कहिल्यै कारागार नगएकाहरु र त्यहाँ कुनै पनि सजाय नकाटेकाहरुले कारागारभित्रको कोठरीमा समय बिताउनु कति कष्टपूर्ण हुन्छ भन्ने कहिल्यै थाहा पाउँदैनन् । बाहिर रहेर कारागारका लागि बनाइएको धारणा भित्र पसेर हेरेपछि सधैँ उल्टिन्छ । मानिसहरु कारागारलाई पर्खालहरुले घेरेको र सबै केदी एकै ठाउँ बस्नुपर्ने एउटा स्थान मान्छन्, तर यो धारणा सत्यभन्दा धेरै टाढा छ । कारागारभित्र पनि धेरैवटा स–साना कारागारहरु हुन्छन् । वास्तवमा कारागार आफैँमा एउटा छुट्टै विश्व हो । यसभित्र, कानुनको किताबमा अनुसूचित सबै प्रकारका कानुनद्वारा अपराधी ठहर गरिएका कैदीहरु सजाय काट्नका लागि थुनिएका हुन्छन् । चोर, लुटेरा, बदमास, पागल आदि सबै प्रकारका कैदीहरु हुन्छन् । यहाँ राजनीतिक बन्दी पनि हुन्छन् । यहाँ सुनुवाइ हुँदैगरेका अभियुक्त पनि हुन्छन्, अर्थात् जसको सजाय तोकिन अझै बाँकी छ, अथवा ती अभियुक्त जसलाई अझै जमानत दिइएको छैन । जब कोही यस संसारभित्र प्रवेश गर्छ, उसलाई आभास हुन थाल्छ हामीले बाँचिरहेको यस संसारमा कति थरिका मानिसहरु हुन्छन् भनेर । तर यस प्रकारको कुरा बोध गर्नका लागि जो कोहीलाई पनि यहाँभित्र लामै समय बिताउनु जरुरी हुन्छ । वास्तवमा कारागार तीन प्रकारका हुन्छन् : केन्द्रीय कारागार, जिल्ला कारागार तथा स्थानीय कारागार जो जिल्लाभन्दा साना इकाईमा हुन्छन् । यहाँ मानिस मानिस रहँदैन; ऊ एउटा मसिन बन्दछ । यहाँ दोषी र निर्दोष दुवै प्रकारका कैदी सजाय काटिरहेका हुन्छन् । कसैकसैलाई त आजीवन कारावासको सजाय पनि बिताउनुपर्ने हुन्छ । स्थानीय कारागारमा दुई–तीन वर्षभन्दा बढी अवधिको सजाय पाएका कैदीलाई राखिँदैन । उनीहरुलाई जिल्ला कारागार चलान गरिन्छ । तीन वर्षभन्दा बढीको सजाय तोकिएको खण्डमा उनीहरुलाई केन्द्रीय कारागार चलान गरिन्छ ।
मैले पाँचपल्ट जेल सजाय भोगिसकेँ । मैले कारागारमा एक राजनैतिक बन्दीको हैसियतमा जीवन बिताएको हुँ, तर मलाई स्पष्टत: कठोर सजायसहितको कारावास पनि तोकियो । मैले सुनवाई चल्दै गर्दा पनि बन्दी जीवन बिताएको छु । परिणामस्वरुप, मेरा आफ्नै जेल अनुभवबाट जेलमा आइपुगेका सबै प्रकारका बन्दीको जीवनबारे मैले बुझ्ने मौका पाएको छु । तर यहाँ आफूले के–के भयो भन्ने कुरा लेख्न चाहिनँ । बरु, आसन्न पानाहरुमा म कैदीहरु कारागारभित्र कसरी दिनहरु बिताउँछन्, त्यसको वर्णन गर्न चाहन्छु । मैले माथि नै उल्लेख गरेअनुसार कारागारभित्र पनि स–साना थुप्रै कारागारहरु हुन्छन् । कारागारभित्र