बालकका लागि लेखिएका बालोपयोगी कथा बालकथा हो । बालसाहित्यको महत्वपूर्ण र सर्वाधिक प्रचलित बिधा कथा बिधा हो । नेपाली बालसाहित्यमा ७५ प्रतिशत जति बालकथाले स्थान ओगटेको छ । तापनि यसको विकास सन्तोषजनक हुन सकेको छैन । बौद्धिक एवं मानसिक बिकासमा बालकथा पौष्टिक आहारको रुपमा प्रयुक्त हुन्छ ।
कुनै पनि लेखन जुन बालकका लागि लेखिन्छ त्यसले कुनै न कुनै प्रकारको विचार र मूल्य मान्यता दिन्छ नै । लेखकले बालकका लागि लेख्दा धेरै कुरामा ध्यान पुराउनु पर्छ । कसका लागि लेखेको र केका लागि लेखेको हो ? उद्देश्य स्पस्ट हुनुपर्छ । लेखनमा केही नयाँपन दिन खोज्नुपर्छ ।
कस्तो हुनुपर्छ बालकथा ?
पढ्दा पढ्दै ओठबाट हाँसो फुत्कियोस, आँखाबाट आँसु बगेको पत्तै नहोस् । पात्रको प्रभावले अनुहार बदलिएको र हात खुट्टा जिउ चलेको देखियोस् । कथा मनमा गडोस् र पछिसम्म सम्झने होस् । पुनर कथन गर्न उपयुक्त बनोस् । कथा पढेपछि पुन सम्झेर खरखरति भन्न सकियोस् । कथाबाट चेतना खुलोस् । यसैले मन छुने, मैला धुने, मन पर्ने पाराको कथा नै उत्कृष्ट कथा हो । कथामा यस्तो कल्पना हुनुपर्छ, यस्तो चित्रण र यस्तो प्रस्तुति हुनुपर्छ कि झलझली आँखामा आउने, मुटुमै छाउने र जीवनभरी प्रभाव पार्ने भाव प्रस्फुटित होस् । बालकलाई जीवनमा बानी ब्यबहारमा वा ब्यहोरा, नैतिकता र सद्चरित्रवान बनाउने प्रकारले विचार र व्यवहारमा सुधारको चेतना चम्कियोस् । समवेदना, भावना र चाहनामा प्रभाव परोस् । बालकलाई ‘रोल मोडेल’ र ‘प्रोआक्टिभ’ बनाउन सघाओस् । बालकले बालकथा पढ्दा सुरुमै आकर्षण गर्ने अभिप्रेरणा र इच्छा लाग्ने जाग्ने प्रकारले रचना सिर्जना हुनुपर्छ । बालकथा लेख्दा कथाकारले आफ्नो बाल्यकाल सम्झनु पर्छ । अवधारणा, भाषा र प्रस्तुती बालस्तर अनुकूल हुनु जाति हुन्छ । बाल चल्तीकला लीला अध्ययन गर्नुपर्छ । बालकलाई उत्साह दिने प्रेरणापद अचम्मलाग्दो, रमाइलो केही सिक्ने ढंगमा कथा लेख्नुपर्छ । बाल्यकालको स्मरण, अध्ययन र मनन गरेर बालकको हक, हित, मर्यादा र भविष्य उज्यालो पार्ने प्रकारले बालसाहित्य लेखिनु पर्छ । बालकथा सामान्यत: पूर्ण मौलिक सिर्जना, पौराणिक पुस्तकमा आधारित सिर्जना विदेशी अनुवाद र वयस्कका लागि लेखिएका विशिष्ट कथा बालोपयोगी हुने गरी रुपान्तरण गर्ने प्रकारले रचना गरिन्छ । सर्वदेशीय, सर्वकालिक र सर्वोपयुक्त सर्वोपयोगी र रुचिका कृति सास्वत र उच्चकोटिका हुन्छन् । बालबालिकाको कुन पक्ष केन्द्रित गर्ने त्यसै प्रकार बालकथा सिर्जना हुन्छ ।
