त्यो केटी कविताहरू लेख्थी । कविताहरूमा नदी, रुख र फूलहरूका कुरा लेख्थी । हो, त्यो केटी प्रेमको बारेमा पनि लेख्थी । तर लुकी लुकी । किनकि यदि कतै घरका मान्छेहरूलाई यसबारेमा सुइँको मात्र पनि भएको भए उनीहरू उसलाई बाँकी राख्दैनथे । जो कोही यही भन्थ्यो – पक्कै ऊ प्रेम गर्न थालेकी छे । वास्तवमा दोलन कहिल्यै कसैको प्रेममा अल्µिन । ऊ प्रेमसँग अति नै डराउँथी । उसकी दिदी, दोयलले एकपटक प्रेम गरेकी थिई, यस अपराधमा उसलाई घरको नितान्त अँध्यारो कोठामा पूरै सात दिनसम्म साङ्लोले बाँधेर राखिएको थियो ।
सात दिनपछि इदरिस अलीले उसलाई साङ्लोबाट मुक्त गर्यो र उसलाई नजिक बोलाएर सोध्यो – त्यस केटालाई आशा गर्छौं, अब तिमीले बिर्सिसक्यौ हौली होइन ?
दोयलले जवाफ दिई – हो बुबा मैले बिर्सिसकेकी छु ।
\दोलन गाउँथी तर लुकी लुकी । बाथरुममा पानीले जन्माउने संगीतसँग गीतको सुर पनि लाग्छ, यही सम्भावनाका साथ, दोलन जेजति गाउँथी बाथरुमभित्र नै । यसैबीच एक दुई दिन उसले छतमा बसेर पनि गाई, ताकि उसको आवाज घरभित्रसम्म नपुगोस् ।
उसलाई घरको बैठक कोठामा उपस्थिति गराइयो ।
इदरिस अलीले जवाफ मागे – तिमी छतमा जान्छौ ?
हो ।
किन ?
साँµपख छतमा मीठो हावा लाग्छ । हावा खान रमाइलो लाग्छ ।
गीत पनि गाएकी थियौ ?
दोलन केही बोलिन ।
इदरिस अलि जङ्गिए – मेरो छोरी भएर तिमी यस घरमा गीतको राग अलाग्छौ ? तिम्रो यो हिम्मत ?
दोलनका आँखाबाट आँसु µर्न थाले । इदरिस अलीले दोलनका गालामा दुई थप्पड बजाइहाले ।
दोलन रुन थाली – अब कहिल्यै गाउँदिन बुबा ।
अब दोलन न लुकीचोरी कविताहरू लेख्थी, न गीत गाउँथी । ऊ चुपचाप आफ्नो कोठामा बसिरहन्थी ।
अब उसको विवाह हुन लागेको थियो । उसको विवाह कोसँग भइरहेको थियो, उसलाई थाहा थिएन । उसलाई भन्दै भनिएन । उसले भर्खरै एसएलसीको परीक्षा दिएकी थिई । अहिलेसम्म रिजल्ट आएको थिएन ।
ठीक त्यसैबेला इदरिस अलीले छोरीको बिहे गरिदिने निर्णय गरे । सुन्नमा आएको छ कि एक्कासी उनले निकै राम्रो केटा भेटे । केटा के गर्छ, नाकनक्सा कस्तो छ, बानीव्यहोरा कस्तो छ, दोलनलाई केही थाहा छैन ।
आलेयाले उसलाई मात्र यति सूचना दिएर गएकी छन् – उनीहरू तँलाई हेर्न आउँदैछन् । तँ टाउको निहुराएर मात्र बसिरहनू । सुस्तरी सुस्तरी बोल्नू । राम्रो ढंगले । बिस्तारै बिस्तारै । तँलाई कपाल खोलेर देखाउन भनेपछि खोलेर देखाइदिनू । सिलाई बुनाई गर्न आउँछ, खाना पकाउन आउँछ भनेर सोधे भने भनिदिनु हजूर आउँछ । यदि गएर गर्न लगाए भने गरेर देखाइदिनु । साडी माथि उठाएर सायद खुट्टा हेर्न चाहे भने देखाइदिनु । हातखुट्टा, सम्पूर्ण शरीर घोटी घोटी एकदमै सफा राख्नू ।