हुने अधिकांश कामहरु कैदीहरु आफैँले गर्छन् । अधिकारीहरुलाई सहयोग गर्नका लागि स्थान तोकिएको हुन्छ । अभियुक्तहरु कारागारको एउटा पाटोमा राखिएका हुन्छन् । उनीहरुलाई त्यहाँबाट बाहिर निस्कने अनुमति हुँदैन । त्यस क्षेत्रभित्र पनि उनीहरुलाई छुट्टाछुट्टै कक्षमा राखिएको हुन्छ । अभियुक्तहरुलाई यिनै पर्खालभित्र बस्नुपर्ने हुन्छ । कारागारभित्र ‘कोठरी’ भनिने एउटा विशेष कक्ष पनि हुन्छ । कारागारभित्र रहँदा रहँदै कसैले थप कुनै अपराध गर्यो भने त्यस्तो कैदीलाई कोठरीमा राखिन्छ । यहाँ विशेष कक्ष पनि हुन्छन्, जहाँ मुद्दा चल्दै गरेका अभियुक्तलाई राखिन्छ । यसरी हेर्दा कारागार अनेक थरिका हुन्छन्, तर उनीहरुबारे थप कुरा म अन्यत्र भन्नेछु ।
कैदीहरुको गणना गर्नु एउटा झन्झटिलो काम हो । बिहान एकफेर गणना गर्न सबै कैदीलाई लाइन लगाइन्छ र बस्न अह्राइन्छ । बिहान गार्डले ढोकाहरु खोलेपछि एकपल्ट गणना गरिन्छ । अर्को ११ बजे गरिन्छ । १२ बजे पुन: एकपल्ट गरिन्छ, र साँझ एक पल्ट । दिनको अन्तिम गणना साँझ कारागारका ढोका बन्द गर्ने बेलामा गरिन्छ । यी सबै गणनामा कैदीहरुले जोडा बनाएर बस्नुपर्ने हुन्छ । उनीहरुलाई भिन्नाभिन्नै कक्षहरुमा राखिन्छ । यस्ता कक्षहरुमा १००, ५० वा २० जना कैदी अटाउँछन् । कतिपय कोठरीमा भने १, ३ वा ४ जना मात्रै पनि अटाउँछन् । तर दुई जना कैदी मात्रै अटाउने कोठरी कतै पनि हुँदैनन् । किनभने, यस्तो अवस्थामा उनीहरु अप्राकृतिक यौन क्रियाकलापमा संलग्न हुन सक्छन् । तर पनि कारागारभित्र यस्ता घटना घटिरहेका हुन्छन् ।
कारागारभित्र अस्पताल हुन्छ । डाक्टरहरु पनि हुन्छन् । कोही बिरामी भयो भने उपचार गराइन्छ । यस ठाउँमा पनि जिम्मेवारीको विभाजन गरिएको हुन्छ । पढेलेखेकाहरु अफिसमा लेखन कार्य गर्छन् । कोही बगैचामा काम गर्छन् । कोही भण्डारमा काम गर्छन् । अन्य कोही भने कारखानामा काम गर्छन्, जहाँ सिलाइबुनाइ गरिन्छ । कोही खाना पकाउँछन् भने कोही चाहिँ झाडु लाउने काम गर्छन् । यहाँ हुने सबै खाले काम केदीहरुले नै गर्छन् । साँझ परेपछि कसैलाई पनि बाहिर बस्ने अनुमति दिइँदैन । यसबेला सबैका कोठामा बाहिरबाट ताला लाइन्छ । शौचालय र स्नानगृह कोठाभित्र हुन्छन् । यसरी गन्नुअघि नै खाना दिइन्छ, जसका लागि सबै कैदीले लामबद्ध उभिनुपर्छ । उनीहरुलाई पुन: थुनिएपछि बाहिरबाट सुरक्षाकर्मीले पहरा दिन्छन् । कैदीले भित्रै बस्नुपर्ने हुन्छ । कैदी भएपछि बाहिर पूरै अँध्यारो भयो अथवा जुन टहटह लागेको छ, केही पनि थाहा हुन्न ।