बालकथा नैतिक उत्थान चरित्र निर्माण, मनोरञ्जनात्मक र शिक्षाप्रद हुनुपर्छ । कथा लेखेपछि चित्र बनाउने कि नबनाउने ? कथालाई जीवन्त बनाउन चित्र पनि त्यसै प्रकारको चाहिन्छ । आरम्भ कक्षाका लागि बा सानो उमेरका लागि धेरै चित्र र माथि कम वा लेखाइमात्र प्रस्तुत हुन्छ । हास्य कथामा ब्यङ्ग्य चित्रले बढी आकर्षण पैदा गर्दछ ।
कथालाई जति सक्दो खार्ने तिखार्ने गर्नुपर्छ । यसका लागि मस्यौदा तयार गरेपछि ठूलो स्वरमा पढ्नुपर्छ । पढ्दा कस्तो सुनियो ? भाषा कस्तो भयो ? त्यो कतै भङ्ग छ कि ? देखिएको कमी कमजोरी सुधार्नु पर्छ । परिमार्जन गरेर आफूले भनेजस्तो भयो भन्ने लागेपछि बालकलाई पढ्न लगाउनु पर्छ वा सुनाउनु पर्छ ।
विदेशमा अनेक प्रयोग भएता पनि तिनको हुबहु नक्कल नगरी नेपाली परिवेशमा पाच्य हुने प्रविधि एवं प्रयोग हुनु बान्छित छ । अहिले असल समाज बनाउने जिम्मेवारी भन्दा सक्षम र सशक्त समाज बनाउन ब्यक्ति अधिकार र कर्तब्य मात्र हैन सरकारको कर्तव्य र जिम्मेवारीमा लक्षित गरेर बालकलाई आफ्नो हक हित र मर्यादामा नागरिक शिक्षा दिने प्रकारका र असल चरित्र निर्माणका ‘रोल मोडेल’ बनाउन लक्षित लेखन आउनु आवश्यक छ । भ्रष्टाचारी परिवारभित्र र बाहिरका सबैलाई घृणा फैलाउने र चेतना जगाउने, फटाहा र निष्कर्मण्य नेतालाई उडाउनेदेखि ढोंगीहरुको मकुण्डो उतार्ने र समाज सुधार र देश विकासमा मद्दत हुने क्रान्तिकारी बालकथा पनि हाम्रोमा खाँचो छ ।
कथाको किसिम
बालकथा विभिन्न प्रकारका हुन्छन् । लोककथा पुनरलेखन र मिश्रण, विशेष पुस्तकको संक्षेपीकरण कथा र शुद्ध मौलिक सिर्जना गर्ने गरिन्छ । बालकथामा जनावर, साहसिक यात्रा, भूतप्रेत, दन्त्यकथा, स्वैरकल्पना, विज्ञान, त्रासदी, दुखान्त, रमाइलो, इतिहासका, पौराणिक अनेक कथाहरु लेखिन्छन् । कथाको क्षेत्र ठूलो छ र विविधतापूर्ण छ । कथा कसैले बिज्ञान सम्बद्ध, कसैले पौराणिक, कसैले प्रकृति चरा आदिमा मात्र पनि लेखेको पाइन्छ । श्रृंखलाबद्ध कथा, चित्रकथा, मंगा देखि कार्टून कथा प्रशस्त देखिन्छन् । कुन विषय क्षेत्रको लेख्ने त्यसका नमूना कथाहरु पढ्नु पर्छ र त्यसबाट प्रेरणा लिएर एउटा विषयमा केन्द्रित गरेर कथाहरु लेख्दा त्यसमा ठूलो योगदान पुग्छ । बालकको अवस्था अनुसार शिशु (५ वर्षसम्म), बालक (१२ वर्षसम्म, किशोर १९ वर्षसम्म) र युवा ४० वर्षसम्म, प्रौढ (६०) र जेष्ठ नागरिक यसपछि मान्ने चलन छ ।
कथाका जल्दाबल्दा क्षेत्र छन् । नेपालमा न्युमेडियाको प्रभाब समाजिकिकरण, संबेगात्मक बिकास, बुलिङ (ब्रिसभाबले सताउने), झुटो बोल्ने, ढाट्ने, दौतरीको संगतको प्रभाव, शारीरिक परिवर्तन, सरसफाइ (स्वास्थ्य र सन्तुलित भोजन), परानुभूति तथा करुणा, नागरिक चेतना आदि नै विद्यालयका समस्या आधारित आवश्यक कथा क्षेत्र हो ।
कस्तो कथा लेख्ने ?
