महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यिक आकाशका समुज्ज्वल नक्षत्र हुन् । सरस्वतीका पुत्र मानिएका उनी नेपालका गौरव हुन् । भाषा–साहित्यको प्रभाव रहेसम्म चम्किरहने उनी मानवीय सभ्यताका महान् विभूति हुन् । यस्ता महान् व्यक्तित्वको शोधखोज ऐतिहासिक महŒवको विषय हो । फलित ज्योतिषका आधारमा उनको व्यक्तित्वको आकलन एक नवीनतम जिज्ञासाको विषय बन्न सक्दछ ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९९६ कार्तिक महिनाको २७ गते शुक्रबार कृष्णपक्षको औंसी तिथिमा हिन्दूहरूको ज्योतिपर्व लक्ष्मीपूजाको दिन रातको १० बजे दीप प्रज्ज्वलित उज्यालोको सङगीतमय वातावरणमा काठमाडौं, डिल्लीबजार, धोबीधाराटोलमा माता अमरराज्यलक्ष्मीदेवी र पिता तिलमाधव देवकोटाको कोखमा भएको थियो । उनको न्वारनको नाम पण्डितपुरोहितद्वारा तीर्थमाधव देवकोटा राखिएको भए पनि लक्ष्मीको प्रसादस्वरूप जन्मिएकाले लक्ष्मीप्रसाद भन्न थालिएको थियो । ‘ती’ अक्षर विशाखा नक्षत्रको पहिलो पाउ पर्दछ । यही समयका आधारमा आकाश दर्शन पञ्चाङ्गअनुसार देवकोटाको जन्मचक्र यसप्रकार देखिन्छ ।
तात्कालिक ग्रह स्पष्ट
ग्रह राशि अंश कला विकला वक्र/अस्त
सूर्य ६ २६ ४९ ४३
चन्द्र ६ २२ २७ २६ अस्त
मङ्गल ११ १ ३४ ३५
बुध ६ १५ ५७ १८ अस्त
बृहस्पति ५ १४ ५६ ३
शुक्र ८ १३ २४ २५
शनि ११ २४ १४ ४७ वक्र
राहु १ १५ ४८ ४७
केतु ७ १५ ४८ ४७
लग्न ३ ६ ५४ १२
अष्टक वर्ग ग्रह
१. मेष ३० १. सूर्य ४८
२. वृष ३४ २. चन्द्र ४९
३. मिथुन २७ ३. मङ्गल ३९
४. कर्कट ४० ४. बुध ५४
५. सिंह ४४ ५. वृहस्पति ५६
६. कन्या २७ ६. शुक्र ५२
७. तुला ३० ७. शनि ३९
८. वृश्चिक २२ ८. लग्न ४९
९. धन ४० जम्मा ३८६
१०. मकर ३३
११. कुम्भ २४
१२. मीन ३५
जम्मा ३८६
देवकोटाको जन्मचक्रमा सूर्य नीच राशिमा छ त्यसैका साथ रहेका चन्द्र र बुध अस्त छन् । नीचगत सूर्यको फल प्रेष्य चाकरी गर्नेवाला बन्धुद्वारा तिरस्कृत भनिएको छ (जातक सारदीप पृ. ४२०) । त्यस्तै अस्तको फल शून्य हुन्छ भन्ने कुरा सबै ज्योतिषग्रन्थहरूमा उल्लिखित छ । तर त्यसको विपरीत देवकोटा प्रखर प्रतिभाशाली स्वाभिमानी व्यक्ति हुन् । चाकडीको के कुरा आफ्नो वैयक्तिक स्वार्थका निम्ति कहीँ कुनै भनसुनसमेत गर्न नखोज्ने उनी विद्रोही व्यक्ति हुन् । सिर्जनात्मक लेखनका दृष्टिले मात्र होइन शास्त्रीय ज्ञान, सामयिक युगबोध र बौद्धिक चेतनाका दृष्टिले पनि उनको व्यक्तित्व उच्च छ । यस्ता महान् व्यक्तिको जन्मचक्र सामान्य व्यक्तिको जन्मचक्रझैं देखिन्छ । उच्च र स्वगृहीको कुरै छोडौं त्यसमा पनि नीच र दुई ग्रहको अस्तस्थिति स्पष्टै देखिन्छ ।
