१ मन त फलामकै भए असल हुन्छ
मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो—
मन उतै भुल्यो,
बैँसले जाऊँ है भन्न लाग्यो—
पीर झन् ठूलो;
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै,
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ;
त्यसैले पनि—
मन त फलामकै भए असल हुन्छ ।
२ मैले कसको के बिगारेँ ?
भन ए जगका निष्ठुर मानव
मैले कसको के बिगारेँ ?
कसको मैले सिन्दुर खोसेँ
जो आज मलाई हेला गछौँ !
न त कुनै दिन मैले कसैको
दौलतमाथि हात बढाएँ
कसलाई मैले घाऊ लगाएँ ?
जो आज मलाई पर गर्छौ !
जगका मानव किन चुप छौ
बोल न मैले कसलाई लुटेँ ?
कहिले, कुन दिन स्वार्थ अँगालेँ
जो आज मलाई छिः छिः गर्छौ ?
मैले त सधैँ खुशी लुटाएँ
मनमा उठेका भाव उठाएँ
तै पनि हाँस्छु , फुस्रो हाँसो
सट्टामा मात्र परिहास पाएँ
आफ्नो मनमा पीर उम्लँदा
गन्दै नुनिलो आँशु पिएँ ?
भन न भन ए जगका मानव
मैले कसको के बिगारेँ ?
३ दिनका तीन स्थिति: मेरो अनुभवमा
गुँडगुँडला चरा बिच्काउँदै
आँखा आँखाको नींद उडाउँदै
भर्खर बैंस चढेकी ठिटी जस्तै
भित्ताका प्वाल प्वालबाट चियाउन
आइपुग्छ सधैं एउटा उत्ताउलो विहान ।
बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर
आउने-जानेको मुख चहार्न बानी लागेको
तीस-पैंतीसकी विधवा जस्तै,
पट्टाइलाग्दो साँधमा पुगिसकेको
थाप्लामा एउटा सूर्यको भारी
खपिनसक्नु हुन्छ यो मध्यान्ह ।
उज्यालोसित छलिंदै छलिंदै
आँखा आँखासँग बास माग्दै
रात आउँछ मकहाँ प्रेयसी बनेर,
छातीभरि उखर्माउलो थपी
केही पीर दिंदै – केही पीर लिंदै
रात जान्छ मबाट सधैं
एकै अँगालो नींद बास बसेर ।
४ कतै आउला कि कुनै यस्तो दिन
हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि
मलाई लाग्यो-
म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई,
कतै आउला कि कुनै यस्तो दिन,
जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू
आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन्!