नेपाली परम्परागत चित्रकलाबारे सरल रुपमा उल्लेख गरिएको पुस्तक ‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ सार्वजनिक भएको छ ।
कलाकारद्वय मानबहादुर दोङ, पूर्णप्रसाद ह्योजू र कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित पुस्तकलाई शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरे ।
कुलपति कर्माचार्यले पुस्तकमा गहन र महत्त्वपूर्ण विषय उठान भएको बताए । उनले भने, ‘पुस्तकमा परम्परागत चित्रकलाका विधि र विधानका पक्षलाई समावेश गरिएको छ । जुन अध्ययनविना चित्र बनाउन सम्भव छैन,’ उनले भने, ‘यस पुस्तकले अनुसन्धानकर्ता, चित्रकार, विद्यार्थी, कलापारखी सबैका लागि महत्त्वपूर्ण हुने विश्वास लिएको छु ।’
प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको उक्त पुस्तकमाथि चर्चा गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाली कलाक्षेत्रमा महत्त्वपूर्ण कृतिका आएको बताए । उनले भने, ‘यो नेपाली मौलिक परम्परागत कलालाई बुझ्न निकै उपयोगी रहेको छ ।’