भीम विराग कवि / गायक / गीतकार / साहित्यसेवी / पत्रकार । यस्ता थुप्रै विशेषणहरुले व्याप्त नाम हुन् ।सङ्घर्षलाई पचाउन जानेका, रहरमा अनुभूति टिप्न जानेका साहित्यिक बिम्बहरुकै प्रतिबिम्बजस्तै बनेर गएका नाम हुन् भीम विराग । यिनले थुप्रै शताब्दीहरु पचाइसकेका छन् जीवन उत्सर्गहरुमा । त्यसैले त यिनी जीवनलाई परिभाषामा कविता कथ्दै संगीत र साहित्यमा आफूलाई समर्पित तुल्याएर गए । कविराजा महेन्द्रलाई कविता सुनाएर खुसी पार्न जानेका, गायनक्षेत्रका सम्राट नारायणगोपाललाई गीत सुनाएर मख्ख पार्न सिकेका यिनै कवि विराग जीवनको पछिल्लो समयसम्म साहित्यिक यात्रामा तल्लीन भइरहे ।
स्वरका धनी गायक । कवितामा बिम्ब कुँद्न सफल कवि । गीतमा मोहकता भर्न सिपालु गीतकार । बाँसुरी बजाउन निकै सिपालु सङ्गीतकार । भीम विराग आफ्नो साहित्यिक नामअनुसारको यात्रामा ‘भीम’ बनेर गएका साहित्यिक योद्धा हुन् । वीरगञ्जको माईस्थानमा महर्जन परिवारमा जन्मेका यिनी पितामाताले जुराइदिएको नामअनुसार धनबहादुर हुन सकेनन् । तर साहित्य र सङ्गीतमा यिनी भीमजस्ता विराग बने । पर्सा जिल्लाको अत्यन्त चर्चित नगर वीरगञ्ज र मकवानपुर जिल्लाको हेटौडामा यिनले साहित्यिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा निकै सक्रिय भएर आफूसक्दो योगदान पुर्याए । इतिहासमा स्मरणीय रहिरहने गरी त्यसको साक्षी बने ‘भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल ।’
नारायणी साप्ताहिकका सम्पादक रहेर लामो समयसम्म सम्पादनकार्य गरिसकेका साहित्यकार भीम विरागका प्रकाशित पुस्तकहरुमा दुखेको इन्द्रेणी(गीतसङ्ग्रह, २०२३), तातो सुस्केरा (कवितासङ्ग्रह, २०३२), अतृप्त स्पर्श (गीतसङ्ग्रह, २०४३), आठटुक्रे बादल (कथासङ्ग्रह, २०२९), भीम विरागका कविता (कवितासङ्ग्रह, २०५४), अज्ञात प्रारम्भ (खण्डकाव्य, २०५६), भीम विरागका गीत–गजल (२०५७), स्वरसम्राटसँगका क्षणहरु (संस्मरण, २०५७) र मोहभङ्ग (गीति महाकाव्य, २०५९) छन् । यिनका गीतहरु गायक नारायणगोपाललगायत थुप्रैले गाएका छन्, जुन गीतहरु रेडियो नेपालबाट निकै प्रसारित पनि छन् । राजधानीबाहिर रहेर पनि आफ्नो नाम र धाम बनाउन सफल यिनका भावनाहरु साहित्य र सङ्गीतमय भएका कारणले राष्ट्रमा यिनको पहिचान आफ्नै ढङ्गले प्रचारित छ । खुट्टाले साथ नदिए पनि, शरीर कमजोर रहे पनि, रोगले सताए तापनि यस क्षेत्रमा यिनले पुर्याएको समर्पित भाव र कार्यहरु प्रशंसनीय छन् । त्यसैले त यिनी धेरैका लागि हेटौडानगरभन्दा महान् र सुन्दर भइदिएका छन् । हेटौडालाई चिनाइदिने महान् कार्यका लागि यिनी स्तुत्य र वन्दनीय पनि छन् । छ दशकभन्दा बढी वाङ्मयमा सेवा गरेर गएका भीम विरागहेटौडाका लागि राष्ट्रले देखाउने एउटा सुन्दर बिम्ब बनेर गएका छन् । आफ्नो गीत, कविता र सङ्गीत सुनाउन पाए दङ्दास हुने कवि विराग मकवानपुर भएर राष्ट्रमा देखिएका स्रष्टाहरुमा एकजना उच्चारण गर्न लायकका नाम बनेका छन ।जीवनलाई भोग्न जानेका रसिक कवि, ‘आजभोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ’का व्याख्याता कवि भीम विराग जीवनको परिचय यसरी व्यक्त गर्न मन पराउँछन् :
