नेपाली साहित्यको फाँटमा उदाएका धेरै साहित्यकारहरूमध्ये तेजविलास अधिकारी एक कर्मठ र लगनशील साहित्यकार हुन् । समकालीन युवा पुस्ताका साहित्यकारहरू माझ उनको नाम पनि अग्रपङ्तिमा आउँछ । तेजविलास अधिकारी क्रान्तिकारी र प्रगतिशील विचारधारा बोकेका एक सशक्त साहित्यिक व्यक्तित्व हुन् । वर्तमान पुस्ताका उनी अग्रणी पनि हुन् । छोटा र साना कविता विधा हाइकुबाट साहित्यिक यात्रा प्रारम्भ गरेका अधिकारीले तिनवटा हाइकु सङ्ग्रह, अन्य विविध सिर्जना, समीक्षाका पुस्तकहरू लेख्नुका साथै थुप्रै पुस्तकहरूको सम्पादन र एउटा मुक्तक सङ्ग्रह प्रकाशन गरिसकेका छन् ।
२०७२ सालदेखि उनका कृतिहरू प्रकाशनमा आइरहेका छन् । हालसम्म उनका ‘उच्छवास’ २०७२ हाइकु सङ्ग्रह, ‘उद्वेग’ २०७५ हाइकु सङ्ग्रह, ‘उच्छलन’ २०७६ हाइकु सङ्ग्रह र पछिल्लो कृति ‘उच्छेद’ मुक्तक सङ्ग्रह प्रकाशित छन् । उनका सबै कृतिहरूको नाम ‘उ’ बाट सुरु भएका छन् । ‘उच्छेद’ मुक्तक सङ्ग्रह २०७८ माघमा बजारमा आएको हो । ‘उच्छेद’को खास अर्थ जरैदेखि खतम गर्ने वा उखेल्ने काम, निर्मूल पार्ने क्रिया वा भाव, उछित्तो पार्नु, सत्यानाश गर्नु, विनास गर्नुका साथै खण्डन गर्नु भन्ने अर्थ लाग्दछ ।
तेजविलासले ‘उच्छेद’ मुक्तक सङ्ग्रहमा हाम्रो समाजमा भएका विकृति र विसङ्गतिहरूलाई देखाएका मात्रै छैनन् कि ती विकृति र विसङ्गतिहरूलाई जरैदेखि खोतलेर मिल्काउनु पर्छ, फाल्नुपर्छ र निर्मूल पार्नु पर्छ भन्ने सन्देश पनि व्यक्त गरेका छन् । हाम्रो समाजमा मात्रै नभई राष्ट्रव्यापी रूपमा नै ऐजेरुरूपी विकृतिहरू मौलाएका छन्, यी ऐजेरुले हाम्रो समाज, राष्ट्र र नेपाली नागरिकको मस्तिष्कलाई नै यसले पुरै गाँजेको छ त्यो ऐजेरुरूपी खराब विकृति र विसङ्गतिलाई हामीले समयमा नै मिल्काउन सकेनौं भने भविष्यमा त्यसले देश र जनतामा नराम्रो परिणाम ल्याउँछ भन्ने कुराको बोध अधिकारीले यस ‘उच्छेद’ मुक्तक सङ्ग्रहमा व्यक्त गरेका छन् । अधिकारीले हाम्रो समाजमा नमिलेका पाटा, नमिलेका बेथितिका रीतिथितिहरूप्रति असहमति जनाउँदै राजनीतिक, सामाजिक, संस्कार र संस्कृतिलगायतका विषयवस्तुमा कलम चलाई समाजलाई सधैँ सचेत बनाउने र चेतना छर्ने सन्देश प्रवाह उनले आफ्ना कृतिमार्फत् गरेका छन् । बन्दुक र बारुदले परिवर्तन गर्न नसकेको समाज र राजनीतिक बेथितिलाई उनले आफ्नो विवेक र कलमले परिवर्तन गर्न खोजेका छन् ।
