पहिले मैले नेपाली भाषामा उपन्यास लेख्ने गर्थें । पछि, मेरो पेरिस र लण्डनको बसाइपछि यात्रा बयान, यात्राका संझनाहरू जस्तै यूरोपको चिठी र विश्व प्रसिद्ध कलाकारहरूको जीवनी लेख्न पट्टि लागें – किनकि ती कलाकारहरूको जीवनी नेपालीहरूले पनि पढ्न र मनन गर्न सकून, तिनबाट ज्ञान र शिक्षा पाउन सकून् भन्ने मेरो इच्छा थियो ।
म सन् १९६१ मा पहिलो पटक काठमाडौं आएँ । यो काठमाडौं उपत्यका यति प्राचीन शहर रहेछ भन्ने त्यसबेला प्रथम पटक थाहा पाएँ । यहाँका प्राचीन स्तूप, मन्दिर, देवालय, बहाल, प्रस्तर मूर्ति, धातु मूर्ति, काष्ठ मूर्ति, पौवा, हस्तलिखित ग्रन्थ आदि देखेर म छक्कै परें । हुन त कलकत्ता, पेरिस, लण्डनतीर आधुनिक कला अध्ययन गर्न गएको थिएँ – तर आफ्नै देशको प्राचीन कला देखेर आश्चर्य चकित भएँ र तिनको अध्ययनतिर लागें । अन्वेषण, अनुसन्धान र खोजी गर्दागर्दा बीस–पच्चीस वर्ष लाएपछि बल्ल तिनका बारेमा केही ज्ञान प्राप्त भयो र केही वर्षदेखि तिनको इतिहास लेख्न लागेको छु । सो लेख्ता मैले आफ्नो भाषामा पनि लेख्छु र अङ्ग्रेजी भाषामा लेखेर प्रकाशित गर्दा विदेशीले पुस्तक किनेर पढ्ने हुनाले अक्सर म अङ्ग्रेजीमा लेख्ने गर्छु । नेपालीमा बाहेक अङ्ग्रेजीमा र जर्मनी भाषामा नेपाली कलाको बारेमा केही लेखेर प्रकाशित गरिसकेको छु । हाल नेपाली धातुका मूर्ति बारेमा एउटा पुस्तक लेख्ने विचार गरेर तिनको अनुसन्धानमा लागेको छु । मैले संसारभरि छरिएका नेपाली कलाका धातुमूर्तिहरूको तस्वीर संग्रह गरेको छु – शायद त्यति ठूलो संग्रह भएको कुनै नेपालीमा छैन होला भन्ने लाग्छ । म बाँचेकै बेला मैले नै त्यसबारे केही लेख्न सकें भने नेपालीहरूले लेखेको पुस्तकमध्ये यो एक अद्वितीय पुस्तक बन्ने छ जस्तो लाग्छ । नत्र म मरेपछि त्यस संग्रहको कसैले वास्ता गर्ने छैन, त्यो त्यसै कुहेर जान्छ भन्ने लागेकोले नै त्यस पुस्तक तयार पार्ने क्रममा मैले योजना बनाएर पुस्तक लेख्दैछु । शायद एक दुई वर्षको अन्तरालमा त्यो छापिएर प्रकाशित होला भन्ने मलाई लाग्छ ।
– साहित्य भनेको भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो । साहित्य मलाई त्यस्तै लाग्छ ।
– जुन कुरा पढ्नाले शिक्षा दिन्छ, ज्ञान दिन्छ, आनन्द दिन्छ, त्यसैलाई म साहित्य भन्छु ।
– साहित्यकारहरूको दायित्व साहित्य सिर्जना गर्नु हो र उसले त्यस्तो साहित्य सिर्जना गर्नुपर्छ, जसबाट अरूले त्यसबाट सकेसम्म ज्ञान हासिल गर्न सकोस्, आनन्द लिन सकोस् ।
– हालको साहित्यले समाजलाई त्यति फाइदा गरेजस्तो लाग्दैन । पहिलेका कवि–लेखकहरू जस्तै : देवकोटा, सम, सिद्धिचरण, कविशिरोमणि लेखनाथ, गुरुप्रसाद मैनाली आदिले लेखेर गएको जस्तो साहित्य अब कहाँ पाउनु ?