आलेया ! दोलनकी आमा । उनको पनि विवाह यस्तै प्रकारले भएको थियो । वरपक्षले उनका कपाल, दाँत, आँखा, हातखुट्टा राम्ररी जाँचेर हेरेर मात्र आफ्नो घरमा लिएर गएका थिए । यसै कारण उनी आफ्नी छोरीलाई पनि सतर्क गराइरहेकी थिइन् । उनको असाध्य मन छ कि छोरीको विवाह यहीँ होस् । यो बिहे भएपछि त छोरी आफ्नो ठाउँ ठेगानतिर लागिहाल्छे ।
दोलन दिनभरि पल्टिरही । आजभोलि उसलाई लेखपढ गर्न दिइएको छैन । किनकि उसले धेरै लेखपढ गरीसकी, अब उसले नमाज पढ्ने कपडा ओछ्याएर पाँचै समयको नमाज मात्र पढ्नुपर्नेछ । आलेयाले उसको घाँटीमा एउटा जन्तर पनि हालिदिएकी छ र हरेक दिन दुइटै समय उसको छाती र अनुहारमा फुकेर जान्छिन् ताकि विवाह राजीखुशी भइहालोस् । आलेयाले दोलनलाई एउटा माला पनि थमाएर गएकी छन् र केही मन्त्रहरू पनि कण्ठ पार्नलाई दिएकी छन् । वरपक्षले भनेका छन् कि केटी धार्मिक स्वभावकी र घुम्टोभित्र रहने भए अµै राम्रो । दोलनलाई काँचो बेसार दलेर नुहाइयो किन भने वरपक्ष गोरी केटी चाहन्छन् ।
दोलनलाई अब घरबाट बाहिर निक्लिन दिइँदैन । उसका स्कुलका साथीहरू हुल बाँधेर आउँछन्, हाँस्दै रमाउँदै, रसिला कुराहरू गर्छन् र गैहाल्छन् । दोलनलाई यी सबै मन पर्दैन । एकदिन भावी दुलाहाको फोटो पनि साथीहरूको हात लागिहाल्यो । उनीहरू बीच खोसाखोस भयो । सबैले एक अर्कासामु मन्तव्य दिए कि केटा हेर्नमा एकदमै राम्रो छ, दोलन र उसको जोडी निकै सुहाउनेछ । त्यसो त दोलनलाई अब छतमा पनि जाने अनुमति छैन । उसको हृदयमा गहिरो चाह जाग्छ कि ऊ नक्षत्र, नदी, समुद्र, धुपीका रुखहरू देखोस्, उनीहरूसँग धेरै धेरै कुरा गरोस् । उसलाई असाध्य मन लाग्छ कि कुनै खुला मैदानमा बसेर भएभरको आवाजमा गीत गाओस् ।
एकदिन वरपक्षका दाह्रीजुँगा भएका मान्छेहरू दोलनलाई हेरेर पनि गए । दोलनलाई साडी लगाएर टाउकोमा घुम्टो हालेर वरपक्षका सामु पेश गरियो । केटीको निहुरेको टाउको देखेर, ऊ सबैलाई मन परिहाली । सबैले एकअर्कासँग प्रशंसा गरे कि केटी साँच्चिकै शिष्ट व्यवहार जान्दछे, दुलहाको घरको निम्ति ऊ पक्कै घरेलु केटी सावित हुन्छे । यो केटी निकै मृदुभाषी छ, सधैं टाउको निहुराई रहन्छे, पक्कै ऊ लोग्नेको आज्ञाकारिणी हुन्छे । विवाह पक्का भयो, दिन र समय तय गरियो ।
घरमा उत्सवको मौसम । किनकि दोलनको विवाह हुन गइरहेको छ । विवाह पनि कुनै यस्तो उस्तो होइन, निकै भव्य विवाह हुनेछ । केटो व्यापार गर्छ । ऊसँग निकै धनसम्पत्ति छ । केटा रूपरंगले पनि सुन्दर छ । साँच्चै दोलनको भाग्य हो कि उसलाई यस्तो वर मिल्नेछ । आलेया निकै ठूल्ठूलो स्वरमा केटाको खानदान र सम्पत्तिको बारेमा प्रशंसा गरेर थाक्दैन थिइन् । यस्तो ज्वाइँ पाएर उनी गर्वको अनुभव गर्दै थिइन् । इदरिस अली पनि आमन्त्रित नातागोताका मान्छेहरूका अगाडि केटाका घर, जग्गाजमीनका कथाहरू सुनाउँदे रहे ।