साहित्य सिर्जना गर्ने कुरा सजिलो छैन र यो चानचुने कुरा पनि होइन जो पायो त्यसले विशिष्ट साहित्यको रचना गर्न सक्दैन । जो साहित्यमा डुब्छ, उसले जन्मभूमिको दायित्व, देशप्रतिको कर्तव्यबोध, समाज र संस्कृतिको मूल्य र मान्यता, मानवहितको संरक्षण र सम्बद्र्धन सम्बन्धमा संवेदनशील बन्नु एउटा असल साहित्यकर्मीको कर्तव्य हुन आउँछ । अधिकारीको मुक्तकमा हाम्रो समाजमा र राष्ट्रमा भएका यथार्थपरक विषयवस्तुहरूलाई स्वादिलो भाषामा कतै सोझो तरिकाले त कतै व्यङ्ग्यात्मक ढङ्गले व्यक्त गरेका छन् । उनले यस मुक्तक सङ्ग्रहका माध्यमबाट हाम्रो समाजका कुरूप संस्कारलाई खुर्केर, माझेर मानव हितमा लगाउनु पर्ने कुरा देखाएका छन् ।
हाम्रो देशमा देश चलाउन ठेक्का लिएका नेताहरूले नै राष्ट्र र राष्ट्रियताप्रति लगाव नदिएको कुरालाई उनले मुक्तकका हरफहरूका माध्यमबाट प्रष्ट पारेका छन् । नेताहरू नै सधैँ जनता र कार्यकर्तालाई ढाँटछल गर्ने र भ्रष्टाचारमा लिप्त भएर देश विकास हुन नसकेको र कार्यकर्ता पनि नेताहरूप्रति अन्धभक्त भएका छन् । उनीहरूले नेता र राजनीति गर्ने व्यक्तिहरूलाई खबरदारी गर्न सकेका छैनन् । देशका नेताहरूले संसद बाहिर एमसीसीका विरुद्धमा आन्दोलन गर्न कार्यकर्तालाई जोस्याउने र संसद भवनभि पसेर एमसीसी पास गर्ने नेताहरूलाई चोर बिरालोको संज्ञा दिँदै भनेका छन्;
देशको पक्षमा छैन एमसीसी पास नगर
यो बिरालोले भान्सा कुर्दैन आश नगर
सचेत हुनै पर्छ जनता जतिबेला पनि
आफ्नै पुरै अस्तित्व भो नास नगर ।
प्रधानमन्त्री र राष्ट्रपति जस्ता व्यक्तिहरूले जे कुरा नेपालमा असम्भव रहेको छ त्यही कुरालाई अति नै सरल, सहज र काम गरेर नै प्रमाणित गर्न सकिन्छ भन्ने जस्ता विचार भाषणमा फुक्छन् र कतिपय कार्यकर्ताहरू उनीहरूको फोस्रो बोलीमा लोली मिलाउँदै परर ताली बजाउँछन् । नेपालका नेताहरूले जे बोले पनि हुन्छ र जे गरे पनि हुन्छ भन्ने कुरालाई कविले मुक्तकका रूपमा अगाडि सारेका छन्;
हिजो कै काम दोहोर्याउनु थियो गफ दिएको किन
राष्ट्रिय ढुकुटी रित्याउनु थियो गफ दिएको किन
असमान सन्धि सम्झौताको खारेजी कहाँ पुग्यो ?
जनविश्वास गुमाउनु थियो गफ दिएको किन ?
