र मानवबीचको लुफ्त श्रृङ्खला जीव मानिने रामनरवानर ९च्बबउष्तजभअगक० को अवशेष नेपालमा बुटवलको तिनाउ नदीको दायाँ किनारको एउटा चट्टानमा अश्मीभूत दाँतको रूपमा १९८० ई.मा फेला परेको छ । यसलाई आजभन्दा १.१ करोड वर्षअघिको भनी मानिएको छ । यसैको आधारमा नेपालको सगरमाथाको दक्षिणी भागमा मानवको उद्भव भएको हुन सक्ने अनुमान गरिन थालेको छ । विश्वमा मानवको उद्भवको सम्भावना अफ्रिका एवं युरोपमा पनि भएका हुन सक्ने अनुमान गरेको पाइए पनि दक्षिणी एसियामा अधिक विद्वान्हरूको ध्यान पुगेको पाइएको छ ।
२.२. मानवको प्रजाति भेद
मानवको पुर्खा एउटै हो तापनि पछि स्थानान्तरित हुँदै विश्वका विभिन्न भागमा पुगी भिन्न आकृति, कद, ओठ, कपाल, आँखीभौँ, छालाको रङ्ग, नाकको डाँडी आदिको आधारमा भिन्न प्रजाति देखिएका छन् । मानवको रक्त वर्ग, म्ल्ब् आदिको आधारमा सबैको एउटै जीवनपुर्खा रहेको मानिन्छ । प्रारम्भमा मुख्य प्रजाति भेद हप्सेली, युरोपेली र मङ्गोल मानिन्छ र पछि यी प्रजातिहरूबीच रक्तसम्मिश्रण एवं भिन्न भौगोलिक अवस्थितिमा लामो समयसम्म बसोबास गरेको कारण धेरै भेदमा पनि बाँडेको पाइन्छ । यीमध्ये नेपालमा हप्सेली, अग्नेली (हप्सेलीकै टाढाको हाँगा), पश्चिमी वृत्तमुण्ड (युरोपेली), ड्राबिडेली (हप्सेलीको निकै टाढाको हाँगा), मङ्गोल र आर्य (युरोपेलीकै हाँगा) गरी छ जातिका अवशेष पाइन सक्ने अवधारणा प्रकट गरेको पाइएको छ । यसै आधारमा संस्कृति पनि मूलतः हाल यिनैको अवशेषमा आधारित रहेको पाइएको छ । यी जाति र नेपालमै उद्भव भएका मानवका बीच मात्र होइन, पछि यता खासगरी दक्षिणतिरबाट आएका जनजाति पनि मिल्न गए ।
२.३. संस्कृतिको सम्मिश्रण
हप्सेलीको झिनो अवशेष सतारमा, अग्नेलीको अवशेष मूलतः सुन्दरीजलका एकथरि नेवार (हाल नुवाकोटको शिखरबेसीमा गई बसेका) र त्यसपछि च्यामे–पोडे, केही ज्यापू, टुइँया, राई, लिम्बूमा पनि थोरै पाइन्छ । युरोपेलीको अवशेष पश्चिमका केही अग्ला खस ब्राह्मणमा र ड्राबिडेलीका अवशेष धनुषादेखि सप्तरीसम्म रहेको झाँगड जनजातिमा पाइएको छ । मङ्गोल प्रजातिको अवशेष उत्तरी एवं मध्यपहाडका थुप्रै जनजातिमा पाइन्छ भने आर्यको अवशेष हाल सुनकेशरारानीको दन्त्यकथामा मात्र पाइन्छ । कैयौं जनजातिमा विविध प्रजातिका अवशेष धेरथोर रूपमा पाइन्छ र यसले रक्तसम्मिश्रण भएको प्रमाण मिल्न आउँछ । यस्ता जनजातिमा अनेक किसिमका संस्कृतिको मेल पाइन्छ, जसलाई हाल नेपाली संस्कृति भनी मान्ने गरिन्छ । नेपालमा ३२ हजार वर्षअघि बूढानीलकण्ठमा युरोपेली र मङ्गोल प्रजातिको सम्मिश्रण भएको र प्रामाणिक रूपमा यही पहिलो सम्मिश्रण भएको प्रमाण मानिन्छ । यस्तो सम्मिश्रण मूलतः मध्यपहाड, उपत्यका र सहरी क्षेत्रमा पाइएको छ र सबैभन्दा कम सम्मिश्रण उत्तरमा शेर्पा, जाड, भोटे, केही खस र मध्यपहाडका राई लिम्बू, तामाङ, मगर, थामी, पहरी, माझी, दनुवार, चेपाङ, कुसुन्डा, राउटे, थारू, बोटे, कुम्हाले, दर्रे आदिमा देख्न सकिन्छ । बढी सम्मिश्रण भएका जनजातिहरूमा ब्राह्मण, क्षेत्री, नेवार वा हिन्दूधर्म र संस्कृति मान्नेहरूमा पाइन्छ तर दक्षिणी भेगका हिन्दूसंस्कृतिका अवलम्बीहरूमा भने अपेक्षित रूपमा कम पाइन्छ । अविकसित इलाकामा रहेका र अति पिछडिएका जनजातिमा आफ्नो पूर्व रूप सबैभन्दा बढी देख्न सकिन्छ ।
२.४ प्राचीन संस्कृति रहेको जनजाति
जङ्गली अवशेष बोकेका जनजातिहरूका स्पष्ट उदाहरण पश्चिममा अझै घुमन्ते जङ्गली अवस्थामा रहेका राउटे, गोरखा, धादिङ र मकवानपुर भेगमा पाइने कुसुन्डा जाति रहेका छन् । भर्खरै समाजतिर उन्मुख चेपाङ, झापा तथा मोरङतिरका सतार, मेचे, कोचे, धिमाल, झाँगड, पहरी, थामी, माझी, कुम्हाले, राजी, हर्रे आदिमा अझै प्राचीन संस्कृतिका टड्कारा झझल्काहरू निकै पाइन्छन् । यी जनजातिमा आधुनिकताका छाप निकै कम भएकोले यस्तो स्थिति देखिएको हो ।
२.५ जनजातिमा वातावरणप्रतिको अवधारणा
