साहित्यिक चिन्तन सँगसँगै मभित्र अध्यात्मिक चिन्तन जन्मेको हो । शायद भन्नुपर्दा अध्यात्मिक चिन्तन चाहिँ जेठो हो कि भन्छु म । यो कुरा झन्डै दुई दसकअघिको हो । जब जीवन यात्रामा म भट्किरहेकी थिएँ, खै केको हो तिर्सनाले आफँैलाई थाहा हुन्नथ्यो । यसै समय मैले अध्यात्म ध्यान र ज्ञानको सहारा लिन पुगेकी थिएँ । हिन्दु सनातन धर्मले मान्दै आएको भगवान श्री महादेव, विष्णु, कृष्ण र देवीहरुको आराधना र पूजापाठ र साधाा पैत्रिक सम्पत्तिको रुपमा दाइजोमा पाएकी थिएँ । यति हुँदाहुँदै पनि के नपुगेकोझँँै लाग्दथ्यो । त्यससमयमा श्री सत्यसाइ बाबाको बारेमा धेरै चमत्कारी कुराहरु सुनिरहन्थेँ । त्यससमयमा अहिलेको जस्तो युट्युबहरु थिएनन् । छापाका समाचारहरु कि त मानिसहरुले सुनाएका समाचारको भर हुन्थ्यो । टेलिभिजन घरघरमा नवदुलहीझैँ भर्खर भित्रिएको थियो । स्कुल र घरको कार्यव्यस्तताले गर्दा टेलिभिजनसँग मेरो सुमधुर सम्बन्ध हुन सकेको थिएन । बरु उल्टै अधुरो सम्बन्ध रहृयो । स्कुलमा एकजना साथी मीना सुब्बा साइबाबाको परम भक्त हुनुहुन्थ्यो । उहाँमार्फत नै मैले साइबाबाका महानवाणीहरु भएको पुस्तकहरु पढेकी थिएँ । अनि साइभक्त हुन पुगेकी थिएँ । अहिले पनि छु । उहाँको दर्शन गर्न हामी केही भक्त पुट्टापर्ती पनि गएका थियौँ । बाबाका चमत्कारी कुराहरु सुन्नमा आइरहन्थ्यो । वास्तवमा बाबामा दिव्य अलौकिक ईश्वरीय शक्ति थियो । जसले गर्दा नै बाबाले पुट्टापर्तिजस्तो उराठलाग्दो ठाउँलाई यति रमणीय बनाउनु भएको थियो । यस ठाउँलाई हराभरा बनाएर ठूलो पवित्र तीर्थस्थल बनाउनु भएको थियो । उहाँले गर्नुभएको सामाजिक कार्यले यो ठूलो दिव्यधाम बनेको थियो । यी सारा कार्य एक सामान्य मानिसले गर्र्ने कुनै कुरा हुँदैन्थ्यो । उहाँका आश्रममा देश विदेशबाट हजारौँ भक्तजनहरु आउँथे । कति विमारी भक्तहरु निको भएर जान्थे । कतिपय भक्तहरु शान्ति प्राप्त गरेर जान्थे । यो अलौकिक चमत्कारले नै बाबाको चर्चा दिन पर दिन चुलिएको थियो । बाबाको चमत्कारिक दिव्यशक्ति ममा पनि परेको थियो । मानसिक अशान्त भएको मेरो मनले शान्ति प्राप्त गरेको थियो । अध्यात्मिक चिन्तनको खोजीमा नै मैले ब्रद्माकुमारी राजयोगको सात दिने तनाव व्यवस्थापन तालिम पनि लिएकी थिएँ । जसबाट मैले एउटा इश्वरीय शक्ति प्राप्त गरेको महसुस गरेकी थिएँ । घरव्यवहार, जागिर, साहित्य अध्ययन र लेखन मेरो यथावत नै थियो । पहिलो पुस्तकले नै साझा पुरस्कारजस्तो गरिमामय पुरस्कार प्राप्त गरेपछि ममा साहित्यलेखनमा थप जिम्मेवार र दायित्व महसुस भयो । म