विविधताले भरिएको प्राकृतिक पर्व हो तिहार ।
प्रकृतिको पूजा गर्ने सांस्कृतिक पर्व हो तिहार ।।
देउसी र भैलो गाउने सांगीतिक पर्व हो तिहार ।
समयसँगै रमाउने सांकेतिक पर्व हो तिहार ।।
दिदीबहिनी,दाजुभाइको पारस्परिक पर्व हो तिहार ।
काग,कुकुर समेत पुज्ने पारम्परिक पर्व हो तिहार ।।
गाई र लक्ष्मीलाई पुज्ने धार्मिक पर्व हो तिहार ।
पशुपन्छीको महत्त्व बुझ्ने मार्मिक पर्व हो तिहार ।।
जुवातासमा रमाउनेलाई आर्थिक पर्व हो तिहार ।
फूलमाला सजाउनेलाई कार्तिक पर्व हो तिहार ।।
निधारहरुलाई सप्तरंगी बनाउने पर्व हो तिहार ।
भुइँमा आकर्षक रंगोली बनाउने पर्व हो तिहार ।।
सेल,अर्सा अनि अनर्सा पकाउने पर्व हो तिहार ।
क्रूर यमराजलाई समेत फकाउले पर्व हो तिहार ।।
उज्यालोले अँध्यारोलाई भगाउने पर्व हो तिहार ।
सद्भाव र भातृत्वलाई जगाउने पर्व हो तिहार ।।
दरिद्रता भगाएर,सम्पन्नता जुटाउने पर्व हो तिहार ।
कठोर ओखर एकै प्रहारमा फुटाउने पर्व हो तिहार ।।
स्वयं आफैँलाई समेत पुज्ने तार्किक पर्व हो तिहार ।
समग्रमा भन्दा,अभिन्न सामाजिक पर्व हो तिहार ।।