पिछडिएका र अविकसित जनजातिमा प्रकृति (जङ्गल–पहाड, नदी–नाला, पोखरी आदि) प्रेम बढी पाइन्छ । केवल स्वास्थ्य, बसाइ, रहनसहनमा प्राचीन परम्परालाई छोड्दै गएको कारण यससित सम्बन्धित वातावरणीय जागरणबाट टाढिएका छन् । हिजोको आत्मनिर्भर अर्थतन्त्र र गणचिन्ह (प्राकृतिक पशुपन्छी – नाग, बाघ, गरुड, काग, चितुवा आदि र वनस्पति वर, पीपल, बेल, तुलसी, अह्रारी तथा चोबम काँढा आदि) लाई बिर्संदै गएको कारण प्रकृतिमाथि केही असावधानीले वातावरणीय सन्तुलनमा ध्यान कमै गएको पाइन्छ । तर घुम्ती खेती (अझै मकवानपुरमा रहेको केही जङ्गली वा ओढारका चेपाङ), जङ्गल फडानी गरी रातो बानरको मासु खाने र घुमन्ते जीबन बिताउने राउटे, काठ–दाउरा बेच्ने तामाङ आदिले अज्ञानतावश वातावरण असन्तुलनमा भूमिका खेलिरहेका छन् । आर्थिक विषमताका कारण कैयौं जनजातिले घरगोठ एउटै घरमा राख्ने, पहिलो तल्लामा चुल्हो राख्ने, आँगन र बारीमा घाँस–रुख रोप्ने, तुलसीमठ राख्ने र खोल्सातिर शौच गर्ने परम्परा छाड्ने गर्नाले वातावरणको प्रदूषणमा बाध्यतावश भूमिका खेलिरहेका छन् । यसका अतिरिक्त सांस्कृतिक परम्परा, अन्धविश्वास, अज्ञानताले कतिपय नकारात्मक भूमिका खेलिरहेका छन् । सहर–बजार र उपत्यकामा आधुनिकताको नाउँमा जथाभावी गर्ने, आफ्नो घरआँगनबाहेक वरपर छरछिमेकमा ध्यानै नदिने, व्यक्तिगत सोचाइ र व्यवहार, समुदाय र समाजप्रतिको दायित्वप्रति उपेक्षा गर्नेबाट पनि वातावरणको प्रदूषणमा नजानिँदो पाराले भूमिका खेलिरहेको पाइन्छ ।
३.० भौगोलिक एवं सांस्कृतिक आधारमा
जनजातीय वर्गीकरण
नेपालमा भौगोलिक उचाइ सोअनुरूपको वातावरणको आधारमा प्रादेशिक वर्गीकरण गरिएको छ । मानवको बसोबास र जनजीवन पनि भौगोलिक एवं वातावरणीय आधारमा आकृति, श्रम, उत्पादन, संस्कृति, अर्थ, विधि आदिको भिन्नता पनि रहेको छ । यो भिन्नतालाई पहिल्याउन सकिएन भने समस्याको समाधानको विन्दुमा पुग्न सकिन्न । त्यसैले यहाँ भौगोलिक विभाजन – हिमालय, पहाड र तराई गरी तीन प्रदेशको आधारमा नेपाली जनजाति एवं संस्कृतिको वर्गीकरण गरी छोटकरीमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
३.१ हिमालय प्रदेश
हिमालय प्रदेशमा मङ्गोल मूलका शेर्पा, जाड, भोटे आदि र केही खस पनि रहेका छन् र तिनीहरूको संस्कृति मङ्गोल रहेको छ । सबैभन्दा कम जनसङ्ख्याको चाप रहेको यो प्रदेशमा शीत वातावरण रहेको र आर्थिक स्रोत साह्रै नै कम रहेको छ । यस्ता भेगमा जनसङ्ख्या अशिक्षित छन् र सांस्कृतिक स्थिति सम्मिश्रण भएको देखिन्न । वातावरण–पर्यटकहरूको कारण सगरमाथा क्षेत्र पनि प्रदूषित बन्दै गएको छ र यसले अरू हिमश्रृङ्खलाहरू पनि सन्तुलित वातावरणयुक्त नरहेको हुन सक्ने अवस्था देखिन्छ ।
३.२ पहाडी प्रदेश
पहाडी प्रदेश भन्नाले महाभारत एवं मध्यपहाड पनि पर्दछन् । यहाँ मङ्गोल एवं हिन्दू भनिने भारतीय देखिने जनजाति पनि पर्दछन् । सबैभन्दा बढी जनसङ्ख्याको चाप र सोही अनुपातमा प्राकृतिक स्रोतको अवस्था कम रहेको छ । बढी श्रम गर्नुपर्ने र समशीतोष्ण जलवायु रहेकोले यता केही हट्टाकट्टा शरीरका जनजाति रहेका छन् । हिन्दूसंस्कृति मान्नेमा खस ब्राह्मण, क्षेत्री, नेवार, उत्पीडित जाति रहेका छन् भने मङ्गोल संस्कृति मान्नेमा तामाङ, मगर, थकाली, गुरुङ, थामी, राई लिम्बू आदि रहेका छन् । संस्कृतिको सम्मिश्रण यस्ता भेगमा बढी देखिन्छ यद्यपि जातीय सम्मिश्रण त्यसको दाँजोमा कम देखिन्छ । यही मिश्रित संस्कृतिको अवस्थितिको कारण यस भेगको संस्कृतिलाई नेपाली संस्कृति भन्ने गरेको पाइन्छ । कम रोजगार, कठिन आर्थिक स्थिति आदिको कारण यस भेगबाट भारत, भुटानतिर मात्र होइन देशभित्र तराई क्षेत्रमा आप्रवासन अत्यन्त चर्को देखिएको छ । भिरालो अवस्थाको बढी खेतीयोग्य जमिन, इन्धनको स्रोतको बढी चाप वनजङ्गलमा हुनु, नदीकटानको अधिकता आदिको कारण देशभरमा सबैभन्दा बढी यहीँ भूक्षय देखिएको छ । वातावरणको असन्तुलित अवस्था यहाँ जनसङ्ख्याको बढी चाप, बढी आर्थिक विसङ्गति, अशिक्षा, सांस्कृतिक विसङ्गति, स्वास्थ्य तथा खानेपानीको अत्यन्त कम सुविधा, इन्धनको स्रोत मूल रूपमा दाउरा हुनु अहिले देखिएको छ ।
३.३ तराई प्रदेश
चुरेदेखि दक्षिणको सम्पूर्ण समथल मैदानी भागलाई तराई प्रदेश भन्ने गरिन्छ । जनसङ्ख्याको चाप प्रजननदरले एकातिर यता बृद्धि हुँदै गैरहेको छ भने अर्कोतिर देशको उत्तरी भागबाट र भारतबाट अधिक मात्रामा आप्रवासन सङ्ख्या बढ्दै जाँदा उष्ण वातावरण भए तापनि अत्यन्त उर्बर जङ्गल, खेतीको लागि जमिनको बढ्दो अतिक्रमणले चारकोसे झाडी दन्त्यकथाका रूपमा परिणत हुँदै जाँदो छ । देशको अन्नको भण्डार, यातायातको सुगमता र औद्योगिक विस्तारको कारण आर्थिक भण्डार बनेको तराई हाल विविध जनजाति र संस्कृतिको म्युजियम र सङ्गम थलो बन्दै गएको छ । तर मूलतः यहाँ हिन्दूसंस्कृति मान्ने या राजवंशी, कायस्थ, ब्राह्मण, क्षेत्री, नेवार आदि जनजातिको बोलवाला छ । पहाडबाट झरेका मङ्गोल मूलका जनजाति र संस्कृतिको अलावा मुसलमान, हप्सेली खाले सतार, अग्नेली खाले मेचे, कोचे, हम्पू, वायु, ड्राबिडेली झाँगड आदि जनजाति र संस्कृति पनि यता पाइन्छ ।
