सामाजिक कार्य गरी रहन मन पर्ने, नयाँ–नयाँ साथीहरू बनाउँदै सम्पर्कको विस्तार गर्ने र यस्तै–यस्तै कार्यमा सक्रिय भइरहने स्वभावले गर्दा घरको काममा अर्थात् घर व्यवहारमा कामयाबी हुन सकिनँ । छोरामा म कान्छो म पछिका एक जना मात्र छिन् मेरी बहिनी । हाम्रो परिवारमा हामी नै कान्छा र कान्छी थियौँ । हाम्रो पसल पहिले निकै चल्थ्यो; अझ भनौँ अरनिको राजमार्ग नबन्दाताकाको हाम्रो गल्लीको पसल एक बाते साहूको पसलको नामले प्रख्यात नै थियो । उक्त पसलमा कहिले काहीँ ढुक्ने गथ्र्यौं । व्यापारको चिन्ता त होइन, कतैबाट रकम टिप्न पाउने हो सोको मात्र ध्याउन्ना हुन्थ्यो । त्यसैले म कहिले पनि पसलको साहूजी हुन सकिनँ, पसलको त म राहुजी मात्र भएँ । घरको स्थिति आर्थिक रूपले ठिक ठिकैको थियो । बुबा लगायत मेरा सबैजसो दाजुहरु सामाजिक, शैक्षिक र साहित्यिक गतिविधिमा आ–आफ्नो बखतको चर्चित व्यक्तित्व रहेको कारणले जग्गा–जमिन लगायत सम्पत्तिलाई जोगाउने सवालमा किमार्थ कसैले हेरदेख गर्न सकेनन् । त्यसैले व्यापार लगायत आर्थिक कारोबार हुने क्षेत्रमा हाम्रो परिवार सक्रिय हुन सकेनन्; यस खालका वास्तविकता नै हाम्रो घरको वास्तविकता थियो ।
स्कुल जाने बखत भएर पनि स्कुल नगएकोले साहिँला दाइ हरिप्रसाद दाइले डोर्याएर मलाई आजादमा भर्ना गरिदिएको हो । विद्यालय सञ्चालक समितिमा पनि दाइ त्यसताका रहनु भएकोले मलाई पठनपाठनमा केही असजिलो र अप्ठ्यारो भएन । कक्षा७ सम्म त तेस्रो हुँदै आएको पढैया विद्यार्थी म थिएँ । २०१८ सालतिर आजादका धेरैजसो शिक्षकहरू पक्राऊ गरेर लगेको कारणले बनेपाका केही युवकहरू स्वयं स्फूर्त ढङ्गले स्वयंसेवक शिक्षकका रूपमा शिक्षण गर्न आएका थिए । ती शिक्षकहरू मध्ये एक जना शिक्षक रक्सी खान पर्ने रक्स्याहा परेको र त्यो शिक्षककै सङ्गतमा परेर हामीले पनि रक्सी पिउन सुरु गर्यौ । म समेत चार जना विद्यार्थीहरू उनी शिक्षकसँग लाग्न पाएर त्यसताका गौरव गथ्र्यौं र उनलाई खाजा हामीले नै ख्वाउँथ्यौ । बिस्तारै हाम्रो बानी पनि बिग्रिन थाल्यो र रक्सी खाने बानी बस्यो । ट्युसन पढाउने बहानामा पनि उनले हामी विद्यार्थीहरूसँग ठग्ने परिपाटी नै सुरु गरे । यस खालको शिक्षकको सङ्गतले गर्दा हामी बिग्रियौँ । हाम्रो पढ्ने मुड हरायो; जे–जे मन लाग्यो त्यो गर्न थालियो । हामी बिस्तारै खराब विद्यार्थीमा परिणत भयौँ । पढैया विद्यार्थीहरुको आँखामा र सुशील शिक्षकहरूको दृष्टिमा हामी खराब विद्यार्थी हुन थाल्यौं । यसैताका नै हो साथीहरूको बहकाउमा लागेर एक जना साथीको प्रेम पत्र मेरो राम्रो हस्ताक्षरले लेखिदियौँ । केटीको हातमा चिठ्ठी परेपछि हल्लीखल्ली नै भयो र हामी कार्यवाहीमा पर्यौँ । प्रेम गर्न रुचाउने ‘हिरो’ साथी, प्रेरणा दिएर चिठ्ठी लेख्न दबाब दिने अर्का सहयोगी मित्र र चिठ्ठी लेख्ने अक्षरकर्ता म गरी हामी तीनै जना १/१ महिनाका लागि स्कुलबाट निष्कासनमा पर्यौँ । निष्कासन पछि स्कुलमा जानु मात्र भयो – पढ्ने मूढ नै हरायो । जसो तसो मात्र कक्षा उत्तीर्ण हुन थाल्यौं ।