नेता गणहरूले नै गणतन्त्रको उपहास गरेका र गणतन्त्रको मर्मलाई बुझ्न नसकेको कुरा उनले इङ्गित गरेका छन् । गणतन्त्र भनेको के हो ? कस्तो शासनलाई गणतन्त्रात्मक शासन भनिन्छ । नेताहरूले जनताले रगतसँग साँटेर ल्याएको गणतन्त्रलाई बुझ्न नसकेका र उनीहरूले नै गणतन्त्रको नीति र नियम कस्तो हो ? केलाई गणतन्त्र भनिन्छ ? त्यही कुरा नै नेताहरूलाई थाहा नभएपछि गणतन्त्र अपाङ्ग भएको गणतन्त्र नै पञ्चायती शासन जस्तो भएको, गणतन्त्र त केबल नयाँ बोतलमा पुरानै गुणस्तरको मदिरा राखिएको जस्तो विषयलाई यहाँ तेजविलासले यसरी व्यक्त गरेका छन्;
जनजीवनले कोल्टो फेरे पो गणतन्त्र
न्यायलाई विवेकले टेरेपो गणतन्त्र
फलाको मात्र छ यहाँ यो वा त्यो
बनाउनेले नै नीतिलाई टेरे पो गणतन्त्र ।
लाखौँ नेपालीहरू गास, बास र कपासको खोजीमा आज पनि विदेशी धर्तीमा आफ्नो पसिना, रगत र श्रम बेच्न बाध्य भएका छन् । देशमा रोजगार छैन, भएका उद्योग र कलकारखाना धमाधम बन्द भइराखेका छन् भने उता नेताहरू देश समृद्धिको शिखरतर्फ लम्किरहेको कुरा सभामा ठुलाठुला स्वरले भाषण दिइरहन्छन् । कानुन असल बनेको छ भन्छन् तर ती कानुन नेतालाई होइन सर्वसाधारण जनतालाई हो । नेतालाई त यो देशको संविधान, कानुन माकुराको जालो जस्तै हो । यो माकुराको जालोमा सामान्य किरा फट्याङ्ग्रा मात्रै पर्दछन् ठुला वस्तुले यो माकुराको जालोलाई च्यातचुत र भताभुङ्ग पारिदिन्छन् । निर्धा, निमुखा, गरिब, अन्याय, अत्याचारमा परेका मानिसलाई यसले न्याय दिलाउने होइन उल्टो अन्यायी प्रमाणित गरेर जेलको निसो छिढी कुर्न बाध्य बनाउँछ भन्ने कुरालाई अधिकारीले यहाँ यसरी उदाङ्गो ढङ्गले प्रस्तुत गरेका छन्;
लाखौँ नेपाली खोजिरहेको छ नुन
तिमी भन्छौ गजब बनेको कानुन
गर्नै नहुने काम गर्छन् आफ्ना लागि
यो देश चलाएको कसले आ–आफै जानुन् ।
हाम्रो देशका नेता भनाउँदाहरूले रातारात कोशी बेचे, गण्डकी बेचे, नारायणी बेचे, सुस्ता बेचे, त्रिवेणी बेचे, त्यतिमात्रै होइन उनीहरूले मिर्लहुँदी देश नै बेच्ने थिए भन्ने कुरा र जे नचाहिँदो कार्य गछ्र्रन् ती सबै मध्यरातमा गरको छन् उनीहरूले यस्तो नचाहिँदो काम भेष बदलेर गर्दछन्, रूप बदलेर गर्दछन् । भोट हाल्नको लागि पनि छिमेकी देशबाट नै नागरिक ल्याएर भोट हालेर चुनाव जित्न सफल भएको र सांसद, मन्त्री भएको विषयवस्तुलाई यहाँ केही घुमाउरो र व्यङ्ग्यात्मक ढङ्गबाट व्यक्त गरेका छन्’
मिले त रातमै बेच्नु हुन्थ्यो देश हजुरले
किन हो रातमै बदल्नु हुन्थ्यो भेष हजुरले
नमुनाभित्रको जनताले भोट हाल्दा हाम्रै पनि
उतैको एजेन्ट हुँ भन्नुहुन्थ्यो शेष हजुरले ।