कथाभित्र पनि उपविधा रहेका छन् । संयोगान्त कि बियोगान्त ? नाटकीय हो कि जासुसी ? पौराणिक कथा कि ऐतिहासिक ? सांस्कृतिक कि संस्कारजन्य ? नैतिक कि बैज्ञानिक ? शिकार कथा कि साहसिक ? हास्य कि करुण कथा ? जीवनीपरक कि यात्रापरक ? कथा वर्णन, संवाद, पत्र, यात्रा बर्णन, एकालाप के हो ? कुन पुरुषमा लेख्ने ? म पात्र कि उ पात्र ? चरित्रप्रधान कि घटना प्रधान ? वा बिषय प्रधान कि मनोबैज्ञानिक ? कि प्रयोगात्मक ? आदि कुन प्रकारको कथा लेख्ने त्यो कथाकारले विचार पुर्याउनु पर्छ । किनकि जुन प्रकारको कथा लेख्ने हो त्यसैको भावभङ्गी, पात्र चरित्र, र परिवेशदेखि भाषाशैलीमा विचार गर्नुपर्ने हुन्छ ।
कथाको शीर्षक के कस्तो राख्ने ?
कथाको शीर्षक सम्झन सकिने ५ शब्दभन्दा बढीको नगरे बेश । त्यो भद्दा हुन्छ । ठाउँ, घटना, पेशा, खुल्दुली, अनुभूति, ब्यङ्ग्य, हास्य, नायकको नाम, मनोविज्ञान, इतिहास सम्बद्ध, समयावधि, उखान र बालोपयोगी शीर्षक राख्नु राम्रो हुन्छ । कस्तो शीर्षक राम्रो हुन्छ ? बिचार गर्ने । विषय छोटो आकर्षक अर्थपूर्ण, नयाँपन दिने अनौठो एकशब्द वा बढी बिषय मिल्ने शीर्षक चयन गर्ने, आकर्षक खाले सार खिच्ने, मुख्य पात्रको शीर्षक वा घटनाको प्रतिनिधित्व हुने वा सोही प्रकारको अरुको कस्तो छ हेर्ने, सोच्ने र नयाँ सुहाउँदो, सुन्ने बित्तिकै सम्झने र जनजीब्रोमा सजिलो उच्चारण हुने र ट्याक्क मनलाई छुने प्रकारको राख्ने । कथाको शीर्षक उपयुक्ततालाई ख्याल नगरे कथा आकर्षक नहुन सक्छ ।
कथाको सार के हुने ?
