रमेश विकललाई धेरै वर्ष भयो चिन्दै, बुझ्दै र पढ्दै आएको ! म सानै छँदा देखि नै घरमा आइरहने भएकै कारणले म उनका कथाहरू खोजी–खोजी पढ्ने गर्थेँ । मेरा साहिँला दाई कृष्णप्रसाद दुवाललाई भेट्न बनेपाको घरमा आइरहने भएकै कारण म रमेश विकललाई दाजुलाई जस्तै व्यवहार र सम्मान गर्थेँ । कथा र उपन्यासमा आफ्नै खालको डोबहरू छोड्न सफल आख्यानकार रमेश विकल नेपाली आख्यान साहित्यका एक जना गौरवशाली महान् शिल्पी हुन् ।अविरल बग्दछ इन्द्रावतीबाट अझ आफ्नो पहिचान देखाउन सफल उपन्यासकार रमेश विकल गद्य साहित्यकै एउटा युग हो भन्न सकिन्छ ।
रमेश विकलजस्तै दाजुहरूको साहित्य पढेर, उनीहरूको गतिशील र ऊर्जाशील जीवन आँखामा राख्न पाएर र पछि सँग–सँगै यात्रामा हिँड्न पाएर नै मैले पनि आफूलाई साहित्यिक क्षेत्रमा लाग्न र लगाउन पाएको हुँ । अत्यन्त सरल तर आफ्नो कुरालाई अघि राख्ने सवालमा आफ्नै अडान दर्यो ढङ्गले पेस गर्न खोज्दा अत्यन्त हट्ठीजस्तो देखिने विकल आफ्नो स्वाभिमानमा कहिल्यै लत्रिएनन् । धेरैले धेरै खालले उनको यात्राको अर्थ लगाए; तर उनी हारेनन् आफ्नो भनाइअनुसारकै शैलीमा आफूलाई लगाई रहे । झिँजो नमानीकन सिर्जनामा मन दिइरहन सक्ने उनले आफूलाई चिनाउन र आफ्नो यात्रा–पथ देखाउन सफल उनी आफूभित्रको संस्मरण लेख्दै गर्दा–गर्दै मृत्युवरण गर्न पुगे ।
रमेश विकल – रवि चालिसे; बाल्यकालको नाम रामबाबु र घरबाट राखिएको नाम हो रामेश्वर शर्मा चालिसे । वि.सं. १९८५ कार्तिक २९ गते भाइटिकाका दिन पिता चन्द्रशेखर तथा माता छायादेवी चालिसेका सुपुत्र भई गोकर्ण, आरुवारिमा यिनको जन्म भएको हो । जीवन सँगिनी सुशीला चालिसेसँगको मायाप्रीतिबाट यिनले छोराहरू विजय र महेन्द्रलाई र छोरीहरू दुर्गा, अम्बिका, तारा, शशीलाई जीवन–पथमा डोर्याए । स्नातकसम्म शिक्षा प्राप्त गरेका यिनी जागिरे जीवनका थुप्रै आरोह–अवरोहहरू बिताउँदै साहित्य सिर्जनामा आफूलाई लगाई रहे । वि.सं. २००६ चैतमा शारदा साहित्यिक पत्रिकामा गरिब कथा प्रकाशित गराएर आफूलाई साहित्यिक सिर्जनामा देखाउन आएका विकलका प्रकाशित कृतिहरूमा क) उपन्यास:सुनौली,अविरल बग्दछ इन्द्रावती,सागर उर्लन्छ सगरमाथा छुन, ख) कथा: बिरानो देशमा,नयाँ सडकको गीत,एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा आज फेरि अर्को तन्ना फेरिन्छ,शव, सालिक र सहस्र बुद्ध,उर्मिला भाउजू, शव हराएका कथाहरू ग) नियात्रा :सात सूर्य एक फन्को,निलगिरीको छायामा । घ) नाटक:सप्तरङ्ग, भक्ति थापा, मिल्किएको मणि, मान्छे, वैभव र मृत्यु । ङ) आत्मसंस्मरण : मेरो अविरल जीवन गीत छन् । बाल साहित्यमा : अगेनाको डिलमा,विक्रम नौलो ग्रह,तेर्ह रमाइला कथा,सात थुँगा मान्छे, भैँसी र मुरी चामलको भात,अब तिमी नरोऊ किरण आदि प्रकाशित छन् । थुप्रै अनुवाद कृतिहरू पनि प्रकाशित गराइसकेका यिनी समकालीन साहित्य, रचना, उत्साह साहित्यिक पत्रिकाहरूका सम्पादक रहेर पनि सेवा पुर्याए र साथै थुप्रै शैक्षिक पत्र–पत्रिकाको सम्पादन गरेर पनि यिनले आफूलाई चिनाए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत भई सेवा पुर्याइसकेका यिनी भैरव पुरस्कार गुठी र साहित्य सदन नेपालका पनि संस्थापक अध्यक्ष हुन् । उनी जिउँदो छँदा नै रमेश विकल साहित्यिक प्रतिष्ठानको स्थापना गर्न सफल रहे । मदन पुरस्कारलगायत