आजाद हाई स्कुलका विद्यार्थी हामी; यसै विद्यालयबाट बल्लतल्ल २०२३ मा मात्रमैले प्रवेशिका उत्तीर्ण गरेँ । २०२२ सालमा त म अनुत्तीर्ण नै भएँ । हिसाबमा १ नम्बर मात्र पाएको र हिसाबमै कमजोर भएकाले ऐन स्रेस्ता लिई मात्र पछिल्लो साल उत्तीर्ण भएको मलाई सम्झना छ । यसरी गिर्दै गयो मेरो पढ्ने मनस्थिति । एसएलसी गरेपछि पनि कलेज पढ्न सकिएन । भौतारियौं यत्रतत्र, समाजमा अनेकौँ कामहरू बोकेर लागेको लाग्या भयौँ । पढ्न सकिएन । समाजमा देखेका विसंगतिका विरुद्ध डट्ने, अन्याय–अत्याचारका विरुद्ध जेहाद छेड्ने, असत्य र फट्याइँ गर्नेहरूका कुकृत्यहरूको भण्डाफोर गर्ने आफ्नो प्रवृत्ति बन्दै गयो । समाजले विद्रोहीका रूपमा, कोही–कसैले ‘उग्र वादी’भनेर म लगायत हाम्रा साथीहरूलाई हेर्न थाल्यो । साथीभाइको सर्कल विस्तार हुँदै गयो । समाजका थुप्रै कामहरूमा सक्रियता बढ्दै गयो । हाम्रो समूहमा साथीहरू बढ्न थाल्यो । र हामी हाम्रो समाजमा मात्र नभई अन्य ठाउँहरूमा पनि चिनिँदै गयौँ । बाल मस्तिष्कमा चेतना भर्न ‘मचापुच:’गठन गर्न प्रेरणा दिने, हस्तलिखित भए पनि पत्रिका निकाल्न लगाउने र अरूलाई पनि हौसला थप्दै जाने, कवि–गोष्ठी गर्ने र अनेकौँ खालका सामाजिक कार्यहरूमा सक्रिय हुन थालियो । हाम्रो यात्रा मज्जा लाग्दो र अर्थपूर्ण पनि लाग्यो । दिनका दिन जसो हाम्रो हैसियत थपिँदै गयो । जवाहर श्रेष्ठ, केदार प्रधान, राजभाई प्रधान, रामभक्त श्रेष्ठ, टिकाकृष्ण कायस्थ, कृष्णचन्द्र कायस्थ, शिवराम भैल श्रेष्ठ, सानुकाजी शाक्य, रामकृष्ण खाछिभोया, तुलसीदास श्रेष्ठ, द्वारिका डंगोल, हरिकृष्ण श्रेष्ठहरु जस्तै अरू मित्रहरू पनि हाम्रो चेतना–मञ्चमा थपिँदै गयो र हाम्रो हौसला पनि थपिँदै गयो । हामी विस्तारित हुन चाहन्छौँ, म पनि दिनका दिन यस्तै भोगेर विस्तारित हुँदै जान थाल्यौं । यसै क्रममा काभ्रे र सिन्धुपाल्चोक बिच मित्रता थपिँदै गयो ।
पढ्न सकिएन, पढ्ने ध्याउन्ना नै भएन । २०२६ सालतिर नै हो सिन्धुपाल्चोक जिल्लाका हामीजस्ता कम्युनिष्टहरु सँग मिलेर ‘पूर्व एक नम्बर कम्युनिस्ट पार्टी बनाउन खोज्यौँ । राजभाई प्रधान जागिरे जीवनमा पनि सामाजिक–चेत् फिँजाउन र आफू सक्दो सामाजिक कार्य गर्न सधैँ तत्पर हुने व्यक्ति हुन् । जसले ‘पूर्व एक नम्बर कम्युनिस्ट पार्टी’ बनाउने योजनामा सक्रियता पूर्वक लागेका मित्र हुन् । उनीसँगै मिलेर ‘बिगुल’ प्रगतिशील सामयिक सङ्कलन प्रकाशित गर्यौ । गोविन्दलाल प्रधानाङ्ग पनि जागिरे जीवनमा पनि आफू सक्दो सामाजिक कार्य गर्दै आएका राजनीतिक–चेत् भएका श्रीखण्डपुरका परिवर्तन कामी मित्र हुन् । जवाहर पलाञ्चोके श्रेष्ठ विचार वान बनेपाका मित्र हुन् । केदारनाथ प्रधान इतिहास खोज्दै आएका बनेपाका बुद्धिजीवी हुन् । रामभक्त श्रेष्ठ भाषा–साहित्य मार्फत आफूलाई चिनाउन सफल व्यक्तित्व हुन् । यी चार जना मित्रहरूसँग लागेर हामीहरू जस्तै सिन्धुपाल्चोकका मित्रहरू खोज्न थाल्यौँ ।