कथा त लेखियो । त्यसको सार के हो त ? ‘अर्थ न बर्थ गोबिन्द गाई’ गरेर हुन्न । कथाको आत्म मूल चुरो के हो ? पुरानो कथाको चलनमा नैतिक चेतना यो गर्न हुने यो नहुने प्रकारको सन्देश वा उपदेश हुन्थ्यो । तर मनोबैज्ञानिक कथामा त्यो नैतिकता पाठकले आफै चिन्छ र पात्रसँगै अघि बढ्दछ । कुन राम्रो कुन नराम्रो आफै पत्ता लगाई राम्रो नराम्रो उदाहरण मनमा लिन्छ र आफ्नो निर्णय लिन्छ । कुन राम्रो कुन नराम्रो आफैले आत्मसात गर्न सक्छ । आधुनिक कथाले कथाको अन्त्यमा जुन चरमबिन्दुमा कथा लैजान्छ त्यसबाटै नतिजा निस्कन्छ र त्यसलाई नै आफ्नो चेतनाको प्रस्थान बिन्दु बनाउँछ । सिनेमामा कथानक अनुसार कुनै कथामा रोएर कुनैमा हाँसेर दर्शक फर्कन्छन् । पात्रहरुको पनि कुनै कथामा असल खराब चर्चा हुन्छ । बहादुरी, साहस, कमजोरी, अविश्वासी सबै खाले चरित्र मजबूत वा सबल छ भने त्यसैको चर्चा चल्छ । कथामा पनि कथाकारले कथेको परिस्थिति, पात्र, घटनाक्रममा ज्ञानका बुद्धिका, चलाखीका र आफ्नो मनपर्ने आदर्श यथार्थ सबैलाई राम्ररी बुनेर पेश गरेको हुन्छ । त्यसबाट नैतिक शिक्षा वा अझ कुनै निर्णय लेखकले हैन पाठकले नै लिन्छ ।
कथाकुथुङ्ग्रीका कुरा
कथा मानिसको अनुभव र ज्ञानको प्रतिबिम्ब हो । मानिसले पहिला पहिला आफूले यात्रा गरेका ठाउँहरुको स्मरण भन्दै जाँदा कथाका रुपमा भन्ने सुन्ने गरेको र एकले अर्कोलाई आफूले भोगेका र देखेका बयानका रुपमा कथा जन्मेको बुझिन्छ । सपनाका कुरादेखि आफ्ना कल्पनाका कुरा समेत एकले अर्कोलाई मेलोमेसो मिलाई भन्न थालेदेखि कथाको जन्म भएको बुझिन्छ । पछिपछि कल्पनाका कुरा र अनुभवका कुराहरु जोडिन गए र ती पुस्तौं दरपुस्ता मौखिक कथाका रुपमा भन्ने सुन्ने परम्परा नै बसेको बुझिन्छ ।
विश्व बालकथा
कथाको परम्परा पूर्वीय सभ्यतामा अत्यधिक प्राचीन छ । वेद पुराणमा अनेकौ कथा ५,००० वर्ष अघिदेखि विकास हुँदै आएका छन् । नेपाली संस्कृतिमा लोककथाहरु प्रशस्त छन् । गीतमा कथा, कुनै कुराको उत्पत्तिमा कथादेखि इतिहासका आरोह अवरोहका कथाले हिमाली क्षेत्र समृद्ध छ । हुन त पश्चिम मुलुकमा ग्रीसमा इसपका कथाहरु २५०० बर्ष अघि नै नआएको हैन । इसप नीतिको कथा १४४८ मा सर्वप्रथम प्रकाशित भएको हो । मूलत: नीतिपरक कथामा नै त्यस बेलादेखि जोड दिएको पाइन्छ । विश्व प्रसिद्ध कथाहरुमा डानिएल डिफोको रबिन्सन क्रुसो सन १७१९ मा र जोनाथन स्विफ्टको गुलिभर ट्रावेल्स सन १७२६ मा देखापरेको हो । उन्नाइसौ शताब्दीमा ग्रिम ब्रदर्सले लोककथाहरु संकलन गरे