थुप्रै साहित्यिक सम्मान प्राप्त गरिसकेका विकलका मन पर्ने स्वदेशी तथा विदेशी साहित्यकारहरूमा देवकोटा, भूपी, गोर्की रहेको उनले उल्लेख गरेका छन् । साहित्य साधना गर्दागर्दै निर्वाण प्राप्त गर्ने उनको चाहनाभित्रको इच्छाजस्तै भयो उनको अन्तिम जीवन–क्रम अर्थात् आफूलाई उनी लेख्दा–लेख्दै निर्वाणमा लीन गराउन सफल रहे । जीवन उनले अथ्र्याएजस्तै : जीवन र मृत्युबिचको सचेत सङ्घर्ष, उज्यालो र अँध्यारोको बिचको द्वन्द्व नै हो । जीवन बुझेका र जीवनलाई व्यक्त गर्न सिपालु लेखक रमेश विकलको परिभाषामा साहित्य भनेको मानिसको (समाजको) जीवन कथा–गीत : सुख–दुःख, उकाली–ओराली, आँसु–हाँसोको अभिव्यक्ति । (वास्तवमा साहित्यको कुनै गणितीय परिभाषा गर्न मिल्दैन) हो ।
यिनको राजनीतिका गुरु श्यामप्रसाद शर्मा हुन् । पछि २०११ सालतिर कम्युनिस्ट पार्टीका सदस्य समेत भई राजनीति गरेका यिनी केही कालसम्म निकै सक्रिय रहेर राजनीति गरे । पछि जागिरे जीवनमा लाग्नुपर्ने र आफ्नो संवेदनामा साहित्य रहेकै कारणले उनी पछि राजनीतिमा त्यति सक्रिय हुन् सकेनन् । तर पनि प्रगतिशील साहित्य र मार्क्सवादी चिन्तनकै प्रभाव र संसर्गले गर्दा यिनका साहित्यिक सिर्जना मान्छेकै हित र मुक्तिखातिर नै सिर्जित भएको देखिन्छ । उनी सृजनशीलतामा विश्वास राख्छन् त्यसैले उनी सिर्जनाशील साहित्यकार हुन् ।प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष समेत भई प्रगतिशील लेखकहरूको नेतृत्वसमेत गरिसकेका यिनी प्रगतिशील आख्यानकारका रूपमा सुविख्यात छन् ।
बुधवार, २०६५ पुस २ गते अपराह्न ४.१५ बजे नेपाल मेडिकल कलेजमा उपचार गराउँदा–गराउँदै एक जना सफल आख्यानकार, प्रगतिशील लेखक, चेतनशील साहित्यकार रमेश विकलको अवसान भएको दुःखद समाचारले साहित्यिक जगत् स्तब्ध भएको छ । एउटा साहित्यिक युग कतै हराइदिए जस्तो, एउटा दुःखान्त नाटकको एउटा पात्रको निधन भएजस्तो गरी उनको अन्त्य भएको छ । म पनि सम्झिरहेछु रमेश विकललाई । उनीद्वारा लिखित आख्यानका शब्द शैलीहरुलाई । उनीसँग बिताउन पाउँदाका समय–क्षणहरूलाई । मैले पनि उनीसँग प्रगतिशील स्रष्टाका रूपमा, नेपाली साहित्यका वरिष्ठ साहित्यकारका सन्दर्भमा नजिक राखेर समय क्रममा भोग्न पाएका थुप्रै क्षणहरू सम्झना गर्न लायकका छन् । त्यसमध्ये केही सम्झनाहरू यहाँ प्रस्तुत छन् ।
२०४२ साल पुस महिनातिर नै हो; बौद्धमा प्रगतिशील लेखकहरूको भेला भएको थियो । उक्त भेलाले साझा सहमति बनाएर उत्साह साहित्यिक मासिक निकाल्ने तय गर्यो । पाँच जना सम्पादकहरूको चयन उक्त भेलाले गर्यो । रमेश विकल, पारिजात, आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौला र मलाई सम्पादक मण्डलमा राखेको हुनाले करिब १ वर्ष प्रत्येक १ महिनामा एकपल्ट भेटघाट गर्नुपर्ने बाध्यताले अरूलाई जस्तै रमेश दाइलाई पनि मैले मन मझेरीमा नजिकले राख्न पाएको सम्झना छ । उनी कथाको सम्पादक; म निबन्धको सम्पादक । प्रत्येकपल्ट भेट हुँदा आफ्नै अडानमा विचार स्फुरण गर्न सिपालु भएकै कारणले म उनीबाट निकै प्रभावित हुँदै गएको हुँ । ठाउँ परिवर्तन गर्दै बैठक बस्ने क्रममा एकपल्ट बनेपास्थित मेरो घरमा उत्साहको बैठक भएको मलाई याद छ । रमेश दाइ पनि आउनुभएको थियो; सायद २०४२ साल चैत्रतिर हुनुपर्छ । खानलाई केही अप्ठ्यारो नमान्ने; आफ्नो कुरा नलुकाई कन भनी हाल्ने उनको स्वभाव आज पर्यन्तसम्म पनि म सम्झनामा राखेर विकल दाइलाई नियालिरहने गर्छु । सानो छँदा देखेको रमेश विकललाई पछि आफैले सङ्गत गर्न पाउँदाका क्षणहरू मेरा लागि अविस्मरणीय छन् ।
