२०२४ सालदेखि बनेपामा एस.एल.सीको परीक्षा केन्द्र सञ्चालन भएको हो । त्यसपछि कलेजको आवश्यकता महसुस गरी २०२५ सालमा बनेपामा काभ्रे कलेजको स्थापना भएको हो । म पनि त्यस कलेजमा विद्यार्थी भई पढ्न पाएको हुँ । सुस्ता/महेशपुरमा भारतबाट भएको हस्तक्षेपको विरुद्धमा विद्यार्थीहरूको नेतृत्व गर्दै त्रिभुवन चोकमा भाषण गरेको सम्झना छ । केही महिनासम्म आजाद मा.वि.मा नै उक्त कलेज सञ्चालन भएको हो । हंसराज श्रेष्ठ र रामभक्त कोख श्रेष्ठको विशेष सक्रियतामा सञ्चालित उक्त कलेज रु. १५,०००।–(पन्ध्र हजार) धरौटी राख्न नसकेर बन्द भएको हो । सङ्कीर्ण राजनीति बोकेर षड्यन्त्रपूर्ण चालबाजी गर्न रुचाउने स्वाँठहरूले नेतृत्व गर्न सक्षम कुनै पनि ठाउँमा यस्तो खालको दुर्गति भोग्नुपर्ने बाध्यता पर्न जान्छ । बनेपाले पनि यस्तै दुर्गति २०२५ सालतिर शिक्षा क्षेत्रमा भोग्नुपर्यो ! यो घटना बनेपाकै प्रगतिमा वक्रदृष्टि थापेको शिक्षा जगत्मा भएको दुर्घटना मान्न सकिन्छ । म झलझली सम्झिरहेछु; मैले पनि पढ्न पाएको उक्त कलेज स्थापना भएर पनि धरौटी रकम जम्मा गर्न नसकेर बन्द भएका क्षणहरू । दुःख लाग्छ उक्त घटनाका प्रसङ्गहरू मनमा सम्झिदिँदा । व्यापारिक नगरी, धनधान्यले सम्पन्न थुप्रै महानुभावहरू बसोबास गरेको यस नगरमा रु. १५,०००।– धरौटी रकम राख्न नसकेर कलेज बन्द भएका प्रसङ्गहरू । दुर्घटना भएकै हो; इतिहासमा यस्ता कुराहरू स्मरण गर्न लज्जा बोध गर्नु हुँदैन । यस खालको घटना घट्दा म करिब १९ वर्षको युवा थिएँ ।
२०३६ सालमा अर्थात् म ३१ वर्षको परिपक्व युवक छँदा पुनः कलेज खोल्ने चर्चा चल्यो । मसँग नजिकका मित्रहरू राष्ट्रिय समाज सुधार संस्थामार्फत कलेजको आवश्यकता वोध गरेर अरूलाई बुझाउन खोजिरहेका थिए, सक्रियतापूर्वक लागिरहेका थिए, अभियान सञ्चालनमा खटिरहेका थिए । प्रकाशचन्द्र लोहनी, मन्जुर वर्ल्ड सँगसँगै स्थानीय मित्रहरू गणेशलाल कायस्थ, केदार प्रधान र लम्बोदर कायस्थहरू क्याम्पस सञ्चालन गर्न सकिन्छ भनी क्रियाशील भइरहेका थिए । एक दिन मित्र केदारनाथ प्रधानले यस अभियानलाई साथ दिनका लागि अनुरोध गरे । मैले सक्दो सहयोग गर्ने वचन दिएँ । अभियानकै क्रममा एक दिन मित्र जवाहरलाल पलान्चोकेको इटुम्बहालस्थित डेरामा पुगेर क्याम्पस स्थापना गर्न सकिने सम्भावनाका कुराहरू सुनाउन म र केदारजी पुग्यौँ । क्याम्पसको आवश्यकता छ; सञ्चालनका लागि सहयोग सक्दो हुने वचन जवाहरजीबाट पनि प्राप्त भयो । अभियान चल्दै गयो । विशेष गरी मसहित केदार प्रधान, गणेशलाल कायस्थ, जवाहरलाल पलान्चोके , लम्बोदर कायस्थ सहित ५ जनाको टोली ठाउँ–ठाउँमा कुद्न थाल्यौं । जिल्लाका ठाउँ–ठाउँमा, बनेपाकै चोक–चोकमा, काठमाडौँको घर–घरमा क्याम्पस संस्थापन गर्ने इच्छा बोकेर कुदिरह्यौँ । यस यात्रामा थुप्रै मित्रहरूको पङ्क्ति थपिँदै गयो । गोविन्दलाल प्रधानाङ्ग, लक्ष्मण सुन्दर सैंजु, राजभाई डङ्गोल, रामकृष्ण खाछिभोया लगायत्का थुप्रै मित्रहरू यस अभियानमा सरिक हुनुभयो ।