कैदीहरुले कारागारमा रहँदा ‘बढुवा’ पनि पाउने गर्छन् । कसैले टाउकोमा कालो टोपी देखियो भने उसको पदोन्नति भएर ऊ नाइटगार्ड अर्थात् रातिको पहरेदार भएको र उसले गेटमा पहरा दिइरहेको बुझिन्छ । आफूले पाएको सजायको आधा अवधि भोगिसकेकाले यस्तो जिम्मेवारी पाउँछ । यस्ता गार्डहरुले कालो ब्याच लगाएका हुन्छन् । उनीहरुलाई कि त प्रवेशद्वारमा खटाइन्छ, कि त यो पर्खालदेखि त्यो पर्खालसम्म निगरानी राख्न लगाइन्छ । कसै कसैलाई सुपरभाइजर बनाइन्छ, र उनीहरुलाई उनीहरुको अधीनमा काम गर्ने अन्य कैदीहरुको निरीक्षणको जिम्मेवारी दिइन्छ । ब्याच भएकाहरु गार्ड हुन् भन्ने बुझिन्छ र उनीहरु कारागारमा खुल्ला रुपमा घुमफिर गर्न पाउँछन् । कसैलाई बोलाउनु वा झिकाउनु पर्यो भने गार्डका अधिकृतहरु यस्तै कैदीमध्येबाट नियुक्त गरिएका गार्डहरुको प्रयोग गर्छन् । यिनीहरुको ठ्याक्कै माथिबाट ‘कन्भिक्ट ओभरसियर’ अर्थात् अभियुक्तहरुको निरीक्षक हुन्छन् । तिनीहरुलाई ‘मेट्रस’ पनि भनिन्छ, र यिनले कम्मरमा छालाको पेटी लगाएका हुन्छन् । उनीहरुको काम पनि गार्डको जस्तै नै हो, तर यिनले आफू मातहतका गार्डको निरीक्षण गर्छन् । कुनै कैदीले आफूलाई तोकिएको म्यादको दुई तिहाइ समय भोगिसकेको छ भने उसको यस्ता पदमा नियुक्त हुन सक्छ । यिनीहरुमाथि ‘नाइट गार्ड’ हुन्छन् । सिपाहीजस्तै यिनीहरु पनि पेटी लगाउँछन्, र उनीहरुको हातमा राति बजाउने सिठ्ठी हुन्छ । आवश्यक पर्यो भने उनीहरु सिठ्ठी बजाउँछन्, अथवा आपतकालीन घण्टी पनि बजाउँछन् । राति, अन्य सिपाहीसँगै निगरानीमा खटिनेलाई सुत्ने पलङ्ड, झुल तथा तकिया दिइएको हुन्छ । उनीलाई कारागारभित्र जहाँ पनि पुग्ने अनुमति हुन्छ । उनीहरुभन्दा पनि माथि ‘गार्ड’ हरु हुन्छन् । उनीहरुलाई कालो ब्याच दिइएको हुन्छ । यिनीहरुले पेटी लगाउनुपर्ने हुन्छ र हातमा सिठ्ठी पनि बोक्नुपर्ने हुन्छ । उनीहरुको अधिकार करिब करिब सिपाहीको जत्तिकै हुन्छ । उनीहरुको तोकिएको विविध क्षेत्रहरुको जिम्मेवारी दिइन्छ, र उनीहरुले सिपाही तथा प्रमुख गार्डलाई सघाउँछन् ।
आफ्नो सजायको लगभग लगभग पूरा समय बिताइसकेकाहरुलाई माथि उल्लेखित अधिकारहरु दिइन्छ । तर, भएजति सबैलाई कालो ब्याच दिइने अथवा नाइट गार्ड बनाइने भन्ने चाहिँ होइन । कारागारमा आफ्नो समय राम्रोसँग बिताएका तथा आफ्नो आचरणमा सकारात्मक परिवर्तन देखाएका कैदीहरुलाई मात्र यसरी नाइट गार्डको जिम्मेवारी दिइन्छ । नाइट गार्ड हुने तथा कालो ब्याच