नीच राशिमा भए पनि बीचमा भङ्ग हुने स्थिति पनि हुन्छ । नीचता भङ्ग हुने निम्न कारण देखापर्छन् :
नीचगत ग्रह जुन राशिमा छ, त्यसको स्वामी लग्न वा चन्द्रमादेखि केन्द्रमा होस् ।
नीच राशिका साथ उच्चनाथ पनि लग्न वा चन्द्रमादेखि केन्द्रमा होस् ।
नीच वा उच्च राशीश दुवै एक अर्काका केन्द्रमा हुन् ।
नीच राशीश आफ्नो राशीमा स्थित नीच ग्रहलाई पूर्ण दृष्टिले देखोस् ।
ज्योतिषशास्त्रमा पाइने यी चारवटै आधारमा पनि नीचता भङ्ग हुने स्थिति उक्त चक्रमा घटित हुँदैन ।
फलित ज्योतिषमा सर्वत्र उल्लेख गरिएका दुई वा तीन ग्रहभन्दा बढी स्वगृही उच्च वा स्वस्थ भए राजतुल्य हुन्छ भन्ने सिद्धान्तको कुनै पनि नियम यसमा घटित भएको पाइँदैन । सामान्य सतही रूपबाट हेर्दा महानताको लक्षण कहीँ कतैबाट दृष्टिगोचर हुँदैन । ज्योतिर्विद्का सामु यस्तै जन्मचक्र फलादेशका निम्ति प्रस्तुत गरिने हो भने असङ्गत फलकथनका कारण फलादेशकर्तामा नै खिन्नता अनुभव हुनुका साथै फलित ज्योतिष नै गज्याङगुजुङ शास्त्रका रूपमा प्रस्तुत भई त्यसप्रति सर्वसाधारणको उपेक्षाभाव बढ्न सक्छ । अपवादस्वरूप देखिने यस्तो जन्मचक्र ज्योतिर्विद्कै निम्ति गम्भीर चुनौतीको विषय हो ।
फलितशास्त्रकै अध्ययनका क्रममा कहीँ कुनै ग्रह नीच अस्त शत्रु क्षेत्री शत्रु दृष्टि, पापयुत, पापदृष्टि आदिमै थिचिइमिचिइरहेको भए त्यस्तो ग्रह समग्र बल जागृत गरी उच्चभन्दा पनि उच्च परमोच्चको फल प्रदान गर्छ भन्ने पनि पाइन्छ । हानिको हानिबाट लाभको सृष्टि हुन्छ भन्ने पनि देखिन्छ । यसै आधारमा सूर्य, चन्द्र र बुधको चतुर्थ सुखस्थानमा भएको एकत्र स्थिति नीच र अस्तअस्त मिलेर परम शुभ स्थितिको निर्माण गर्न सक्छन् भन्ने आधारमा हेर्ने हो भने मात्र ग्रहस्थितिबाट महानताको लक्षण झल्किन आउँछ । अन्यथा दुई–तीन ग्रहको पूर्ण दृष्टियोगबाट मात्र देवकोटाको महानता सिद्ध हुन सक्ने स्थिति देखिदैन ।
अस्त–अस्त र नीचको एकत्र स्थितिले सकारात्मक स्थिति पैदा गर्छन भन्ने आधार मानेर लग्नेश चन्द्रसँग धनेश, व्ययेश र पराक्रमेशको सहस्थितिबाट विक्रमी योगका साथै महान् धनयोगको सृष्टि हुन्छ । धनेश र व्ययेश साहचर्यबाट उठेर उत्तम फल प्रदान गर्छन् भन्ने पाराशरीय सिद्धान्त पनि रहेको छ । बुध चेतना वा मेधाकारक चन्द्रमा भावना वा कल्पनाकारक, सूर्य शौर्य वा ओजकारक ग्रह हुन् । यी तीनैको योगका निम्ति अनुकूल कारकभाव चतुर्थ शुभभावमा युति भएबाट विख्यात गुणवान् कवि हुने कथन समग्र योग ग्रन्थहरूमा पनि उल्लेख छ । सूर्य, चन्द्र र बुध एकै राशिमा होस् त जातक तेजस्वी, सुन्दर बुद्धिवाला, शास्त्र, कला, सभा वा पानमा लीन, राज्यको कार्य गर्नेवाला अर्थात् राजकीय कर्मचारी र धैर्यवान् हुन्छ भन्ने कथन पनि (सारवली पृ. १०३) उल्लेख छ । यो फलकथन देवकोटाको व्यक्तित्वमा घटित भएको देखिन्छ ।