३.४ उपत्यका तथा सहर बजार
भौगोलिक दृष्टिले छुट्याउन नसकिए तापनि जनजाति र संस्कृतिको दृष्टिले मध्यपहाडी भागका उपत्यका र अन्य भागका सहर–बजारमा सबैभन्दा बढी विविध जाति र संस्कृतिको सङ्गम बनेको छ । रोजगारको सुगमता र अन्य भौतिक सुविधाको पर्याप्तताले पूर्व–पश्चिम एवं उत्तर–दक्षिण सबैतिरबाट आप्रवासन बढ्दै जनसङ्ख्याको चाप बढ्दै गएको छ । यो अवस्थितिको साथै बढ्दो यातायात साधन, उद्योग, आधुनिक सभ्यताको बढ्दो प्रभावले वातावरणीय स्थिति असन्तुलित बन्दै गएको छ । विविध जनजातिको कारण यहाँ अलग रूपमा विशेष संस्कृतिको छाप कमै मात्र भेटिन्छ र जातीय सम्मिश्रणतासमेतको कारणले मिश्रित संस्कृति बढ्दै गएको छ । यद्यपि यसअघि नेवारहरूको मूल संस्कृति थियो, जसलाई पिछडिएका नेवारहरूले अझै बचाउँदै आएको देखिन्छ ।
४.० वातावरण र जनजीवनको ऐतिहासिक विकासक्रम
४.१ वर्तमान वातावरणीय अवस्थिति र संस्कृति
चाहे विकसित चाहे विकासोन्मुख, सबैतिर हाम्रो भूमण्डल हाम्रो निम्ति अपर्याप्त र प्रतिकूल हुँदै गरेको अनुभव गरिएको छ । प्रकृतिमाथिको हाम्रो बढ्दो अतिक्रमणले यसको अचाक्ली दुरूपयोग हुँदै जाँदो छ । हामीले पृथ्वीलाई पुर्खाको बरदान सम्झ्यौं तर यो हाम्रा नानीको नासो सम्झेनौं । हामी हालको आवश्यकतालाई मात्र ध्यान दिइरहेछौं तर भविष्यमा २०५० सम्म आजको हाम्रो जनसङ्ख्या ५.३० अरबबाट १०–१२ अरब पुग्ने कुरा बिर्सिरहेका छौं । यही सीमित भूमण्डल र यसका स्रोतहरू भविष्यमा आजभन्दा आधा मात्र (हालकै स्थिति रहेमा) पुग्नेबारे हामी सोचिरहेका छैनौं । प्रत्येक कुरा आजै अपर्याप्त महसुस गरिरहेका छौं तर भविष्यको लागि जगेर्ना गर्नुपर्ने नितान्त आवश्यकताप्रति आँखा चिम्लिरहेका छौं । वनजङ्गल नाश हुँदै छ । नदी–कटानले भूक्षय बढ्दै छ ।जमिनको मरुभूमीकरण बढ्दो छ । जनसङ्ख्या बढ्दो छ । यो हामी रहेको वास्तविक स्थानको चित्र हो । यहाँको प्रदूषित वातावरणले जनजीवनलाई प्रतिकूल हुने सूर्यको विकिरणलाई रोक्ने ओजोन पातलिँदै र प्वाल पर्दै गएको छ । भूमण्डलमुनिका खानी, ग्यास र पानीको उपयोगले जमिन भास्िँसदै र धाँजा फाट्दै गएको छ । यसको अर्थ हामी हाम्रै खुट्टामा बन्चरो हानिरहेका छौं । हाम्रै भविष्यमाथि र हाम्रै सन्तानमाथि निर्दयतापूर्वक करौंती चलाइरहेका छौं । हाम्रै आँखामाथि तेजाब छर्किरहेका छौं र हाम्रै बगैंचामाथि डढेलो लगाइरहेका छौं ।
आजको यो स्थिति अहिले एकैपटक उपन्न भएको होइन । मानवले यो भूमण्डलमा पदार्पण गरेदेखि आफ्नै मात्र आवश्यकताको परिपूर्ति गर्नतिर लाग्दा नै यस्तो अवस्था देखिएको हो । प्रारम्भमा हाम्रो मनपरि कम थियो र हामी जति सभ्य, सुसंस्कृत, विकसित, आधुनिक र वैज्ञानिक बन्दै गएको दावी गरिरहेका छौं त्यति नै मात्रामा हामी मनपरि बढाउँदै छौं । यसको परिणाम हामी कम दुःख भोगिरहेका छौँ भने हाम्रा सन्तानका निम्ति कहालीलाग्दो अवस्था विकसित हुने कार्य द्रुत गतिमा बढाइरहेका छौं ।
४.२ प्राचीन ढुङ्गेयुग
यस युगमा जनसङ्ख्याको चाप कम भए तापनि ज्ञानको अल्पता, प्रविधिको कमीले आहार जुटाउन टाढाटाढासम्म घुमन्ते भएर हिँड्नुपर्थ्यो । पछि आगोको उपयोग र प्रतिकूल वातावरणसित जुझ्दै जीवन बिताउन जान्दै गएपछि जनसङ्ख्या बढ्दै गयो र परिणामस्वरूप वातावरणको सन्तुलन बिग्रँदै गयो । यसले जीवन–पद्धतिमा परिवर्तन आई जङ्गली समुदायबाट समूह छुटेर समाजमा पदार्पण गर्ने अवस्थितिमा मानव पुग्न गयो ।
४.३ मध्य ढुङ्गेयुग
पर्याप्त आहार, सुरक्षित आवास, नयाँ प्रविधि र पद्धतिको खोजीमा मानवहरू उच्च पहाडको गुफा र ओढार छोडी नदी वा तलाउको किनार सामान्य बुकुरो (छाप्रा) बनाएर बस्न थाले । एउटै आमाका छोराछोरीहरू विविध समूहमा बाँडिई अलग–अलग ठाउँमा बस्न थाले । बस्ती, बोली र समाजको थालनीको साथै आहारमा माछा र नयाँ भाला, हतियार आदिले घुमन्ते जीवनमा परिवर्तन आउन थाल्यो । साथै स्वास्थ्य र जलवायुमा पनि परिवर्तन आउन थाल्यो । तर परिवर्तित वातावरणमा पनि पहिलेझैं प्रकृतिमा मात्र निर्भर हुने र आहारको उत्पादन आफैले गर्नाले आवादी क्षेत्र अपर्याप्त हुँदै गएपछि टाढाटाढाका क्षेत्रहरूमा स्थानान्तरण हुँदै मानवहरू फैलिन थाले । यसले नयाँ–नयाँ क्षेत्र, प्रविधि, हतियारहरू एवं आहार खोज्ने काम हुन गयो जसको परिणामस्वरूप बदलिँदो वातावरणसित जुझ्न सिक्न थाले । तर वातावरणको असन्तुलन र सोको परिणामको ज्ञान नहुँदा वातावरणको सन्तुलन गर्ने कार्य हुन सकेको थिएन ।