– म बालकृष्ण समबाट ज्यादै प्रभावित छु ।
– मेरो पहिलो रचना कथाबाट शुरू भयो – त्यो स्कूलको पत्रिकामा सन् १९३९ सालमा प्रकाशित भएको थियो ।
– मलाई सानैदेखि कथा र उपन्यास पढ्ने साह्रै धोको थियो र पछि मलाई पनि त्यस्तै कथा र उपन्यासहरू लेख्ने ठूलो रहर भयो ।
– साहित्य र राजनीतिमा कुनै समानता छैन ।
– परिश्रम नगरी केही उपलब्धि हुँदैन । कडा परिश्रम र मिहेनत नै सफलताको बाटो हो ।
– हो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान एउटा स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो तर भएन । म त्यस प्रतिष्ठानको दुई पटक कुलपति भएर बसेँ, हाम्रा समयमा
त्यस्तो कुनै नचाहिंदो कुराहरू भएन । कला, साहित्य र संगीतका क्षेत्रमा जति कामहरू हाम्रा पालामा भयो अहिले त्यति भएकै छैन । त्यसबेला सबै प्रज्ञा प्रतिष्ठानबाट लाभ हुने कृतिहरूको सिर्जनापट्टि लागे । अहिले त्यसो नभएर सबै पैसा कमाउनतिर लागे । हामी प्रज्ञा प्रतिष्ठानमा छँदा श्री ५ महाराजाधिराज प्रतिष्ठानको ‘पेट्रोन’ संरक्षक होइबक्सन्थ्यो । सब कामहरू सरकारको निर्देशनमा हुन्थ्यो । खर्च दरबारबाटै कन्ट्रोल हुन्थ्यो । अहिले त्यो सब नभएपछि, कहीं कतैबाट कन्ट्रोल नभएपछि एकेडेमीलाई कसले हेर्ने ? त्यसको जिम्मेवारी कस्ले बोक्ने ? छाडा भएपछि त कुनै कुराको कन्ट्रोल हुँदैन । अहिले प्रज्ञा प्रतिष्ठानको त्यही दशा भइरहेको छ ।
– जीवनबाट कुनै अप्ठ्यारा कुरा आइपरे पनि म कहिल्यै निराश भएको छैन ।
– दिनचर्या राम्रैसँग बितिरहेछ – बिहानै उठ्छु अलिकति हिँड्डुल गर्छु, चिया खाजा खान्छु आफ्ना फूलवारीमा हेर्छु, मलाई गुलाफ सबभन्दा ज्यादा मनपर्छ, हेर्छु – फुल्न आँटे छन् भनेर खुसी हुन्छु । केही चित्र कोर्छु – दिउँसोको भोजन गर्छु – फेरि पुस्तकहरू पल्टाउँछु, लेख्छु, अध्ययन गर्छु, त्यतिकै साँझ पर्छ –टि.भीको समाचार हेर्छु बेलुकीको भोजन खान्छु –९/१० बजेतिर सुत्छु । राती उठ्छु – केही कामहरू गर्छु – जस्तो कि यही लेख्ने र सोधिएका कुराहरू अहिले लेख्दैछु । यो सकिएपछि फेरि सुत्छु –यसरी जीवनचर्या चलिरहेछ । यो जिन्दगी के हो केही ठेगान छैन । अहिले म पचहत्तर पुगिसकें – दिनहरू कति छिटो बितेर गई सकेछन् फर्केर हेर्दा छक्क पर्छु । ती दिनहरू आँखाको झप्कीमा जस्तै मिलिक्क बितेर गए जस्तो लाग्छ । यस्तो हुँदाहुँदै मेरो जीवन पनि झपक्क निभेर जान्छ – त्यसपछि के हुन्छ भन्न सक्तिनँ । यो सारा संसार नै सपनाजस्तो लाग्छ । त्यसपछि, मृत्युपछि, म कहाँ पुग्छु – मलाई नै थाहा हुँदैन । अहिले त परिवार छ, म छु, साथीसंगीहरू छन् –तिनको माया, ममता आदरमा बाँचिरहेछु – त्यो सब छाडेर आफू हिँडेपछि न म यस संसारमा हुन्छु न मेरो नश्वर देह यो संसारमा हुनेछ …. ।
– जीवनमा तीता–मीठा भनेका कुरा त आइरहने छन् । मीठामात्र भएर पनि हुँदैन – तीतामात्र भएर पनि हुँदैन ।
– मैले माथि नै भनिसकें – केही लेख्ने अठोट गरेको छु । मेरा चित्रहरूको प्रदर्शनी बम्बई, दुबई र लण्डनमा गर्ने विचार भइरहेको छ । साथीहरूले त्यहाँ केही मद्दत गरिरहेका छन् ।
–
जनमत र पाठकहरूलाई मेरो के सन्देश छ भने बाँचुञ्जेल अर्काको भलाइ हुने काम गर्नु जतिको असल काम अरू केही छैन ।
– जनमत, २०५६ असार / पूर्णाङ्क ६४