वि.सं. १९८२ साउन ११ गते तुन्छेगल्ली सुन्तागाउँ, काठमाडौंमा माता सूर्यमायादेवी र पिता सूर्जप्रसादसिंहका सुपुत्र भई जन्मेका गोविन्दप्रसाद प्रधान नै विशिष्ट साहित्यकार कृष्णचन्द्रसिंह प्रधान हुन् । कृष्णदाइ अर्थात् कृष्णचन्द्रसिंह प्रधानको अचानक अवसान भएको खबरले म स्तब्ध भएँ । हृदयचन्द्रसिंह प्रधानका सुपुत्र तथा कृष्णदाइका भतिजा सुप्रदचन्द्रसिंह प्रधानलेयो दु:खद समाचार फोनबाट २०६७असार १७ गते सुनाउँदा ७:३० बजिसकेको थियो । काठमाडौं पुग्न सकिने सम्भावना भएन । दुईचार जना मित्र साहित्यकारहरुसँग फोनमा सम्पर्क भयो । खल्लो मन बोकेर रात काट्न बाध्य भएँ । सुनियो, भोलिपल्ट बिहान सबेरै लासलाई आर्यघाट पुर्याइसकेको कृष्णदाइकै इच्छाअनुसार लासलाई प्रदर्शनी नगरेको कुरा पछि सुनियो । नेपालीभाषा साहित्यको गद्य विधाका अझ निबन्ध र समालोचना विधाका एक शिखर स्रष्टाको अवसान भयो । आफ्नो सशक्त शैलीमार्फत् निबन्धमा सशक्त छाप छोड्न सफल थोरै लेखकहरुमध्येका एक सफल निबन्धकार जसलाई उनका शब्दशैलीका लागि बिर्सन गाह्रो छ । अझ भनौं भने समालोचना लेखनमा आफ्नै पन, आफ्नै दृष्टिबिम्ब र आफ्नै शैलीद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका यिनको अवसानले निबन्ध र समालोचना विधामा एउटा युगको अन्त्य भएजस्तो प्रतीत हुन्छ ।
नेपालभाषा साहित्यमा पनि यिनीद्वारा समालोचना क्षेत्रमा पुर्याएको सिर्जनात्मक योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ । थोरै समालोचकहरुको मात्र उल्लेख्य योगदान रहेको नेपालभाषा जगत्मा उनले कोरेको समालोचकीय हरफहरु सङ्ग्रहणीय रहनुका साथै चर्चित पनि छन् । नेपालीभाषा साहित्यका एक बलिया साहित्यिक हस्ती भएकै कारणले यिनले नेपालभाषा साहित्यमा भए गरेका योगदान र सिर्जनाहरु छोपिएका छन् । तर पनि यिनको योगदान र सिर्जना नेपालभाषा जगत्मा बिर्सन खोज्नु हुँदैन भन्ने मेरो मान्यता छ । निबन्ध र समालोचना विधाका एकजना सशक्त युगपुरुष कृष्णचन्द्रसिंह प्रधान नपत्याउँदो किसिमले हामीलाई छोडेर गए । पछिल्लोपल्ट केही गाह्रो साह्रो भएको, बिछ्यौनामा अडेस लागेर बसेको र बिरामीझैं अप्ठ्यारो भोग्दै बाँचेको मलाई थाहा भएन । एकैचोटि अवसानको कुरो सुनेँ, छक्क परेँ । सजिलै गएछन् – हामीलाई छाडेर कृष्णचन्द्रसिंह प्रधान । ८५ वर्षसम्म बाँचेर, आफूलाई सधैं सिर्जनामा डुब्न लगाएर, सबैका प्रिय अग्रज–साहित्यकारका रुपमा परिचित तुल्याएर उनी गए ।
