वि.सं. २००० साल ऋषि पञ्चमी शनिवारका दिन ओखलढुङ्गाको रमणीय पहाडी बजार भैरवटोलमा पिता स्व. विष्णुबहादुर श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको कोखबाट जेठा छोराको रुपमा नारायणभक्त श्रेष्ठको जन्म भएको हो । बाल्यकालदेखि नै सङ्गीत र गीतमा विशेष रुचि राख्दै र सिक्दै आएका नारायणभक्त श्रेष्ठको बाजे रामबाबु श्रेष्ठ पनि ख्यातिप्राप्त उस्तादका रुपमा प्रसिद्ध छन् । विशेष गरी बाजेकै प्रभावले सङ्गीतमा रुची राख्दै आएका नारायणले १६ वर्षको छँदा नै गाउँकै विद्यालयमा शिक्षक भई सेवा पुर्याएको देखिन्छ ।
गाउँमा शिक्षा सेवा पुर्याउँदै, साथीभाइसँग मिलेर गीत/सङ्गीतमा मन भुलाउँदै जीवनका उत्सर्गका क्षणहरु गुजार्र्दै आएका रायनको सम्पर्क वि.सं. २०१८ सालतिर रामेशसँग भएको देखिन्छ । अनि यिनको सक्रियता निकै बढ्दै गएको देखिन्छ । यस भन्दाअघि वि.सं. २०१२ सालतिर कवि गोकुल जोशीसँग यिनको भेटघाट हुँदा यिनी उक्त कविको व्यवहार, सक्रियता र सरलताबाट निकै नै प्रभावित भएका थिए । यिनले बताएअनुसार गोकुल जोशीबाट नै जनताको बीचमा जानुपर्छ भन्ने मान्यता यिनले बनाए । त्यसताका नै यिनी हाइस्कूलको विद्यार्थीछँदा २०१४ सालतिर नै १४ वर्षकै उमेरमा योङ कम्युनिष्ट लिगको सदस्य भई आफ्नो विद्रोही स्वभाव देखाइदिए । यसरी ओखलढुङ्गाको माटोमा युवावस्थादेखि नै जनताका लागि आफ्नो ढङ्गले सेवा पुर्याउँदै आएका रायनले वि.सं. २०१९ सालतिर रामेशसँग मिलेर रेडियो नेपालको आयोजनामा भएको प्रथम लोकगीत प्रतियोगितामा भाग लिएको देखिन्छ ।
वि.सं. २०२० सालतिर घरबाट विद्रोह गरी काठमाडौं आइ बसोबास गरेका यिनी रायनले २०२१ सालदेखि २०२४ सालसम्म नियमित रुपमा लोकलहरी हिमाली संगममा गीत गाउन थाले । यसैताका यिनीहरुले गाएका गीतहरु सुनेर पारिजातले यिनीहरुसँग भेटघाट गर्ने इच्छा व्यक्त गरेअनुसार उनीसँग यिनीहरुको सम्पर्क रह्यो । यसैताका पारिजातसँग मिलेर राल्फा समूहमा अरु साथीहरुसँग आबद्ध भएपछि ‘रायन’ हुन पुग्यो । रायन भइसकेपछि रामेश, मंजुल, निनु, अरिम, नोरेम थुप्रै युवाहरुसँग मन साटासाट गरेर, परिवेश छामेर गीत, सङ्गीत र साहित्यको क्षेत्रमा आ–आफ्नो ढङ्गको उच्छवासहरु फालेको देखिन्छ । अमूर्त सङ्गीतमा जीवनका तरङ्गहरु घोलेर राल्फा बन्दै गरेका यिनीहरुले त्यसैताका नै सत्ता विरोधी विद्रोही गीतहरु गाएको देखिन्छ । पछि समाजमा गीत गाउँदै, समाजको प्रतिक्रिया बुझ्दै र विभिन्न सिद्धान्तहरुले दिएको प्रेरणा र सन्देश बोकेर शोषितपीडित जनताको पक्षमा यिनीहरुले गीत गाएको देखिन्छ ।