पूर्वकै द्वार कहलिएको व्यापारिक नगरी बनेपामा एउटासम्म क्याम्पस नुहुनको पीडा बोधले गर्दा हामीलाई सक्रिय तुल्याई दियो । रातदिन जस्तो हामी खटिरह्यौँ । बनेपाबाट काठमाडौँ सम्म पुगेर शक्तिकेन्द्रहरू खोजिरह्यौँ । हामी समाजमा केही गर्ने चाहना बोकेर कुदिरहेका कोरा यात्रीहरूमाथि पनि बाटा घाटामा काँडाहरू छर्किदिएर बाटाहरू छेक्न खोज्नेहरूले जिस्काइरहे । तर पनि हामीहरू काँढाहरू पन्छाउँदै निश्चल यात्रामा रम्न जाँगर चलाइरह्यौँ । क्याम्पसको चाहना सबैमा हुनुपर्ने हो; क्याम्पस यहाँको आवश्यकता हो भन्दै हामीहरू सबै पक्षलाई समेट्न जिउ ज्यान दिएर लागिरह्यौँ । हामीले त्यसताका नै अरू खेमाका साथीहरू पनि समेट्न विना भेदभावले अभियान सञ्चालन गरिरह्यौँ । रामभक्त कोख श्रेष्ठ यस क्षेत्रका बुद्धिजीवी पुरानो काभ्रे कलेजका संस्थापक तथा आजाद मा.वि.का प्रधानाध्यापकसँग र समाजसेवी पूर्णकाजी कायस्थसँग एकसरो कुरा चलाउने निधो भयो । एक दिन लम्बोदर कायस्थको तिनधारा स्थित पुरानो घरमा उहाँहरूसँग हाम्रो कुराकानी भयो । हामीले रामभक्त सरलाई क्याम्पस प्रमुख भई दिन र पूर्णकाजी कायस्थलाई सञ्चालक समितिको कोषाध्यक्ष रहिदिनका लागि हामीले अनुरोध गर्यौँ । उहाँहरूले पदमा बस्न रुचि देखाउनुभएन तर राम्रा खालका सुझावहरू दिनुभयो । रामभक्त सरले बहुदलको बिल्ला लाग्न सक्छ, संयमपूर्वक गरे त हुनसक्छ भन्नुहुँदै सुरेन्द्रमान जोशी युवा क्रियाकलाप समन्वय समितिका सभापति हुनुहुन्छ उहाँसँग जुवाई साहेबको नाताले भनसुन गराउन सके प्रशासनिक झन्झट त आइलाग्दैन । स्वीकृतिको ढोका खुल्न सक्छ । यस्तै खालका सल्लाह भयो र उहाँहरूसँग हामीले कुरा टुङ्ग्यायौँ ।
क्याम्पसको स्थापना र विकास क्रम
हामी यात्रामा कुदिरह्यौँ । जमानी राख्नुपर्ने; स्वीकृतिका लागि कालो सूचीबाट हाम्रो नाम सेतो सूचीमा राख्नुपर्ने खालका व्यवधानहरू छँदै थियो । जमानीका लागि तत्कालीन जिल्ला पञ्चायतका सभापति आशाकाजी वैद्यकहाँ जाने निधो भयो । धेरै पटकको प्रयासपछि कार्य सम्पादन भयो । यसरी काभ्रे क्याम्पसको स्थापना २०३७ माघ २० गते भयो । अञ्चलाधीश अध्यक्षमा र गणेशलाल कायस्थ उपाध्यक्षमा रहने गरी रामकृष्ण खाछिभोया, आशाकाजी वैद्य, गोपालसिंह मुस्याजु, पूर्णकाजी कायस्थ, ज्ञानकाजी मानन्धर, बेलप्रसाद श्रेष्ठ, लक्ष्मण सुन्दर सैंजु, जवाहरलाल पलान्चोके, लम्बोदर कायस्थ, केदारनाथ प्रधान (सदस्य सचिव/क्याम्पस प्रमुख रहने) गरी सञ्चालक समितिको गठन भयो । म त्यसताकादेखि अर्थात् सुरूवातकाल देखि क्याम्पस सञ्चालकहरूका सुख दु:खभित्र रही आफू सक्दो सेवाको भावना मन–आस्थामा झुन्ड्याइ क्याम्पस सञ्चालनमा कुदिरह्यौँ । साथीहरूकै अनुरोधमा केही क्षण नेपाल परिचय र नेपाल भाषाको शिक्षक भई पढाउने मौका पनि मिल्यो । र साथै; सुरूवातकालमा शिक्षकहरूको अभाव पूर्ति गर्ने कार्यमा केदारनाथ प्रधान र मैले जिम्मा लिएका थियौँ । ठाउँ–ठाउँका मित्रहरूसँग सहयोग लियौँ । पूरा शुल्क दिन नसकिने जे–जति रकम प्राप्त भयो त्यसैमा सन्तुष्टि गर्नुपर्ने आदि कारणले शिक्षकहरू जुटाउने कार्य पनि जोखिमपूर्ण नै थियो । त्यस अवधिमा बनेपाबाट शिक्षण सेवा पुर्याउनुहुने शिक्षकहरूमा केदारनाथ प्रधान र आशाकाजी श्रेष्ठ मात्र हुन् । पछि सेवामा थपिएका र सङ्कटकालको बेलामा योगदान पुर्याउनु हुने शिक्षकहरूमा जगन्नाथ आवा, वीरबहादुर थापा, लेखनाथ गुरागाईँ, तारा न्यौपाने, बालभक्त प्रधान, रामशरण लुइँटेल, ध्रुवप्रसाद शर्मा, प्रकाश शाक्य, गोविन्दलाल प्रधानाङ्ग, शान्तिराज कायस्थ, कमला कायस्थ हुन् भने कर्मचारी भई सङ्कटमा पनि साथ दिँदै आउनुहुने कार्यरत कर्मचारीहरूमा श्रीकृष्ण धौभडेल, भुवन मानन्धर, रघुराम वैद्य, पूर्ण श्रेष्ठ, प्रेम खुप्पा श्रेष्ठ, रघु पोडेहरू हुन् ।
यसै क्रममा थुप्रै खालका थुप्रै घटनाहरू क्याम्पस प्रसङ्गमा चल्दै रह्यो । क्याम्पस सञ्चालन कार्य जोखिमपूर्ण रहेको मात्र होइन सधैँ खटिरहने मित्रहरूलाई लाखापाखा लगाई क्याम्पस सञ्चालन गरिरहँदा भोलि अप्ठ्यारो पर्न सक्छ, कार्य गर्ने मित्रहरूको इतिहास धमिलो बन्न सक्छ भन्ने सवालमा मित्र जवाहरलाल लगायत् अन्य मित्रहरूले हाम्रो आवश्यकता वोध गरेर म लगायत् केही साथीहरू सञ्चालक समितिमा राख्ने निर्णय भइसकेपछि सो निर्णयलाई अर्को अर्थ आउने गरी त्रि.वि.वि.सँग स्वीकृति लिई मात्र थप्ने ब्यहोरा बनाई माइन्युटमा निर्णय लेखिएको कारणले क्याम्पस प्रशासन केही क्षणसम्म विवादका विषयमा अल्झिरह्यो । उक्त घटनालाई नामेट गर्न नमिल्ने भएकोले यहाँ उल्लेखसम्म गर्न खोजिएको हो । जवाहरलाल पलान्चोके, लक्ष्मण सुन्दर सैजु, रामकृष्ण खाछिभोया, लम्बोदर कायस्थ, रोशन श्रेष्ठ, राजभाई डङ्गोल र म लगायतका हामी सहयोगीहरू र क्याम्पसप्रशासन बिचमा नराम्रो ढङ्गले द्वन्द्व चल्दै गए । पछि अञ्चलाधीशको अध्यक्षतामा बसेको बैठकले मोहन दुवाल, गोविन्दलाल प्रधानाङ्ग, राजभाई डङ्गोल, रोशन श्रेष्ठ सहित जि.पं. काभ्रे, बनेपा न.पा., अरनिको यातायात सेवा समिति, बाग्मती अञ्चल बस व्यवसायी समिति, काभ्रे मिनिबस सेवा समितिका प्रतिनिधिहरूसमेत थप्ने गरी सञ्चालक समितिको निर्माण भयो । क्याम्पसका सञ्चालकहरू दुई धारमा विभाजित भएजस्तो भएपछि अरूहरूको दृष्टि क्याम्पसमा पर्नु अस्वाभाविक भएन । यसैताका क्याम्पस सञ्चालक समितिमा सबै पक्षको प्रतिनिधित्व नभई एकै पक्षका वामपन्थीहरू मात्र संलग्न रहेको क्याम्पस भनी उजुर परेकै आधारमा हेमन्त शमशेर राणा, तिर्थरत्न बज्राचार्य र प्रतिअको आयोग गठन भयो । हामीले आफ्नोतर्फ बाट भएगरेको क्याम्पस सञ्चालनका गतिविधिहरू राखेपछि उक्त आयोगले पुरानै सञ्चालक समितिलाई कायम गरिदिनु भयो । हामी सेवाबाट बर्खास्त हुनु परेन । त्यस बेला नै हाम्रा द्वन्द मा फाइदा लिने हिसाबले विद्यार्थी युनियनका तर्फबाट तालाबन्दी सुरु भयो । प्रशासनलाई चारैतर्फबाट घेर्न सुरु गरे । भ्रष्टाचारका कुराहरू गरे । लालपुर्जा बेचेर खाएको भने । भए नभएका फतुर लगाउँदै क्याम्पस प्रमुखको राजीनामा मागे । तर पनि हामी संयमित रहँदै क्याम्पस जोगाउने सवालमा लागिरह्यौँ । क्याम्पस प्रमुखको गल्तीलाई सच्याउन दिई क्याम्पसलाई द्रुतगतिमा अगाडि सार्ने हाम्रो नियत भएको कारणले दुइटा ग्रुपमा विभाजित सञ्चालकहरूबिच मिलापत्र भयो । केही क्षण अविश्वासकै कारणले अर्थात् सबैलाई काम विभाजन गर्ने दृष्टिले केदारजीलाई क्याम्पस प्रमुख मात्र र मलाई सदस्य–सचिवमा राख्ने निर्णय सं.स.ले गर्यो । यसरी बाङ्गाटिङ्गा प्रसङ्गहरूलाई नाघ्दै क्याम्पस सञ्चालन हुँदै रह्यो ।