विवाहको दिन दोलनलाई रातो सारी पहिराइयो, अनुहार स्नो पाउडर लगाइयो । निधारदेखि गालासम्म राता सेतो फुलबुट्टा भरिए । ओंठमा रातो लिपिस्टिक लगाइयो । घाँटी, हात, नाक कान, निधारलाई सजाइयो । राती दुहला आइपुग्यो । घरभित्र आमन्त्रित पाहुनाहरूको भीड ।
इदरिस अल खुसीले दङदास । उनका आँखाहरू घरिघरि दुलहीको भेषमा सजिएकी आफ्नी छोरीतिर गइहाल्थे ।
पण्डितजी दोलनको कोठामा आए । त्यसबेला दोलन आफ्ना नाता कुटुम्बका मान्छे, आमाबुबा, छरछिमेकी, घनिष्ट साथीहरूले घेरिएकी थिई ।
पण्डितजी कोठामा ओछ्याइएको डसनाको अगाडी कुर्सी राखेर बसे ।
मोहम्मद नेयामुल करीमको छोरा, बदरुल आलमका साथ, पचास हजार रूपैंया पारपाचुके गर्दा दिनेगरी मोहम्मद इदरिस अलीकी कान्छी छोरी अञ्जुमन आरा दोलनको विवाह, के तिमी स्वीकार गर्छौ ?
दोलन चुपचाप ।
उसले कुनै जवाफ दिएन ।
त्यहाँ उपस्थित प्राय: सबैजना उसलाई प्रोत्साहित गर्न थाले । आमा, सानीमा, फुपू, माइजू सबैले खासखुस स्वरमा उसलाई फर्केर भने – भन् दोलन । भनी दे, स्वीकार छ ।
तर दोलन चुपचाप ।
ऊ आफ्ना नङको नेल पलिस कोट्याउँदै बसी । मुखले उसले एक शब्द पनि भनिन ।
पण्डितजीले दोस्रोपटक आफ्नो प्रश्न दोहोर्याए ।
यसपटक इदरिस अलीले भने – दोलन भनिदेऊ स्वीकार छ ।
दोलन फेरि पनि बोलिन ।
अब इदरिस अली दोलनको नजिक आए र उनले दोलनको निधारमा हातले मुसार्दै भने – ढिला हुनलाग्यो, छोरी ल अब µट्ट भनिदेऊ – स्वीकार छ ।
दोलन फेरि पनि निर्बिकार । उसका आँखाहरू कतैतिर कसैतिर पनि थिएनन् । ऊ ध्यानमग्न भएर आफ्ना नङबाट नेलपोलिस कोट्याउँदै थिई ।
पण्डितजी विरक्तिएका देखिए । त्यहाँ उपस्थित सबैजना रिसले चुर भए । समय गुज्रिंदै गयो । पन्ध्र मिनेट । बिस मिनेट ।
पण्डितलीले फेरि सोधे – भन छोरी, तिमी राजी छौ ?
यसपटक दोलनले टाउको उठाई । टाउको उठाएको कारणले उसको टाउकोबाट घुम्टो पनि खस्यो । उसले एकपटक आफ्ना नातागोताहरूतिर हेरी, पण्डितजीतिर पनि ट्वाल्ल हेरी ।
तुरुन्तै उसले भयंकर घृणा, अवज्ञा र पीडाका साथ पण्डितजीको सवालको जवाफ दिई – नाइँ ।
विवाहघरमा सबैजना अवाक् ।
जम्माजम्मी सोह्र वर्षकी केटीको दुस्साहस त हेर एउटै शब्दमा उसले यति भीडभाड र आयोजनालाई धुलोमा मिलाएर खत्तम पारी ।
दोलनलाई पनि लाग्यो, उसले फोहरको थुप्रोमा सलाईको जलिरहेको काँटी फ्याँकी दिएकी छ ।
– अनु. ललिजन रावल