जर्मनमा । ती परिकथाहरु नै मूलत: नाम चलेका थिए । अङ्ग्रेजीमा सिन्ड्रेला कथा प्रसिद्ध छ । ह्यान्स क्रिस्टन आन्डरसेनको इम्पाएर न्यु क्लोथ सन १८३७ मा निस्कियो । आडभेन्चर अफ पिनाकियो सन १८८३ र कार्लोको जङ्गल बूक सन १८९४ नाम चलेका छन् । पाश्चात्य मुलुकमा कथाको अवधारणा १५औं शताब्दीमा लेखनारम्भ भएको देखिन्छ । युरोपका कथाहरु विश्व व्याप्त छन् । पन्ध्रौ शताब्दीको मध्यताका रविन हुडका कथाहरु प्रादुर्भाव भयो । पाश्चात्य कथामा ह्यान्स आन्डरसेन परिकथाका लागि प्रसिद्ध छन् ।
फ्रान्समा चाहिँ सन १६९७ मा बालकथा देखा परेको बुझिन्छ । फ्रान्सेली किताप नैतिक र बेलाइती चाहिँ मनोरन्जनमा जोड दिएको बुझिन्छ । ग्रिमको परिकथा, मार्क ट्विनको टोम सायर प्रशिद्ध भए । ठूलाका लागि लेखिएका कतिपय कितापहरु प्रभावशाली कथाकै कारण बाल मनोरन्जनका साधन पनि नबनेका हैनन् । मार्क ट्विनका साहासिक कथाहरु विश्व प्रसिद्ध भए । उनी १८३५ मा जन्मेका थिए । रविन्सन क्रुसो र गुलिभर्स ट्रावेल्स आधुनिक समयमा पनि उत्तिकै प्रभावशाली छ । एशिया क्षेत्रमा रामायण र महाभारतले, पञ्चतन्त्र र जातक कथाहरुले ठूलो प्रभाव पारेको छ । इशापूर्व ५ देखि पहिलो शताब्दीसम्म यसले निकै प्रभाव पारेको हो । रोलवालिङ आएपछि त कथाले हेरिपोटरले १९३७ देखि नै सन १९३८ ताका सुपरम्यान जस्तो कमिक म्यान निस्कियो । यस्ता पुस्तक इन्टरनेटमा पसे र विश्वभरि फैलिए । टायम मेसिन सन १८९५ मा चमत्कारपूर्ण रह्यो । यस्ता प्रकारका धेरै पुस्तकहरु पनि प्रसिद्ध भए । आसिमोभका विज्ञानमा अगाडि आए । विश्वब्याप्ती भयो । जापानमा दोस्रो महायुद्ध अर्थात बिसौ शताब्दीमा बाल चित्रकथा र कमिक बुक प्रशस्त निस्किए । जापानी मङ्गाको आफ्नो छुट्टै इतिहास, महत्व र बिशेषता देखिन्छ । आधुनिक संसारमा सुपरम्यान प्रकारका श्रृंखलादेखि ह्यारीपोटरको श्रृंखलाले विश्व व्याप्त हुने अवसर प्राप्त भयो । एशिया प्रशान्तको को–पब्लिकेशन कार्यक्रम अन्तर्गत निस्केका बाल तथा किशोर कथाहरुमा एशियाका नमूना कथाहरु छन् र ती एका अर्को भाषामा एशियाभरिका देशहरुमा अनूदित भएको छ । भारत र चीनमा पनि धेरैथरि बालकथाका पुस्तकहरु प्रशस्त प्रकाशित छन् ।
नेपाली बालकथा