काभ्रे क्याम्पसबाट काभ्रे बहुमुखी क्याम्पसमा रूपान्तरण
बहालमा सम्झौता गरी काभ्रे क्याम्पसको सञ्चालन आजाद मा.वि.मा हुँदै आएको हो । यस ठाउँमा रहँदा–बस्दा पनि राजनीति नभएको होइन । समयमा बहाल तिर्न नसक्दा चर्पीहरू कफ्र्यूमा पर्नू, अफिस कोठाहरूमा सङ्कटकाल लाग्नु आदि–इत्यादि त्यसताकाका क्याम्पसले भोगेका कष्टप्रद क्षणहरू हुन् । आवश्यकताअनुसार, समाजका लागि क्याम्पस संस्थापन हुँदा पनि कहिल्यै कम्युनिस्ट क्याम्पसको नाममा, कहिले उग्र बादीहरूको अखडाको बहानामा छेक थुन, असहयोग, वक्रदृष्टि पर्दै आएको भए तापनि यस काभ्रे क्याम्पसको संस्थापनमा, विकास निर्माणमा, स्तरबृद्धिमा इमानदार समाजसेवी, शिक्षा सेवी, राजनीतिज्ञ जिल्लावासीहरूले आफू सक्दो सहयोग पुर्याउँदै आएका सन्दर्भहरू बिर्सि नसक्नु छ । जिल्ला बासीहरूको चाहनाअनुसार स्थापित भएको क्याम्पस भएको हुनाले यस क्याम्पसको प्रगति र प्राप्तिमा प्रत्येक वर्ष उन्नति हुँदै आएको तथ्य बिर्सिन गाह्रो छ । आइ.ए.स्तरसम्मको मात्र स्वीकृत प्राप्त रहेको उक्त क्याम्पसमा २०३८ साल मङ्सिर देखी आइ.कम.को सञ्चालन भएको थियो । यस विषयको स्वीकृति लिइदिने कार्यमा शैलेन्द्रकुमार उपाध्यायको भूमिका सह्रानीय छ । २०४८ सालमा वि.कम. र २०४९ सालदेखि वि.ए.को पनि पठनपाठन भइरहेको यस काभ्रे क्याम्पस यसरी काभ्रे बहुमुखी क्याम्पसमा रूपान्तरण भएको हो ।
क्याम्पसको लालपुर्जा र निर्माणका प्रसङ्गहरू
निकै बाङ्गाटिङ्गा बाटाहरूबाट सुरु भएको डरलाग्दा यात्राहरूबाट सिर्जित यस क्याम्पसका लागि बुडोलमा करिब ३४ रोपनी जग्गा २०३८ सालमा प्राप्त भएको थियो । सो जग्गा क्याम्पसको नाममा गराइदिने कार्यमा तत्कालीन बज्रयोगिनी गा.पं.का प्रधानपञ्च पृथ्वी ध्वज के.सी.को विशेष भूमिका र सक्रियता रहेको थियो । पछि उक्त जग्गा क्याम्पसको नाममा गरी लालपुर्जा लिने कार्यमा तत्कालीन भूमिसुधार मन्त्री राधाकृष्ण मैनालीकहाँ पुग्न र काम फत्ते गर्ने कार्यमा तत्कालीन सांसद केशव बडालले पनि आफू सक्दो सहयोग जुटाई दिनुभएको थियो । र त्यस्तै; वन विभागबाट गर्नुपर्ने कार्यहरूमा डी.एफ.ओ. सुवर्ण कर्माचार्य र भूमिसुधारका कर्मचारी रामप्रसाद श्रेष्ठले सघाइदिएको सहयोग बिर्सि नसक्नु छ । यसरी क्याम्पसको नाममा १८.१०.३.३ रोपनीको लालपुर्जा बल्ल प्राप्त भयो ।
क्याम्पसलाई जग्गा प्राप्त गरिसकेपछि भवन निर्माण समितिको कुरो चल्यो । पहिलो चोटी रा.प.स. शैलेन्द्रकुमार उपाध्यायको अध्यक्षतामा भवन निर्माण समिति बन्यो तर तत्कालीन जिल्ला पञ्चायतबाट सहयोग रकम लिनुपर्ने तर उक्त समितिअन्तर्गत जिल्ला पञ्चायतबाट रकम सहयोग गर्न नसकिने भनियो । त्यसपछि सत्यमान लामाको अध्यक्षतामा निर्माण समितिको निर्माण भयो र पहिल्लो समिति भङ्ग गरी सत्यमानअन्तर्गत्को समितिलाई अनुमोदन गरियो । दुई खण्डको ७ कोठा बनाउने योजनाका लागि ४ कोठा बनाउनका लागि जिल्ला पञ्चायतबाट पटक–पटक गरी रू. ५,९००००।– प्राप्त भएको थियो । उक्त लामाद्वारा अध्यक्षता भएको निर्माण समितिमा राम गोपाल कायस्थ उपाध्यक्ष रहनुभएको थियो भने सदस्यहरूमा आशाकाजी वैद्य, गोपालसिंह मुस्याजु, रेसमलाल वैद्य, रतिराम तौजले, राम भक्त श्रेष्ठ, शुभ राज जोशी, रोशन श्रेष्ठ, रमेश वैद्य, रामबहादुर के.सी., पृथ्वी ध्वज के.सी., अत्तरकाजी दिक्पाल, चन्द्रराज कायस्थ, बद्रीनारायण अनामणी श्रेष्ठ र केदारनाथ प्रधान (सदस्य/सचिवमा) रहेको देखिन्छ ।