देशमा असल व्यक्तिको समाचार सुन्न र पढ्न पाइँदैन । यहाँ जसले नराम्रो काम गरेको छ, जसले लुटेको छ, जसले फटाहा काम गरेको छ त्यस्ता व्यक्तिहरू नै समाजमा प्रतिष्ठित व्यक्ति भएर नाम कमाएको कुरा र समाजमा हत्या, हिंसा, चोरी, डकैतीजस्ता अपराधिक कार्य गर्ने व्यक्तिहरू नै अपार कर्म गर्ने व्यक्तिको नामले सूचीमा परेको कुरालाई मुक्तककारले हाम्रो समाजमा भएको नराम्रो संस्कार र संस्कृतिलाई यहाँ यसरी प्रस्तुत गरेका छन्’
जो लुटाहा छ त्यसकै समाचार हुन्छ,
जो फटाहा छ त्यसैको प्रचार हुन्छ
हामीले त के नै गर्न सकेका छौँ नाम चल्नु
लाग्छ छुरा चलाउनेकै कर्म अपार हुन्छ ।
देश र जनताको समृद्धिको लागि यहाँ झाले, माले र तारे चाहिएको छैन जो आए पनि देशको समृद्धि चाहने र गर्ने पार्टीको खाँचो रहेको छ । पार्टी जुनसुकै होस् र नेता जुनसुकै दलका हुन् जो आए पनि जनताका समस्या टार्ने नेता आउनु पर्यो । ‘मह काढ्नेले हात चाटे’झैँ केही मात्रामा खाओस् तर भएभरको सबै बजेट झ्वाम्म पारेर कापीका पानामा मात्रै कार्य सम्पादन भएको बिल पेश नहोस् । झाम्टे, मुन्द्रे, ठेकेदार, व्यापारी र घुसखोरीहरूले देश नचलाउन्, देशको बारेमा जसलाई केही चिन्ता रहेको छ, त्यस्ता व्यक्तिहरूले नै देश बनाउने र चलाउने जिम्मा लिउन् भन्ने विषयलाई तेजविलासले मुक्तकको हरफहरूबाट यसरी पार्टी र नेताहरूको प्रवृत्तिलाई छोएका छन्;
रङ जस्तो होस् बिरालो मुना मार्ने चाहियो
पार्टी जस्तो होस् नेता समस्या टार्ने चाहियो
गरेबापत खाओस् अलिअलि केही छैन
जिम्मा दिएको काम गरेर देश सपार्ने चाहियो ।
जनताको इच्छा, चाहना र आवश्यकता हिजो राणाशासनमा जस्तो रहेको थियो, पञ्चायती शासन आउँदा पनि खासै परिवर्तन नभएको र बहुदल हुँदै लोकतन्त्र र गणतन्त्रपश्चात् पनि जनताको इच्छा र चाहना र आवश्यकता पूरा हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै शासकहरूबाट जनताप्रति हुने गरेको उपेक्षा, घृणा, जनदबाबको बेपर्वाहप्रति कविको कटाक्ष यस्तो रहेको छ;
केही हुन्छ जस्तो लाग्ने तर नहुने भो
जति आँसु बगे पनि आँखा नधुने भो
जनको भोगाई त के हो र शासकलाई
जे भने पनि छैन महाराजलाई नहुने भो ।
यहाँ देश विकासको लागि होइन आफ्नो परिवार, नातागोता र आफ्नो भुँडी विकास र घुमाउने कुर्सीमा सधैँ आफैँ रहिरहनको लागि उनीहरूले यो नाम र त्यो नाममा रूप र दल बदलेर आएका छन् । “जति जोगी आए पनि कानै चिरेका” भनेझैँ तिनीहरूको भेष र रूप फरक–फरक भए पनि भावना र विचार एउटै भएको राष्ट्रको बारेमा कसैले पनि सकारात्मक सोच्न नसकेका र सोच्ने प्रवृत्ति नभएको । नयाँ रूप र रङ्गमा खरानी मात्रै धेरै घसेर पक्का जोगी भएको प्रमाणित गर्न मात्र आएका र उनीहरूबाट नयाँ आशा र भरोसा केही नभएको कुरालाई आफ्नो लेखनीको माध्यमबाट कविको चिन्ता यस्तो रहेको छ;