४.४. नया“ ढुङ्गेयुग
हिमयुग समाप्त भएको कारण वातावरण शीतबाट उष्म हुँदै गयो । एकै ठाउँमा बसेर टाढा–टाढा सिकार गर्न कुकुरहरूलाई पाल्दै दूध, ऊन र मासु दिने गाई, भैंसी, भेडा, बाख्रा पालन गर्न थाले । नयाँ आहारले पहिलेको तुलनामा स्वास्थ्य ठीक हुँदै आयु बढ्न थालेपछि जनसङ्ख्याको बृद्धि हुन थाल्यो । पशुको लागि खेती गर्न थालिएका जङ्गली बिरुवालाई उन्नत गरी कृषिको थालनी हुन गयो । धातुको प्रादुर्भाव भई उत्पादनका नयाँ बन्चरो, हँसिया आदिसमेत बनेपछि उत्पादन बढ्न थाल्यो । यसले पुरानो बस्ती अपर्याप्त भई आवास, गोठ, भण्डारको व्यवस्था हुन गयो । समाजमा आमाको ठाउँमा पिताको मूल स्थानको व्यवस्था र अन्तरकविला वा जातिसङ्घर्षद्वारा प्राप्त अतिरिक्त श्रमले उत्पादन पनि अतिरिक्त हुन थाल्यो । फलतः किल्लाबन्दी र नहरले घेरिएको किल्ला बन्यो र त्यसमा आवास, आहार, भण्डार, शस्त्रागार, स्नानागार, मनोरञ्जन गर्ने थलो, बलि थलो आदि अलग–अलग व्यवस्था भयो । साथै नयाँ नीति–नियम, जनपरिषद्, धामी, पुरोहित, कविलानायक आदि शासन व्यवस्थाका आधारहरू पनि तयार भए ।
४.५ ढुङ्गेत्तरकाल
ढुङ्गेयुगपछि समाजको पितृप्रधान अवस्थिति विस्तारै मालिक र दासवर्गका रूपमा विकसित भयो । साथै सेना, जेलनेल, नयाँ नियम, कर आदिको साथै नयाँ–नयाँ दर्शन र चिन्तनको थालनी भयो । पछि समाज सामन्ती र पूँजीवादी अवस्थामा विकसित हुँदै गयो । समाजको निम्ति प्रतिकूल वातावरणले असर गर्न थालेपछि दासयुगको प्रारम्भदेखि सन्तुलन कायम गर्ने खालको वनजङ्गलमा किल्ला बनाई सुरक्षा गर्ने, बाढी नियन्त्रण गर्ने, सिँचाई व्यवस्था, धारा–कुवाको व्यवस्था जस्ता नयाँ–नयाँ व्यवस्था भयो । सामन्ती अवस्थामा खानी उत्पादन भएका क्षेत्रमा बस्ती नबसाल्ने, वनजङ्गलबाट दाउरा र गोल पारी बिक्री गर्ने कार्यमा दण्ड–सजायसहितको कडा नियन्त्रण गर्ने, भूमिमा बाली हेरी लगाउने, प्रत्येक तीन–तीन वर्षमा बाली नलगाउने, धार्मिक मन्दिर र मूर्ति बनाई जङ्गल–जमिनको व्यवस्था आदि भई वातावरणीय संरक्षण हुने कार्य प्रारम्भमा हुन गयो । पछि राजपरिवार, सामन्त, भारदार, सेनानायक, धामी, पुरेत आदिका निम्ति वृत्तिविर्ताका रूपमा जमिनको व्यवस्था, जनजातिले तयार पारेका ऊर्वर जमिनमाथि ठूला वर्गको अतिक्रमणले वनजङ्गलको अतित्रमण हुन थाल्यो । जनतामाथि बढ्दो शोषण र अत्याचारले राज्यप्रति उदासिनता बढी वातावरणको संरक्षण कार्यमा जनसहभागिता कम हुँदै गयो । सम्पन्न र विपन्नबीचको खाडल बढ्दै गयो र परिणामस्वरूप प्रत्येक क्षेत्रमा ठूलाका मनपरि र सानाको उपेक्षाले अव्यवस्था बढ्दै गएको पाइन्छ । समाज जति सभ्य र आधुनिकतातिर बढ्दै गयो, त्यति नै अव्यवस्था, विसङ्गति, असमानता, असन्तुलन, अप्ठ्यारा आदि बढ्दै गए र वातावरणको प्रदूषणसँगै जनजीवन र संस्कृति पनि प्रदूषित वा अव्यवस्थित हुँदै गयो ।
४.६ नेपालको ऐतिहासिक कालको वातावरण संरक्षणको विकासक्रम
यस कालको प्रारम्भ हुनुअघिसम्म नेपालमा जनजातिहरूले वातावरणको असन्तुलन त्यति विधि गरिसकेका थिएनन् । कम जनसङ्ख्या, पर्याप्त प्राकृतिक स्रोतको कारण सामान्य रूपले मात्र असन्तुलन थियो । नाग गणजातिको समयमा नै पशुपालन र कृषि विकसित हुँदै थियो भने प्राचीनकालमा नाग गणजातिका नेवाल, निवाल, नवाल, मनवाल नाम गरेका जनजातिलाई हटाई सत्तामा पुगेका नेप नाम गरेका गोपाल र त्यसपछिका महिषपालको समय पशुपालन उन्नत अवस्थामा र कृषिविकास हुँदै गरेको अवस्थामा थियो । किरातकालको समयदेखि उद्योग, व्यापार, मुद्रा र शासन–व्यवस्थामा नियम, कानुन, अङ्गहरूदेखि सामन्ती समाजको लिच्छविकालमा हरेक क्षेत्रमा विकास हुन थाल्यो ।
किरातकालदेखि किल्ला, वनदुर्ग, जङ्गलको सुरक्षा, सिँचाई व्यवस्था आदिले वातावरणीय सुरक्षाका उपायसहित कामहरू भएका थिए । पछि वनदुर्गबाट गोल बनाई, रुख काटी दाउरा बेच्ने कार्यमा नियन्त्रण (चाँगुनारायणको वनदुर्गको व्यवस्थासम्बन्धी अभिलेख नै पाइएको छ) गर्न थालियो र वन–जङ्गलको पशुपन्छीका सम्बन्धमा निकासी गर्न पाइने–नपाइनेजस्ता कुराहरूको पनि वर्गीकरण हुन थालेको थियो । उद्योगहरू वा खानीहरू भएका ठाउँमा आवासलाई नियन्त्रण गर्ने काम पनि हुन थालेको थियो । देवदेवीका मन्दिर र मूर्तिहरू बस्ती–इलाकाभन्दा छेउछाउ वा नदी तथा वन– जङ्गलको किनारमा बनाउने र मन्दिरको नाउँमा जङ्गल, नदी, तलाउ विनियोजित गरेर वन तथा नदी–पोखरीको सुरक्षा पनि भएको थियो । त्यस्तै, खेतीमा विविध बाली लगाउने, प्रत्येक तीन वर्षमा जमिन बाँझो राख्ने, नियमित र नियन्त्रित सिँचाई–व्यवस्था, ठाउँ–ठाउँमा ढुङ्गेधारा, पोखरी, जलद्रोणीको व्यवस्था गरी वातावरणलाई सन्तुलन गर्ने खालका काम भएका थिए । देवमन्दिर वा मूर्तिका लागि ठेकिएका वनजङ्गल वा जमिनलाई नष्ट गरेमा हजारौं वर्षसम्म नर्कको किरा भएर बस्नेजस्ता धार्मिक कुराहरू जोडेर पनि वातावरण संरक्षण गर्ने कार्य भएका थिए ।