यस निर्माण समिति अन्र्तगत् पहिलो खण्डको ७ कोठा बन्यो । यसपछि काभ्रे बहुमुखी क्याम्पसको स्थानान्तरण बुडोलमा भयो । यसरी होडबाजीमा चल्दाचल्दै क्याम्पसको दुइटा भवन बन्यो । धेरै अप्ठ्यारा कहरहरू काट्दै, बेसमझदारीमा केही क्षण मनमुटाबमा भुल्दै क्याम्पस सञ्चालनका थुप्रै गतिविधिहरू यसरी भइरहे । पछि दोस्रो तल्ला थप्न तदारुकता देखाइयो । थुप्रै सहयोगी मित्रहरूसँग सहयोग जुटाइयो । यस अवधिका भवन निर्माण समितिमा संयोजक मोहन दुवाल, सदस्य–सचिव आशाकाजी श्रेष्ठ र अन्य सदस्यहरूमा प्रकाश शाक्य, लम्बोदर कायस्थ, पूर्णकाजी कायस्थ, गोविन्दलाल प्रधानाङ्ग, योगेन्द्रनाथ कर्माचार्य, राजु सरकार र भैरव के.सी. रहेका छन् । दोस्रो तल्ला बनाउन क्याम्पस सञ्चालक समितिका सल्लाहकार प्रकाशचन्द्र लोहनीको विशेष सक्रियतामा नगर विकास कोषमार्फत बनेपा न.पा.बाट प्रमुख रामभक्त कोख श्रेष्ठको कार्यकालमा ६ लाख प्राप्त भयो । दोस्रो तल्लाको भवन पनि बनिसकेको छ । हाल यस क्याम्पस भवनमा २९ वटा कोठाहरू छन् र क्याम्पसले कम्पाउन्ड बारिसकेको छ । हाल आएर सुन्दर क्याम्पस जस्तो काभ्रे बहुमुखी क्याम्पस काभ्रेका माटोमा ठडिसकेको छ ।
हालको गतिविधिहरू
संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानले समकालीन शिक्षासेवी मित्रहरुको सहयोगमा दुःख–सुखले हुर्काएको काभ्रे बहुमुखी क्याम्पसमा आशाकाजी श्रेष्ठ, कमला कायस्थले पनि होस्टेमा हैँसे गरेर क्याम्पस सञ्चालनमा आ–आफ्नो बर्कत र सक्रियता पुर्याएकै हो । पछिल्लोपल्ट केजी बयदार क्याम्पस प्रमुख भएर थुप्रै थुप्रै नयाँ खालका बौद्धिक कृतिहरू काभ्रेको शैक्षिक जगत्मा सिर्जना गरेको देखिन्छ । क्याम्पसको प्रगति दिनदिनै बढेको छ । त्रिविविका मूल्याङ्कनमा सर्वप्रथम त्तब्ब् प्राप्त क्याम्पस भएर आफूलाई चिनाउन सफल रहेको यस काभ्रे बहुमुखी क्याम्पसले भ्क्ए पनि प्राप्त गरेर राष्ट्रिय स्तरकै क्याम्पसका रूपमा आफूलाई चिनाउन सफल भएको छ । ‘थ्यासफू’ अनुसन्धानात्मक शैक्षिक पत्रिकाको प्रकाशन, ऐतिहासिक व्यक्तित्व बनेपाका आदिकवि जगत् केशरीको नाममा ‘जेके ब्लक’ को सिर्जना, संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको व्यवस्थित प्रतिमाको स्थापना, जनमत वाङ्मय पुस्तकालयको स्थापनामा सहयोग र भरथेग, नयाँ–नयाँ विषयको पठनपाठन गराएर, संरक्षक र आजीवन सदस्यहरू बनाएर उचित ढङ्गको क्रियाकलापहरू भएका छन्– जुन स्तुत्य छन् ।
