नानी र पुतली
पख, पख पुतली,
पख म नि आऊँ,
आज हामी दुइजना
सँगै डुल्न जाऊँ ।
टेकी तिमी हावामा
फुरुफुरू आऊ
मचैं चाल्छु भुइँमा
टुकुटुकु पाउ ।
सँगसँगै जाऊँ हामी
सँगसँगै जाउँ,
हेरुँहेरुँ लाग्यो मलाई
साह्रै तिम्रो गाउँ ।
बालापन
जीवनका दिन सारा
जत्तिसुकै जाँच,
बालापनै मात्र हीरा
अरु काँचैकाँच !
रुनु, हाँस्नु, कराउनु
गाउनु र नाच्नु,
बेजोडको आनन्द हो
बालापन बाँच्नु !
ठूलो मान फल्ने रुख
होला सिंहासन,
शान्ति भने हुन्छ त्यहीं
जहाँ बालापन !
अनगिन्ती भए पनि
ढुकुटीमा धन,
सम्झी बस्छन्, बूढाबूढी
आफ्नै बालापन !
तस्बिर : सुमन श्रेष्ठको फेसबुक वालवाट