निरन्तर यही साधना एउटा काधँमा बोकेर दौडिरहेँ भने अर्को काधँमा चारवटा छोराछोरीको भविष्य निर्माणको दायित्व बोकेर कुदिरहेँ । यसै कारणले पनि म साइबाबा र ब्रह्मकुमारीको प्रिय भक्त भएर लागिरहन सकिनँ । जागिर छोेडे पनि घर व्यवहार र साहित्यलेखनले म अति व्यस्त भएँ । बिस्तारै नेपाली समाजमा मोबाइलको प्रयोग बढ्न थाल्यो । सुरुमा झण्डै एक लाख पर्ने मोबाइल पछि न्यूनतम मूल्यमा पाउन थालियो । अहिले यसको लोकप्रियता र प्रयोगले सगरमाथाको उचाइ नाघेको हामी महसुस गर्न सक्छौँ । मोबाइल फोन सँगसँगै कम्प्युटरको चलन पनि नेपाली घरघरमा पस्न ढोका ढकढकाउँदै थियो । कम्प्युटरमा चिप्स र डिस्क प्रयोग गरी आफूलाई मन लागेको फिल्महरु हेर्न सकिने र गीतहरु सुन्न सकिने हुन थाल्यो । यति हुँदाहुँदै नेटको प्रयोग दौडदै नेपाली कोठाकोठामा छिर्न हतारिएको थियो । अब विज्ञानले नयाँ चमत्कार गर्यो त्यो के भने घर बसीबसी विश्वका सारा घटनाहरु समाचारहरु नेटमार्फत हेर्न, पढन र सुन्न पाइने भयो । टाढाटाढाको आफन्तीसँग घरमा नै बसेर सशरीर भलाकुसारी गर्न पाइयो । यो भौतिक विज्ञानले दिएको अलौकिक चमत्कार थियो हाम्रा लागि ।
यसै समय म अध्यात्मिक दर्शनको भोक मेटाउन विभिन्न गुरुदेवहरुको महानवाणी युट्युवमा हेर्न र सुन्न थालेँ । यसमा डा विकासानन्द, सदगुरुदेव, आचार्य रजनीश, स्वामी रामदेव बाबा आदि हुनुहुन्थ्यो । यसरी साहित्यिक ज्ञानसँगै अध्यात्मिक ज्ञानको तिर्सना मेटाउन थालेँ ।
जीवन सहज रुपमा बग्दै थियो । एक्कासि कोरोना महामारीले विश्वलाई नै तहसनहस बनाउन आइपुग्यो । दोस्रो लहर चलिरहेको थियो । त्यसैसमय परिवारमा माइलीछोरी जुवाइँसाब, नाति, बुबाआमा सबैलाई कोरोनाले पीडित बनायो । मलाई नि घाँटी दुखेर एन्टिबायोटिक खाइरहेको अवस्थामा डाइरिया र भोमिटिङ्ग भयो । त्यही दिन मैले कोरोनाको खोप लगाएँ । खोप लगाएपछि म निकै बिमारी भएँ । झन्डै मृत्युको नजिक पुगेर फर्किएँ । यो बिमारीले मलाई निकै नै शारीरिक र मानसिक रुपमा नै कमजोरी बनायो । यसले आर्थिक अवस्थालाई पनि निकै दखल दियो । मेरो अध्ययन र लेखनलाई प्रत्यक्ष नै ठूलो असर गर्यो । साहित्यिक लेखन गर्न भनेर राखिएको धेरै काम अलपत्र परेँ । म आफैँलाई जीवन सबै लथालिङ्ग भएको महसुस भयो । बिस्तारै आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक बनाउँदै लगेँ । तर यो मेरो लागि अति कठिन समय थियो । जीवनमा मृत्युसँग कहिल्यै नडराउने म मृत्यु कति भयानक हुँदो रहेछ भन्ने पीडादायक अनुभूति प्राप्त गरेँ । शायद यो ईश्वरको लीला नै थियो ।