हृदयचन्द्रसिंह प्रधानका भाइ कृष्णचन्द्र दाजुको साहित्यिक लेखन र उनको ख्यातिलाई मनन गरेर साहित्यकार बन्न खोजेका हुन् । पहिलोचोटि वि.सं. २००२ मा बनारसबाट प्रकाशित हुने उदय साहित्यिक पत्रिकामा अश्रुधार कविता प्रकाशित गराएर साहित्यिक जगत्मा देखा परेका यिनी भञ्ज्याङनेर कवितासङ्ग्रह लिएर काव्य जगत्मा देखापरेका हुन् । स्वाध्ययन नै हो यिनको योग्यता । घरैबाट सिके, आफैले जाँगर चलाए र यिनी बने सफल साहित्यकार । सिक्न खोज्नेलाई बाटो खुल्छ – आफैले प्रयास गर्ने हो । आफूलाई बनाउन यस कुरालाई चरितार्थ गरिदिए यिनले आफूलाई सफल स्रष्टा बनाएर । एउटा नेवारको छोरा, काठमाडौं निवासी, औपचारिक शिक्षा केही नपाएका कृष्णचन्द्रसिंह जात, क्षेत्र, शिक्षाका सबै खालका पाखण्डीहरुकै सीमित सोच र क्षेत्रलाई तोडेर साहित्यकार बने ।
सुरु सुरुमा बुबा छँदा कम्युनिष्ट राजनीतिमा पनि सक्रिय रुपले संलग्न रहेका यिनले भौतिकवादी दृष्टिबिम्बबाट देश, जगत र साहित्यलाई पनि निर्भिक भइ छामिरहे । “क्यै नभनेर कुँडिनुभन्दा क्यै भनेर हलुङ्गिने हुँदा त्यस्तो भावनाहरुको अभिलेख साहित्य हो” यिनको साहित्यिक परिभाषा यस्तै रह्यो । दायाँ–बायाँ मात्र हेर्नेहरुले अरुतिर हेर्न सक्दैनन्, सबैतिर हेरेर साहित्य सिर्जना गर्ने उनको पछिल्लो चाहना बन्यो । त्यही अनुसार उनले लेखिरहे । निबन्धमा आफ्नोपन छोडेर गए, समालोचनामा एक खालको निस्पक्षता रचेर गए र भूमिका लेखनमा एउटा मिठास छोडेर उनी गए । गफमा आफ्नै खालको तर्क दिन सक्ने, भाषणमा नयाँपन व्यक्त गर्न खोज्ने, संघसंस्थामा सक्दो योगदान गर्न खोज्ने यिनको कर्मशीलता प्रभावकारीछ । जीवनप्रति आस्थावान् रहेर नै यिनले आफूभित्र सिर्जनाका मजबुत रुखहरु हुर्काए मात्र होइनन्, धेरैलाई शालीनता पनि प्रदान गरे । मलाई भन्न मन लाग्छ, कृष्णचन्द्रसिंह प्रधान नेपालीभाषा साहित्यका एउटा हरियाली रुख हुन् । एउटा फुल्दै झुल्दै गरेको मनोरम फूल हुन्, एउटा युग हुन् । त्यसैगरी मूल्यांकन गरी भन्नुपर्दा एउटा इतिहासका श्रृंखला पनि हुन् – कृष्णचन्द्र ।
म सानो छँदादेखि सुन्दै आएको मेरो मनभित्र लुकेको एउटा सुन्दर साहित्यिक नाम हो – कृष्णचन्द्रसिंह प्रधान । तर मैले चिन्न पाएँ २०४५ सालतिर मात्र । २०४५ साल मंसीर महिनामा कृष्णदाइको घर ताहाचलमा कृष्णप्रसाद पराजुलीसँग मेरो मुक्तकसङ्ग्रह सिर्जनाका फूलहरुमा भूमिका माग्न गएको याद छ । म उनको घरमा पुग्दा झनै प्रभावित भएँ । शालीन व्यवहार र कुराकानीमा प्रष्टता राखेर व्यवहार गर्न सिपालु यिनीसँग पहिलोचोटि यिनकै घरमा भेट्दा अझ यिनी मेरो मनमा झुल्न थाले । भूमिकामा यिनले मेरो मूल्याङ्कन गर्दै यसरी लेखे –“मोहन दुवाल सामूूहिक भावनालाई उद्बोधन गर्ने अनिरपेक्षित चेतनाका संवाहक हुन् । यही सामाजिकताको बिम्बलाई यी कविताहरुले टिपेकोले यहाँ दृष्टि–सृष्टि दुवै छन् ।” मेरो कविताको मूल्यांकन गर्दै यी संकेतहरु लेखिदिँदा मेरो लागि र अझ मेरो कविताका लागि मलजल थपिदिएजस्तै प्रतीत भएको त्यसै बेला महसुस भएको हो । यसरी सम्पर्क भयो कृष्णचन्द्रदाइसँग मेरो । पछि धेरै खालका साहित्यिक गतिविधिहरुमा यिनीसँग सँगसँगै रहेर काम गर्न पाइयो ।
व्यथित–सिन्धु सम्मान कोष गठन हुँदा, व्यथित स्मृति ग्रन्थ तयार पारिँदा र व्यथित–सिन्धु कोषबाट सम्मानित प्रतिभाहरु चयन गरिँदाका थुप्रै बैठकमा सँगसँगै रहेर साहित्यिक सिर्जनशीलतामा रम्न पाउँदाका क्षणहरु अविस्मरणीय छन् । म त्यस संस्थाका संस्थापक सदस्य सचिव हुँ र उनी सक्रिय सल्लाहकार हुन् । धेरैजसो बैठकहरु कृष्णदाइकहाँ नै हुने भएकोले ताहाचल घरमा मलाई पुगिरहनुपर्ने भयो । आत्मीयता जोडिदै भयो, मेरो साहित्यिक क्रियाकलापहरु पनि कृष्णदाइले देख्दै र भोग्दै गए – एक अर्कामा सामीप्यता पनि थपिँदै गयो । यसैगरी हृदयचन्द्र स्मृति प्रतिष्ठान गठन भयो । यसको संस्थापक अध्यक्षमा म रहेको र कृष्णदाइ सल्लाहकार रहेका कारणले पनि उनीसँग मेरो सम्पर्क र सम्बन्ध गहिरिँदै गयो । बुढेसकालमा पनि आफ्नो क्षमता देखाउँदै र सक्रियता छोड्दै रहेका एक वरिष्ठ साहित्यकार रहेकै कारणले मैले एकपल्ट जनमत प्रकाशनका तर्फबाट जनमत वरिष्ठ साधक सम्मानका रुपमा अभिनन्दन गर्न खोजेको तर उनी बाथरुममा लडेकै कारणले उपस्थित हुन नसकेकोले भतिजा सुप्रदले अभिनन्दनपत्र बुझिलिएको हो । व्यथित कोष, हृदयचन्द्रसिंह प्रतिष्ठान, जनमत प्रकाशनका माध्यमबाट धेरै ठाउँमा, धेरै बैठकहरुमा, धेरै कार्यक्रमहरुमा सँगसँगै रहँदाका र उनीसँग बिताइएका क्षणहरु कहिल्यै कष्टकर रहेनन् । लागेको कुरा भनिहाल्ने, हाँसो छर्किदै आफ्नो तार्किकता फुकाउन मन पराउने कृष्णचन्द्रसिंह प्रधानका साहित्यिक मर्महरु बिर्सन गाह्रो भइरहेछ ।
