प्रज्ञाप्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी गरिएको छ ।
प्रतिष्ठानको भानुभक्त कक्षमा यतिबेला २०३० सालदेखि हालसम्म प्रकाशित गरिएका पुस्तकहरु अवलोकन गर्न सकिन्छ । २०३० साल देखि २०७९ असार सम्म प्रकाशन भएका ‘धिमाल लोक जीवन अध्ययन’, ‘कार्वोनिक रसायन शास्त्र’, नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण र सातै प्रदेशका महत्वपूर्ण विषय वस्तु समेटने ‘तस्विरमा नेपाल’ समेत प्रदर्शनी समावेश गरिएको छ । प्रदर्शनीमा पाठकले नव रसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर खरिद गर्न सक्छन् ।
प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित धेरै विषयका पठनीय झण्डै ५ सय वटा पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीमा समावेश गरिएका छन् । प्रदर्शनीमा ‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता पुस्तक तीन रुपैयाँमा खरिद गर्न सकिन्छ । ‘तस्विरमा नेपाल’ पुस्तकको सबैभन्दा बढी मूल्य भने २ हजार ७० रुपैयाँ राखिएको छ । ‘प्रज्ञा नेपाली बाल निबन्ध’ जस्ता ७० भन्दा बढि नयाँ पुस्तकहरु प्रदर्शनीमा छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रदर्शनी व्यवस्थापक सुधिर ढुंगेलले बताए । उनका अनुसार प्रदर्शनीमा बढी साहित्य र अनुसन्धानात्मक कृतिहरू बिक्री हुन्छन् । दैनिक सय भन्दा बढि पाठकहरू पुस्तक प्रदशर्नी अवलोकन गर्न आउने बताउँदै उनले दैनिक २५ हजार रुपैयाँको पुस्तक बिक्रि हुने सुनाए ।
प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हाल साझा तथा निजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पुर्याई पठनीय संस्कृतिको विकास र पुस्तक बिक्रि प्रवद्र्धन गर्न आफैं लागिपरेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । ‘लेखक पाठकको जम्काभेटका लागि लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनी स्थल हो’, उनले भने, ‘प्रदर्शनीले पुस्तक प्रेमीहरूको उल्लेख्य सहभागिता हुने विश्वास राखेका छौं ।’ प्रदर्शनी असार ३० गतेसम्म जारी रहनेछ ।