मेरो अलपत्रे विमारले घरपरिवारमा सबैलाई तनाव दिइरहेको थियो । आमाबुबा लगायत भाइबहिनी, छोरीजुवाइ सबैलाई चिन्ता थियो । बहिनी गीताको समाजसेवी डा. झमक कार्कीसँग राम्रो सम्बन्ध रहेछ । हुन त उहाँ हाम्रो पनि नजिककै नातेदार हुनुहुन्छ । तर खासै आउजाउ भएको थिएन । उहाँले गीता बहिनीलाई जीवन विज्ञानको प्रयोगशालामा आउन भन्नुभएको रहेछ । ऊ केहीसमयदेखि आउन थालेकी थिई । ऊ पनि कोरोनाले निकै सिरियस भएर बिमारी भएकी थिई । उसलाई प्रयोगशालाले निकै फाइदा गरेको कुरा गरिरहेकी थिई । उसले मलाई पनि आउनलाई जोड गरी । जीवन विज्ञानको बारेमा मैले धेरै अगाडिदेखि सुन्दै आएकी थिएँ । जीवन विज्ञानका श्रद्धेय गुरुदेवहरुको महानवाणीहरु युट्यवहरुमा सुन्दै आएकी थिएँ । तर यसरी प्रयोगशालामार्फत योग, ध्यान, व्यायाम गराउने भन्ने कुरा चाहिँ सुनेकी थिइनँ । हामीले झमक कार्कीमार्फत चावाहिलमा गुरुदेवहरुसँग दर्शन भेट गर्ने परिपञ्च मिलायौँ ।
दुवै गुरुदेवहरुसँग भेट भयो । गुरुदेव एलपी भानु शर्मासँग दुईचार वाक्य मात्र संवाद भयो ।
मैले भनँे –“म विमारी भएर आएको गुरुदेव म विमारी छु ।”
गुरुदेवले भन्नुभयो, “विमारी छु हैन ‘थिएँ’ भन्नुहोस् आजदेखि तपाईंको विमार गयो । अहिलेदेखि गयो ।”
गुरुदेवसँग मात्र यति थोरै सवाद भयो । उहाँ घरजाने हतारोमा हुनुहुँदो रहेछ । गाडी चढेर जानु भयो । रमेश नेपाल गुरुदेव यही आश्रममा बस्नु हुँदो रहेछ । उहाँसँग निकै समयसम्म संवाद भयो । मन निकै हलुका भयो । गुरुबाट धेरै आर्शीवचन प्राप्त भयो । यो जीवन विज्ञानको केन्द्रिय कार्यालय रहेछ । यहाँको वातावरण अत्यन्त शान्त रमणीय थियो । भर्खर कार्यक्रम सकेर गुरुदेवहरु बाहिर निस्कनु भएको थियो । साधकसाधिकाहरुको चियानास्ता खाने समय भएको रहेछ । गुरुदेवसँग दर्शनभेट गर्ने अरु मानिसहरु पनि थिए । झन्डै आधापौने घन्टाको प्रतीक्षापछि हामीले दर्शनभेट पाएका थियाँै ।
भोलिपल्टदेखि नै जीवन विज्ञानको सुनसरी अनलाइनमा जुममार्फत म हाजिर भएँ । तर त्यससमय मलाई पायल्स विमारले निकै सताएको हुनाले राम्रोसँग भाग लिन सकिनँ । तर पनि यस प्रयोगशालाले मलाई निकै फाइदा गरायो । लामोसमयसम्म कोरोनाकालमा कोहीसँग भेटघाट गर्न नपाएको फेरि विमार भएर घरमा एकान्तिक समय बिताउनु परेको हुनाले यस जुममार्फतको भेटघाटमा मलाई निकै हौसला उर्जा प्राप्त भएको महसुस भयो । सुनसरी प्रयोगशालाका संयोजक केदारमान कार्कीसँग मेरो श्रीमानको पहिला राम्रो चिनजान भएको नाताले पनि यसमा बस्दा मलाई निकै रमाइलो लाग्यो । उहाँको धर्मपत्नी सुशीलामैया कार्की पनि निकै उर्जाशील भई व्यायाम गराउनु हुँदो रहेछ । विहान ४.