तर; के लाग्नु राम्रो गर्नेहरूका विरुद्ध नराम्रो गर्नेहरू, प्रगति नरुचाउनेहरू आफू केही नगरीकन षड्यन्त्र रोप्नेहरूले मावि कक्षाको भर्नामा साधारण गल्तीलाई विषय बनाएर जिल्ला अदालतमा हामी विरुद्ध ठगी मुद्दा हालेर हाम्रो सेवा कार्यलाई ‘ठगी’ कार्य भनेर मुद्दा हालेर हामी १० जना सञ्चालकलाई करिब २ वर्ष तारिख बोकाएर जुन अधर्म कार्य गरे, त्यो इतिहासमा सधैँ कालो घटनाका रूपमा सम्झिनेछ । तर जिल्ला अदालतले प्रमाण नपुगेको भनी हामीलाई न्याय दिनुभई समाजसेवाका उत्कृष्ट कार्यलाई साथ दिनुभएको छ, जसले हाम्रो हौसलालाई थप बल प्रदान गरिदिनुभएको छ– न्यायकर्मी न्यायाधीशलाई मुरी–मुरी धन्यवाद भनिरहेछु ।
४२ वर्षको शैक्षिक यात्रा निरन्तर गर्न हामीले पाएका छौँ । काभ्रे बहुमुखी क्याम्पस मध्यपूर्वकै सबभन्दा पुरानो क्याम्पस हो, जसको भरथेग सबैले गरिदिनुपर्छ । मेरो लागि पनि मैले गर्न पाएको थुप्रै सामाजिक कार्यहरूमध्ये यसको संस्थापनदेखि हालसम्म निरन्तर सञ्चालक समितिको सचिव, उपाध्यक्ष भएर क्याम्पसमा कार्य गर्न पाएको र हालसम्म पनि सक्रिय रहेकै कारणले मूल्याङ्कन गरेर विशिष्ट संरक्षकका रूपमा प्रतिस्थापन गरिदिएको छ, आफू धन्य–धन्य भएको छु । मैले जीवनमा गर्न पाएको पछिल्लोपल्ट मेरो लागि यो अत्यन्त नै सुन्दरतम कार्य हो ।
क्याम्पसको प्रगतिमा विशेष साथ दिनेहरू
क्याम्पस प्राङ्गणमा सरस्वतीको मन्दिर बनाइदिने कार्य उत्तम नाथ उप्रेतीबाट भएको छ । विभिन्न क्षेत्रबाट आ–आफ्नो ढङ्गले क्याम्पस संस्थापन, सञ्चालन, निर्माणलगायतका कार्यहरूमा विशिष्ट ढङ्गले योगदान पुर्याइसकेका महानुभावहरूलाई सल्लाहकार समितिमा समेट्ने कार्य भएको छ । हालसम्म उक्त समितिमा रही सेवा प्रदान गर्दै आउनुहुने महानुभावहरूमा डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, मदन रेग्मी, सुरेन्द्रमान जोशी, शैलेन्द्रकुमार उपाध्याय, डा. सुरेशराज शर्मा, उत्तम नाथ उप्रेती, पृथ्वी ध्वज के.सी. हरी वदन प्रधान, केशव बडाल, शिवप्रसाद हुमागाईँहरू छन् र त्यस्तै भवनलगायत अन्य कार्यहरूमा विशेष सहयोग दिनेहरूमा जिल्ला पञ्चायत काभ्रे (आशाकाजी वैद्य र रामचन्द्र अधिकारी सभापति छँदा), जिल्ला विकास समिति काभ्रे (कृष्णप्रसाद सापकोटाको सभापतिको कार्यकालमा), बनेपा नगर पञ्चायत (कार्यकारिणी अधिकृत देवीप्रसाद नेपालको कार्यकालमा), बनेपा नगरपालिका (रामभक्त कोख श्रेष्ठ र कार्यकारिणी अधिकृत टेकनाथ पौडेल कार्यकालमा), र डा. स्टरजेस र श्रीमती स्टरजेस, सांसदीय निर्वाचन क्षेत्र विकास कोषबाट केशव बडाल र शिवप्रसाद हुमागाईं लगायत्ले प्रदान गरेको सहयोगका लागि उहाँहरू विशेष धन्यवादका पात्रहरू भएका भएका छन् । यसै गरी क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पनि निर्माण र सञ्चालनमा आफू सक्दो सहयोग गरेर योगदान पुर्याएको सन्दर्भ बिर्सि नसक्नु छ । त्यस्तै पछिल्लोपल्टको भवन निर्माण कार्यमा व्यक्तिहरूमध्ये सबैभन्दा रकम बढी प्रदान गरी सहयोग गर्ने राम राजा धौभडेललाई क्याम्पसका तर्फबाट सम्मान हुनाका साथै हाल मात्रै सञ्चालक समितिमा मनोनयन समेत गरिएको छ ।
क्याम्पसमा भए गरेका सुन्दर कार्यहरू
क) स: को प्रकाशन
सर्वप्रथम वि.सं. २०४० सालमा नेपाल भाषा अध्ययनरत विद्यार्थीहरूको सहयोगमा मेरै सम्पादन र सक्रियतामा स: नेपाल भाषाको पत्रिका प्रकाशन भयो । नेपाल भाषाको साहित्यिक इतिहासको प्रसङ्गमा स:को प्रकाशन निकै महत्त्वपूर्ण रहेको कुरा धेरैले उल्लेख गरेका छन् ।
ख) भुजड्डको प्रकाशन
क्याम्पस स्थापना भएको १२ वर्षपछि भुजड्डको पहिलो अङ्क क्याम्पसको मुख पत्रको रूपमा निस्केको हो । भुजड्ड बनेपाको ऐतिहासिक नाम हो । इतिहासकार क्याम्पस प्रमुख केदारनाथ प्रधानले जुराइदिएको नाम हो भुजड्ड । भुजड्डको थुप्रै अङ्कहरू प्रकाशित भइसकेका छन् । क्याम्पसको एउटा उल्लेखनीय चित्र हो भुजड्ड । केदारनाथ प्रधान संस्थापक तथा संरक्षक रहेको भुजड्डमा उनको देहान्तपछि संरक्षकमा आशाकाजी वैद्य रहेको र त्यसपछिका अङ्कहरूमा मोहन दुवालको नाम प्रकाशित भएको देखिन्छ । २०४९, २०५१, २०५५, २०५६, २०५७, २०५८, २०५९ र २०६० सालमा भुजड्डको प्रकाशन भएको देखिन्छ । २०५१ सालको दोस्रो अङ्क केदार प्रधान स्मृति अङ्कका रूपमा प्रकाशित छ । हालसम्म प्रकाशित ८ वटा अङ्कहरूमा प्रधान सम्पादक भई उत्कृष्ट सेवा पुर्याउनु हुनेमा आशाकाजी श्रेष्ठ मात्र रहनुभएको छ । कार्यकारी–सम्पादक भई कार्य गर्नेहरूमा वासुदेव अधिकारी र मोहन दुवाल छन् । त्यस्तै सम्पादन मण्डलमा रही हालसम्म सेवा गर्नेहरूमा बालभक्त प्रधान, लेखनाथ गुरागाईँ, शान्तिराज कायस्थ, प्रकाश शाक्य, रामप्रसाद ज्ञवाली, खेमराज निरौला, अशोक रत्न शाक्य, शारदाप्रसाद शर्मा, छत्रमणि आचार्य, अम्बु भवानी कार्की, श्यामसुन्दर सापकोटा, ज्ञानेश्वर निरौला, ध्रुवप्रसाद शर्मा, भगीरथ अधिकारी छन् । व्यवस्थापक मण्डलमा रही सहयोग पुर्याउनेहरूमा लम्बोदर कायस्थ, उत्तम नाथ उप्रेती, सुवास श्रेष्ठ, राजभाई डङ्गोल, प्रकाश शाक्य, गोविन्दलाल प्रधानाङ्ग, पूर्णकाजी कायस्थ, कृष्ण बुद्ध बजगाईँ, केजी बैदार र कृष्णप्रसाद बन्जारा र राम राजा धौभडेलको नाम प्रकाशित छन् । काभ्रे बहुमुखी क्याम्पसबाट भए गरेका उत्कृष्ट उल्लेखयोग्य सुन्दर कार्यहरूमध्ये भुजड्डको प्रकाशनलाई पनि उत्कृष्ट कार्य भन्न सकिन्छ ।
ग) प्राइभेट क्याम्पसको राष्ट्रिय सम्मेलनको आयोजना
२०४७ असार २५ गते र २६ गते काभ्रे क्याम्पसको आतिथ्यमा प्राइभेट क्याम्पसहरूको प्रथम राष्ट्रिय सम्मेलन बनेपामा भयो । यो ऐतिहासिक घटना र काभ्रैकै इतिहासमा उल्लेखनीय रहेको र राष्ट्रले सह्राना गरेको आयोजना हो । प्रजातन्त्रवादी राजनीतिज्ञ तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यूको बाहुलीबाट सु–सम्पन्न भएको उक्त सम्मेलन क्याम्पसका लागि पनि अविस्मरणीय कार्य रह्यो । यस्तै क्याम्पसको सक्रियतामा भएको अति महत्त्वपूर्ण कार्यहरूमा २०५७ साल जेष्ठ २०–२२ गते नेपाल पब्लिक क्याम्पस सङ्घको राष्ट्रिय गोष्ठी तथा पाचौं महाधिवेशन चैतन्य बहुमुखी क्याम्पससँगको संयुक्त सहभागितामा भएको थियो । यस खालको कार्यले क्याम्पसले आफूलाई राष्ट्रिय रूपमा उभ्याउन सफल भएको राष्ट्रिय गौरवको कार्य महसुस गरेको छ ।
घ) सम्मान कार्यक्रम