पाउनेबाहेकका पनि कतिपय कैदी हुन्छन्, जसलाई अरु नै केही जिम्मेवारी दिइन्छ । एउटा मेटलाई कुनै पनि कोठरीको निगरानी गर्ने जिम्मेवारी दिइन्छ । कैदीलाई थुनिसकेपछि उसको निगरानी राख्ने काम मेटको हुन्छ । प्रत्येक रात उनीहरुले दुई घन्टा यस काममा खट्नुपर्ने हुन्छ । सिपाहीले कोठरी भित्र के के भयो भनेर सोधेको खण्डमा यिनै मेटले जवाफ दिनुपर्ने हुन्छ । सबै वार्डको आ–आफ्नै नम्बर हुन्छ । सिपाहीले नम्बर अनुसार बोलाउँछन् र कोठरीभित्रका कैदीले त्यसै अनुसार जवाफ दिन्छन् ।
उदाहरणका लागि गार्डले “सङ्ख्या पाँच” भनेर बोलायो भने यो नम्बर बोकेको व्यक्ति, “सबै ठीक छ, साब । पचास झ्याले कोठामा सब ठीकठाक छ,” भनेर जवाफ दिन्छ । यसको अर्थ, उक्त कक्षमा रहेका सबै पचास जना कैदी ठीकठाक छन् भन्ने बुझ्नुपर्ने हुन्छ । यसको अर्थ, झ्यालहरु ठीकठाक छन् भन्ने पनि हुन्छ । र यो प्रक्रिया रातैभरि चलिरहन्छ । गार्डहरु कक्ष सङ्ख्या १, २ अथवा ३ आदिमा सब ठीकठाक छ वा छैन भनेर सोधि नै रहन्छन्, तथा गार्ड अथवा मेटले जवाफ दिइरहनुपर्ने हुन्छ । राति, हरेक दुई घण्टापछि पालो बद्लिँदा डिउटीमा आएको नयाँ गार्डले आफ्नो जिम्मेवारीमा रहेको कक्षभित्र थुनिएका सबै कैदी ठीकठाक छन् वा छैनन् भन्ने बुझ्नलाई पुन: यही प्रक्रिया दोहोर्याउँछ । ड्युटी सकेर जानेले ड्युटीमा आइरहेको नयाँ गार्डलाई कक्षभित्रको वस्तुस्थितिको पूरा जानकारी गराउनुपर्ने हुन्छ ।
केही कैदीलाई अन्य कैदीको निगरानी गर्न अथवा उनीहरुको कामको निरीक्षण गर्न लगाइएको हुन्छ । उनीहरुले आफू मातहतका कैदीको जिम्मेवारी तोक्नुपर्ने हुन्छ, र यसरी दिइएको जिम्मेवारीको रेकर्ड राख्नुपर्ने हुन्छ । कुनै कुनै कैदीका लागि तोकिएको यातना अथवा हिंसात्मक सजाय यिनै जिम्मेवारी पाएका कैदीहरुले कार्यान्वयन गर्छन् । यसरी ‘काँडाले नै काँडा गोड्ने’ पद्धति अङ्ग्रेजहरुले सुरु गरेका हुन् । यहाँनेर म एउटा सत्य घटना सुनाउनबाट आफैँलाई रोक्न सक्दिनँ । यो घटना ढाका कारागारभित्र घटेको हो । एउटा कैदीलाई धेरै मामिलामा चोरीको आरोप भएकोले एक वर्षको सजाय तोकिएको रहेछ । उसलाई गाउँकै मानिसहरुले चोरीको आरोप लगाएर पुलिसलाई सुम्पिदिएपछि यो सजाय आइपरेको रहेछ । कुनै पनि गाउँले यस मान्छेलाई देख्न सक्दो रहेनछ ।
कारागारमा आफ््नो सजायको अवधिलाई सकुशल सहेका केही कैदीलाई गार्ड बनाइन्छ र पछि अभियुक्तको निरीक्षक अथवा मेट पनि बनाइन्छ । यसपछि उनीहरु बेल्ट लगाउँछन् । निश्चित सङ्ख्याका कैदीहरुमाथि जिम्मेवारी दिइयो भने ऊ मेट कहलिन्छ । त्यसपछि मेटले नै ती कैदीहरुउपर निगरानी राख्नुपर्ने हुन्छ । उसको मातहतका कैदीले उसले भनेबमोजिम कार्य गर्नुपर्ने हुन्छ ।