लग्नअनुसार ग्रहको कारक–अकारक स्थिति हेर्दा कारक मङ्गल र गुरु देखिन्छ । तिनमा पनि सर्वाधिक कारक मङ्गल देखिन्छ किनकि मङ्गल केन्द्र त्रिकोणको स्वामी रहेको छ । त्यस्तै अकारक बुध र शुक्र रहेका छन् । सूर्य, चन्द्र र बुधलाई अनुकूल ग्रहयोग मानिएको अवस्थाबाहेक यहाँ तेस्रो बुध राशिको स्थानमा स्थित बृहस्पति र नवम् बृहस्पतिकै राशिस्थानमा स्थित शनिश्चर र मङ्गलको पारस्परिक पूर्वदृष्टियोगबाट अतिशय शुभस्थिति सृष्टि भएको छ । कर्मेश त्रिकोणगत मङ्गललाई भाग्येश वृहस्पतिको पूर्णदृष्टिले वृहस्पति र मङ्गलका साथै शनिसमेत शुभकारक स्थितिमा छन् । अष्टमेश शनिसँग मङ्गलको युतिले देवकोटाले व्यहोर्नुपरेको दु:खदस्थिति यथार्थ हो । केतु अधिष्ठित स्वामी मङ्गल एक त्रिकोणको स्वामी भई अर्को त्रिकोणमा गएर पुत्रहानि, पितृधन हानिजस्ता विपरीत फल व्यहोर्नुपरेको स्थिति पनि यथार्थ हो । औंसीमा जन्म भएकाले आर्थिक दरिद्रता व्यहोर्नु परेको पनि यथार्थता हो । लाभेश शुक्र षष्ठममा गएर देवकोटाको लाभस्थिति सङ्कटमा परेको, आवश्यकता परेको बेला खर्च गर्नुपर्ने सञ्चित धनराशी नरहेको, उत्तम कार्यमा धन खर्च गर्ने गुणक्रिया श्रेष्ठ भएको तथा वृषको राहु लाभमा भई सर्वारिष्टनाशक बनेको स्थिति पनि यथार्थ हो । पञ्चम धुम्रकारक ग्रह केतुको अवस्थितिले अत्यधिक चुरोट सेवन गर्ने आफ्नै बुद्धिको गल्तीले महाकष्टकर स्थिति व्यहोर्न परेको पनि यथार्थ हो । यी सबै ग्रहस्थितिबाट प्रतिपादित भएका फलकथनहरू देवकोटाका जीवनमा घटित भएका तथ्य हुन् ।
ज्योतिषप्रेमीकै हारावली मानिएको सारावलीमा देवकोटाको जन्मचक्रमा स्थित ग्रहका फलकथन निम्न छन् :
– यदि कुण्डलीमा कन्या राशिस्थ गुरु होस् त जातक बुद्धिमान्, धर्मपरायण, कार्यकुशल, धर्मात्मा, सुगन्ध–फूलवस्त्रका प्रेमी, कार्यमा स्थिर, शास्त्रको अर्थ वा चित्रकारीको कार्यदेखि धनी, दानी, सुशील, चतुर, अनेक लिपिको ज्ञाता वा धनी हुन्छ । (सारावली, पृ. १८६)
– यदि वुध राशिस्थ गुरुलाई मङ्गलले देखोस् त जातक निरन्तर विषयसुखको भोगी वा निरन्तर विजयप्राप्तकर्ता, चित्रित देहधारी वा विकारले युक्त शरीरवाला धनी एवं संसारमा पुण्य हुन्छ । (सारावली, पृ. १९०)
– बुध राशिस्थ गुरु शनिबाट दृष्ट होस् त जातक मजदुर, राज्यको वा गाउँ वा नगरको अध्यक्ष हुने सुन्दर देहधारी हुन्छ । (सारावली, पृ. १९०)