१५ देखि सुरुहुने यस प्रयोगशालामा गुरु बन्दना, योग, ध्यान र व्यायामहरु गराइदो रहेछ । निकै उर्जाशील भई प्रशिक्षकहरुले सिकाउनु हँुदो रहेछ । म निकै प्रभावित भएँ । प्रशिक्षकहरु सीता कार्की, क्षत्र कार्की, विश्व भटराईज्यू, तारा गिरीहरु बिहान झन्डै दुई घन्टाको समय साधकसाधिकाहरुलाई योग ध्यान गराउनु हुँदो रहेछ । यो ठूलो पुण्य कार्य लाग्यो मलाई । मीठो भाषाशैलीमा अध्यात्मिक ज्ञानसँगै योगको विभिन्न विधिहरु र अन्र्तचेतना ध्यान विधिले मानिसमा निकै उर्जा ज्ञान र आत्मीक शक्ति प्राप्त हुने अनुभव भयो मलाई । यसरी यो प्रयोगशालामा ढिलो आएकोमा आफूलाई पछुतो भयो । फेरि पायल्स विमारले राम्रोसँग गर्न नपाउँदा अर्को दुखमाथि दुख थपियो । श्रद्धेय गुरुदेवहरुले युट्युब र टिभीमार्फत आफ्नो अध्यात्मिक ज्ञानहरु छरिरहनु भएको थियो तर यसरी प्रशिक्षकहरु तयार गरी विभिन्न जिल्लाहरुमा उर्जाध्यानको ज्ञान छर्नुभएको कुरा ढिलो थाहा पाएकोमा आफँैलाई थकथक लाग्यो । त्यसपश्चात म जीवन विज्ञानसम्बन्धी धेरै कुरा थाहा पाउने प्रयास गर्न थालेँ ।
जीवन विज्ञान आजभन्दा एघार वर्षअघि स्थापना भएको रहेछ । श्रद्धेय गुरुदेव रमेश नेपालको धर्मपत्नी वसन्तीमाताको प्रेरणा र मार्गनिर्दशनमा यो संस्था स्थापना भएको रहेछ । यससंस्थालाई जीवन उपयोगी बनाउन विशेषज्ञको रुपमा गुरुदेवहरु रातदिन लागिपर्नु भएको देखेँ मैले । उहाँहरुले मानव जीवनको कल्याणको लागि वैज्ञानिक आधारमा आफ्नै दर्शन र सिद्दान्तहरु प्रतिपादन गर्नुभएको रहेछ । जीवन के हो यो कसरी सुखी, शान्ति र समृद्धि बन्छ भन्ने कुरामा आफूभित्र नै खोज्नुपर्छ । जीवनलाई सबै सुख, सम्पत्ति र समृद्धि गराइ बाँच्नको लागि योग, ध्यान र व्यायामको आवश्यकता पर्दछ भन्ने नै यसको प्रमुख सिद्धान्त रहेछ । यसका साथै जीवनमा शरीर, भावना र चेतनाको संयोजन नै यसको प्रमुख लक्ष्य रहेछ । अध्यात्मिक ज्ञानलाई आजको वैज्ञानिक युगमा मानवको जीवनमा सम्प्रेषण गरी त्यसलाई सैद्धान्तिक ज्ञानले र प्रायोगिक ज्ञानले सुसज्जित गराई समाजसेवा गर्नु नै यसको मुख्य ध्येय रहेछ । श्रद्धेय गुरुदेवहरुले आफ्ना सिद्धान्तहरु महानवाणीको रुपमा युट्युबबाट सम्प्रेषण गरी राख्नुभएको रहेछ भने प्रायोगिक ज्ञान प्रशिक्षकहरु तयार गरी जुममार्फत साधकसाधिकाहरुलाई सम्प्रेषण गरी राख्नु भएको रहेछ । विभिन्न जिल्ला र क्षेत्रहरुमा संयोजक बनाइ अनलाइनमार्फत र भौतिक रुपमा पनि प्रयोगशाला स्थापना गराइ प्रशिक्षण दिई राख्नुभएको