आ–आफ्ना सिर्जना र यात्रामा रमाइरहेका भएर नै हामी एकर्कामा माया साटफेर गरेर बरोबर भेटिरहन्थ्छौं । कहिले आरुवारिमा, कहिले बौद्धमा, कहिले कपनमा, कहिले प्रज्ञामा र कहिले देशको विभिन्न भागमा साहित्यिक कार्यक्रमको दौरानमा भेटिरहन्थ्छौं । २०६१ चैत्रमा जनमतको कार्यक्रममा रमेश विकललाई प्रमुख अतिथि बनाएर जनमतको शताङ्कको विमोचन कार्यक्रम काठमाडौंस्थित प्रज्ञाको सभाकक्षमा हुँदा उनले भनेका मधुर शब्दहरू मेरो मानसपटलमा आज पर्यन्तसम्म गुन्जिरहेछ –“दुवालजीका साहित्यिक यात्रा सुरम्य र रमणीय छन् ।जनमतले स्रष्टा मोहन दुवाललाई राष्ट्रमा चिनाइ दिएका छन् । म अझ स्फूर्ति थपेर भन्न रुचाइरहेछु – मोहन दुवालको जनमत–यात्रा अझ मनोरम होस् ।” यस्तै भाव धारा बोलेर म र जनमतप्रति उनले देखाएको सद्भावका उदगारहरु आज पर्यन्तसम्म पनि मनमा राखेर गुनगुनाइ रहेछु । २०६० पुसको जनमत साहित्यिक मासिकमा उनले अन्तर्वार्ताको क्रममा लेखेका यी शब्द–शैलीहरू उनको देहावसानपछि उनीलाई सम्झेर आज उच्चारण गरिरहेछु –“साहित्य मात्र किन समाजको कुनै पनि क्रिया राजनीति शून्य हुनै सक्दैन । यी दुवैको (साहित्य र राजनीतिको – प्र.सं.) लक्ष्य मानिस (समाज) हो र सिद्धान्ततक समाजको, राष्ट्रको उन्नति, प्रगति र कल्पना हो यतिसम्म समानता छ । तर राजनीतिले समाजसँग आफ्नो सेवाको प्रतिफल खोज्छ – सत्ताका रूपमा (मलाई सत्ता देऊ, अनि मात्र म तिम्रो सेवा गर्छु) र साहित्यले (सच्चा साहित्य र साहित्य साधकले) समाजबाट कुनै आकाङ्क्षा राख्दैन जे जति दिन्छ, त्यो लिन्छ, नदिए लिँदैन, दिएनौँ भनेर रुन पनि जान्दैन । झगडा पनि गर्न जान्दैन । जान्छ भने त्यो नक्कली हो । समग्रमा भन्दा जुन लक्ष्य हो त्यसमा समानता छ, तर त्यसलाई प्राप्त गर्ने मार्ग असमान छ ।” त्यसै गरी उनले त्यस अन्तर्वार्तामा भनेका यी शब्दहरू आज पनि म सम्झिरहेछु –“जीवनलाई स्वच्छ र निष्कपट तुल्याउने प्रयत्न गरौँ । सकिन्छ भने निर्भीक र निडर भएर देश र जनताको खातिर उभियौँ । नसके पनि त्यसलाई धोका दिने काम नगरौँ । निर्लोभले निडर तुल्याउँछ । निडर र निष्कलङ्क चरित्रले नै मानिस भनाउने अधिकार राख्छ ।” हो यस्तै–यस्तै हुन रमेश विकलहरू ….. ! यी माथि उल्लेख भएका शब्द अंशहरूजस्तै त हुन् रमेश विकलहरू !
८ वर्ष नाघिसक्यो उनी हामीसँग छुट्टिएर गएको तर आज पर्यन्तसम्म पनि उनी आफ्नो सिर्जना र कृतिमा जीवन्त रहेको पाइन्छ । स्रष्टाहरूका अगाडि स्वर्गीय नरहनुका कारण उनीहरूका कृतिहरू कहिल्यै पनि नाशवान् हुँदैनन् ।अविरल बग्दछ इन्द्रावती जस्तो यथार्थपरक ऐतिहासिक उपन्यासमा मात्र होइन, नयाँ सडकको गीतका कथाहरूमा र सात सूर्य एक फन्को नियात्रा र अन्य उनका कृतिहरूमा उनी सम्झना रहिरहने गरी बाँच्दै गरेजस्तै देखिन्छन् । जेठा छोरा विजय चालिसेको नेतृत्वमा सधैँ रमेश विकललाई चिनाउने कार्यक्रम गरेर विकललाई प्रतिष्ठानमार्फत राष्ट्रभरि र अन्तर्राष्ट्रिय जगत्मा चिनाउँदै आएका देखिन्छ । म पनि आख्यानकार रमेश विकललाई मनभरि ओछ्याएर आँखाभरि राखेर सम्झिरहेछु ।