– यदि गुरु राशिस्थ शनि गुरुबाट दृष्ट होस् त जातक राजा वा राजाको समान सचिव, सेनानायक तथा समस्त आपदारहित मन्त्री हुन्छ । (सारावली, पृ. २११)
– यदि गुरु राशिस्थ भौम गुरुबाटै दृष्ट होस् त जातक स्त्री वा सुखहीन शत्रुदेखि अजेय धनी तथा कसरत गर्नेवाला हुन्छ । (सारावली, पृ. १७४)
– चतुर्थ भावमा बुध होस् त जातक आफ्नै पराक्रमले विद्वान्, सौभाग्यवान्, सवारीयुक्त, सुन्दर वस्त्रधारी, असल बन्धुबान्धवले युक्त वा विद्वान् हुन्छ । (सारावली, पृ. २२०)
– यदि चतुर्थ भावमा चन्द्रमा वा बुध होस् त जातक बान्धक, मित्र, सुत, सुख, प्रताप, सुवर्ण, अश्व वा रत्नले युक्त एवं सुन्दर भाग्यवान् हुन्छ । (सारावली, पृ. २३२)
– यदि चतुर्थ भावमा सूर्य वा बुध होस् त जातक राजसदृश ख्यातिमान्, काव्य वा शास्त्रको ग्रहणकर्ता, कुवेरको समान ऐश्वर्यवाला, मोटो देहवाला, टेढो नाकवाला हुन्छ । (सारावली, पृ. २२९)
– यदि चतुर्थभावमा सूर्य वा चन्द्रमा होस् त जातक बान्धव पुत्रसुखदेखि रहित, दरिद्री वा अधिक मूर्ख स्वभावको हुन्छ । (सारावली, पृ. २२८)
त्यस्तै जातक पारिजातका अनुसार:
– सूर्य, चन्द्र र बुधको युति होस् त जातक राजाको समान यशस्वी र विद्वान् हुन्छ । (जातक पारिजात, पृ. २६६)
– चन्द्रमादेखि द्वितीय स्थानमा बृहस्पति होस् त विद्यामा प्रवीण, श्रीमान्–कुटुम्बवाला, राजप्रिय र राजसदृश यशस्वी हुन्छ । (जातक पारिजात, पृ. २३५)
जातक सारदीपका अनुसार बुधक्षेत्री गुरुलाई मङ्गलले देखोस् त युद्धमा विजयी, घायल शरीरवाला, धनी र लोकमान्य हुन्छ । त्यस्तै शनिले देखोस् त सुन्दर नगरपति, सेनापति वा गणपति हुुन्छ । (जातक सारदीप, भाग १ पृ. २३४)
– गुरु राशिगत मङ्गललाई गुरुले नै देखोस् त सुखहीन शत्रुबाट नदबिने, परिश्रमी, धनी, स्त्रीयुक्त हुन्छ । (जातक सारदीप, भाग १, पृ. २१८)
– गुरु राशिगत शनिलाई गुरुले नै देखोस् त राजा वा राजातुल्य मन्त्री वा सेनापति भई सुखी हुन्छ । (जातक सारदीप, भाग १, पृ. २५५)
उक्त ज्योतिषशास्त्रका अनुसार प्रमुख ग्रन्थहरूबाट उद्धृत देवकोटाका जन्मचक्रका ग्रहको दृष्टिफलकथनबाट देवकोटाको जीवनवृत्तमा घटित तथ्यहरूमा केही हेरफेर भए पनि बढी मात्रामा मिल्दोजुल्दो स्थितिको अनुभव गर्न सकिन्छ ।