कथाका सिद्धान्त पूर्वीय र पाश्चात्यमा केही भिन्नता भए पनि किस्सा, कथा, कथन, वर्णन, कुथुङ्ग्री, कहानी, गथासो जन्मियो । श्रुति स्मृतिकै मौखिक परम्परा पछिसम्म पनि रहिरह्यो । यसलाई कहानी हाल्ने र कथा बनाउने पनि भन्ने गरिन्छ । दु:ख सुखको बह पोख्ने र यही बह पोखेरै कथाको जन्म भएको देखिन्छ । नेपालीमा कथा थालनी गर्दा ‘एकादेशमा’ भन्ने चलन छ भने पाश्चात्य देशमा ‘कुनै समयमा’ बाट शुरु गर्ने गरिन्छ । नेपालीले देश अर्थात् ठाउँ अनुसार फरक फरक कुरालाई जोड दिएको देखिन्छ भने समयबाट शुरु गर्नेले समय समयको कुरालाई अर्थात समय अनुसार फेरिने कुरालाई आधार मानेर कथा शुरु गरेको पाइन्छ । कथा सकेपछि ‘सुन्नेलाई सुनको माला’ र ‘भन्नेलाई फूलको माला’ भन्ने चलन हाम्रोमा छ । सुन्नेले ज्ञान गुन बटुल्ने हुँदा त्यो सुन जत्तिकै महत्वपूर्ण मूल्यवान छ र भन्ने फूल जस्तै सुन्दरता र सुगन्ध फैलाउने हुँदा फूलको माला अर्पण गरेको प्रतीकात्मक भाव देखिन्छ । त्यसैगरी ‘यो कथा बैकुण्ठ जाला’ भन्ने बेलामा ताततातै आइजाला’ ले कथाको महत्व र प्रयोगको सास्वतता बुझिन्छ ।
नेपाल कथै कथाको देश भए पनि बालसाहित्यमा बालकथा अलि ढिलो नै विकास हुन थालेको देखिन्छ । मौखिक कथा भन्ने परम्परा परापूर्वकाल देखिनै छ । धार्मिक अनुष्ठानदेखि सांस्कृतिक परम्परामा कथाहरुको वाचन हुने गरेको छ । सामाजिक जनजीवनमा पनि कथाहरु कविता गीतभित्र समेत सिर्जना भएका छन लोक परम्परामा । पौराणिक, ऐतिहासिक, मिथकदेखि लोककथाहरु दन्त्यकथाका रुपमा मौखिक परम्परामा अझै पनि जिउँदो जाग्दो भएर रहेको छ र यसबाट नै आयामिक शिक्षा र जीवनलाई मार्ग निर्देश भएको छ । यस सन्दर्भमा कतिपय कथाहरु विदेशबाट आयातीत भए भने कतिपय संस्कृत र सांस्कृतिक परम्पराबाट प्रादुर्भाव भएका छन् । सामान्यतया नेपाली कथाको वर्गीकरण गर्दा १. धार्मिक–पौराणिक, २. वैदेशिक आगन्तुक, र ३. लोक कथाका दन्त्यकथा परम्परा र ४. मौलिक गरी मूलत: चार तहमा देखिएका छन् ।
पौराणिक, धार्मिक र ऐतिहासिक कथाहरुमा नीति कथा र उपदेशात्मक नै बढी देखिन्छ । ऋग्वेद, उपनिषद, रामायण, महाभारत र पुराणहरुमा धेरैजसो कथोपकथन केन्द्रित रहे भने वैदेशिक कथामा पुनरकथन र अनुवाद नै अत्यधिक प्रभावशाली रहे । पञ्चतन्त्र, हितोपदेश, मित्रलाभदेखि लोक दन्त्यकथाहरुका स–साना कितापले त्यसबखतको खाँचो टार्न परेको र आधुनिक समयमा आवश्यकताका साथै मौलिक बालकथामा पनि सिर्जना बढेर गएको पाइन्छ ।
शास्त्रीय पाराका धार्मिक र पौराणिक अनि तथ्यमा आधारित ऐतिहासिक कथाहरु नैतिक ज्ञान दिन र मानवीय भाव जगाउन उन्नत नेपाली संस्कृतिमा विशिष्ट रुपमा प्रयुक्त भएका हुन् । अहिले पनि यो परम्परा बालकमा त्यति प्रयोग नभए पनि यसको प्रभाव राम्रै रहेको छ । लोककथाको प्रचलनबाट सामाजिक पहलुहरुमा विचरण गर्न सघाएको र त्यसको चेतनाले समाज समुन्नतिमा अप्रत्यक्ष काम अझै नगरेको भन्न मिल्दैन ।