एकपल्ट, जब माथि उल्लेख गरिएको कैदीलाई मेटमा बढुवा गरियो, ऊ यति खुसी भएछ कि उसले चिठी लेखेर श्रीमतीलाई भनेछ –“गाउँमा त मेरो कुरा कसैले पनि सुन्दैनथे । सबैले मलाई घृणा गर्थे । तर भगवान्को कृपाले कारागारमा म यति शक्तिशाली भएको छु कि धेरैले मैले भनेअनुसार गर्छन् । मैले उठ भन्दा उठ्छन्; बस भन्दा बस्छन् । मेरो भनाइ कसैले मानेन भने म पेटी निकाल्छु र त्यसैले हिर्काउँछु । मेरो अवज्ञा कसैले पनि गर्न सक्दैन । यसरी भगवान्ले मलाई ठूलो सम्मान दिएका छन् । यस्तो सम्मान जोकोहीले पाउँदैन । मलाई गाउँमा मान्छेले चोर भनेर के भयो र कारागारमा त म ओभरसियर पदको मान्छे हुँ । म चोर नभएको भए र कारागार नआएको भए यस्तो सम्मान पाउने थिइनँ । मेरो बारेमा कुनै पनि चिन्ता नगर्नू । म यहाँ ठूलो सम्मानका साथ बाँचेको छु ।” वास्तवमा उसले यसरी सम्मानित हुँला भन्ने कहिल्यै पनि सोचेको थिएन ।
यद्यपि, जब यस्ता चिठी तयार गरिन्छन्, कारागार अधिकारीले तिनको सबै विषयवस्तु हेर्ने गर्छन् । यो चिठी जब जाँचका लागि आइपुग्यो, यसको विषयलाई पढेर अधिकारी खुब हाँसे । जेलर, सुपरभाइजर र अन्यले पालैपालो पढे । अर्को दिन यस कैदी बोलाइयो र उसको पेटी छिनियो । यससँगै उसको तानाशाही सकियो । यो कथा मलाई कुनै जेलरले केही समयअघि सुनाएका हुन् ।
कारागारमा केही विशेष शब्दहरुको प्रयोग गरिन्छ जसको अर्थ कारागार बाहिरकाले बुझ्दैनन् । म कारागार ल्याएको भोलिपल्ट गार्ड बनेको एउटा कैदीले मलाई र मेरा साथी भएको केहीलाई भन्यो, “अब तपाईंहरु केस्टोकोल जानुपर्ने हुन्छ ।” यो केस्टोकोल भनेको के रहेछ हामीले कुरा नबुझेर एकअर्कोलाई मुखामुख गरेर हेर्यौँ । र अन्त्यमा जसलाई भन्यौँ, “जाऔँ ।” हामीलाई अर्को एकठाउँ लगियो । यो त्यो ठाउँ रहेछ जहाँ ‘टिकट’ लेख्नुअघि एउटा सुपरीवेक्षकले नयाँ कैदीको सबै सम्बन्धित जानकारी लिँदो रहेछ । कुनै कैदी कुनै प्रकारको बदमासीको दोषी छ वा छैन त्यहीँ पत्ता लाग्दो रहेछ । हामीले कारागारको सुपरीवेक्षकको अगाडि पुगेपछि उनले भने, “तिमीहरु जान सक्छौ । तिमीहरुको जाँच तिमीहरुकै कक्षमा हुनेछ, र तिमीहरुको नाम र अन्य विवरण त्यहीँ टिपिने छ ।” मलाई आफ्नो कोठामा लिएर जान एकजना सिपाही खटाइयो ।
