ललितपुरमा हिजो भिमसेन जात्रा भब्य रुपमा मनाइयो । यो जात्रालाई जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रापछिको दोस्रो ठूलो जात्राको रुपमा लिइन्छ।
भिमसेन महाराजको जात्रा मंगलबजारबाट सुरु हुने गर्छ। त्यसपछि हःखा, सौगल, ओकुबहाल, हौगल, तिच्छुगल्ली, पूर्णचण्डी, पिम्बहाल बगलामुखी, कोबहाल, स्वठँ हुँदै मंगलबजार पुगेर समापन हुने गर्छ। बासनादार धुप बालेर प्रत्येक टोलबासीले विशेष महत्व राखेर भिमसेनलाई स्वागत गर्छन्। जात्रा समापनसँगै जात्राको लागि प्राण प्रतिस्थापन गरेर तानेको देवतालाई राजोपाध्यायबाट नै तान्त्रिक पूजा गरेर फिर्ता पठाउने गरिन्छ।
यस जात्रामा काठमाडौं , भक्तपुर र थिमीका व्यापारीहरुले क्षमा पूजा गरेर सरीक हुने गर्दछन् । विशेष गरेर व्यापारीहरुले भीमसेनलाई व्यापार व्यवसायको देवताको रुपमा लिएर पुज्ने गर्दछन् ।