फूलैफूल मात्र पनि होइन रै’छ जीवन
काँडाबीच फुल्ने फूल रै’छ जीवन ।
अरुको सहयोग गर्ने जीवनप्रतिको दृष्टि बनाएका कवि भीम विराग वि.सं. १९९१ माघ १५ गते पिता तुलसीबहादुर र माता लक्ष्मीदेवीका छोरा भई जन्मेका हुन् । साहित्यलेखनको प्रेरणा आफ्नै पिताबाट प्राप्त गर्न सफल यिनले शिक्षाको हकमा आई.ए.सम्म अध्ययन गर्न पाएका छन् । अनुदेवी श्रेष्ठको माया पाएर आभा साँच्न पाएका यिनी बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाको साहित्यबाट विशेष प्रभावित छन् । ओ. हेनरी र प्रेमचन्द पढेर आफूलाई सक्षम बनाउन पाएका कवि भीम विराग साहित्यलाई यसरी परिभाषामा राख्न रुचाउँछन् –“प्रकृतिको जीवन्त स्रोत, जसको अभावमा प्रकृति नै व्याख्याविहीन लाटो हुन्छजस्तो लाग्छ । एक शब्दमा भन्नुपर्दा दिमागको खुराक हो साहित्य ।”
नारायणी वाङ्मय प्रतिष्ठान तथा मकवानपुर साहित्यिक एवं सांस्कृतिक संस्थाहरुमा सक्रिय ढङ्गले आफूलाई समर्पित तुल्याएर साहित्य, सङ्गीत एवं पत्रकारितामा मन दिएरगएका कवि भीम विराग राष्ट्रकै लागि नै मोफसलमा रहेर पनि उदाहरणीय बन्न सफल साहित्यकार हुन् । सिर्जनाकै दृष्टिले पनि यिनीद्वारा रचित सिर्जनाका हरफहरु मर्मशील र गेययुक्त शब्दशैलीले पूर्ण छन् । भावनालाई सहज रुपले व्यक्त गर्न सफल कवि हार्मोनियम र तबला बजाउन र फुटबल खेल्न रुचि राख्थे । तर फुटबल खेलले यिनको खुट्टो लङ्गडो बनाइदिएको दु:खपूर्ण घटना छ ।
वि.सं. २०१५ साल अगाडिदेखि नै कविता लेख्दै आएका यिनको सर्वप्रथम वि.सं. २०१५ सालतिर नारायणीबाट प्रकाशित उदय साहित्यिक पत्रिकामा कविता प्रकाशित भएको हो । समालोचक कृष्णचन्द्रसिंह प्रधानले सन्दर्भमा यिनका बारे लेखेका छन् –“विराग शारीरिक रुपले समर्थ नभए पनि सक्रिय छन् । भीम विराग सिङ्गो असन्तुष्टिका गायक र मानवीय आस्थाका सन्देशवाहक भई भोगाइका सत्यलाई इमानदारीसाथ अभिव्यक्ति दिने सर्जक हुन् । फूलजस्तो जीवन बोकेर काँडासँग सङ्घर्ष गर्न जानेका कवि विरागका कविता र गीतहरुमा मानवताका व्यथा–कथा स्पष्ट अङ्कित र सम्प्रेषित छन् । काव्यसिर्जनामा आफ्नो खालको कविव्यक्तित्व बनाइसकेका कवि भीम विरागलाई स्वच्छन्दतावादी मानवतावादी कवि भन्न सकिन्छ । नेपाली माटोको गीत गाउन रुचाउने यी कवि सुख पाएर दीर्घायु हुन नसकेको मानिसझैं प्रत्येक जन्म, प्रत्येक मृत्यु : मजस्तै हुन् भनेर कवितामा आफूलाई चिनाउन खोजिरहने प्रतिभा हुन् ।