मध्यकालमा आएर खासगरी उत्तरार्द्धकालमा अनियन्त्रित ढङ्गबाट बस्तीभित्र नै मन्दिर र मूर्ति स्थापना गर्ने कार्यहरू भए । शासक तथा सामन्तहरूबीचको अनियन्त्रित र अमानवीय प्रतिस्पर्धाले जनजातिहरूबीच बेमेल सङ्घर्षसमेत हुन थालेको थियो । तर मन्दिरहरूमा रक्षक (द्यःपालाः) का रूपमा पोडे, कसाही र कुश्लेहरूको व्यवस्था गर्ने, नियमित बढारकुँडार गर्ने, फूल चढाउने, मर्मत गर्ने, रथहरू बनाई जात्रा–परम्परा चलाउने आदि परम्पराका व्यवस्था गरेर वातारणीय संरक्षण हुने खालका कामहरू हुन थालेका थिए । यस्तो कार्यको लागि लिच्छविकालमा गोष्ठीको व्यवस्था गरिएको थियो, जुन पछि मध्यकालमा गुठीका रूपमा विकास भएको थियो । हाल यस्ता गुठीहरू तीव्र रूपमा लोप हुँदै गएको पाइन्छ । यस्ता कामहरू पूर्व र पश्चिमका किरात तथा खस प्रदेशहरूमा अपेक्षितभन्दा कम मात्रामा भएको पाइन्छ । तर शासक वर्ग, सामन्त–भारदारहरू र धामी पुरेतलाई वृत्ति (नोकरीको बदलामा लिच्छविकालमा दिइने खेतीको जमिन) को ठाउँमा बिर्ताको व्यवस्था हुन जाँदा उपत्यकाका उर्बर जमिन ठूलाबडाका हातमा परेपछि त्यस्ता जमिनको व्यवस्था गर्ने श्रमिकहरूले ती जमिनबाट हात धुनुपरेपछि नयाँ वनजङ्गलको फडानी हुन थालेको थियो ।
आधुनिक कालमा आएर प्रारम्भमा खानी र उद्योग रहेका ठाउँमा बस्ती नराख्ने, गुठीको सुरक्षा, राष्ट्रिय संस्कृतिको सुरक्षा गर्ने, ठाउँ–ठाउँमा किल्लाहरू बनाई देवीहरूको स्थापना गर्ने, मासिन थालेका गुठीहरूको सुरक्षा गर्नेजस्ता कामले वातावरणको संरक्षण हुने कार्यहरू भएका थिए । भन्सार, वनस्पतिको निकासी, जमिनको नापी नयाँ ढङ्गले गरी तिरो बढाउने जस्ता कार्यले आर्थिक उन्नति गर्न खोजिएकोले वातावरणमा हुने असन्तुलनमा केही नियन्त्रण रहेको देखिन्छ । १८४६ ई. मा राणाहरूको पारिवारिक शासन स्थापना भएपछि मनपरि ढङ्गले राणाद्वारा बिर्ता राख्ने, चाटुकारलाई पनि बिर्ता दिने, सांस्कृतिक सम्पदाहरूप्रति पहिलेको तुलनामा बेवास्ता गर्ने, ढुकुटी रित्याउने आदि कार्य भई जनसाधारणले अत्यन्त दुःख व्यहोर्नुपर्ने स्थिति देखियो । परिणामस्वरूप प्रत्येक कुरामा जनताको सहभागिता कम हुन थाल्यो ।
१९५० ई. देखि १९६० ई. सम्म खुल्ला र प्रजातान्त्रिक वातावरणले खासगरी तराई क्षेत्रमा मनपरि ढङ्गले वन–जङ्गलमाथि अतिक्रमण हुन गयो । भूमिको असमान वितरणको मूल कारण नै यस्तो अव्यवस्थितपन देखियो । प्रजातान्त्रिक सरकारले राम्रो व्यवस्था कुनै क्षेत्रमा गर्न नसक्नाको कारण वातावरणको असन्तुलनलाई रोक्ने कार्य हुन सकेन । २०१७ सालपछि देशको शासन–व्यवस्थाको निरङ्कुश प्रवृत्तिको कारण राज्यका अन्य पक्षमा जस्तै वातावरणको असन्तुलनमा अभिबृद्धि हुन गयो । विगत १०० वर्षमा पनि नभएको वन–जङ्गलको विनाश, भूक्षय र नदीकटान ३० वर्षमा हुन गयो । २०३७ सालको जनमत सङ्ग्रहताका सबैभन्दा बढी वनजङ्गलको विनाश भयो । धार्मिक, नैतिक, सामाजिक, सांस्कृतिक, पुराताŒिवक कुनै पनि महŒवले वातावरणीय असन्तुलनलाई प्रभाव पार्न सकेन । कुनै पनि कुरामा राज्यबाट योजना, नीति, कार्यक्रमको तर्जुमा गरी असन्तुलनलाई रोक्ने कार्य हुन सकेन । प्रशासनमा व्याप्त भ्रष्टाचार, राजनीतिक क्षेत्रमा रहेको दलाली र अत्यधिक लोभ र समाजमा व्याप्त अनैतिक कुरालाई कतैबाट पनि नियन्त्रण गर्न सकिएन । पुराताŒिवक स्थल फोहोरको केन्द्र बन्यो । नदी–नाला फोहोर फाल्ने कन्टेनर बने । वनजङ्गल रातारात धनी बन्ने आधार बन्यो । वातावरणको संरक्षणको नाममा अनुदान सहयोग, प्रकृति संरक्षण कोष, अनुसन्धान, अध्ययन र गोष्ठी–सेमिनार पनि कमिसन र भ्रष्टाचारबाट अछुतो रहेन ।
४.७ वातावरण र जनजीवन