राल्फा समूहबाट रायन बनेका गायक नारायणभक्तले जहिले पनि जनता, देश र समाजका हितका लागि, कुपरम्परा र खराब रीतिथितिका विरोधका लागि आफ्नो आवाज सङ्गीतको तरङ्गमार्फत् साहित्यिक अभिव्यक्ति पोखेका छन् । अन्तर्मुखी स्वभावका रायनले कहिल्यै पनि झुक्न खोजेनन्, जानेनन् र सिकेनन् पनि । पञ्चायतको कालरात्रीमा पनि यिनले कहिल्यै, कसैसँग सम्झौता गरेनन् । आफूसँग हुर्केका, बढेका मिल्ने साथीहरु रेडियोबाट गीतहरु गाउन जाँदा पनि यिनी कट्टर मन बोकेर रेडियोमा गीतहरु गाउन गएनन् । आफूले देखेका, भोगेका र स्पर्श गरेका दु:ख, कष्ट र हण्डरसँग यिनले मितेरी लगाउँदै जनताकै गायक हुन निकै पसिना बगाएका छन् । कसै–कसैले यिनको बोधोपन देखेर हियाउने पनि गर्छन् तर पनि यिनी विचलित नहुँदै आफ्नो यात्रामा निरन्तर लागिरहे । यसै निरन्तरताकै आरोह–अवरोह हुन् – रायन । यस्तै संकट, दु:ख खप्दै जीवनका गीतहरु गाउँदै आएका जनमनका गायक हुन् रायन ।
यिनले एड्स क्षेत्रसँग सम्बन्धित गीतिनाटक लेखेर पनि समाजका लागि प्रयोग गरेका छन् । विश्वव्यापी रुपमा प्रभावित एड्स रोगबाट नेपालीहरु पनि विस्तारै प्रभावित हुँदै आएको आजको यस कहालीलाग्दो परिस्थितिबाट मुक्त हुनका लागि जनचेतना दिने हिसाबले तयार गरिएको उक्त गीतिनाटकले जनमानसमा निकै प्रभाव पारेको देखिन्छ । जीवन भनेको सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो भन्न रुचाउने जनताका गायक रायनले आफ्नो सिर्जनामा सिम्मा, कहाली गीतिनाटकको प्रकाशन र प्रदर्शन गराउनका साथै थुप्रै गीति एल्बमहरु प्रकाशित गरेका छन् । यिनले तयार पारेका गीति एल्बमका चक्काहरुमा वेदना गीतिमाला १ र २, सिम्मा चक्का भाग १, २ र ३, कहाली चक्का भाग १ र इन्द्रेणी भाग १ र अन्य थुप्रै गीति एल्बमका चक्काहरु निकालेको देखिन्छ ।
जनताको मुक्तिका निम्ति सधैं लागिरहन इच्छा भएको बताउने जनताका गायकभन्दा अतिशयोक्ति नहुने रायनले जनताका मुक्तिका निम्ति हिँड्ने सबै स्वदेशी, विदेशी कलाकारहरु मनपर्छ भन्छन् । ओखलढुङ्गा बजारका नेवार समुदायको सांस्कृतिक गतिविधि र गाउँघरको मेलापातमा हुने सङ्गीतमय वातावरणबाट गीतसङ्गीतको प्रेरणा प्राप्त गरेका यिनले हाल प्रगतिशील कलाकार सङ्घका संयोजकका रुपमा पनि सेवा गरिसकेका छन् । पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य यिनी हाल अध्यक्ष भई सेवारत छन् । इसासका साधारण सदस्य रायनले थुप्रै आरोह–अवरोहहरु