खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिहरु छनोट गरेको छ । प्रतिष्ठानले शुक्रबार विज्ञप्ति जारी गर्दै २०७९ को वर्षभरीमा प्रकाशित भएर प्रतिष्ठानलाई प्राप्त १ सय ८० कृतिहरुमध्ये निर्णायक समितिको पहिलो चरणको मूल्यांकनका आधारमा १५ वटा कृतिहरुको नाम विस्तारित सूचीका रूपमा सार्वजनिक गरिएको हो ।
१५ पुस्तकमा जानुका खतिवडाको आतोओडा‚ सुबिन भट्टराईको इजोरिया‚ विवेक ओझाको ऐँठन‚ गोपी सापकोटाको चिसो बाफ‚ प्रगति राईको थाङ्ग्रा‚ रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम‚ सुरेश प्राञ्जलीको पानीघट्ट‚ शैलेन्द्र अधिकारीको बह्मास्त्र‚ रामलाल जोशीको बाआमा‚ प्रोल्लास सिन्धुलीयको भग्न भैरव‚ देवीप्रसाद सुवेदीको मनु‚ प्रदीप रोदनको मफलर‚ हरिबोल काफ्लेको यशोधरा‚ नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धुन रहेका छन् ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।