वातावरणसित प्रत्यक्ष सम्बन्धित कुराहरू वनजङ्गल, नदीनाला, धारा–कुवा, पोखरी, खानेपानी, सरसफाई, खानी, उद्योग, सिँचाई आदि मानव जनजीवनसित प्रत्यक्ष सम्बन्ध राख्ने कुराहरू हुन् । यसका अतिरिक्त सामाजिक जनजीवनलाई सुखी र सुविधामय बनाउने परम्परा, शिक्षण संस्था आदिसित वातावरणको पनि अप्रत्यक्ष सम्बन्ध रहेको छ जसको माध्यमले स्वस्थ परम्परा, वातावरणीय संरक्षणसम्बन्धी नियम–कानुन, सही–गलतको ज्ञान हुन्छ । यी कुराहरूबाट वातावरणको संरक्षणमा अप्रत्यक्ष भए पनि दीर्घकालीन र अहम् योगदान पुगेको हुन्छ । प्रागैतिहासिक कालमा धामी–पुरेतबाट आजका शिक्षकले जस्तै सभागृहमा र अन्य जनसङ्ख्यासित प्रत्यक्ष सम्बन्ध राख्ने यौन एवं अन्य सामाजिक नैतिकता र आचरणबारे गुरुङहरूको रोदीघर, तामाङहरूको गीत–गायन आदि परम्परा, नेवारहरूको बेलविवाह र गुफा राख्ने एवं उपनयन एवं विवाह–परम्पराद्वारा सिकाइराखिएको हुन्छ । यसरी वातावरण र जनजीवनलाई एकसाथ प्रभावित पारेको हुन्छ र यसैले यी दुईमध्ये एकको असन्तुलनले प्रत्यक्ष र दीर्घकालीन रूपमा प्रभावित पारेको हुन्छ ।
५.० वातावरण असन्तुलनका कारणहरू
५.१ सांस्कृतिक
हिजो प्रत्येक सांस्कृतिक पर्व र परम्पराहरूसित र जन्मदेखि मृत्युसम्मका संस्कारहरूसित जनजीवन र वातावरण दुवैको सम्बन्ध गाँसिएको हुन्थ्यो । यद्यपि यी कुराहरूमा धार्मिक वा नैतिक डर र त्रास जोडी पाप, पुण्य, स्वर्ग र नर्कका कुराहरू समावेश हुन्थे । जस्तै नाग, काग, कुकुर, गाई, हाँस कुनै न कुनै देवदेवीसित जोडिएका छन् र परिणामस्वरूप नागपञ्चमी, काग, कुकुर, गाईतिहार, भ्यागुतालाई अन्न खुवाउने, गाईलाई गहुँ खुवाउने गाईजात्रा आदि परम्पराले पशुपन्छीलाई मानेर तिनको संरक्षण गर्ने कुरा अप्रत्यक्ष रूपमा गाँसिएको छ । त्यस्तै वनस्पतिमा वर, पीपल, तुलसीको पूजा, बेललाई मान्ने परम्पराले स्वास्थ्यसित सम्बन्धित बनाई देवदेवीको नामसित जोडी तिनको संरक्षण हुने देखिन्छ । यी पशुपन्छी र वनस्पतिका नाम मानवको समूह छुट्टिएपछि गणचिन्हको रूपमा लिई गणजातिको नाम राखेको पाइन्छ । त्यस्तै नदीनालालाई तीर्थस्थलको रूपमा मान्ने, वनजङ्गललाई देवीदेवताका विचरण गर्ने थलो मानी तिनको नाम जस्तै गणेश, गौरीशङ्कर हिमाल, श्रृङ्गपर्वत, द्रोणाचल, कोसी, गण्डकी, भागिरथी, नारायणी, विष्णुमती आदि नाम दिई देवीदेवताको डर र त्रासको कारण तिनीहरूको असन्तुलन वा प्रदूषण रोकी स्वस्थ बनाउन खोजेको आभास मिल्छ । तर पछि धार्मिकता र नैतिकताको नाम ऋषि, मुनि, पण्डित, राजा–महाराजा ठूलाबाट नै नष्ट गर्न थालेपछि मान्छेको विश्वासमा कमी आई वातावरण संरक्षण हुन कठिन भयो ।
त्यस्तै सांस्कृतिक परम्पराको जरोलाई बुझ्न नसकी भड्किलो पक्षलाई बढी ध्यान दिएर व्यावहारिक कुराहरूले हुन सक्ने वातावरणीय संरक्षण हुन नसकेको पाइन्छ । वर, पीपल, बेल, तुलसी र अन्य जडिबुटीबाट हुन सक्ने फाइदालाई बुझ्न नसक्दा तिनीहरूको संरक्षण गर्ने कार्यमा कमी आयो । बेलविवाह, उपनयन, गुफा राख्ने र विवाहले यौनिक मात्र होइन अन्य आफूमा परिपक्वता आउन थाली सोहीअनुरूप व्यवहार गर्ने शिक्षा दिइन छाड्यो । स्त्री र पुरुषको सम्बन्धमा प्रत्येक परम्परालाई महŒव दिई स्त्रीलाई बेवास्ता गर्नाले समाजको आधा भाग रहेको महिलालाई अज्ञानतातिर धकेल्ने काम हुन गयो । यस्ता कार्य र विश्वासले महिलाहरूबाट हुन सक्ने वातावरणीय संरक्षण गर्ने कार्यमा निकै कमी आउने काम भयो । देवदेवीको रथयात्रा, यज्ञ वा अन्य परम्परामा चाहिने जङ्गलका काठपात आवश्यकताभन्दा बढी कटान गरी सम्बन्धित पक्षहरूबाट बढी कटान गर्ने कार्यबाट पनि थोरै भए पनि वनजङ्गलको विनाशमा भूमिका खेलेको पाइन्छ । यस्ता परम्पराहरू सबैभन्दा बढी प्राचीन संस्कृतिलाई मान्ने जनजातिहरूमा अधिक पाइन्छ ।
५.२ अशिक्षा र अन्धविश्वास
सत्तरी प्रतिशतभन्दा बढी निरक्षरहरू गाउँमा रहेको जनजाति नै रहेका छन् र जसमध्ये महिलाको सङ्ख्या बढी रहेको छ । यो अशिक्षाले गर्दा वातावरणीय प्रदूषण हुने आफ्ना कार्य वा व्यवहारहरू कुन–कुन रहेका छन् पत्तै पाउँदैनन् । गाउँघरमा प्रचलित झाँक्रीतन्त्रले समेत गढीमाई, फलानो वनदेवी, फलानो नदीका ठाकुर, फलानो जङ्गल, नदीमा खेली–खाई हिँड्ने देवदेवी भनी प्रकृतिसित जोडेर प्रकृतिको संरक्षण गर्न मनोवैज्ञानिक असर पार्ने कलाको महŒव पनि बुझ्न छाडेका छन् । धार्मिक र नैतिक त्रासलाई जोडिएका परम्पराले महŒव पनि बुझ्न छाडेका छन् । राम्रा परम्पराहरू, जो अहिलेसम्म निरन्तर जारी रहेको छ, तिनलाई अन्धरूपले मानिएको पाइन्छ । तर त्यसको महŒवलाई ओझेल पारेको पाइन्छ । जसरी पानी नपर्दा जङ्गलका उचाइमा गएर पानी माग्ने परम्पराले जङ्गल भएको ठाउँमा पानी हुन्छ भन्ने तथ्यलाई बुझ्दैनन्, त्यस्तै वर्षको एकपटक पोखरी, धारा, इनार, कुवा, घाट सफा गर्ने कुरासित वातावरण स्वस्थ र स्वच्छ बनाउने महŒवाकाङ्क्षालाई बुझेका छैनन् । घण्टाकर्ण औंसीको बेलामा नराम्रा कुराहरू उडुस, उपियाँलाई नष्ट गर्ने कुरालाई बिर्सेर छ्वालीको डङ्गुर बनाई दोबाटो, चौबाटो फोहोर गर्ने, फोहोर नाराहरू लगाउने कुरा भने गौरवका साथ लिइरहेको पाइन्छ । यस किसिमका प्रवृत्तिले परम्परामा रहेको वैज्ञानिकतालाई छाड्ने र अवैज्ञानिकतालाई अँगाल्ने काम हुन्छ, जसले वातावरणको सन्तुलनमा प्रभावित पार्ने पक्षलाई छोड्ने र नकारात्मक पक्षलाई अँगाल्ने कार्यले वातावरणको असन्तुलन बढेको पाइन्छ ।