सिन्धुपाल्चोकका जयराम शर्मा जिल्ला सभापति सम्म भएका राजनीतिक कर्मी हुन् । उनीसँग हाम्रो सम्पर्क भएपछि क्रमशः शङ्करप्रसाद नेपाल किसान आन्दोलनका हस्ती, कम्युनिस्ट चेतना व्याप्त व्यक्ति सँगसँगै जसो इन्द्रलाल श्रेष्ठ र रमेशबहादुर श्रेष्ठसँग पनि सम्पर्क भयो । उनीहरूले पनि सहमति जनाए । अमृत बोहरा सिन्धुपाल्चोकका अगुवा नै हुन्; उनीसँग विशेष हाम्रो सम्पर्क भयो । पछि दुइटा जिल्लाका हामीहरू १० जना भएर ‘कम्युनिस्ट पार्टी’ को परिकल्पना गर्यौ । केही समय पछि काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका प्रगतिशील साथीहरूको बिचको सम्बन्धलाई घनिष्ठ बनाउन ‘प्रगतिशील सिन्धु–काभ्रे साहित्यिक समाज’को स्थापना गर्ने सहमति भयो । वास्तवमा प्रशासनको आँखा छल्न मात्र उक्त नाम हामीले दिएका हौं । बाहिरी रूपमा प्रगतिशील साहित्यकारहरूको समूह जस्तो देखोस् भनेर यस नामबाट कार्य गर्ने तर साँच्चिकै कम्युनिस्ट पार्टी बनाउने हाम्रो उद्देश्य अनुसार स्थापित कम्युनिस्ट पार्टी हो । त्यसताका हामीमा कम्युनिस्ट भावना व्याप्त भएको बेला थियो । हामीले गठन गरेको उक्त ‘पूर्व एक नम्बर कम्युनिस्ट पार्टी’ को गतिविधि त्यति व्यापक र प्रभावकारी बनाउन सकिएन । त्यसताका हामीबाट चिनिया पत्र–पत्रिका बिक्री–वितरण गर्ने, समसामयिक विषयमा छलफल चलाउने र अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूको जानकारी लिने खालका कार्यहरूमा नै हामी सीमित रह्यौँ । उक्त कम्युनिस्ट पार्टीको बैठक बनेपा, श्रीखण्डपुर र दोलाल घाटमा मात्र तीन चोटि गर्न पायौँ ।
काठमाडौँमा चौथो पटकको बैठक गर्ने भयौँ । हामी विस्तारित हुन सकेनौँ, त्यसैले कुनै न कुनै कम्युनिस्ट पार्टीमा विलय हुने चाहना बढ्न थाल्यो र हामी रूपान्तरित हुने क्रम नै सोचेर काठमाडौँमा जम्मा भएका थियौँ । सिन्धुपाल्चोकका मित्रहरूले नेकपा मालेको दस्ताबेज ‘वर्गसंघर्ष’ लिई आउनु भयो । र हामीले नेकपा चौमको दस्ताबेज ‘मसाल’बोकी गएका थियौँ । रातभर नै सिद्धान्तका कुराहरू भए र यो ठिक र त्यो बेठीकका कुराहरू भए । सिन्धुपाल्चोकले ‘वर्गसंघर्ष’ को वकालत गर्न छोडेनन् र हामीले ‘मसाल’ कै महत्त्वलाई प्राथमिकता दियौँ । काठमाडौँमा भएको उक्त गुप्त बैठकमा ‘पूर्व एक नम्बर कम्युनिस्ट पार्टी’ को विघटन गर्ने सहमति भयो । र उक्त पार्टी विघटन गर्यौ ।
पूर्व एक नम्बरबाट राष्ट्रमा नै विस्तारित गर्ने चाहना बोकेर सङ्गठित भएको उक्त कम्युनिस्ट पार्टी बिचैमा भङ्ग गर्नुपर्यो । कम्युनिस्ट हुने चाहना, कम्युनिस्ट हुने हाम्रो भावना र कम्युनिस्टको नाममा भएका गतिविधिहरू कै मूल थलो त केही महिना
मै विघटन भयो । तर यो इतिहासको शृङ्खला हो जसलाई बिर्सी पठाउनु हुँदैन । कम्युनिस्ट पार्टीकै शुभारम्भ पनि हो यो । यही कम्युनिस्ट पार्टी नै सिन्धुपाल्चोक र काभ्रेपलान्चोकको पहिलो कम्युनिस्ट पार्टी थियो । तर हामीले उक्त ‘पूर्व एक नम्बर कम्युनिस्ट पार्टी’ पछिसम्म टिकाउन सकेनौँ ।
०००