रहेछ । यस प्रयोगले धेरै साधकसाधिकाहरुले लाभ लिएको कुरा साधना अवधिमा साधकसाधिकाले आफ्नो अनुभूति राख्ने क्रममा थाहा भयो । प्रयोगशालामा गराइने उर्जाध्यानबाट कतिपय साधकसाधिकाको शारीरिक विमार निको भएको र कतिपय साधकसाधिकाको मानसिक विमार निको भएको प्रत्यक्ष सुन्न पाउँदा मन निकै नै आल्हादित भयो मेरो । मसँगै मेरो श्रीमान् पनि यो उर्जाध्यान विधिबाट निकै प्रभावित हुनु भयो । काठमाडौँको चिसोमा बिहान मर्निङवाक गर्न जाँदा चिसो लाग्ने र बाटोमा अप्रिय घटनाहरु घटने निकै सम्भावना रहन्थ्यो । तर घरमा नै जीवन विज्ञानको उर्जाध्यान प्रयोगले उहाँलाई धेरै फाइदा गयो । त्यस्तै मेरा काका रुद्र खड्कालाई पनि यो जुमको कक्षामा आफ्नो विमार ठीक भएको कुराहरु बताउनु भयो । त्यसैले यो प्रयोगशालाले जुममार्फत गरिएको उर्जाध्यानबाट धेरै साधकसाधिका लाभान्वित भएका छौँ भन्ने कुरामा कुनै दुइमत रहेन ।
वास्तवमा जीवनमा बाँच्नको लागि कला चाहिँदो रहेछ । त्यो कला हामीभित्र नै हँुदो रहेछ । त्यसलाई बुझेर चिन्न सके हाम्रो जीवन अत्यन्त सुन्दर बन्छ भन्ने कुरा जीवन विज्ञानले सिकाउँदो रहेछ । कोरोनाकालमा कतिपयले आफन्त गुमाउनु परेको कतिपय मानसिक तनावमा बस्नुपरेको, कतिपय विमारीले थला परेर उठ्न नसकेको साधकसाधिकाले जीवन पाएको कुरा यस प्रयोगशालामा गरिएको मन्तव्य आदानप्रदानमा थाहा पाइन्थ्यो । प्रशिक्षकज्यूहरुले बेलाबेलामा दिने ऊर्जामय वाणीहरु र ध्यान, योग, व्यायामले वास्तवमा नै जीवन आहा बन्न पुग्दो रहेछ । इश्वरीय आराधनासँगै आफूभित्र रहेको सम्पूर्ण ब्रह्माण्डरुपी उर्जालाई कसरी सक्रिय बनाउने भन्ने कुरा प्रयोगशालामा सिकाइदो रहेछ । यो प्रयोगशाला देशभित्र पनि धेरै नै लोकप्रिय बन्दै गएको र देशबाहिर पनि निकै लोकप्रिय बन्दै गएको रहेछ । अझ यस संस्थाले सिर्जना गरेको उर्जाशील गीतहरुले जीवन नै नयाँ तरङ्गले तरङ्गित बनाउन पुग्दो रहेछ । सुनसरी अनलाइनका सम्पूर्ण प्रशिक्षकज्यूहरु आफ्नो अमूल्य समय दिइ प्रत्येक दिन बिहान दुई घन्टा साधना गराइरहनु भएको रहेछ । उहाँहरुको यो त्याग, साधना र समाजसेवाको भावनाको लागि मुरीमुरी साधुवाद भन्न चाहन्छु ।
मैले लामो समय बालबालिकालाई अध्यापन गरेर धेरै अनुभव बटुलेको हुनाले जीवन विज्ञानको दर्शन बालबालिकामा सम्प्रेषित गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने कुरा मैले प्रयोगशालामा प्रशिक्षकहरुसँग पनि राखेँ । अहिलेको बालबालिकामा यो सिद्धान्तले धेरै नै सकारात्मक ऊर्जा प्राप्त हुने र उनीहरुले भविष्यमा हाम्रो