मसँग अन्य केही कैदी पनि थिए, जसको श्रेणी तोकिएको थियो । उनीहरुमध्ये एक शाहबुद्दिन पनि थिए, जो सिल्हेट जिल्लाका थिए । उनले जनमत सङ्ग्रहमा सक्रिय रुपमा भाग लिएका तथा मुस्लिम लिगको कार्यकर्ताका रुपमा उनले गरेका कार्यबाट राम्रो लोकप्रियता हासिल गरेका थिए । चर्चित कालाबरी हत्याकाण्डमा आरोपी भएपछि उनलाई बीस वर्षको कैद सजाय सुनाइएको थियो । उनको असली नाम हो पी.एम. शाहबुद्दिन । तर सबै ठट्टा गरेर उनलाई “मर्दङ्गा राजनैतिक दङ्गाका शाहबुद्दिन” भनेर बोलाउँथे । उनी कारागारका अन्य कैदीलाई दु:ख दिइरहन्थे र लाग्थ्यो, उनी कसैले भलो चिताउनै सक्दैनथे । तर पनि उनी एक शिक्षित व्यक्ति थिए । कसैले उनका विरुद्ध गुनासो गर्दैनथे, किनकी उनी सबै कैदीको पक्षमा काम गर्थे । मैले उनै शाहबुद्दिनलाई सोधेँ, “यो केस्टोकोल भनेको चाहिँ के हो” उनी हाँसेर झण्डै मरे । भने, “हामी अङ्ग्रेजी शब्दकोष पल्टाऔँ र पत्ता लगाऔँ ।” मैले भने, “यस्तो शब्द त कहिल्यै सुनेको थिइनँ । तर सम्भवत: अबका शब्दकोषले यस शब्दलाई पनि सामेल गर्नेछन् । मलाई लाग्छ, म अङ्ग्रेजी त्यति राम्रो जान्दिनँ ।” मेरो कुरा सुनेर सबै वरिष्ठ कैदी हाँस्न थाले । म मूर्खजस्तो देखिएँ । तर यस शब्दको अर्थ के रहेछ, सोचिरहेँ । पछि शाहबुद्दिनले हाँसेर भने, ‘शब्द केस्टोकोल होइन, केस टेबल हो । तर यहाँ कैदीहरु त्यसै भन्छन् । यो त्यो टेबल हो जहाँबाट फैसला सुनाइन्छ । कुनै कैदीले केही बदमासी गरेको भए उसउपरको सजाय यसै टेबलबाट सुनाइन्छ । यसै टेबलबाट कैदीहरुको अनुरोध र मागहरुमाथि विचार गरिन्छ । चिठी पनि यसै टेबलमाथि लेखिन्छन् ।”
मैले आफूलाई निकै जान्ने भन्ठानेको थिएँ । यहाँ केस टेबललाई नयाँ नामाकरण गरेर केस्टोकोल बनाइएको रहेछ । कारागारमा यस्ता धेरै शब्दहरु हुन्छन्, जसको विशिष्ट अर्थ हुन्छ । तर यसबारे थप कुरा म पछि भन्नेछु
बङ्गलादेशी जनताको स्वतन्त्रताको प्राप्तिको पक्षमा अनवरत सङ्घर्षशील राजनेताका रुपमा विख्यात राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानद्वारा लिखित ‘जेल डायरी’लाई अंग्रेजीबाट नेपालीमा अनुवाद महेश पौड्यालले गर्नुभएको ग्रन्थ कुलपति गङ्गाप्रसाद उप्रेतीको सम्पादनमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको हो । शेख मुजिबुर रहमानले आफ्नो वयस्क जीवनको अधिकांश समय कारागारमा बिताउनुभएको थियो । हाम्रा पाठकहरुलाई उहाँको कारागार जीवनको प्रसङ्गहरु क्रमश: प्रकाशित गर्दै जाने जानकारी गराउन चाहन्छु ।
० ० ०
(अनुवादक : महेश पौड्याल)
(क्रमश:)