नीच अस्त तथा शत्रु राशिमा स्थित ग्रहको शुभफल व्यर्थ हुन्छ । नीच राशिगत तथा शत्रुराशिगत ग्रह जुन भावमा छ त्यस भावको नाश गर्छ भन्ने सिद्धान्तका आधारमा देवकोटाका जन्मचक्रका ग्रहको राज्यव्यवस्था हेर्दा प्रमुख ग्रहका आधारमा अशुभफलको कल्पना गर्नुपर्ने हुन्छ । सर्वसम्मत रूपमा देखापरेको उनको सिर्जनशील महानता रहस्यमय नै देखिन्छ । अर्थात् यस ग्रहयोगको सामान्य स्वरूपबाट देवकोटाका व्यक्तित्वको विराट स्वरूप झल्किँदैन । जबसम्म केन्द्रवर्ती रहेका सूर्य, चन्द्र र बुधको एकत्र स्थितिलाई शुभस्थितिमा लिइँदैन, फलित ज्योतिषको प्रयोजन सिद्ध हुँदैन ।
देवकोटाको महान् व्यक्तित्व भनेकै सिर्जनात्मक वा साहित्यिक व्यक्तित्व हो । त्यसपछिको राजनीतिक व्यक्तित्व हो । राजनीतिक व्यक्तित्वका निम्ति त्यति गम्भीर रूपमा विचार गर्नु आवश्यक छैन । किनकि उनको राजनीतिक व्यक्तित्व त्यति उर्वर देखिंदैन । व्यावहारिक व्यक्तित्वका सन्दर्भमा जाँदा पनि देवकोटाका स्वभावमा अनेक कमीकमजोरी नखट्कने होइनन् र तिनलाई सामान्य फलकथनबाट पनि झल्काउन सकिन्छ । तर उनको सिर्जनात्मक व्यक्तित्व महान् छ । जन्मचक्रमा अन्तर्निहित कुनै महान् योगविना देवकोटाको ब्रह्मस्वरूप व्यक्तित्व त्यसै निर्मित भएको छैन । तसर्थ देवकोटाको गौरवमय व्यक्तित्वलाई कुन ग्रहगतिले उद्घाटित गर्यो र उच्चतम विन्दुमा पुर्यायो त्यस रहस्यमय ग्रहयोगको शास्त्रीय तथ्य शोधखोजकै विषय बन्न गएको देखिन्छ ।
सिर्जनात्मक व्यक्तित्वमा केन्द्रित हुँदा चन्द्रमा भावना वा कल्पनाप्रदायक ग्रह हो, त्यो लग्नेश भई सूर्य, बुधसँगको युतिले विपरीत फलको स्थिति देखिंदैन । केवल नीच र अस्तको कारणले मात्र न्यूनताको स्थिति बुझिन्छ । यस सम्बन्धमा उत्तर कालामृतकारको कथन :
पाप नीचगता: शुभ: वलयुता: केन्द्रस्त्रिकोणास्थिता: । अर्थात् ‘निर्वल (नीच राशिमा स्थित) पापग्रह पनि योगकारक हुन्छ’लाई विचार गर्नुपर्ने देखिन्छ । परस्पर विरोधी चीज सङ्गुणित भएर अविरोधी बन्न जान्छन् अर्थात् ऋण ह ऋणबाट = धनको स्थिति पैदा हुन्छ भन्ने स्थितिलाई आधार मान्दा महान् यशस्वी र प्रतापी रहेको देवकोटाको व्यक्तित्व द्योतित हुनसक्दछ । लग्नेशसँग युति भएका ग्रहले शुभत्व प्रदान गर्छन् भन्ने ज्योतिषशास्त्रीय प्रमुख सिद्धान्त शुभत्वदायक रहेको छ । शुक्र अभिव्यक्तिकौशल कारक ग्रह हो । षष्ठम स्थानमा त्यसको स्थिति काव्यधर्मका निम्ति अनुकूल नै मानिन्छ । देवकोटाका रचनामा पाइने प्रमुख विशेषता तार्किकता हो । तार्किक ऊर्जाका निम्ति मङ्गल नै सर्वाधिक कारक ग्रह हो । वृहस्पतिमा स्थानमा स्थित भई वृहस्पतिबाटै दृष्ट हुँदा काव्यधर्मका निम्ति वृहस्पति र मङ्गल दुवै उत्प्रेरक ग्रह रहेका छन् । त्यस्तै शनि मङ्गलको साथ भई बृहस्पतिबाट दृष्ट हुँदा पूर्वीय संस्कृत विद्याभन्दा पाश्चात्य अङ्ग्रेजी विद्याकै प्रखरता बढी रहेको देखिन्छ । अनि धर्मस्थानमा पनि मङ्गलको युतिले देवकोटा पूर्णत: आस्तिक होइनन् र त्यसमा विवेकवान् बृहस्पतिको दृष्टिले पूर्णतया नास्तिक पनि होइनन् भन्ने पनि नझल्कने देवकोटा पूर्ण रूपमा आस्तिक हुन् भन्नेलाई धर्मस्थानमा दुवै पापीको युति नै धारिलो प्रमाणको रूपमा अघि सार्न सकिन्छ ।