५.३. जनसाङ्ख्यिक र आर्थिक
जनसङ्ख्याबृद्धिले राज्यको आर्थिक पछौटेपन बढ्दै गएको छ । यसले गर्दा नयाँ–नयाँ अन्धपरम्पराको उदयको साथै पेट पाल्नका लागि हुने र नहुने कुराको पनि ख्याल नगर्ने प्रवृत्ति जनजातिमा बढ्दै गएको पाइन्छ । सन्तानलाई ईश्वरको वरदान मानी परिवार नियोजन नगर्नाले प्रजनन दर बढी भएको जनजातिमा बृद्धिदर बढी रहेको छ । आर्थिक कमीको कारण बर्सेनी एक हात जग्गा नबढाउने छोरा नै होइन भन्ने मानी वन–जङ्गल मासी जग्गा बढाउने गरेको पाइन्छ । वातावरणको सन्तुलन गर्न पहिल्यैदेखि आफ्नो बारीमा बोटविरुवा, घाँस रोपी घर–गोठ बनाउन र दाउराको लागिसमेत टेवा पुग्ने कार्य छोडी ती ठाउँमा बाली लगाउने, एउटै घरमा आवास, आहार र गोठ बनाउने कार्य गर्नाले आफ्नो घर–आँगन र वरिपरिसमेत वातावरणीय सङ्कट निम्त्याउने कार्य आफैले गर्ने गरेको पाइन्छ । तराईको वन–जङ्गलमा अतिक्रमण देशभित्रको र भारतबाट आप्रवासनमा आएको जनसङ्ख्याले नै गर्ने गरेको पाइन्छ ।
५.४ जनसहभागिताको कमी
आर्थिक पछौटेपनको साथै ठूलाबडाको मनपरिले जनजातिमा आफूले कार्य गर्दा हुने वातावरणीय संरक्षणमा सहभागिता घट्दै गएको पाइन्छ । अझ ठूलाबडा र नेताहरूको उत्साह र संरक्षणले वनविनाशमा बढी संलग्नता रहने गरेको कुरा वनमुद्दामा गरिब, अशिक्षित र पिछडिएका जनजातिकै सङ्ख्या बढी भएबाट थाहा हुन्छ । वातावरणीय संरक्षणमा यदि ज्ञान भएको भए सहर–बजारका शिक्षित जनसङ्ख्याको जस्तो मिच्ने कार्य अवश्य पनि जनजातिबाट हुँदैनथ्यो भन्ने कुरा माथि चर्चा गरिएको वातावरणको ऐतिहासिक विकासक्रमबाटै स्पष्ट भइसकेको छ ।
५.५ उद्योग र इन्धन
उद्योगहरूबाट पनि वातावरणको प्रदूषणमा अभिबृद्धि भएको छ । सिमेन्ट, चुरोट, छाला, चिनी, रङ्ग, गलैँंचा, आल्मोनियम आदिबाट प्रदूषण बढ्दै गएको छ । सहर–बजारमा उद्योगका अतिरिक्त बढ्दो यातायात साधनले छोड्ने धूवाँ, आवाजले पनि प्रदूषण बढाइरहेको छ । गाउँघरमा चुल्होको प्रयोग हुने इन्धन दाउराको विकल्प नहुँदा यसबाट राज्यको ८३ प्रतिशत स्रोत धानिरहेको छ, जसले वनविनाशमा अरू टेवा पुग्न गएको छ ।
५.६ सरकारी नीति र कार्यक्रम
सरकारद्वारा मनपरि जताततै उद्योग खोल्न दिने, फोहोरहरू फाल्ने व्यवस्था नगर्ने, शिक्षालाई सरल र सुगम नबनाउने कुराले वातावरणीय असन्तुलन ल्याएको छ । त्यसमाथि कुनै पनि कुराको योजना नहुँदा वातावरणीय संरक्षणलाई प्रभावित पार्ने कार्य सरकारकै नीति र कार्यक्रमले भइरहेको छ । प्रशासन–संयन्त्रमा व्याप्त भ्रष्टाचार प्रकृति संरक्षण कोष र वातावरणीय कार्यमा नै झइरहेको छ । जनसङ्ख्याको स्वास्थ्यलाई असर गर्ने कुहेको अन्न, वाम आयल मिसाएको तेल, विकिरणयुक्त चेर्नोबिल दूध आदिको बित्रीवितरणले राज्य नै मिसावट र अवैध खाद्यको केन्द्र रहेको आशङ्का उठाउन थालिएको छ । खाद्य संस्थानबाट कुहेको अन्न व्यापारीलाई बेची तिनैबाट त्यही अन्नलाई पालिश लगाउन लगाई किनेर वितरण गर्दै आएको छ । जङ्गलमा काठ कटानी गर्दा निर्धारितभन्दा बढी हुने र त्यसमाथि चोरी निकासी हुँदा प्रशासनिक संयन्त्रकै हात रहेको छ । संरक्षण कोषको दुरूपयोगको नमुना महेन्द्र प्रकृति संरक्षण कोष मात्र होइन पशुपतिको संरक्षण कोष पनि रहेको छ ।
६.० वातावरणको संरक्षणमा जनजातीय र सांस्कृतिक क्षेत्रको भूमिका
६.१ सांस्कृतिक परम्पराको आधुनिकीकरण या वैज्ञानिकीकरण
सांस्कृतिक परम्पराहरूमा रहेको वैज्ञानिकता वा अन्धविश्वासबारे माथि नै चर्चा गरियो । तीमध्ये वैज्ञानिकता रहेको परम्परालाई अघि बढाउने र तिनमा रहेको अन्धविश्वासलाई हटाउनको निम्ति वातावरणसित सम्बन्धित परम्पराहरू केलाई अध्ययन र अनुसन्धान गरिनुपर्दछ । धार्मिक र नैतिक रूपमा जोड दिइएको परम्परालाई जनजातिको भावनामा चोट नपुर्याउने गरी विकास गरिनुपर्छ । जस्तै गुफा राख्ने परम्परालाई रजस्वला भएपछि गर्भको क्षमता हुने भएकोले कामी पुरुषबाट जोगिने र यौनसंसर्गको तरिका सिक्ने र साथै ब्रह्मचर्य पालन गर्ने कुरा सिक्ने परम्परा भन्दा कतिपय धर्म र संस्कृतिभीरुहरूले रुचाउँदैनन् ।
६.२ गाउँघरमा जनजातिको जड्डलको व्यवस्था
पहिले कविलाहरू आफ्ना इलाकाको जिम्मा आफैले लिने गर्दथे । हाल वनक्षेत्रमा सामुदायिक वा गाउँले वनको व्यवस्था भएपछि वृक्षारोपणपछि त्यसको संरक्षण र विकास गर्ने कार्य समुदाय वा गाउँलेहरूले लिएकाले अपेक्षित परिणामको धेरै अंश प्राप्त भएको छ । त्यसैले जनजाति केन्द्रित रहेको इलाकामा वन, घाट, चरण, कुवा, पोखरीको व्यवस्था गरिनु उपयुक्त हुन्छ । यसले जनजातिमा जिम्मेवारीको बोध भई वातावरणीय संरक्षणमा जनसहभागितामा उल्लेखनीय रूपमा बृद्धि हुने छ । यसपछि मात्र आधुनिक चुल्हो, सुलभ चर्पी, घर–आँगनको सफाई, सांस्कृतिक परम्पराको वैज्ञानिकीकरणको प्रयास आदिमा अपेक्षित रूपमा सफलता प्राप्त हुन सक्छ ।
६.३ वातावरणको प्रदूषणमा भाग्य वा पापको भूमिकासम्बन्धी अवधारणाको खण्डन
गाउँघरमा मानवका आफ्ना प्रयासहरू असफल हुन थालेपछि भाग्य वा पूर्वजन्मको पापको परिणाम भन्ने सोचिन्छ । खासगरी वास्तविक कारणलाई लुकाएपछि आफ्ना स्वार्थहरू पूर्ति हुन सक्छ भन्ने विश्वास लिने धर्मभीरु र जनविरोधीहरूबाट नै यस्ता गलत अवधारणाहरू फैलाइएको हुन्छ । जनजातिले वन वा झोडा फडानी गरी उर्वर भूमि तयार गरेपछि त्यस्ता भूमिमाथि कब्जा जमाउनेले जग्गा गुमाउने पक्षहरूमा यस्तो अवधारणा फैलाई आफ्नो विरुद्धमा उठ्न सक्ने विरोधलाई दिग्भ्रमित पारी आफू जोगिने मध्यकालीन समयदेखि नै यस्तो अवधारणा अचाक्ली रूपमा फैलाउँदै आएको पाइन्छ । यस्तो स्वामित्वको अपहरण गर्दै वन अतिक्रमण वा अन्य सामुदायिक विषयको कब्जाले वातावरण बिग्रेपछि अज्ञानी, अशिक्षित जनजाति, जो पूर्वजन्मको पापको कारण गरिब भएका अभागी ठान्छन्, अझै तिनीहरूमाथि वातावरण बिगारेको आरोप लगाउँछ । मूर्ति चोर्न ठूलो र मुख्य भूमिका खेल्ने ठूलाबडाहरू मूर्ति बरामद भएपछि ज्याला लिएर काम गर्ने र बोक्ने गरिबलाई मूर्ति चोर भनी जेल हाल्ने परिपाटी भएको देशमा यस्तै अवधारणाहरूको जग्जगी रहेको हुन्छ । यस्ता गलत अवधारणाहरूको खण्डन गरी वास्तविक कारणहरूको जानकारी लिइनुपर्छ । यिनै कुरालाई जनजातिमा पुर्याउन सक्ने हो र तिनको विश्वासलाई जित्न सक्ने हो भने गलत धारणाको खण्डन हुने छ र जनजातिको सहभागिता निश्चय पनि बढ्ने छ ।
६.४ वातावरणको संरक्षण गर्ने परम्पराको व्यापक प्रचारप्रसार
श्रावणमा इनार, कुवा, पोखरी सफा गर्ने, भ्यागुतालाई भात खुवाउने, पानी नपर्दा जङ्गलमा पानी माग्ने, जन्मदेखि मृत्युसम्मको संस्कारभित्रको वास्तविक अर्थसहित पालन गर्ने, काग, कुकुर र गाईतिहार, नागपञ्चमी, घरमा मङ्गल कार्य गर्दा वा पितृहरूको सम्झना गर्दा घर–आँगन सफा गर्ने, मर्दापर्दा घर एवं शरीर सफा गरी नराम्रो वातावरणबाट जोगिने, बिहान उठी मन्दिर वा तीर्थस्थलमा गई स्नान गर्ने, खुल्ला हावा लिने आदि अनेकौं परम्पराहरू नेपालमा प्रचलित छन् । यी परम्पराले वातावरण र जनजीवनबीच प्रत्यक्ष र उल्लेखनीय सम्बन्ध रहेको कुरा स्पष्ट छ । तर छोरा भएपछि बर्सेनी एक हात जग्गा बढाउनुपर्छ भन्ने विश्वासले जङ्गल मास्ने, खोलालाई साँघुरो पार्ने, धूवाँले घरको नराम्रो भूतप्रेत आदि हटाउने भन्ने विश्वास आदिलाई हटाउन ती भ्रम हुन् र तिनले कसरी भूमि र जनजीवनलाई असर पार्छन् भन्ने जनचेतना जगाउनु पनि उत्तिकै आवश्यक छ ।
७.० उपसंहार
प्रस्तुत अध्ययन थोरै समयमा तयार गर्नुपर्दा यसमा कमी पनि रहेको हुन सक्छ । तर पनि समुदायमा वातावरण र जनजीवनबीचको सम्बन्धबारे बुझ्न यसले धेरै मद्दत गर्ने आशा गर्न सकिन्छ । यसमा सङ्क्षिप्त रूपमा नेपाली संस्कृति, जनजातिको परिचय समावेश गर्नुका साथै वातावरण र जनजीवनबीचको सम्बन्धको ऐतिहासिक विकासक्रमको पनि सरल परिचय दिइएको छ । त्यसपछि वातावरण असन्तुलनका कारणहरूबारे सङ्क्षिप्तमा चर्चा गरी वातावरणको संरक्षणमा जनजातीय र सांस्कृतिक क्षेत्रको भूमिकाबारे चर्चा गरिएको छ । प्रस्तुत पत्रमा दिइएका सुझावहरूको क्रियान्वयन गरी सोको अनुगमन पनि हुन सकेमा मात्र प्रस्तुत अध्ययनबाट अपेक्षित आशा पूरा गर्न सकिन्छ । गोष्ठीको आयोजना र कार्यपत्रको प्रस्तुति प्रारम्भिक कुरा मात्र हुन् र सोका सारको प्राप्ति र क्रियाकलाप नै मूलभूत तŒव हो । त्यसैले प्रस्तुत पक्रको वास्तविक औचित्य यसको त्रियान्वयनमा निर्भर गर्दछ ।
२०४८।७।१५
जनमतमा प्रकाशित