कवि भीम विराग थोरै लेख्छन् तर सुन्दर लेख्ने कवि, गीतकारका रुपमा सुपरिचित छन् । समसामयिक जीवन र जगत्को भावधारा कवितामा व्यक्त गर्न सिपालु कवि विरागका कवितामा विसङ्गतिका विरुद्ध विद्रोहका स्वरहरु तीखा र व्यङ्ग्यपूर्ण छन् । नेपाली काव्यको समसामयिक धाराका एकजना सशक्त कवि भीम विराग कवितामा यसरी आफूलाई देखाउँछन् :
उचाइहरु कहिले डुब्दैनन्
खाडलहरु पुरिन्छन् जहिले
० ० ०
किन स्थिरताविनाको स्थिरता छ
किन जिन्दगीविनाको जिन्दगी छ
० ० ०
शेषपछि अवशेष बटुल्ने चलन छ यहाँ
बाँचुन्जेल अवशेषहरुले पोल्छ ।
कवि भीम विराग यस्तै शब्द, शैली र भाषामा कविता सिर्जना गर्छन् । बुझिने भाषामा सुन्दर शब्दशैलीमा कवितालाई सिंगार्न जानेका यिनी धरती र मान्छेप्रति आफ्नो दृष्टि यसरी कवितामा व्यक्त गर्छन् :
हल्लिदिन्छ एकपटक हिमाल अडेको धरती
साना–साना पर्वतहरु ठोक्किन्छ आकाशमा
प्रतिध्वनित विश्वले शिर निहुर्याई स्वीकार्छ
० ० ०
यो माटोमा रोपौं बरु मानिसको अमरताको बीउ
हिमालमा खोपिदिऔं हिमाली कथा ।
बारुदजस्तै विषाक्त बनिसकेको वीभत्स धरती हेरेर कवि कवितामा मान्छेको मर्म यसरी खोज्छन् :
रोक समाजलाई नियमविरुद्ध दौडन नदेऊ
हरेक क्षण एउटा नयाँ दुर्घटनाको सृजना हुन नदेऊ
सडकलाई खाडलैखाडलको बस्ती हुनबाट रोक ।
मान्छेलाई प्रयत्नरत सङ्घर्षको नाम भन्न रुचाउने कवि भीम विराग आफ्नो रचनामा मान्छेका बिम्ब खोप्न सचेतता देखाउँदै आएका एकजना सफल कवि हुन् । उनी साहित्यलाई नयाँ दृष्टिमा फिँजाउन चाहन्थे । त्यसैले त उनी साहित्यलाई यसरी व्याख्या गर्छन् –“साहित्य पुराना सूक्तहरुको रटान वा प्रयोगमा आधारित सृजनाहरु मात्र होइन, पुरानो सोचमा नयाँ निर्माण गर्नु पनि हो । साहित्य समाजको दर्पण हो । साहित्य मनुष्यका लागि नै हो” भन्ने चिन्तन बोकेका कवि भीम विराग वि.सं. २०२३ सालमा नै नारायणी अञ्चलस्तरीय कविता–प्रतियोगितामा प्रथम भएका हुन् । गीतलेखनमा २०४३ मा नै छिन्नलता पुरस्कार प्राप्त गरी गीतलेखनमा उत्कृष्टता देखाइसकेका यिनी ज्ञानपूर्ण पुरस्कारले २०५४ मा, मकवानपुर सङ्गीत प्रतिभा पुरस्कारले २०५५ मा, नारायणी वाङ्मय पुरस्कारले २०५६ मा र लेखनाथ राष्ट्रिय प्रतिभा पुरस्कारले २०५६ मा पुरस्कृत भइसकेका छन् ।
सङ्क्षेपमा भन्न सकिन्छ, भीम विरागको कवित्व प्रबुद्ध र सचेत हुनाका साथै प्रभावशाली शब्दशैलीद्वारा सम्प्रेषित छ । कवितामा मान्छे र धरतीको परिचय खोज्न जानेका कवि भीम विराग कुरुपताको साम्राज्य कवितामा कुरुप धरती कस्तो हुन्छ रेखाङ्कन गर्न रुचाउँछन् :
प्रेमको लागिसम्म बेफुर्सत योद्धाहरुको
युद्धभूमिबाट पठाएको प्रेमपत्रबाट
बारुदको गन्ध आउनु स्वाभाविक हो ।
२०६८ फागुन १५ गते कवि भीम विराग धरतीबाट बिलाएर गए । तापनि धरती र मान्छेले सम्झिनुपर्ने जीवन्त नाम बनेर गए । यसैले मलाई भन्न मन लाग्यो – कवि भीम विराग आधुनिक नेपाली कविताका एउटा बिम्ब हुन् । उनी धरती र मान्छेप्रति सचेत कवि हुन् ।