अविस्मृत लाग्छन् कृष्णचन्द्रसिंह प्रधान मेरा लागि पनि । उनले त २०५८ वैशाख २४ गते नै मेरोबारे ज्ञानगुनका कुरामा यसरी लेखे –“अविस्मृत लाग्छ मोहन दुवाल ।” यिनले मेरो मूल्यांकन गर्दै लेखेका यी हरफहरु मलाई सधैं सम्झना मात्र होइन, मनन गरिरहूँजस्तो लाग्यो । उनले मेरोबारे यसरी लेखेका छन् –“मेरो सरोकारको विषय भने दुवाल हो जो मित्र होइनौं । फेरि किन नजिकिएछौ ? यही दृष्टिगोचर हुन्छ अविस्मृति मोहन दुवाल अर्थात् उनको गतिशील पौरुष । मोहन दुवालहरु त धेरै छन् – कवि मोहन दुवाल, मुक्तककवि मोहन दुवाल, लेखक मोहन दुवाल, पत्रकार, सम्पादक, समाजसेवी, प्रगतिवादी, संगठनकारी, बहुविषयका सक्रिय मोहन दुवालहरु । तर मोहन दुवालमा अर्को यस्तो मोहन पनि छ, जो अन्त भेटिदैन । सबैमा भ्याइदिने, सबैमा छरिने, सबैको भइदिने भएर पनि जो तिनीहरुमा हराउँदैनन् । बाँडेर आफूहरुमा जो सकिँदैन अरुबाट रङ्गिदै आफू बदल्ने गर्दैन । रातो रङ्गको वस्त्रधारी दुवाल देब्रे–देब्रे लागेर हिँडिरहन्छन् कसैलाई थाहा छैन ? व्यवहारमा भने रंगहीन पानी लाग्छ दुवाल, त्यति फिँजिदो, त्यति समानान्तर, त्यति गतिशील र तरल–तरल ।” सटिक भाषामा मेरो समग्र पक्षको मूल्याङ्कन भएका यी हरफहरु पढेर मलाई कृष्णदाइ भुल्न गाह्रो भइरहेछ ।
पछिल्लोपल्ट सायद उनको यो अन्तिम काठमाडौं उपत्यका बाहिरको साहित्यिक यात्रा हुनुपर्छ, पुसको चिसो चिसो बिहानीमा सिन्धुपाल्चोकको किउलमा सँगै पुगेको याद आइरहेछ । एउटा गाडी मिलाइएको छ व्यथित–सिन्धु कोषबाट त्यहाँ पुग्न । कृष्णदाइसँग तेजेश्वरबाबु ग्वंग:, अनिल पौडेल, जयन्ता पोखरेल र म थियौं । मेलम्चीमा चिया पिइयो । उदास लागेन, थकान महसुस भएन – लामो यात्रामा उनीसँग हिँड्दा । पहाड, नदी, झरना सँगसँगै आँखामा बोकेर हामी किउल पुग्यौं र फर्कियौं । एक रफ्तारले देश पुगेर साहित्यिक कार्यक्रममा विचार सम्प्रेषण गरेर फर्कंदाका ती क्षणहरु बिर्सिनसक्नु भयो । कृष्णदाइलाई मेरो आँखामा र मनमा सधैं राख्न रुचाइरहेछु ।
भञ्ज्याङनिरै कवितासङ्ग्रहका कवि, कवि व्यथित र उनको काव्य साधना, नेपाली उपन्यास र उपन्यासकार, सिर्जनाको सेरोफेरो, कृति अवलोकनका समालोचक, सालिक, अनाम सत्य, पाइला : आगतमा टेकेर, बाग्मतीको हरक, नफर्कने ती दिनहरुमा निबन्धकार, साझा समालोचना, गरिमा, समकालीन साहित्यका उत्कृष्ट देखिँदा सम्पादक कृष्णचन्द्रसिंह प्रधान नेपाली भाषाका कहिले बिर्सन नहुने समालोचक, निबन्धकार हुन् । यसैगरी नेपालभाषामा पनि यिनी चर्चित लेखकका रुपमा विख्यात छन् । कृष्णचन्द्रसिंह प्रधान नेपाली साहित्यिक वृत्तका सधैं उल्लेख्य नाम बनेर गएका छन् । जसको स्मृति सधैं साहित्यिक क्षेत्रमा रहिरहन्छ ।