देवकोटाको तुला राशि अन्तर्गतको विशाखा नक्षत्र हो । नक्षत्र फलका आधारमा हेर्दा पनि देवकोटाको गुणवान् व्यक्तित्वको झलक पाउन सकिन्छ । विशाखा नक्षत्रको फलकथनमा जातक पारिजातमा भनिएको छ –
गर्वी दारवशी जितारिधिक क्रोधी विशाखोद्भव: अर्थात् गौरवयुक्त, स्त्रीको वशमा रहने, शत्रुनाशक र अधिक क्रोधी हुन्छ । चन्द्रमा गुरुको नक्षत्रमा भएकाले जातकको व्यक्तित्वमा बढी गौरवको सञ्चार हुन्छ । विशाखा नक्षत्रलाई द्विदैवतम्, इन्द्राग्निकम्, शूर्पभम् पनि भनिएको छ । द्विदैवतम्को अर्थ हो दुगुना दैवी गुणवाला, इन्द्राग्निकम् को अर्थ हो ऐश्वर्य र ज्ञानस्वरूप, शूर्पभम्को तात्पर्य हो सुन्दर । यी सबै गुण गुरुमा निहित छन् । गुरुकै नक्षत्रमा चन्द्र स्थित भएकाले जातकको व्यक्तित्वमा चन्द्र र गुरुको गुण निहित हुन पुगेको छ । विशाखाको प्रथम पादमा चन्द्र स्थित होस् त जातक नीतिक्ष हुन्छ । विशाखाको प्रथम पाद मङ्गल ग्रहको र नक्षत्र गुरुको हो । चन्द्रमामा गुरु र मङ्गलको प्रभावले जातक बडो तर्कशील, नीतिमा निपुण हुन्छ भनिएको छ । यसमा गुणवान् कवि हुन्छ भनिएको नभए पनि तर्कशील र नीतिज्ञ हुन्छ भनिएकोले सिर्जनशीलताकै सङ्केत गर्दछ ।
सामान्य सतही अध्ययनका भरमा देवकोटाको जन्मचक्र झट्ट हेर्दा सामान्य व्यक्तिसरह नै देखिन्छ । ज्योतिषमा फलपद्धतिका अनेकौं आधारहरू छन् जसबाट रहस्यमय तथ्यहरूको खोजविन हुन सक्छ । हजारौं योगहरू छन् – सामान्य दृष्टिले प्रत्यक्ष नहुन सक्छ । कुनै ग्रह उच्च र स्वगृही नरहेको नीच र अस्तले निर्मित देवकोटाको जन्मचक्र जटिल र रहस्यमयी जन्मचक्रका रूपमा लिन सकिन्छ । ज्योतिषप्रेमीका निम्ति नवीन सिद्धान्त प्रतिपादनहेतु उल्लेखनीय जन्मचक्र सावित हुन सक्दछ । यस्ता जटिल जन्म चक्रले ज्योतिर्विद्लाई फलकथनपद्धतिमा गम्भीर बन्न प्रेरित गर्दछन् ।
– भरतपुर, चितवन
प्रमुख ग्रन्थसूची :
१. उत्तरकालामृत, रञ्जन पब्लिकेसन्स, सन् २००३ ।
२. जातक पारिजात, चौरवम्बा संस्कृत संस्थान, सन् २००४ ।
३. जातक सारदीप, भाग १ र २, रञ्जन पब्लिकेसन्स, सन् २००१ ।
४. देवकोटा, साझा प्रकाशन, वि.सं. २०३६ ।
५. नक्षत्र फल दर्पण, रञ्जन पब्लिकेसन्स, सन् २००४ ।
६. फलदीपिका, रञ्जन पब्लिकेसन्स, सन् २००४ ।