विकासको क्रममा नेपालमा बालसाहित्यको पुस्तक प्रकाशन पछि नै प्रादुर्भाव भएको हो । नेपाली कथाकै इतिहास खोतल्दा बाल चरित्र भएका वयस्क कथाले नै प्रारम्भमा खनखाँचो पूरा गरेको देखिन्छ । लबकुशदेखि कृष्णको बाल लीला, बालक धुर्व, श्रवणकुमार, प्रल्हाद नै पढ्ने वा सुन्ने बाध्यता थियो । नेपालमा पहिलो कथा पनि महाभारत पर्व १८२७ मा शक्तिबल्लभ अर्यालले ल्याएका हुन् । यिनको हास्यकदम्ब (१८५५) संस्कृतको अनुवादबाट देखापरेको हो । नेपाली कथामा पिनासको कथा(१८७२) र स्वस्थानी ब्रतकथा (१८७८) ले नेपाली समाजमा प्रभाब पारेको छ ।
गंगाधर शास्त्री द्रबिडले लेखेको गोर्खा पहिलो किताब (१९४९) बालसाहित्यको पहिलो पुस्तकमा नै नैतिक कथा रहेका छन् ।
वि.सं. १९४८ को गोर्खा पहिलो किताबमा नीति कथाहरु छन् । त्यस बेलादेखि २०७८ सम्म १३० बर्षको इतिहास बोकेको छ बालसाहित्यले । यसभित्र पनि २०१० मा आएर मात्र बद्रीनाथ भट्टराईको पौराणिक कहानी एउटा राम्रो उपलब्धिमा देखापरेको आधा शताब्दी मात्र नाघेको छ । यसबीचमा नेपाली बालकथा विभिन्न वर्गमा विकास भएको देखिन्छ :
१, धार्मिक–पौराणिक कथाहरु, २, ऐतिहासिक कथा, ३, नीति कथा, ४, लोक कथा, ५, मौलिक कथा, ६, पुनरलिखित कथा, ७, बिदेशी अनुवाद र अन्य भाषाका कथा ।
पौराणिकले पुरानो र पुराणको भन्ने अर्थ लाग्छ । पुराणलाई धार्मिकमा राख्दा अरु सबैमा नयाँ पुरानोको समयका दृष्टिले हेर्नुपर्ने हुन्छ । त्यसैगरी धार्मिकमा हिन्दू धर्मका पौराणिक कथाहरु र धार्मिक चलन चल्तीका कथाहरु जुन बालोपयोगी भई प्रयोग भैरहेका छन् त्यस्ता अनगिन्ति कथाहरु बुद्ध धर्मका र अरुका पनि पर्दछन् । ऐतिहासिकमा नेपालको इतिहास सम्बद्ध र विश्व सभ्यताका कुराहरु आउन सक्छ । नीति कथामा पञ्चतन्त्रदेखि इसपनीतिका कथाहरु पर्दछन् । लोककथामा विभिन्न जातिहरुको परम्परामा भनिंदै आएको सुनिंदै आएको कथाहरु पर्छन् । पुनरलिखित कथाहरु सँंस्कृत र अन्य भाषाका कथाहरु पुनरलेखन गर्ने चलन पनि छ । बाहिरका र देशैभित्रका पनि लोककथाबाट पुन लेखन भई नयाँ ढंगमा पनि प्रस्तुत गर्ने चलन छ । कतिपय लोककथाहरु पुनरलेखन गरेर पुनरलेखन वा प्रभावको नभनी लेखकले नाम राखेको पनि पाइन्छ । सिर्जनात्मक कथा जसलाई मौलिक सिर्जनाका रुपमा राखिन्छ । मौलिक कथामा बालकको आवश्यकता, क्षमता र दक्षतालाई ख्याल गरी विविधता, नवीनता, समय सापेक्षता सबैमा विचार पुर्याउनु पर्दछ कथा लेखनमा । तर आधुनिक परिवेश र परिस्थितिको आवश्यकता हेर्दा बाल आचरण लक्षित एवं विषयगत विविधता र शैलीगत भिन्नता कमै देखिन्छ । वातावरण र जनसंख्या सचेतना, सरसफाइ र स्वास्थ्य सिर्जनशीलता र सीपमूलक आख्यानको अभाव छ । स्वैर– काल्पनिक कथा पनि त्यति आउन सकेको छैन ।