क्याम्पसलाई संस्थापन, निर्माण, शिक्षण, आर्थिक सहयोग गरी विशेष योगदान पुर्याउने महानुभावहरूलाई सम्मान गर्ने परम्परा २०५५ साल माघ २० गतेदेखि हालसम्म सञ्चालित छन् । हालसम्म सम्मानित व्यक्तित्वहरूमा पहिलो तल्लाको भवन निर्माणमा विशेष सहयोग पुर्याउने भनी सत्यमान लामा, गोपालसिंह मुस्याजु, रामभक्त श्रेष्ठ, चन्द्रराज कायस्थ, राम गोपाल कायस्थसमेत पाँच जनालाई र मरणोपरान्त संस्थापक क्याम्पस प्रमुखका रूपमा केदारनाथ प्रधानलाई सम्मान भएको देखिन्छ । यसै गरी सञ्चालकहरू आशाकाजी वैद्य, रामकृष्ण खाछिभोया, आशाकाजी श्रेष्ठ, पूर्णकाजी कायस्थ, लम्बोदर कायस्थ, मोहन दुवाल, बेलप्रसाद श्रेष्ठ र कृष्णप्रसाद सापकोटालाई हालसम्म सम्मान गरेको देखिन्छ । सल्लाहकारहरूमा पृथ्वी ध्वज के.सी., उत्तम नाथ उप्रेती, सुरेन्द्रमान जोशी, मदन रेग्मीलाई पनि विशेष सम्मान भएको छ । प्राध्यापकहरूमा रामशरण लुइँटेल, जगन्नाथ अवा, बालभक्त प्रधान, गोविन्दलाल प्रधानाङ्गलाई सम्मान र कर्मचारीहरूमध्ये श्रीकृष्ण धौभडेल, भुवन मानन्धर, रघुराम वैद्यलाई कदर स्वरूप कदर र नगद रकमसहित प्रदान गरेर राम्रो कार्य भएका छन् ।
ङ) क्याम्पसमा छाएका शोक सन्दर्भहरू
क्याम्पस संस्थापन काल २०३७ साल माघ २० गतेदेखि २०५१ साल असारसम्म करिब १४ वर्ष क्याम्पस प्रमुख भई सेवा गरेका केदारनाथ प्रधानको देहावसान २०५१ साल साउन ६ गते भयो । क्याम्पसको लागि यो क्षणलाई ज्यादै दुःखको क्षण मान्नुपर्छ । र त्यस्तै शिक्षा सेवी तथा यस क्याम्पसका सल्लाहकार रामभक्त कोख श्रेष्ठको २०५७ वैशाख १ गते भएको देहावसानले क्याम्पसलाई तिक्तता महसुस गरायो । यस्तै शोक छोडेर प्राध्यापक कृष्णराम खत्री २०५७ साल मङ्सिर २० गते क्याम्पसबाट टाढिनु भयो । केही महिनापछि २०५८ साल कार्त्तिक १० गते क्याम्पसका सहयोगी तथा काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष आशाकाजी वैद्यको देहावसानले झन् क्याम्पसलाई अप्ठ्यारो बनाइदियो । यसै गरी क्याम्पस प्रमुख आशाकाजी श्रेष्ठ र क्याम्पसका सहयोगी तथा समाजसेवा पृथ्वी ध्वज के.सी., सहायक क्याम्पस प्रमुख प्रकाश शाक्य, सञ्चालक समितिका सदस्य पूर्णकाजी कायस्थ, क्याम्पस सञ्चालक समितिका सदस्य राजभाइ डङ्गोलको देहावसानले क्याम्पसलाई क्षति पुर्याएको छ ।
निष्कर्ष
अप्ठ्यारा बाटा घाटाहरू पार गर्दै, तीतो–टर्रो भनाई हरू खप्दै क्याम्पस आजको यस अवस्थामा पुर्याउने काम भयो । धेरै बाङ्गाटिङ्गा कहर लाग्दा क्षणहरूमा तलमाथि पर्दै हामी यात्रामा जुटिरहेका छौँ । पछि त्रि.वि.वि.बाट आशाकाजी वैद्यको ठाउँमा रिक्त रहेको सञ्चालक समितिको अध्यक्षतामा लम्बोदर कायस्थको मनोनयन भएको छ । हालको यस सञ्चालक समितिका उपाध्यक्ष मोहन दुवाल र सदस्य–सचिवमा केजी बयदार रहेका छन् भने अन्य सदस्यहरूमा कञ्चनचन्द्र वादे श्रेष्ठ, शान्ति रत्न शाक्य, ज्ञानकाजी मानन्धर, राम राजा धौभडेल, दियेशरत्न शाक्य, भैरव के.सी., शिला कतिला, कृष्ण प्यारी नकर्मी, कृपेन्द्र श्रेष्ठ, अर्चना हाडा, कृष्ण बुद्ध बजगाईँ, ईश्वरीप्रसाद ओझा छन् । यसै गरी मावि व्यवस्थापन समितिका पदाधिकारीहरू अध्यक्ष लम्बोदर कायस्थ, उपाध्यक्ष मोहन दुवाल, सदस्यहरूमा राजु सरकार, कृष्ण बुद्ध बजगार्ईं, कृष्णप्रसाद कायस्थ, उत्तम मानन्धर, माया वादे, कृपेन्द्र श्रेष्ठ, तीर्थमाया प्रधान, अर्चना हाडा र सदस्य सचिवमा केजी बयदार नै हाल सेवारत छन् ।