म लाखे हूँ
मान्छेहरुको बीचमा
एउटा अलग पात्र हूँ
भलै
हेर्नेहरूको नजरमा म
मानव हुन नसकेको दानव
वा, दानव हुन नसकेको मानव
प्रतिरूप हूँ
अथवा
हदैसम्मको डरलाग्दो अनुहार
जिङरिङ्ग लामो कपाल
अनि एक जुग पुरानो फेसनमा
उभिरहेको
एउटा भूत – पात्र वा खल– पात्र
मभित्र अझै पनि
आम मान्छेको मन छ
विद्रुप मुखौटा लगाएर त
म वास्तवमा
बाहिर
उतार्न चाहिरहेछु
निकाल्न चाहिरहेछु
मान्छेहरुभित्र बर्षौदेखि
पत्र–पत्र जमिरहेको
डर / त्रास / घृणा
नाच्दै/उफ्रँदै
हातभरि सजाएका
रातो कुसुमे रुमालहरू हल्लाउँदै
प्रत्येक पाइलामा म सोधिरहन्छु
यो रूपमा मलाई
साँचो माया गर्ने
कोही छ ?
कि प्रेम केवल
रूपवानहरुको खेल हो ?
उफ्री उफ्री
मैले भनिरहेको छु
यो समाज र यसको वरपर
यत्रतत्र छन्
म जस्तै नकाबधारीहरू
अझ नियालेर चिनौं
उनीहरूमध्ये कति छन्
मानवको मुकुन्डो भिरेका
दानवहरू
जो यतिखेर शानले
कुनै सम्मानित पदमा
आसीन छन् ।
बस !
यति सम्झाउनको लागि
यो विरूप अनुहारमा
म बेला बेलामा
तर्साउन आइरहन्छु ।