विश्वास, नर्क, सुङ्गुर, बाठो, उल्लु जस्ता हास्य कथा सर्वसङ्ग्रह (१९५३) मा छन् । यिनै लेखन बालकका लागि प्रारम्भिक नेपाली पठन सामग्री हो ।
माध्यमिककालमा पनि उट्पट्याङ (१९५९), हस्सी (१९६२), ठट्टाबाज (१९६८) जस्ता कथाले भरपुर मनोरन्जन प्रदान गरेको देखिन्छ ।
यसपछिको कितापको कुरा गर्दा जय पृथिवीबहादुर सिंहले नैतिक शिक्षाका कथाहरु लेखेको पाइन्छ । लक्ष्मीप्रसाद देवकोटाको बालशिक्षा (सन १९२०) मा केही कथा छन् ।
यसरी प्रारम्भमा नेपाली बालसाहित्य प्रकाशनमा पनि नीतिपरक कथाले बालकको सद्चरित्र निर्माण गर्ने उद्देश्य राखेको देखिन्छ ।
बाल पुस्तकको आवश्यकता बढ्दै यो संस्थागत प्रयासमा गोर्खाभाषा प्रकाशिनी समिति (स. १९७९) देखि सुरु भएको पाइन्छ । यो समिति २००७ सालसम्म चल्यो र पछि परिवर्तन हुँदै साझा प्रकाशनको प्रयासमा हालसम्म बालसाहित्य विकासमा निकै अगाडि बढिसकेको छ। त्यसकालमा राममणि, चक्रपाणि, पारसमणि, रुद्रराज आदिले बालकथामा केही न केही प्रयास नगरेका हैनन् । रुद्रराजको इसपनीति कथा (१९९७) उल्लेख्य कृति हो । त्यसताका गोर्खापत्र, उद्योग, सुन्दरी जस्ता पत्रिकाले पनि बालकले पढ्न सक्ने कथाहरु ल्याएका हुन् ।
प्रवासमा पादरी गंगा प्रधानको प्रयासमा अङ्ग्रेजीका नीतिकथा नेपालीमा आएका हुन् । हाँसको नराम्रो चल्लाको कथा (१९७१), मान्छे मान्छेको कथा (१९७७), सुनौला कथाको पुस्तक (१९७९) कथाहरु ह्यान्स क्रिस्टियन आन्डरसनका कृतिबाट नेपाली भाषामा भित्रियो । दार्जीलिङका लेखकहरुले प्रारम्भिककालमा राम्रो सघाएका दार्जीलिङबाट आयातीत कथाहरु प्रारम्भमा निकै मद्दतगार रहे । प्रजातन्त्र आरम्भ भएपछि बालककै लागि लेखिएका बिशेष बाल साहित्यका कथाका कितापहरु बाहिरबाट राम्रै आउन लागे । देबकुमारी थापा, प्रकाश कोविद यसमा अग्रणी भए । रत्न पुस्तकले काठमान्डुमा पुस्तक बेच्न सुरु गर्दासम्म बालसाहित्यको नेपाली पुस्तकको ठूलो अभाव भयो । यसैताका बदरिनाथ भट्टराईले बालसाहित्यकै नाममा नेपालका तारा नेपाली भाषा प्रकाशिनी समितिबाट झन्डै डेढ दर्जन प्रसिद्ध पुरुषहरुको बारे मनोहर ऐतिहासिक कथाहरु पृथ्वीनारायण शाहको सुन्दर रंगीन चित्रसमेत जोरगणेश प्रेसले छापेको देखिन्छ ।
क्रमश: