साहित्यकार किशोर पहाडीलाई सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमबीच पहाडीको जन्मस्थान दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा सम्मान गरिएको हो ।
दक्षिणकाली नगरपालिका र स्थानीय सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नगरपालिकासहित विभिन्न संघ–संस्थाले पहाडीको साहित्यिक योगदानको कदर गर्दै सम्मान गरे ।
वि.सं. २०२८ सालमा नयाँ सन्देश पत्रिकामा ‘म के जवाफ दिऊँ’ कथा प्रकाशित गर्दै साहित्यमा प्रवेश गरेका पहाडीका कथा, कविता, बालकथासंग्रहहरू प्रकाशित छन् । उनका फुटकर रूपमा निबन्ध र नाटक पनि प्रकाशित छन् ।
पहाडी चार दशकअघि सर्वनाम नाट्य समूहसँग पनि आबद्ध थिए । उनले दर्जनौँ नाटक, सडकनाटक, टेलिशृंखलाहरूमा अभिनय गरेका छन् । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले ‘सिर्जनशील किशोर पहाडी’ शीर्षकको पुस्तक विमोचन समेत गरे ।