पूर्वीय सनातन धर्मले जन्माएको अमूल्य दर्शन र सिद्धान्तबारे ज्ञान हुने थियो भन्ने लाग्यो । अहिलेको हाम्रो समाज यति विकृतिग्रस्त र विसंगतिग्रस्त हुनुमा हाम्रो शैक्षिक नीति जिम्मेवार छ भन्ने मलाई लाग्छ । अंग्रेजी भाषाको संक्रमणले हाम्रो राष्ट्रिय भाषा रोगी बन्दै गएको छ । बालबालिकाहरुमा पश्चिमी सभ्यतातिर ढल्किरहेका छन् । उनीहरुमा पूर्वीय सभ्यता, संस्कार, संस्कृति मूल्यमान्यताहरु हराउँदै गएको छ । हाम्रा बालबालिकाहरु न त पश्चिमी सभ्यतामा बाँच्न सकेका छन् न त पूर्वीय सभ्यतालाई अँगाल्न सकेका छन् । त्यसैले आज धेरै विद्यार्थीहरु डिप्रेशनमा जाने कि त विदेश पलायान हुने प्रक्रियामा छन् । यस्तो अवस्थामा उनीहरुलाई सानैदेखि योग, ध्यान, व्यायाम गराउन सके सकारात्मक ऊर्र्जा प्राप्त भई जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि आफूलाई समायोजन गराउन सक्छन् भन्ने मेरो मान्यता छ ।
झन्डै दुईवर्षपछि इटहरी घर जाने संयोजन जुट्यो । यो अघि गएपनि धरानमात्र बसेर फर्केकी थिएँ । कोरोनाले गर्दा र म स्वयम् बिमारी भएर पनि जान सकेकी थिइनँ । यसपाला माइली छोरीको घर इटहरीमा आदरणीय सम्धीसम्धीनीज्यूले भागवत महापुराण लगाउने भनेर निमन्त्रणा गर्नुभएपछि जुनसुकै अप्ठेरो परिस्थितिमा पनि जाने निर्णय गर्यौँ । म भर्खर बिमारीबाट उठेकी थिएँ । के होला कसो होला भन्ने मनमा त्रास छँदै थियो म चाहिँ अघि नै गएर इटहरी घरको सरसफाइ गरेर सबै कुराहरु व्यवस्थित बनाउन पुगेँ । त्यस पछि श्रीमान् र छोरी सदिच्छा गएँ । भागवत महापुराण सुरु भइसकेको थियो । म पहिलो दिन उपस्थित भएँ । श्रीमान् दोस्रो दिनदेखि मात्र उपस्थित हुनसक्नु भयो । साँच्चै भन्नुपर्दा भागवत महापुराण यति भव्य र दिव्य हुन्छ भन्ने मैले कल्पना नै गरेकी रहेनछु । जागिरले झण्डै २० वर्ष समय खाइदियो त्यसपछि पनि घरव्यवहार र लेखनले सबै समय उघ्राउँदै खाइदियो । अलिकति पनि मेरो लागि राखिदिएन । यस्तो बेला धार्मिक क्रियाकलापमा सहभागी हुनु मेरो लागि असम्भव नै थियो । यस्ता भागवत महापुराणमा गीतीलयमा गाइने पुराणवाचन र बेलाबेलामा देखाइने धार्मिक लीलाका झाँकीहरुले अत्यन्त रोचक र सुन्दर बनाउँदो रहेछ । ईश्वरको आराधनामा डुबुल्की मार्दै सबैमिलेर नृत्य गर्दा निकै आनन्द आउँदो रहेछ । पं. दीनबन्धु पोखरेलको लयात्मक शैलीको वाचन र भजनले सबैलाई लट्ट पारेको थियो । त्यो आनन्द लिन मैले अलिकति पनि लोभ गरिनँ । अलिकति नि ढिला गरिनँ । आदरणीय सम्धिसम्धिनीज्यूहरु यो कार्यको लागि मुरीमुरी बधाईको पात्र हुनु भयो ।