पार गरिसकेपछि आफूले भोगेका र देखेका परिदृश्यहरुबाट पछि प्रगतिशील कलाकार सङ्घ गठन गरेको बताउँछन् । सांस्कृतिक मोर्चाहरु पार्टी विशेषको मात्र हुँदा जे जति हुनुपर्ने हो त्यो सवल ढङ्गले नहुने आफ्नो कटु अनुभव सुनाउँछन् । गीत, सङ्गीत टोली भनेको पार्टी विशेषको प्रचार गर्ने दमाइ टोलीमात्र होइन उनी आक्रोश पोख्छन् । कलाकारहरु सबै जनताका लागि हुन्, गीत–सङ्गीत देशका लागि सिर्जित हुनुपर्छ । कलाकारहरुलाई विभाजित तुल्याउँदै कठघरामा कैद राख्नुहुन्न उनी आफ्नो विचार यसरी पोख्दै जान्छन् । प्रगतिशील कलाकार सङ्घ सबै पक्षको सबै अटाउने खालको कलाकारहरुकै सङ्घ हो । यसलाई पूर्वाग्रही भएर हेर्नु हुँदैन । यसलाई कलाकारहरुको साझा मञ्चका रुपमा विकास गर्ने मात्र चाहना छ उनी भन्छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ ले र साहित्य सन्ध्या पुरस्कार २०५५ ले सम्मानित भइसकेका रायनले जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङमा भएको अन्तर्राष्ट्रिय कला महोत्सवमा आफ्नो गायन प्रस्तुत गरेर अन्तर्राष्ट्रिय पुरस्कार क्रियशन अवार्ड प्राप्त गरेका हुन् । निरन्तर गीत–सङ्गीतमा लागिरहेका रायनले रेडियो नेपालका माइकबाट, नेपाल टि.भी. का पर्दाबाट राष्ट्रिय नाचघरका पटाङ्गिनीबाट पनि आफूलाई सिङ्गै राखेर त्यहाँ सजाइएका ऐनाहरुमा आफ्नो चेहरा हेरिसकेका छन् । राल्फाका रहर बोकेर नारायणको ना काटेर रायन भएर मात्र होइन यिनले आफ्नो कहर रहर सिम्मामा कहालीमा, वेदनामा, जनगीतमा, इसासमा रमेर थुप्रै जनताका उच्छ्वासहरु पोखिसकेका छन् । त्यति मात्र होइन, यिनको क्षमता गीतयात्रामा निकै सबल र सुदृढ देखिन्छन् । त्यसको पहिचान कोरियामा प्रदर्शन भयो । यिनको गलालाई विश्वका ८० औं राष्ट्रका सहभागीहरुले रुचाए त्यसको परिणाम आयोजक राष्ट्र कोरियाले प्रदान गरेको स्वर्णपालिसजडित कप र क्रियशन एवार्डको डिप्लोमाको प्रमाणपत्र हुन् । सार्थक अभियान जारी रहोस् । वि.एड. सम्म उत्तीर्ण गरेका यिनले आफ्नो जीवनको धेरै समय ४० औं वर्ष शिक्षणसेवा, गायन, सङ्गीत क्षेत्रमा बिताइसकेको देखिन्छ । कहिल्यै हार्न नजानेका, निरन्तर बढ्न जानेका र आफ्नो श्रमप्रति अगाढ आस्था भएका रायनले देश र जनताको निम्ति आफ्नो जीवनको बढी भन्दा बढी समय लगाउनु सार्थक जीवन बाँच्नु हो भन्छन् । नक्साल बाल मन्दिरमा ३० औं वर्ष शिक्षक भई सेवा पुर्याइसकेका यिनी नारायणभक्त श्रेष्ठ शिक्षण सेवामा आफ्नो प्रभाव छोड्न सफल छन् । २०४६ सालको जनआन्दोलन सफल भएपछि खुल्लामञ्चमा सबै पक्षका सांस्कृतिक सभा गरेर बहुदलको ऐतिहासिक घोषणा गराउन सक्रियता निभाएका रायनले गीत–सङ्गीतको परिभाषामा यस्तो विचार व्यक्त गरेका छन् –‘असल कामप्रति जीवनलाई डोर्याउन सक्ने सङ्गीत नै जीवनलाई आलोकित गर्ने सङ्गीत हो ।’ यिनी आस्था बोकेर बाँच्छन् । यिनी उज्यालोको खोजीमा छन् । यिनी सङ्कल्प मनमा बाँध्छन् र बहुसङ्ख्यक जनताकै मुक्ति भएपछि मात्र देशको मुक्ति भएको ठान्छन् । यही आस्था र विश्वासकै नाम हुन् – रायन ।रायन सधैं गुनगुनाउँछन् । एउटी छोरी मजम, एउटा छोरा सिमलका साथै जीवनसँगिनी सबरी मल्लसँग सुखका, मायाका, विश्वासका उच्छ्वासहरु मनमा राखेर विष्णुमति छेउछाउ म्हैपीतिर परिश्रमले बनेको घरमा रमेर सधैं–सधैं आफ्नै सङ्गीतको तालमा यिनी रमाउँछन् । यिनी सुखमा पनि गीत गाउँछन्, दु:खमा पनि हारमोनियम बजाउँछन् । यिनी आफ्नो जीवनमा कहिल्यै थाकेनन्, त्यसैले त यिनी गीतकै भावनामा रमिरहे । यिनलाई सबैभन्दा मनपर्ने बोल यस्तो थियो :
निराशालाई छेउसम्म पर्न नदिई
आफैलाई बिर्सिएर यत्रो जिन्दगी
देशको निम्ति लगाई हिँडे सारा जिन्दगी
ठानी सबको जिन्दगी नै आफ्नै जिन्दगी !
यही गीत नै यिनको आदर्श रह्यो । २०३१ सालदेखि नेकपा चौथो महाधिवेशनसँग सम्बद्ध रही वेदना साँस्कृतिक टोली बनाई प्रथम चोटि
कम्युनिष्ट सङ्गठन अन्तर्गतको सांस्कृतिक मोर्चाको प्रमुख रही देशव्यापी रुपमा सांंस्कृतिक अभियानमा सक्रिय रहे । यसरी यिनले वेदना सांस्कृतिक परिवारको संस्थापक अध्यक्ष भई साङ्गीतिक यात्रामा साथ दिनाका साथै अखिल नेपाल जन सांस्कृतिक सङ्घको संस्थापनमा र इन्द्रेणी सांस्कृतिक समाजको केन्द्र निर्माण र संस्थापनमा पनि योगदान पुर्याएको देखिन्छ । थुप्रै गीतका लेखक, सङ्गीतकार तथा गायक रायनले गीतिनाटकमा पनि आफ्नो प्रसिद्धि कमाएका छन् ।सिम्मा गीतिनाटकमा सधैका लागि जीवन्तजस्तो रह्यो । यिनी आफैंद्वारा लिखित सिम्मा गीतिनाटकमा दु:खीगरिब जनताका पक्षमा मार्मिक प्रस्तुति गीतको बोलद्वारा गरेका छन् । मुग्लान भासिनु गरीवहरुको उन्मुक्ति होइन, मलाई गरिब–दु:खीहरुको उन्मुक्ति त शोषणको जालोलाई च्याति पठाउन सक्नु हो को अभिव्यक्ति पोखेको उक्त गीतिनाटकको लय राम्रो छ । सुन्दर शैलीमा रचिएको गीतका हरफहरु, सुन्दर ताल र लय, नृत्य संयोजन, गीतका कर्णप्रिय मधुर स्वरले प्रवाहित गीतिनाटक सिम्माको प्रदर्शन र प्रकाशनले रायनको गरिमा जनपक्षीय गीति नाटकमा सर्वोच्च स्थितिमा रहेको प्रमाणित भएको छ ।