नयाँ जोगी देखिएका छन्
भुक्तभोगीहरू देखिएका छन्
आफ्नो पद रहे देश रहन्छ भन्ने
एकाध मनोरोगी देखिएका छन् ।
अधिकारीले आफैँले देखेका, भोगेका र आफ्नो मनमा गढेर रहेका विचारहरू समाज, स्थानीय स्तर र देशको विषयवस्तुलाई मसिनो तरिकाले केलाएर सुरिलो काव्यात्मक मिठासका साथ व्यक्त गरेका छन् । उनका कतिपय मुक्तकहरू पढ्दा पारिवारिक स्मरण, नेपाली समाजमा भएका विभिन्न उत्पीडन, राजनीतिक कुरीति, भ्रष्टाचार विरोधी भाव पनि उनले आफ्ना मुक्तकको हरफहरूमा सरल ढङ्गबाट प्रस्तुत गर्न सफल भएका छन् । देशमा पञ्चायती शासन अन्त्यसँगै बहुदलीय व्यवस्थाको सुरुवात बहुदलले पनि खासै केही परिवर्तन ल्याउन नसकेपछि देशमा १० वर्षे जनयुद्ध हुनु र यही जनयुद्धको आधारभूमिमा लोकतन्त्र र गणतन्त्र आउँदा पनि देशको शासन व्यवस्थामा सुधार आउन नसकेका प्रसङ्गहरू उनका मुक्तकका हरफहरूमा व्यक्त हुनु कुनै नौलो विषय होइन ।
तेजविलास अधिकारी क्रान्तिकारी विचारधारा र प्रगतिशील कवि भएको कारणले खराब सामाजिक परिवेश र खराब राज्य व्यवस्थाको बारेमा केही लेख्नु पर्छ, सुनाउनु पर्छ र नेपाली जनतालाई यी खराब पात्रका विरुद्धमा हामीले खबरदारी गर्नु पर्दछ भन्ने उनको मान्यता रहेको छ र उनको लेखनी यसैतर्फ मोडिएको छ ।
कविले समाज र राष्ट्रमा रहेका यावत् समस्याहरूलाई समाधान गर्न विचारको माध्यमले आफ्ना वाणीहरू दिइनै रहनु पर्दछ । त्यसो भने मात्र कवि वा साहित्यकारको भूमिका निर्वाह गरेको ठहरिन्छ भन्दछन् । स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहसम्मका नेताहरूको बानी र व्यवहार एउटै भएकोले गर्दा हाम्रो समाजले सही बाटो लाग्न खोज्दाखोज्दै पनि अवरोध सिर्जना भएको छ । यस्तै खालका प्रतिनिधिले गर्दा नै देशले गति लिन नसकेको कुरालाई उनले मुक्तक सङ्ग्रहमा व्यक्त गरेका छन् । उनले हाम्रो देशको मुख्य समस्या देखाइदिने, समस्याको कारण खोतलिदिने अनि सही समाधानका उपायहरू सुल्झाउने मार्गमा कवि अधिकारी तल्लीन रहेका छन् ।
तेजविलास अधिकारीका कविताका विषयहरु सामान्य र सतहका हुँदैनन् । उनी कवितामा फोस्रा नाराहरु मात्र लेख्दैनन् । उनले आफ्ना सिर्जनाका माध्यमबाट समाजमा भएका सामाजिक, सांस्कृतिक र राजनैतिक विकृति र विसङ्गतिका कुराहरूलाई उदाङ्गो पारेर सबैका सामु छर्लङ्ग देखाउन सक्षम छन् । उनका प्रकाशित कृतिहरू र फुटकर रचनाहरूको अध्ययन गरिसकेपछि उनलाई अब्बल समकालीन साहित्यकारहरूका बिच एक स्थापित क्रान्तिकारी र प्रगतिवादी साहित्यकारको रूपमा मूल्याङ्कन गर्न सकिन्छ ।
हर्मी, गोरखा